पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीले सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै भारी वर्षा...

महोत्तरी:   विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा  १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो ।  इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो ।  गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो ।

काठमाडौं:   मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ ।       मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो । नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।       नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो ।       यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो । 

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ रोजेको छ ।     कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ ।       पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।      पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।      कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं:   खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न  बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । साथै उहाँले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको  र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उहाँले निर्देशन दिनुभयो ।  मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी हुनुहुन्थ्यो ।

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गर्नुभएको छ ।  तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो ।  दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।  समूहका अध्यक्षसमेत रहनुभएका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिनुभयो ।  “यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भन्नुभयो ।  दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् । सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।  बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।  “सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन”, उहाँले भन्नुभयो ।    उहाँका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसक्नुभएको छ ।   जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।    बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान  रहनुभएका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताउनुभयो ।    जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।   जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

भक्तपुर:    यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो ।           यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।           संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ । विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उहाँले बताउनुभयो ।  विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ ।

पोखरा:  ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।  ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति नै पोखरामा पर्यटन कति आए र यसलाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ । उनले थपे ‘पर्यटन क्षेत्रमा आर्थिक कारण र चेतनाका कारण देखिएका समस्या समाधानमा ध्यान दिनु अत्यावश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय विमानस्थल उडानको ढिलाइको विषयमा सरकारको सिस्टममा कमजोरी भएको स्वीकार गरे ।  अध्यक्ष दाहालले चेतनाको कमीले यी समस्याहरू उत्पन्न भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको लागि पहल गरिरहने बताए ।  यसअघि टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले रोजगारको ठूलो सम्भावना भएको पदयात्रा पर्यटनमा समन्वय र सहकार्यको खाँचो देखाउँदै टान गण्डकी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।  नेपालको पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको बताउँदै आचार्यले पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न अध्यक्ष दाहाल आग्रह गरेका थिए । टान गण्डकीले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गर्न, काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको तत्काल स्तरोन्नति गर्न, जथाभाबी मोटरबाटो निर्माणका कारण पदयात्रा क्षेत्रमा असर परेकोले विश्वप्रसिद्ध पदमार्गहरू लोप हुँदै जानु र पदयात्रा पर्यटनमा कमजोरी ल्याउन थालेको भन्दै नयाँ पदमार्गको खोज, प्रवद्र्धन तथा संरक्षणमा सरकारले ध्यान पु¥याईदिन उल्लेख गरिएको छ ।  यसका साथै, निषेधित क्षेत्रमा १ जनाले पनि यात्रा गर्न मिल्ने व्यवस्था गर्न, स्थानीय निकायले पालिका प्रवेश गर्दा विदेशी र आन्तरिक पर्यटकबाट शुल्क लिने निर्णय रोक्न, अवैध रूपमा सञ्चालन हुने पदयात्रा रोकेर कडा कारवाही गर्न, टिम्स चेकपोस्ट पुनः सञ्चालन गर्न, र पर्यटन क्षेत्रमा प्रभावकारी रूपमा गाइड वा सहयोगी नपरी यात्रा गर्न नपाउने नीतिलाई पनि थप मजबुतीकरण गर्नुपर्नेमा टानको आग्रह छ । संघीय संरचनामा समन्वयको अभावलाई सम्बोधन गर्न एकद्वार प्रणाली लागू गर्न, पर्यटन नीति तथा कानुनलाई समयसापेक्ष परिमार्जन गर्न र गण्डकी प्रदेशमै कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरेर दर्ता प्रक्रिया सहज बनाउन समेत टानले ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको छ । धवलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्दै क्याम्पिङ ट्रेकिङको  प्रवद्र्धन गर्न समेत टानको जोेड छ । 

वालिङ:  स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो ।   आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।   पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताउनुभयो ।   “कम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी रु ६५ का दरले हामीले बिक्री गर्याै, उहाँले भन्नुभयो, “कम्पनीबाट दुई–तीन जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।” कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरुको पनि सुन्तला टिपेर पठाइएको उहाँले बताउनुभयो ।   किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी रु ६५ का दरले बिक्री गरिसक्नुभएको छ । “दुई पक्षबीच भएको सम्झौताबमोजिम आफ्नोमात्रै अहिलेसम्म ६० क्विन्टल सुन्तला काठमाडौँ पठाइसकेको छु”, उहाँले भन्नुभयो, “अब तीन–चार क्विन्टल सुन्तला टिप्नै बाँकी छ त्यो पनि पठाउने तयारी भइरहेको छ ।”   यस वर्ष बिक्री भएको सुन्तलाबाट रु तीन लाख ९० हजार आम्दानी भइसकेको र अब रु २५–३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उहाँले बताउनुभयो ।   गत वर्ष पनि सुन्तला बिक्रीबाट रु तीन लाख २५ हजार आम्दानी गर्नुभएका लामिछानेले यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गर्नुभएको हो ।   दश वर्ष पहिला व्यावसायिकरुपमा सुन्तलाखेती थाल्नुभएका लामिछानेको बगैँचामा हाल पाँच सय ५० बोट सुन्तला छन् ।   ती बोटमध्ये हाल तीन सय ५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत पाँच वर्षदेखि सुन्तला बिक्री गरी आम्दानी लिन थाल्नुभएको हो ।   “तेह्र रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ”, उहाँले भन्नुभयो, “सबै बोटले उत्पादन दिँदा आम्दानी झण्डै दोब्बरले वृद्धि हुन्छ ।” गत वर्ष पनि काठमाडौँकै एक कम्पनीसित सुन्तला खरिद बिक्रीको सम्झौता भएर बिक्री गरेको उहाँले बताउनुभयो ।   लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।   स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठूला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् ।   व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो ।

काठमाडौँ:  मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ ।   यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।   नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।   यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।   गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् ।   जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् ।   नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा टोलीको उप–कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् ।   त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।   त्यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।