पोखरा: आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गरेको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले युनाईटेड क्लब संग अघिल्लो संस्करणका पोखरा महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमासमेत महोत्सवको बैंकिङ पार्टनरको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीको बचत रकमबाट आयोजना गर्ने सामाजिक कामबाट आफु प्रभावित भएकाले सहकार्यलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो । यस्तै क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव तेह्रौं संस्करणसम्म आइपुगेको बताए । अघिल्लो संस्करणहरुमा जस्तै तेह्रौं संस्करणमा समेत ग्रीन डेभलपमेन्ट बैंक संग सहकार्य गर्न पाउदा आफुहरुलाई अझै हौसला प्रदान भएको थापाको भनाई थियो । उक्त अवसरमा युनाईटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, , क्लबका कोषाध्यक्ष जयराम आचार्य, क्लबका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
म्याग्दी: धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर कृषिमा लगानी बढाउदै छन् । धौलागिरि कृषि तथा पशुुपन्छी फार्म नाम दिएर कृषि क्रान्तिमा लागेका मगरको बगैँचा यतिबेला किबीले ढाकेको छ । तर बजार नपाउँदा भने निदै दुखी छन् मगर । “सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ”, उहाँले भने “मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी विक्री भयो । पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुन्छ । बजार नपाएर तनावमा परेको छु”, मगरले भने । गत वर्षको तुलनामा दोब्बर बढी किबी फले पनि विक्री गर्न समस्या भएको मगरले गुनासो गरे । बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किबीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो । धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किबी बगैचा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सानो बजार र उत्पादन धेरै भएपछि किबी विक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले सुनाए । “यहाँका उपभोक्ताहरुको किबीमा अझै बानी परिसकेको छैन”, उनले भने, “पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किबीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन ।” करिब दुई हजार किलोग्राम किबी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम रु १ सय ८० का दरले १ हजार ५ सय किलोग्राम बिक्री गरिसकेको बताए । भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन् । मङसिर र पुस महिना किबी टिप्ने याम हो । पुुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने चिन्ता कृषकको छ । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किबी खेती गरेका थिए । कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किबीखेतीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो । केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किबी उत्पादन बढेको बताए । धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए । “असी ग्रामसम्म तौल भएको किबीलाई गुणस्तरीय मानिन्छ । उपभोक्ताले किबीको ठूला दाना खोज्छन्”, उनले भने, “बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो ।” बत्तीस वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए । व्यवसायिक खेती भएको पछिल्लो एक दशकयता हो । म्याग्दीको मध्य पहाडी क्षेत्रको भूगोल र हावापानी किबी खेतीका लागि अनुकूल मानिन्छ । स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किबीको विशेषता हो । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ । रासस
रामपुर: गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले पालिका प्रमुखहरूले उठाएका माग जायज र जिल्लाका आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै प्राथमिकताका आधारमा क्रमिक रूपमा समस्याको समाधान गर्दै जाने उल्लेख गरे । पाल्पाका स्थानीय तहका प्रमुखहरुले गृहमन्त्रीसमक्ष शान्तिसुरक्षाको माग गरेका थिए । पालिकाको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीसम्मका व्यवस्था सुधारका लागि ध्यानाकर्षण गराइएको थियो । रामपुर नगरप्रमुख रमणबहादुर थापाले जनघनत्व बढ्दै जाँदा नगरको शान्तिसुरक्षालाई मजबुत बनाउन प्रहरी दरबन्दी थप गर्नुपर्ने आवश्यकता औँल्याए । कालीगण्डकी करिडोर सडकले रामपुरलाई नारायणगढ, बुटवल, काठमाडौँ, पोखरा जस्ता ठूला सहरलाई जोडेकाले शान्तिसुरक्षा व्यवस्थामा नगरमा चुनौती थपिएको उनको भनाइ थियो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराई र पहाडलाई जोड्ने सिद्धार्थ राजमार्गको तिनाउमा प्रहरी चौकी स्तरोन्नति, नुवाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गरे । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पनि पालिकामा शान्तिसुरक्षामा सहजता हुने गरी व्यवस्था गर्नुपर्ने बताए । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रहरी चौकी भए पनि दरबन्दी कम रहेकाले स्तरोन्नतिका लागि गृहमन्त्रीलाई अनुरोध गरे । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले कागजमा अधिकार उल्लेख भए पनि काम गर्न कठिनाइ रहेकाले यसमा सहजीकरण आवश्यक रहेको धारणा राखे । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलगायत जिल्लाको शान्तिसुरक्षा, पर्यटकीयस्थलहरु रानीमहल दरबार, अर्गली दरबार, सेन दरबार जस्ता महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र यसको बृहत् विकासका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको र अब कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताए । उनका अनुसार आगामी माघभित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ भने नाली, पर्खाल, कल्भर्टलगायत काम करिब छन् । विसं २०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन । समयमा काम नभएपछि आउँदो चैतसम्मलाई म्याद थप गरिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम तीव्रगति अगाडि बढाएका जनाइएको छ । यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोशित छन् । त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए । इन्जिनियर सुवेदीले कालोपत्रका लागि अन्तिम तयारी भइरहेकाले अब उक्त समस्या सधैँका लागि अन्त्य हुने बताए । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्र गरिएको थियो । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन् । रासस
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गर्नुभएको छ । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उहाँले बालबालिकाको स्वास्थ्योपचारमा केन्द्रित उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माणमा कतार सरकारको सहयोगको अपेक्षा आफूले गरेको बताउनुभयो । बालबालिकाको उपचार गर्ने देशको सबैभन्दा ठूलो अस्पतालमा सेवा विस्तार गर्न भवनसहितका संरचना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी सहयोगको अपेक्षा गर्नुभएको हो । स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार कतारी राजदूतले नेपालसँगको सम्बन्ध विस्तारलाई आफ्नो मुलुकले प्राथमिकतामा राखेको बताउँदै पारस्परिक सहयोगका क्षेत्र बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा: गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै उपाधि चिम्न सफल भयो । उपाधि जितेसँगै शहिद स्मृति माविले एक लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको स्टेप बाइ स्टेपले ५० हजारमा चित्त बुझायो । शहिद स्मृति माविका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द टुर्नामेन्ट चुनिए । उनले १५ हजार प्राप्त गरे । विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो भन्नुभयो । “हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्व्ेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौँ ।” प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताउनुभयो । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताउनुभयो । “मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानुनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताउनुभयो ।
पोखरा: पर्यटकीय शहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्राण्डको एलिभेटर (लिफ्ट) बिक्री बितरण हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले पोखराको चाउथेबाट बिक्री शुरु गरेको हो । फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरको लागि नेपालको आधिकारीक बिक्रेता एलिभेटर टेक नेपालको शुरुवात गर्दै मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्याहरु उत्पन्न भरहदा फुजी ब्राण्डले पोखरामानै नेपालको लागि आधिकारीक डिलर सञ्चालन गरेकोमा खुसी ब्यक्त गरे । ग्राहकलाई सामाग्री बिक्री गर्नुभन्दा पनि त्यसको सामाग्री र सर्भिसका लागि ध्यान दिन आवश्यक रहेको वताउदै बतासले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरले पोखरेलीको मन जित्ने गरी काम गर्नेमा आफु ढुक्क रहेको समेत बताए । त्यस्तै वरिष्ठ समाजसेवी रामजी बास्तोलाले पोखरामा लिफ्ट (एलिभेटर) किन्नका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको भएतापनि यसको सर्भिसिङ र सामाग्रीका लागि समेत फुजीको डिलरले ध्यान दिन आवश्यक रहेको बताए । त्यस्तै एलिभेटर टेक नेपालका टेक्निकल डिपार्ट हेड रमेशराज अधिकारीले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि नेपालका लागि आफुहरु आधिकारीक बिक्रेता भएकाले यसमा कुनैपनि समस्या आएमा पोखराबाटै सर्भिसको ब्यवस्था भएकाले अन्य कम्पनीहरुमा जस्तो समस्या नहुने बताए । एलिभेटर टेक नेपालका सञ्चालक मोहन प्रसाद ढकालले नेपालमा गुणस्तरीय प्रविधीका एलिभेटरहरु भित्रयाउन आफुहरु लागि परेको बताए । फुजी कम्पनीले विश्वभरनै उच्च स्तरका एलिभेटरहरु बिक्री वितरण गर्दै आइरहेकाले आफुहरुले समेत त्यसलाई नेपालमा भित्रयाउने गरी एलिभेटर टेक सञ्चालनमा ल्याएको ढकालको भनाइ रहेको थियो । एलिभेटर संगै आगामी दिनमा फुजी एयर कन्डिसन एसि हरु समेत बिक्री वितरण गर्ने लक्ष्य रहेको ढकालले बताए । सो अवसरमा फुजी कम्पनीका प्रमुख पेङ र कम्पनीका बिक्री प्रमुख मेलिसाले फुजी कम्पनीका नयाँ एलिभेटरहरुको बारेमा जानकारी गराएका थिए ।
पाल्पा: रामपुर नगरपालिका–५ बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ । गृहमन्त्री रमेश लेखकले भवनको उद्घाटन गर्दै देशमा शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नवनिर्मित भवनबाट राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रवाह भएको छ । उद्योगधन्दा, व्यवसाय सञ्चालनलगायत अनुमति प्रदान पनि नयाँ भवनबाट हुनेछ । सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा यहाँबाट प्राप्त भएपछि स्थानीय हर्षित छन् । रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ वडा तथा रामपुर, निस्दी र पूर्वखोलाका १७ वडाका बासिन्दा लाभान्वित भएका छन् ।