पोखरा: आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च गण्डकी प्रज्ञा प्रतिष्ठानले ब्यहोर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची बीच पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले युनाईटेड क्लब आफैमा प्रतिष्ठित क्लव रहेको र सामाजिक काम संगै युनाईटेड क्लबले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरी कला तथा साहित्यको संरक्षणमा समेत टेवा पु¥याउदै आएको बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक सेवा संगै लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गरेकाले अघिल्लो संस्करण देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै यो वर्षपनि निरन्तरता दिएको बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि रहदा गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगले थप हौसला प्रदान गरेको बताए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले एघारौं संस्करण देखी सहयोग गर्दै आइरहेको र बाह्रौं संस्करणको पोखरा महोत्सवबाट विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च ब्यवहोर्ने गरी सहकार्य गर्दै आएकोमा यो पटक पनि निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आम्दानीबाट सामाजिक काम र महोत्सवको माध्यामबाट लोक संस्कृतिको जगेर्ना गर्ने गरि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको थियो । सो अवसरमा युनाईटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरु, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहको थियो ।
पोखरा: कास्कीको मादी गाउँपालिका गाउँपालिका–७ मा भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादी गाउँपालिका–७ लिचु भन्ने जंगलबाट एक नाले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । ‘सोमबार कास्कीको मादी गाउँपालिका–७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा पड्किदा बिनोद सुनार घाइते भई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको सूचना पाएको थियौै’, डिएसपी शर्माले भने, ‘सोधपुछ गर्दा उक्त बन्दुक कुल प्रसाद वि.क र सुमन तामाङले राखेको भन्ने खुल्न आएकाले नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान जारी छ ।’ डिएसपी शर्माका अनुसार सोधपुछ पछी बन्दुक खोजतलाज गर्ने क्रममा कुलप्रसाद विकको गाईगोठ भन्दा १ सय ५० मिटर तल लुकाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएको हतियारको ईजाजतपत्र (कागजपत्र) नभएकाले मादी मेलबोट बस्ने ३२ वर्षीय साईला भन्ने कुल प्रसाद विक र पानीघाट बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: अमेरिकास्थित नेपाली पूर्वराजदूत डा अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिनुभएको छ । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित २ दिने राष्ट्रिय गोष्ठीको पहिलो सत्रमा उहाँले जलवायु परिवर्तनका मुद्दा स्थापित गर्न राजनीतिक र कूटनीतिक रूपमा पहल अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पहिला प्राविधिक मुद्दाका रूपमा मात्रै बुझिन्थ्यो, विस्तारै यो मुद्दा, राजनीतिक, कूटनीतिक, आर्थिक एवं समाजिक मुद्दा पनि हो भन्ने बुझाइ भएको छ”, डा कार्कीले भन्नुभयो, “जलवायुजन्य सङ्कट सामना गर्न आवश्यक पर्ने वित्तमा पहुँच पुर्याउन कूटनीतिक पहललाई पहिलो प्राथमिकता दिनुपर्छ ।” उहाँले जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी वैज्ञानिक रूपमा अनुसन्धान गरेर तथ्याङ्क निकाल्नुपर्नेमा जोड दिनुभयो । कार्कीका अनुसार जलवायुसम्बन्धी मुद्दा सम्बोधन गर्न राजनीतिक स्तरबाट अगाडि बढाउनुपर्ने र राजनीतिक स्तरबाट जलवायुजन्य सङ्कटको सामना गर्न आवश्यक छ । “बाकुको अजरबैजानमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि ९युएनएफसिसिसी० का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्पन्न भएको छ । विकासशील देशहरूलाई जलवायु परिवर्तनका असर सामना गर्न आवश्यक पर्ने आर्थिक सहयोग बढाउन नयाँ वित्तका योजना अघि सारिएको छ, यीलगायत अन्य जलवायु वित्तहरूमा अनुदान बढाउने कोपको निर्णय छ”, उहाँले भन्नुभयो, “हामीले उक्त कोषको रकम ल्याउनका लागि आवश्यक तयारीसहित अनुसन्धान बढाउनुपर्छ । जलवायुजन्य असरका आधिकारिक तथ्याङ्क प्रस्तुत गर्नुपर्छ ।” जलवायुविद् मञ्जित ढकालले विश्वको तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न नसके पर्वतीय क्षेत्रमा जलवायुजन्य सङ्कट बढ्दै जाने र हिमालको हिउँसमेत पग्लिएर कलापत्थरमा परिणत हुन सक्ने बतानउनुभयो । “नेपाल जस्ता पर्वतीय मुलुकहरूको चिन्ताको विषय भनेको हिमालको सुरक्षा कसरी गर्ने रु र जलवायुजन्य सङ्कट निम्तिन नदिने भन्ने हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हामीले पर्वत बचाउन कार्बन उत्सर्जन कटौती गर्नलाई पैरवी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो कोप–२९ मा सोचेजस्तो उपलब्धि हुन नसके पनि हामी निराश हुनुपर्ने अवस्था छैन । अहिले हाम्रो पक्षमा नभएका कतिपय निर्णयहरू आगामी कोपमा हुँदै जानेछन् । हामीले यसका लागि पहल कदमी अगाडि बढाइरहनुपर्छ ।” गोरखापत्रका महानिर्देशक लालबहादुर ऐरीले जलवायु परिवर्तनसम्बन्धी मुद्दा स्थापित गर्न सञ्चारमाध्यमको अहम् भूमिका रहेको भन्दै जलवायु परिवर्तनका मुद्दामा कलम चलाउन पत्रकारको क्षमता अभिवृद्धिमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयकी उप–सचिव दीपा ओलीले कोपमा पर्वतीय क्षेत्रको मुद्दा मुख्य ‘नेगोसेसन’ (वार्ता) मा सोचे जस्तै अगाडि बढ्न नसके पनि नेपालले विभिन्न क्षेत्रीय कार्यक्रम (साइड इभेन्ट) हरूमा यी विषयवस्तु उठान गरिरहेको जानकारी दिनुभयो । विश्व खाद्य समूह नेपालकी संस्थापक सदस्य पसुन सुवेदीले जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लिएर कालो भएमा हाम्रो भविष्य पनि जोखिममा पर्ने भन्दै हिमाल बचाउन सबैले चासो दिएर सहकार्य र समन्वय गर्नु आवश्यक रहेको खाँचो औँल्याउनुभयो । हिमालमा परेको जलवायु परिवर्तनको असरको विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै उहाँले यसमा युवाहरूको पनि संलग्नता हुनुपर्ने बताउनुभयो । गोष्ठीको पहिलो सत्रको मध्यस्थ राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ अधिकृत डा मनिषराज पाण्डेले गर्नुभएको थियो ।
म्याग्दी: भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँ गाउँमा पुगेका छन् ।” कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिने धवलागिरिका स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले बताउनुभयो । मुटु, मिर्गौला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरुलाई पहिचान गर्ने र उनीहरुलाई निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा मङ्गलबार भएको शिविरमा एक सय आठजनाले सेवा लिएका थिए । बुधबार वडा नं ४ मुदीमा शिविर सञ्चालन गरिएको छ । बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समीर भण्डारीसहितको टोलीले सेवा दिएको छ । धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
तनहुँ: तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु ३ करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउनुभयो । लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उहाँले जनकारी दिनुभयो । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताउनुभयो । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।” सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए रु ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । उहाँले भन्नुभयो, “रु ३ करोडको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला ।” यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन् । लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महङ्गो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन् ।गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताउनुभयो ।
हुम्ला: हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते हुनुभएको थियो । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उहाँको आज बिहान मृत्यु भएको उहाँका आफन्त रेशमराज रोकायाले बताउनुभयो । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो । प्रदेश ०३–०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताउनुभयो । जुम्ला गुठीचौकर गाउँपालिका–१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको छ । सान्तोङ प्रान्तका पूर्वउप–प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (नेपाल) र विन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफीसम्बन्धी सामग्र्री आदानप्रदानमा सहकार्य गर्ने सम्झौता भएको एनएफपिजेका केन्द्रीय अध्यक्ष वन्तले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिईले फोटोग्राफीमार्फत नेपाल–चीनको मैत्रीसम्बन्ध बलियो बनाउनाका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताउनुभयो । एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट २ देशबीचको सम्बन्ध थप सुमधुर बन्नाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार लोकार्पण गर्नुभएको हो। पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा उल्लेख गर्नुभयो । प्रकृति प्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उहाँले बताउनुभयो । लेख तथा रचना मार्फत वातावरण प्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले बताउनुभयो । ४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तक माथि प्रेस स्वतन्त्रता सेनानी बद्रिबिनोद प्रतिकले टिप्पणी सहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राख्नु भएको थियो । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष रुद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा बोल्नु भएको थियो। यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्ती भित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुहरूमा कलम चलाउने गर्नुभएको छ । लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील पुर्जा भुइमान्छेहरुको पक्षमा कलम चलाउन रुचि राख्नुहुन्छ ।
काठमाडौं: उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिनुभयो । उहाँले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख राना मगरको भनाइ थियो । अपाङ्गता भएका बालबालिकासम्बन्धी बनेका नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्ररुपमा अरु बालबालिका जस्तै पुर्याउनुपर्नेमा जोड दिँर्दै उपसभामुख राना मगरले बालबालिकाका लागि समावेशीकरण नीति बन्नुपर्ने बताउनुभयो । विश्व नै समावेशीको कुरा गरिरहेको बेला हामीले समानताको नीति बनाएर अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो । अपाङ्गता भएका बालबालिकाको शिक्षा र हेरचाह गर्न छुट्टै जनशक्ति उत्पादन गर्नुपर्ने उपसभामुख राना मगरले बताउनुभयो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर बाँनियाले अझै पनि अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने बताउनुभयो । कार्यक्रममा नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षासम्बन्धी प्रस्तुतिकरण गदै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गमैत्री पाठ्यक्रम बनाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले करिब १ हजार ३ सय विद्यार्थीलाई बे्रललिपीका पाठ्य सामग्री उपलब्ध गराएको छ । यस्तै केन्द्रका अधिकृत दीपक माझीले अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगका सम्बन्धमा प्रस्तुतिकरण गर्दै अझै पनि अपाङ्गता भएका व्यक्तिलाई सबै उपकरण पुर्याउन नसकेको बताउनुभयो । करिब १० हजार ८ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको परिषद्का अध्यक्ष बाँनियाले जानकारी दिनुभयो ।