सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

म्याग्दी | माघ २५, २०८१

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

म्याग्दी:    म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । 


“सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्नुहुन्छ, “यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।” 


खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् ।


सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उहाँ बताउनुहुन्छ । प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ । 


बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोप्नुभएको थियो । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे । 


बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थप्नुभयो । त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो । 


विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै जानुभएको छ । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ । 


पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गर्नुभएको थियो । निवृत्त जीवन पनि उहाँले सुन्तला खेतीमै लगाउनुभएको छ । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् । 


खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताउनुभयो । 


समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् । 


बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ । 


देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । 


बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्