हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ ।        ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गर्नुभयो ।         “हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।”        प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भन्नुभयो, “मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने,  भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।”        उहाँले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं:   चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ । आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो ।       उक्त समहतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैदेखि फिर्ता लिने र नियमित कार्यमा फर्किने सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल चिकित्सक सङ्घका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरुबीच वार्ता भएको थियो । वार्ता पश्चात सहमति गर्दै मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।      वार्ताका क्रममा सरकारको प्रचलित नियमअनुसार इन्टर्नशीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोगलगायत निकायहरुलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ ।      सङ्घले राखेको स्नातकोत्तरको सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७औँ बैठकबाट निर्णय गरिसकेको छ । यसैगरी सङ्घले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह उपलब्ध गराउने विषयमा आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवाला समक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।      मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय सर्वेक्षण पूरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।      त्यसैगरी विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उपसचिव (१ जना) र नेपाल चिकित्सक संघका प्रतिनिधि एक जना रहने गरी तीन सदस्यीय कार्यदलले एक हप्ताभित्र कार्यविधि तयार गरी पेस गर्ने निर्णय गरेको छ ।      सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन थालेपछि मन्त्री पौडेलले माग पूरा गर्न वार्ता गर्न टोली खटाएका थिए । दुई चरणको वार्तापछि आज सहमति भएको हो ।

कास्की:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताउनुभएको छ ।       पोखरामा आज तमु राष्ट्रिय मुुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गर्नुभयो ।       “उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेका छौँ, गर्न नसकेका कुरामा भिन्न मत लेखेका छौँ । हामीले बीचमा हाम्रो वर्ग, समुदाय र हाम्रा मुद्दाहरू कमजोर गरी समात्यौँ । समात्न छाडेका त थिएनौँ, दरिलो गरी समात्न सकेका थिएनौँ । अब सबैको एकताबद्ध प्रयासले पहिचान र अधिकारको मुद्दालाई अगाडि बढाउछौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।      अध्यक्ष दाहालले पार्टी विसं २०८४ को आगामी निर्वाचनसम्म सरकारमा नजाने स्पष्ट पार्नुभयो । उहाँले एक्लै चुनाव लड्ने र जनतालाई बलियो बनाएर बहमुत ल्याउने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, “कांग्रेस र एमालेले अर्को चुनाव मिलेर लडुन् । हामी एक्लै जनतामा जान्छौँ, जनताको तागतमा विश्वास गर्छौँ । तपाईहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।”      अध्यक्ष दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो । उहाँले संविधान संशोधन गर्ने भए निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थाका लागि संशोधन हुनुपर्ने बताउनुभयो । “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।”       नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताउनुभयो । उहाँले समाजवादमा मात्र वर्गीय र जातिय समस्याको समाधान गर्न सकिने बताउनुभयो ।      अध्यक्ष दाहालको नेतृत्वमा पार्टी अहिले एकताबद्ध रूपमा अघि बढाइने बताउनुभयो । “राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ । उत्पादनका साधनमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ”, उहाँले भन्नुभयो ।      माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धका कारणले मात्र नेपालमा उत्पीडित जाति र समुदायले हक अधिकार पाएको बताउनुभयो । कार्यक्रममा विसं २०७९ को स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिकामा विजयी भएका तमु जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भए ।  उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।  भलिबलको दुवै विधाको फाइनल शनिबार  घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको उपाधिका लागि अन्नपूर्ण युथ क्लब र पोखरा भलिबल प्रशिक्षण केन्द्र भिड्ने महोत्सव संयोजक अमृत लामा गुुरुङले जानकारी दिए ।  यस्तै भेन्ट्रान्स भलिबलतर्फ किङ्स क्लब अफ पोखरा र अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समिति उपाधिका लागि भिड्ने छन् । भलिबलको दुवै विधाको फाइनल खेल शनिबार हुने महोत्सव संयोजक गुरुङले जानकारी दिए ।  यस्तै बास्केटबलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा मेश्रम युथ क्लब र टिम समाकुसी भिड्ने छन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र अन्नपूर्ण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।   पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।     

पर्वत:  जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ ।       जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जानकारी दिनुभयो ।  “अहिले पनि समाजमा जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार कायमै हुनु दुःखद कुरा हो । यस्ता कुप्रथा अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछूत मुक्त गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागू गरिएको हो”, उहाँले भन्नुभयो ।       गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा देखिएको जातीय छुवाछूत र विभेद अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।       गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीहरूले १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।  आर्थिक वर्ष २०८१/८२ को लक्षित वर्ग तर्फको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत जिल्लामै पहिलोपटक यस्तो कार्यक्रम  गर्न लागिएको हो । 

काठमाडौं:  स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

काठमाडौं:  नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ ।  नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसङ्घको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गर्नुभयो ।  हस्ताक्षरपछि उहाँहरूले प्रतिष्ठान र परिसङ्घको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर:   सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।       दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।      त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् । 

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् । साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएपछि महेन्द्रपुल स्थित ॐ हस्पिटलमा भर्ना गरिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए । ‘स्याङ्जाको सिरूबारी लगायत ठाउँका विभिन्न कार्यक्रममा २ दिन सहभागी भएपछि गृहप्रदेश सुदूरपश्चिम जानुभएको थियो’, अधिकारीले भने ‘कैलाली, डोटी र डडेलधुरामा एक साता लामो कार्यक्रममा सहभागी हुनुहुँदा चिसोले समस्या भएको हो ।’ प्रदेश प्रमुख भट्टलाई विहीबार साँझ ॐ हस्पिटल, महेन्द्रपुलमा भर्ना गरिएको छ । बरिष्ठ छाती रोग विशेषज्ञ डा। सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेका छन् । ‘खोकी लागिरहेपछि अस्पताल आउनुभएकोमा निमोनिया देखिएको छ । केही दिन निगरानीमै राखेर उपचार गरिनेछ ।’डा. आचार्यले भने । यसैबीच, उपचाररत प्रदेश प्रमुखको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी अस्पताल पुगेका छन् । नेकपा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र नेता माधव बास्तोलाले पनि अस्पताल पुगेर प्रदेश प्रमुखलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।