काठमाडौं:   नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका...

काठमाडौं:   क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।  आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो ।  आगो निभाउने अभियान रातभर चलिरह्यो। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । यद्यपि, नयाँ डढेलोहरू निस्कने क्रम जारी रहेको छ ।  लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कफ्र्यू लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताउनुभएको छ ।  गभर्नर गेभिन न्युसमले हजारौं को सङ्ख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीहरू तैनाथ गरिएको बताउनुभएको छ ।  उहाँले भन्नुभयो, “हामी आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुनसक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।” लुनाका अनुसार अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् र त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचय पत्रका आधारमा पक्राउ गर्नेछन् । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ भने अल्टाडेना वरपरको अर्को आगलागीले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ। अग्निनियन्त्रकले प्यासिफिक पालिसेड्समा लागेको आगोको छ प्रतिशत परिधिमा रहेको र त्यसको परिधिमा आगोलाई नियन्त्रण गर्न थालेको बताएका छन् । 

काठमाडौं:    सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ ।  बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उहाँले दिनुभयो ।  मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ । 

भोजपुर:    खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो ।  गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिनुभयो ।  गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल रु दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा रु एक हजार पाँच सयमा बिक्री भइरहेको छ ।  स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले बताउनुभयो । गत वर्षसम्म यहाँ वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पु¥याइएको उहाँले जानकारी दिनुभयो ।  “स्थानीयको मागलाई ध्यानमा राखेर यहाँ आउने चामलको मात्रा बढाएका छौँ”, प्रमुख शाहले भन्नुभयो, “आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ । औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ ।” स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताउनुभयो । गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो । कार्यालयबाट सार्वजनिक बिदाका दिनबाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिनुभयो । “विगतमा चाडबाडका समयकम बढीमात्रामा चामल वितरण हुन्थ्यो”, उहाँले भन्नुभयो, “स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ । यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन् । सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख शाहले बताउनुभयो ।  सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्विन्टल र घोडेटार डिपोमा तीन हजार क्विन्टल पु¥याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।  घोडेटारस्थित खाद्य डिपो १० वर्षे सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो । पछिल्लो छ महिनाको अवधिमा करिब एक हजार दुई सय क्विन्टल चामल स्थानीयले खपत गरेका कार्यालयले जनाएको छ ।  

हुम्ला:     हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।    सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् ।  गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् ।  स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए ।           स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ ।  सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए । “दशैँमा खरिद गरेको औषधि सकिएको छ”, उनले भने ।             गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको  बताए । माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए ।       स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन् । खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो । 

सङ्खुवासभा:     सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ ।  त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो ।  प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै रु ५३ करोड जम्मा गरिदिएको थियो । आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो ।  विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।

काठमाडौं:   अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।

झापा:    झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ ।  नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो ।  मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो ।  झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।  सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।

पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ ।      उक्त कार्यक्रमको विद्यालयमा आयोजित विशेष समारोहकाबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।   सो अवसरमा बोल्दै प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरे ।    सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउदै उनले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।    पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको बताउदै यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुने गरी परिणाम प्राप्त हुने उल्लेख गरे ।      गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको जानकारी दिदैं विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आइएको बताए ।      विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरूबाट अध्यापन गराइएको बताउदै सिमित साधनस्रोतकाबीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाई बताए ।           कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो ।      उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो ।           कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ । लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।   ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ ।  त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ । विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।