काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मे...

काठमाडौं:  पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेकाे छ ।   फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको हो । जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद रु १ करोड १० लाख प्राप्त गरेको छ । पराजित हुदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद रु ५१ लाख प्राप्त गरेको छ ।   सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।   सुदूरपश्चिमका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । लिगको दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए ।   उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए । त्यस समयमा मिलन्थाले ६५ रन बनाएका थिए । मिलन्थाले दुई वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा सर्वाधिक ४१ रन जोडेका थिए ।   पहिलो विकेटका लागि मिलन्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । आसिफ सेफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले बलमा चौका र छक्काको सहयोगमा नट आउट रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।   जेम्स निशम ४ जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।   लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।   पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।   हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।   कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।   यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।   पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।    

काठमाडौं:  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११, दुधौरा खोला पुलनजिक कारभित्र शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।   रोकी राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा–१ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।   स्थानीयले गाडीभित्र शव रहेको खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।   वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपट्टिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताउनुभएको छ ।   सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उहाँको भनाई छ ।   धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।   ‘संस्थालाई कानुन बमोजिम सञ्चालन गरी समाजको आचारसंहितालाई अंगिकार गर्दै सामाजिक मूल्य मान्यतालाई अनुशासितरुपमा आत्मसात गर्दै उद्देश्य अनुरुप अघि बढ्नुपर्ने हुन्छ । यसरी नै सामूहिक एकता र प्रयासले समाज र राष्ट्रको उत्थान सम्भव छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।   छिमेकी बागमती प्रदेशको धादिङ जिल्लादेखि पोखरामा आएर बसोबास गर्ने करीब ४० हजार धादिङबासीसँग जोडिएको यो अभिभावकीय संस्थाले सामाजिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।     ‘धादिङ जिल्ला विशेषगरी कृषिबाट परिचित रहेको छ । यहाँसम्म धादिङका कृषि उब्जनी, तरकारी आइपुग्छन् । पोखराको भान्साभान्सासम्म धादिङबासीको मेहनत पुगेको छ ।’ उहाँले भन्नुभयो– ‘यहाँ मजदुरदेखि माथिल्लो तहसम्म धादिङबासीले सेवा गरिरहेको पाएको छु । अन्तर जिल्ला समाजमध्ये पहिले स्थापित धादिङ पोखरा समाज आफ्नो सामाजिक कार्यकै कारण यहाँको अग्रणी समाज बन्न सकारात्मक सहयोग पुगेको हुनुपर्छ ।’   धादिङका विभिन्न ७ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको समाजले नियमित रुपमा रक्तदान कार्यक्रम, भित्तेपात्रो प्रकाशन, शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, वृद्धाश्रममा सहयोग प्रदान लगायतका कार्यक्रम गर्दै आएको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो ।     उहाँले भन्नुभयो – ‘समाजका सदस्यहरुका परिवारमा जन्म, विवाहदेखि मृत्यु संस्कारसम्मको आपसी मिलापले जन्मस्थानबाट टाढा हुँदा पनि छरछिमेक सँगै भएको अनुभूति पक्कै भएको हुनपर्दछ । दुर्घटनामा परेका तथा गम्भिर बिरामी परेका सदस्यहरुलाई अस्प्तालमा स्वास्थ्य उपचारमा छुटको पहलदेखि आर्थिक संकलनमा पनि समाज जुट्दै आएको पाएँ । सुख र दुःखमा सँगसँगै जिल्लाबासी अघि बढ्नु खुशीको विषय हो ।’   समाजको उत्कृष्ट कार्यक्रमकै कारण रेडक्रस सोसाइटीबाट तीनपटकसम्म सम्मानित भइसकेको हुँदा समाज यस्तै सामाजिक कार्यमा अग्रसर बन्दै अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   ‘घर छाडेपछिको बसाईं सहज र अपेक्षा गरेझैं हुँदैन । टाढाको रहनसहन, दुःख पीडा, साह्रो गाह्रोको केही न केही अनुभव र अनुभूति हरेकलाई हुने गर्दछ । सामाजिकरणका लागि निकटसँग संगत र सम्पर्कमा रहनुपर्छ ।’ उहाँले भन्नुभयो – ‘परको ठाउँमा आफन्त परिवारको दर्जा स्वरुप सहायक सिद्ध हुने उद्देश्यले नै यसरी संस्थामा तपाईंहरू एकताबद्ध हुनुभएको भन्ने लाग्दछ । जीवनलाई सुखद र सरल अनुभूति गर्न आपसी मेलमिलापले सघाउ पुर्‍याउँदछ ।’   

जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीया श्रीमतीको मृत्यु भएको क्योडो न्यूजले जनाएको छ ।   सोही सहरको दुई तले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।   दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरका पाँच जनामध्ये तीन जना फरार र दुईजना घाइते भएको प्रहरीले बताए ।

दमौली:   नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि रू २९ लाख सङ्कलन भएको छ ।   दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म रू २९ लाख सङ्कलन भएको हो ।   विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ ।   रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन रू ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले जानकारी दिए ।   प्रा डा गौतमका अनुसार रू २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने रू सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।   गौतमका अनुसार व्यास नगरपालिकाबाट रू पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट रू पाँच लाख, म्याग्दे गाउँपालिकाबाट रू पाँच लाख, भानु नगरपालिकाबाट रू चार लाख, भिमाद नगरपालिकाबाट रू दुई लाख, घिरिङ गाउँपालिकाबाट रू ५० हजार प्राप्त भइसकेको छ ।   शुक्लागण्डकी नगरपालिकाबाट रू तीन लाख, देवघाट गाउँपालिकाबाट रू दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट रू दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।   रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा डा गौतमको भनाइ छ ।   उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा रू ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।”    

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्माओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् ।   विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् ।   प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमित रुपमा गर्नुपर्ने र यसप्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए ।   ध्यान प्राकृतिक ढङ्गले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताए ।   “नियमित सही आहारविहार गरेर हामीले आरोग्य जीवन बिताउनुपर्छ । सकभर बिरामी परेर उपचारका लागि अस्पताल जानु नपरोस् भन्ने सोच राख्नुपर्छ । स्वस्थ्य र शान्तिमय विश्व निर्माणमा हामी सबै लाग्नुपर्नेछ”, प्रधानमन्त्री ओलीले भने, “सरकारका तर्फबाट ध्यान र योगका लागि गर्नुपर्ने काममा मेरो ध्यान पुगेको छ । स्वार्थीपन त्यागेर एकाग्रतामा ध्यान गर्नु हरेक समस्याको समाधानको उपाय पनि हो ।”    त्यसअवसरमा स्वामी आनन्द अरुण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराएका थिए । 

ढोरपाटन:     गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ ।  बागलुङमा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । आधा दशक अगाडिसम्म दुर्गम गाउँका नागरिकले कुवाकै पानी पिउने गर्थे ।  पछिल्लो समय सरकारले खानेपानीको क्षेत्रमा लगानी बढाउँदै गएपछि अहिले कुवा र पोखरीको पानी खानुपर्ने बाध्यता हटेको हो । प्रदेश सरकारले बर्सेनि खानेपानीका लागि बागलुङमा करोडौँ लगानी गर्दै आएको छ ।  गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा जिल्लाभरका आयोजनाका लागि रू १८ करोड ७७ लाख बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । यस वर्ष जिल्लाका १० पालिकामा एक सय ३४ योजना परेका छन् । प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा २७, गलकोट नगरपालिकामा १४, जैमिनी नगरपालिकामा १०, ढोरपाटन नगरपालिकामा २०, निसीखोला गाउँपालिकामा आठ, तमानखोलामा छ, काठेखोलामा १४, ताराखोलामा १०, बडिगाड १६ र बरेङ गाउँपालिकामा नौ वटा योजना परेका छन् ।  जिल्ला भर १४ हजार आठ सय वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उहाँको भनाइ छ । उक्त धाराबाट ६४ हजार चार सय १० जना नागरिक लाभान्वित भएको प्रमुख पौडेल बताउनुहुन्छ । पौडेलले भन्नुभयो, “हरेक वर्ष नयाँ धारा थपिँदै गएका छन्, केही ठाउँमा अझै पनि खानेपानीको सहज पहुँच पुगेको छैन, प्रदेशबाट आएका आयोजनालाई हामीहरूले मेसिनो गरी कार्यान्वयन गरिरहेका छौँ, सीमित बजेटका कारण कयौँ आयोजना समयममा सम्पन्न हुन सकेका छैनन्, विगतको तुलनामा पछिल्लो समय खानेपानीको पहुँच धेरै ठाउँमा पुग्दै गएको छ ।” निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उहाँको भनाइ छ । टाढाबाट ल्याउनका लागि ठूलो बजेट लाग्ने भन्दै त्यसका लागि तीनै तहका सरकारले चासो नदिएको विकले बताउनुभयो ।   “अरू ठाउँमा खानेपानीको समस्या समाधान भइसकेका छन्, यो अर्नाकोट क्षेत्रमा धेरै वर्ष भयो पानीको हाहाकार हुन थालेको तर अहिलेसम्म समाधान हुन सकेन,” विकले भन्नुभयो, “हाम्रो ठूलो नेतासम्म पहुँच नपुगेर होकी, राज्यले हामीहरूलाई उपेक्षामा पारेर हो, यस क्षेत्रका जनतालाई सधैँ पानीकै पिरलो छ, सुगम ठाउँहरूमा एक घर एक धारा बनिसकेका छन् ।”

काठमाडौं:     विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ ।  राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताउनुभयो । शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको पौड्यालले बताउनुभयो ।  “राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ”, पौड्यालले राससँग भन्नुभयो, “शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।” शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ ।  घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिनुभएको थियो ।  टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए । माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियोे ।

बाजुरा:    जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।  भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।   पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।