गण्डकी: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताएका छन् । ‘सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड’द्वारा आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले राष्ट्रिय ध्वजाबहाक हिमालयन एयरलाइन्सले पोखरा–ल्वासा उडानको तयारी गरिरहेको बताए । “हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान सुरु गर्दैछ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ”, मन्त्री पाण्डेले भने । भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न सरकारले पहल गरिरहेको उनले बताए । हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदुतसँग भएको भेटमा पनि उक्त विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने धारणा राखे। “पचासौँ वर्षलाई हेरेर विमानस्थल निर्माण गरिएको हो, निराश हुनुपर्ने कुनै कारण छैन, विमानस्थल सञ्चालन गर्न सम्भव छ र हुन्छ”, मन्त्री पाण्डेले भने, “पोखरा मुलुकको पर्यटकीय केन्द्र भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुँदा अर्थतन्त्र सबल हुनुका साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिएका छौँ ।” चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशङ्का पनि हटेको उनले बताए ।
ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैँले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गर्नुभयो । “हाम्रो देश कलाका लागि प्रसिद्ध छ । यहाँका कला अमूल्य छन् । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।” महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नेसम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो । उहाँले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदामा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो । हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख रोजगारी सृजना गरेको छभने यसले करिब रु ११ अर्ब बराबरका सामान निकासी गरेको जनाइएको छ । कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानर्तालाई सम्मान पनि गरिएको थियो ।
पर्वत: पर्वतको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो । बुधबार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको विकले जानकारी दिनुभयो । बिहीबार साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि आज बिहान उद्धार गरेको उहाँले बताउनुभयो । उद्धार गरिएको चिुतवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गर्नुभयो । चितुवा ४० किलो तौलको छ भने करिब सात वर्ष हुनसक्ने उहाँले अनुमान गर्नुभयो । फार्मभित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेका कृषक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको आक्रमणबाट करिब रु सात लाखको क्षति भएको छ । जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको सात फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताउनुभयो । यसअघि पनि उक्त क्षेत्रमा चितुवाले बाख्रा, कुकुर, गाईभैँसीलाई आक्रमण गर्दै आएको थियो ।
बाजुरा: बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । महिलालाई ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्याएबापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ । आज यहाँ आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो । सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका (चितवन), लहान नगरपालिका (सिरहा), गुर्भाकोट नगरपालिका (सुर्खेत), लमही नगरपालिका (दाङ), गढवा नगरपालिका (दाङ) र नर्वेको आर्थिक सहयोग (एनएबिपी) लाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । यसैगरी नारायण शर्मा नेत्रज्योति सम्मान इन्द्र कसजु (नेपाल नेत्रज्योति सङ्घ खोटाङ) र कृष्ण धरेल (चितवन), नेत्रज्योति डा रामप्रसाद पोखरेल सम्मान ध्रुव केसी, शेरबहादुर थापा, मधु राणा, तेज मोक्तान, दलहादुर केसी तथा नेत्रज्योति सम्मानबाट लमही आँखा अस्पताल, नेपाल नेत्रज्याति सङ्घ रुपन्देही, डा पुरुषोत्तम जोशी र अतुल मिश्रलाई प्रदान गरिएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिनुभयो । यसैगरी नेत्रज्योति सम्मान सुवास नेपाल (आँखा अस्पताल पोखरा), डा सन्तोष सुवेदी (राप्ती आँखा अस्पताल दाङ), अभिषेक रोशन र डा विजयकुमार चौधरी (सगरमाथा चौधरी आँखा अस्पताल, लहान), सपना कपाली (भरतपुर आँखा अस्पताल), सञ्जिव अधिकारी (रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा), क्षितिज बराल (तेजरत्न आँखा उपचार केन्द्र सङ्खुवासभा), हरिहर श्रेष्ठ (आँखा उपचार केन्द्र खोटाङ), वीरबहादुर कार्की (आँखा उपचार केन्द्र गुल्मी) र श्यामप्रसाद सापकोटा (नेपाल नेत्रज्याति सङ्घ काठमाडौँ) लाई प्रदान गरिएको थियो । चस्मामा ‘भ्याट’ नलाग्ने व्यवस्थाका लागि प्रयास गर्ने मन्त्रीद्वयको प्रतिबद्धता आगामी आर्थिक वर्षदेखि आँखा उपचार सेवासम्बन्धी चस्मामा मूल्य अभिवृद्धि कर ९भ्याट०सहितका कुनै पनि कर नलाग्ने व्यवस्थाका लागि प्रयास गरिने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा मन्त्रीद्वयल “आँखा उपचारसँग सम्बन्धित चस्मामा अगामी आवदेखि भ्याट नलाग्ने व्यवस्थाका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गरी पहल गर्नेछौँ । फेसनसम्बन्धी चस्मामा भने कर छुटको व्यवस्था हुँदैन”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेत्रज्योति सङ्घको अधिवेशनमा सहभागीले आँखा उपचारसँग सम्बन्धित चस्मामा सरकारले कर लगाउँदा गम्भीर समस्या परेको जनाउँदै कर फिर्ता लिन सरकारसँग आग्रह गरेसँगै मन्त्रीद्वयले सोका लागि पहल गर्ने जनाउनुभएको थियो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “के–कति कारणले आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट लाग्ने गरेको छ, यसका बारेमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गर्नेछौँ । आगामी आवदेखि कर नलाग्ने व्यवस्था गर्न प्रयास गर्नेछु ।” उहाँले सङ्कटासन्न समुदायमा आँखा उपचारसम्बन्धी सेवाको पहुँच पुग्न नसकेको बताउँदै तीनै तहका सरकारसँगको समन्वयमासेवा विस्तार गर्न सङ्घलाई आग्रह गर्नुभयो । स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट नलाग्ने व्यवस्था गर्न पहिलो प्राथमिकतामा राखी मन्त्रालयले प्रयास गर्नेछ । छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई आँखा उपचारमा खटाउने छौँ ।” सबै स्वास्थ्य संस्थालाई दर्ता प्रणालीमा आबद्ध हुन आग्रह गर्दै उहाँले राम्रो सेवा दिनेलाई पुरस्कृत गरिने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले सेवा विस्तारका लागि सरकार र सङ्घका बीचमा द्विपक्षीय हस्ताक्षर हुन लागेको जानकारी दिँदै यसबाट आँखा उपचारको पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष प्रा डा पन्त, उपाध्यक्ष श्यामकुमार पोखरेल र महासचिव भरतबहादुर चन्दले आँखा उपचार सेवासँग सम्बन्धित चस्मामा सरकारले भ्याट लिँदा सेवाग्राहीलाई समस्या परेको बताउनुभएको थियो । कार्यक्रममा नेत्र विशेषज्ञ प्रा डा देवनारायण साहले आँखा उपचार सेवा विश्वको तुलनामा नेपालमा सस्तो रहको जनाउँदै चस्मामा भ्याट नलिन सरकारसँग आग्रह गर्नुभयो ।
काठमाडौं: गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गर्नुभएको हो । ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
काठमाडौं: प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शन्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, श्यामकृष्ण दाहाल, गणेश ज्ञवाली, उर्वसी बस्नेत, सङ्गीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी, श्रीधर पौडेल, लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शङ्कर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, चिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ छन् । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको चौतारीले जनाएको छ । बैठकले सङ्गठनको स्थापना दिवसका दिन प्रदान हुँदै आएको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ । महिला पत्रकारलाई प्रदान गर्नेगरी यसैवर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न बैठकले सङ्गठनका उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन भएको छ ।
काठमाडौं: क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो । आगो निभाउने अभियान रातभर चलिरह्यो। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । यद्यपि, नयाँ डढेलोहरू निस्कने क्रम जारी रहेको छ । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कफ्र्यू लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताउनुभएको छ । गभर्नर गेभिन न्युसमले हजारौं को सङ्ख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीहरू तैनाथ गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुनसक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।” लुनाका अनुसार अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् र त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचय पत्रका आधारमा पक्राउ गर्नेछन् । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ भने अल्टाडेना वरपरको अर्को आगलागीले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ। अग्निनियन्त्रकले प्यासिफिक पालिसेड्समा लागेको आगोको छ प्रतिशत परिधिमा रहेको र त्यसको परिधिमा आगोलाई नियन्त्रण गर्न थालेको बताएका छन् ।
काठमाडौं: सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ । बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उहाँले दिनुभयो । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।