काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

मकवानपुर:    राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ ।  उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।  प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गर्नुभएको हो ।  प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ ।  सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । 

पोखरा:   कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा प्रहरीले उमेश राईलाई पक्राउ गरेको छ ।  हिजो (बिहीबार) आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार भएका थिए ।  गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएको सूचनापछि खोजतलाजको क्रममा खोटाङ दिक्टेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका राईलाई मादी गाउँपालिका–५ सुनपहेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय  कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  डिएसपी शर्माका अनुसार आगो लागेर घाइते भएका गुरुङको किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट घाइते भएको गुरुङको पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालबाट आज मणिपाल शिक्षण अस्पताल पठाएपनि थप उपचारको लागि काठमाडौं पठाइएको कास्की प्रहरीले जनाएको छ ।  गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा पक्राउ परेका राईको साथबाट प्रहरील ३ थान लाईटर, १ थान बोत्तल, ३ थान मोवाईल र १ थान लाईसेन्स बरामद गरेको छ ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका राई पोखरा महानगरपालिका–१३ काहुँखोला बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।      

काठमाडौं:    कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो ।       पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी  दिनुभयो । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।      विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ ।      तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा रु नौ हजार निर्धारण गरिएको छ ।      टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ ।       विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिनुभयो । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ ।       नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताउनुभयो ।       सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताउनुभयो । “टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ”, उहाँले भन्नुभयो ।      तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ ।  काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ । त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ ।  साँफेबगर नगरपालिकाले  पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।  चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन् । यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए ।   चितवनका लागि हसन इसाखिलले पाँच, दीपक बोहराले दुई, बासिल हमिद र सोहेल तनवीरले एकरएक रन जोडे । चितवनले अतिरिक्त छ रन प्राप्त ग(यो । विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । यस्तै, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एकरएक विकेट लिए ।  त्यसअघि, टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । विराटनगरको लागि बसिर अहमदले अविजित रहँदै अर्धशतक बनाए । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए ।  त्यसैगरी मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दीपक बोहराले चार रन जोडे । विराटनगरले अतिरिक्त २३ रन प्राप्त ग(यो । बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एकरएक विकेट लिएका थिए ।

काठमाडौं:   डा. ओम  फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सिमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ ।  जाडो बढ्दै गएकाले पहिलो चरणमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरिएको हो । डा ओम  फाउन्डेसनका संस्थापक डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट सङ्कलित रकमबाट ब्लाङ्केट खरिद गरिएको हो । डा ओममूर्तिले भन्नुभयो–“मैले बुबासँगको सम्बन्धलाई आधार बनाएर ‘जीवन्त सम्बन्ध नामक पुस्तक लेखेको थिएँ । पुस्तकको बिक्रीबाट आर्जित सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने क्रममा ब्लाङ्केट वितरण गरिएको हो ।” ‘ जीवन्त सम्बन्ध’ पुस्तक खरिद गर्ने पाठकहरूकै योगदानबाट जाडोमा कठ्याङ्ग्रिएर बसेको परिवारलाई केही न्यानो प्रदान गर्न खोजिएको उहाँको भनाइ छ ।  पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गरिने फाउन्डेसनको योजना  रहेको छ । फाउन्डेसनले गत कात्तिकमा धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी छ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो भने छिट्टै देशभरिबाट प्रतिनिधित्व हुने गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ  ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गर्नुभयो । प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह गर्नुभयो ।

काठमाडौं:    सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।       अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज यहाँ आयोजित समारोहमा उहाँले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याउनुभयो ।      “समयापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ”, सभामुख घिमिरेले भन्नुभयो । सीमित साधन, स्रोतका बीच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रसंशा गर्दै उहाँले संसद्को महत्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।      “अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ”, सभामुखले भन्नुभयो, “संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।”      संसद्को गरिमालाई उँचो बनाउन गरिएका प्रयत्न र प्रयास अपुग भएका उल्लेख गर्दै सभामुख घिमिरेले जनताको सर्वोच्च संस्था संसद्को गरिमा जति बढ्न सक्यो, यसको कामकारबाही त्यति प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसद्लाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो ।      राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा आज सङ्घीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै उहाँले समयानुकूल संसद् सेवाको पुनःसंरचना गर्न आवश्यक भइसकेको उहाँले उल्लेख गर्नुभयो ।       “यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।”      संसद्का हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिइनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय सङ्कलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने बताउनुभयो ।      विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसद्को प्रभावकारिताका लागि संसद्भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।      कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद् सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताउनुभयो ।       संविधान कार्यान्वयनमा आवश्यक ऐन कानुनलाई अद्यावधिक गर्न सरकार केन्द्रित भएको जानकारी दिँदै मन्त्री चौरसियाले कानुन निर्माणमा संसद् र सचिवालयको कर्मचारीको भूमिका थप बढेर गएको उल्लेख गर्नुभयो ।      उपसभामुख इन्दिरा रानाले जनप्रतिनिधि र संसद् सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।        मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको जनाउँदै निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्तिविकासलाई उचित ढङ्गबाट सम्बोधन गरिने विश्वास दिलाउनुभयो ।       मुख्यसचिव अर्यालले कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।      संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले कर्मचारी मैत्री र संसद् सेवालाई प्रभावकारी बनाउने योजना ल्याउन आग्रह गर्दै डेढ दशकदेखि संशोधन हुन नसकेका कानुन र छरिएर रहेका ऐनलाई एकीकृत गरी सेवामैत्री कानुन बनाउन सुझाव दिनुभयो ।      संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संसद् सेवा दिवसका अवसरमा सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यसवर्ष संसद् सेवा दिवसको मुख्य नारा ‘लगनशीलता र कर्तव्यनिष्ठताः संसद् सेवाको प्रतिष्ठा’ तय गरिएको थियो । कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संयुक्त रूपमा सचिवालयले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो ।      कार्यक्रममा उपसचिव ओमबहादुर कार्कीलाई सर्वोत्कृष्ट, कम्प्युटर प्रोगामर करणबहादुर भाट उत्कृष्ट तथा सवारी चालक शङ्कर भण्डारी र माली बिन्दा भट्टराईलाई संसद् सेवा पुरस्कार प्रदान गरिएको थियो ।      समारोहमा संसद् सेवामा २५ वर्ष निरन्तर सेवा गर्नुभएका उपसचिवद्वय उदयकुमार भण्डारी र दशरथ धमला, प्राविधिक अधिकृत केशवराज भट्टराई, शाखा अधिकृत नारायणबहादुर कार्की, ओभरसियर निलम शाह र हलुका सवारी चालक (पाँचौैँ) सानुकाजी महर्जनलाई दीर्घसेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको थियो ।

तनहुँ:    मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिनसम्म आंशिक प्रभावित हुने भएको छ ।  जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले भोलि शनिबार  बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।   कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ । 

दाङ:     यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् ।  दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।  घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका ७ जनाले  उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन्  ।  सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो ।    सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताउनुभयो । उहाँले भदौयता २ हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताउनुभयो । उहाँमात्र होइन उहाँको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।   सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गराँै भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताउनुभयो ।  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।