पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गरे । “योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने आवश्यक्तालाई उनले औंल्याएका छन् । संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उनको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उनको छ । मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी गराए । उनले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गरे । कार्यशालबाट शिक्षा योजना निर्माणले गति लिने अपेक्षा उनले गरेका छन् । शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताए । उनी विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त छन् । समर्पित शिक्षक, जिज्ञासुु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उनको छ । कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरुको सहभागिता छ ।
दाङ: दाङमा आज भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
काठमाडौं: एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन । साथै सुमैया अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए ।
काठमाडौं: सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी सङ्घीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीयतालाई कमजोर बनाउनेगरी व्याख्या भइरहेको छ, त्यो बेठिक छ । कैयौँ कुरा क्षमता, कानुन र बुझाइको अभावमा कमजोरी हुन पुगेका छन् ।” उहाँले सङ्घीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “कानुन निर्माणदेखि सङ्घीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै सङ्घीयता बोझिलो, खर्चिलो र स्रोतको दुरुपयोग भयो भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको छ, । संविधानका संशोधनमा सङघीयताका बारेमा बहस हुनु गलत छ ।” सङ्घीयतासम्बन्धी अभ्यास, जिम्मेवारी र भूमिका कस्तो रह्यो भनी अब गम्भीर समीक्षाको खाँचो रहेको बताउँदै सभामुख घिमिरेले भन्नुभयो, “आगामी दिनमा सङ्घीय संसद्मा यसबारे पर्याप्त बहस र छलफलका लागि आवश्यक वातावरण मिलाइनेछ ।” वित्तीय सङ्घीयताका ज्ञाता यमनाथ शर्माले ऋण लिएर भए पनि प्रदेश र स्थानीय तहलाई खर्चको व्यवस्थापन गरेकाले नेपाल सरकार वित्तीय सङ्घीयता कार्यान्वयका हिसाबले उदार रहेको टिप्पणी गर्नुभयो । आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय सङ्घीयता, राजस्व व्यवस्थापन, खर्च जिम्मेवारी, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, स्रोत परिचालनसम्बन्धी विवाद समाधान, प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन अध्ययन गरेर प्रचारप्रसार गर्ने कार्यलाई समेत आयोगले कार्यक्षेत्र बनाएको जानकारी दिनुभयो । आयोगका सचिव किरणराज शर्माले सङ्घीयता, वित्त सङ्घीयता, अन्तर–सरकारी वित्त व्यवस्थापन र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा सम्बन्धित विषयका ज्ञाताका ३८ वटा लेख रचना प्रकाशित स्मारिकामा समावेश रहेको जानकारी दिनुभयो । प्रकृतिक संरक्षणका क्षेत्रमा कार्यरत डा घनश्याम गुुरुङले प्रकृति र प्राकृतिक स्रोतसाधनको दीगो विकास र उपयोग गर्नका विषयमा आएका आवाजलाई विकास विरोधी भन्न नमिल्ने बताउनुभयो । पूर्वसचिव वेगेन्द्र शर्मा पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तीन तहकै सरकारलाई सन्तुलित, पारदर्शी र न्यायिक ढङ्गले सरकारको ढुकुटीको रकम वितरणको अधिकार रहने बताउनुभयो । स्मारिकामा सङ्घीय इकाईको आवधिक योजना र बजेट, नेपालमा सङ्घीयता, अर्थशास्त्र, अर्थतन्त्र, बजेट र सार्वजनिक ऋण, वित्तीय सङ्घीयता कार्यान्वयनमा अन्तर सरकारी वित्त व्यवस्थापन प्रणाली र आगामी कार्यदिशालगायतका शीर्षका विषय विज्ञका लेख समावेश छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गर्नुभएको छ । मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको हो । कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताउनुभयो । “कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो”, उहाँले भन्नुभयो, “यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।” प्रवक्ता बुढाथोकीले मन्त्रालयले व्यवस्था गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्यमा सेवासम्बन्धमा गुनासा भए टिपाउन आग्रह गर्दै त्यसको सुनुवाइ भइरहेको दाबी गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो । सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो । भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा हुनुहुन्छ । –––
नयाँ दिल्ली: परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उहाँले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवद्र्धनसम्बन्धी नीति नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभएको हो । मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गर्नुभयो । उहाँले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराउनुभयो । मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रुपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई १ उदाहरणीय ढाँचाका रूपमा विकास गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउँदै दुई देशबीचको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्राथमिकताका साथ थप मजबुद बनाउँदै लगिनुपर्ने बताउनुभयो । त्यस अवसरमा उहाँले अन्तरदेशीय ९क्रस–बोर्डर० पूर्वाधार विकासमा जोड दिनुभयो । “एकीकृत जाँचपास केन्द्र (इन्टिग्रेटेड चेक पोस्ट–आईसीपी), रेलमार्ग, पेट्रोलियम पाइपलाइन, र विद्युत् प्रशारणलाइनजस्ता परियोजना नेपाल–भारत आर्थिक सहकार्यका महत्तवपूर्ण आधार स्तम्भ हुन्”, उहाँले भन्नुभयो । सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको सम्झौता विद्युत् व्यापार सम्झौताले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले हालै भारतको प्रशारणलाइनमार्फत् बङ्गलादेशलाई ४० मेगावाट विद्युतु बिक्री गर्न सक्षम भएको बताउनुभयो । भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशीक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उहाँको भनाइ थियो । उहाँले भन्नभयो, “शिक्षादेखि स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगीकरणमा भारतको सहयोगले यो सम्बन्ध अझ बलियो बनाएको छ । धार्मिक यात्राहरू, सांस्कृतिक पर्वहरूले हाम्रो सम्बन्धलाई पुस्तौदेखि नजिक बनाउँदै आएका छन् । पछिल्ला वर्षमा द्विपक्षीय आर्थिक सहकार्यको दायरा बढेका छन् र यस क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ ।” मन्त्री डा राणाले २ देशबीचको व्यापार असमान रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालको भारतसँगको व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा निकै बढेको उल्लेख गर्नुहुँदै यस्तो असमानता कम गर्न व्यापारको विविधिकरण र विस्तारका उपाय खोज्न सम्मेलनमार्फत् आह्वान गर्नुभयो । नेपाल–भारत व्यापारमा रहेका अवरोध हटाउन अति आवश्यक रहेको पनि उहाँको भनाइ थियो । गैर–भन्सार अवरोध, सीमा व्यापारका संरचनागत समस्याहरूले दुवै देशको आर्थिक सम्बन्धलाई अवरोध पु¥याएको तथ्य उहाँले राख्नुभयो । ईग्रोका प्रमुख कार्यकारी डा चरन सिंहले यस प्रकारको सम्मेलन पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै छिमेकी मुलुकहरूसँग सहकार्य, सिक्ने र सिकाउने अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । शैक्षिक अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका यो सम्मेलनले खेल्न सक्ने उहाँले जानकारी दिनुभयो ।काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा अच्युत वाग्लेले नेपाल र भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरू पहिचान गर्न यस सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले यो सम्मेलनलाई ‘ट्रयाक टु डिप्लोमेसी’को उदाहरणका रूपमा उल्लेख गर्दै शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्याङ्कको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो । नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औंल्याउँदै उहाँले नेपालले भारतबाट आयात गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गर्नुभयो । रजिष्टार वाग्लेले जलवायु परिवर्तनका साझा समस्याहरूको समाधानमा दुई देशबीच सहकार्यको आवश्यकता औंल्याउनुभयो । जलवायु परिवर्तनका असरले हिमाल पग्लिनु नेपालको मात्र नभई भारत र समग्र विश्वकै समस्या रहेको बताउँदै उहाँले हरित र दिगो विकासका अवधारणाको लागि सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो । त्यसैगरी, युवा पलायनको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ । साथै, नेपाल र भारतबीच पेमेन्ट गेटवे सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ ।सम्मेलनमा ईग्रोका निर्देशक डा अशोक विसनदासले यो सम्मेलन शैक्षिक उपलब्धिमा मात्र सीमित नरही क्षेत्रीय एकता र सहकार्य प्रवर्द्धधन गर्न महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार दिगो र समावेशी विकासका लागि नीतिगत तहमा सहकार्य गर्ने विषयमा सुझाव प्रदान गर्ने यो सम्मेलनको महत्वपूर्ण भूमिका रहनेछ । उहाँले द्विपक्षीय लगानी, पूर्वाधार निर्माण, व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा व्यक्त गर्नुभयो । साथै, भारतको आर्थिक उदारीकरणबाट नेपालले सिक्न सक्ने सकारात्मक पक्षबारे पनि उहाँले प्रकाश पार्नुभयो ।
कैलाली: टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा र बच्चालाई स्कुल पु¥याउँदैमा बित्छ । त्यसपछि दिउँसोको समयमा उहाँ टीकापुर–७ स्थित तिलगङ्गा बेत बाँस फर्निचर उद्योगमा पनि काम गर्न पुग्नुहुन्छ । उहाँले बिहान–बेलुका घरको कामसँगै उद्योगमा काम गरेर मासिक रु २५ देखि ३० हजारसम्म कमाउनुहुन्छ । घरमा बसेर घरको रेखदेखसँगै आम्दानी हुने काम गर्न पाउँदा अञ्जली खुसी हुनुहुन्छ । “श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ उहाँले भन्नुभयो, “मैले घर र केटाकेटीको स्याहार सुसारसँगै घरखर्च कमाइरहेको छु । दुवैजनाले काम गर्दा सहज भएको छ ।” अञ्जली जस्तै टीकापुर–३ कि सुनिता चौधरीको दैनिकी पनि सोही उद्योगमा काम गरेर बित्छ । सुनिता श्रीमानसँगै सोही उद्योगमा काम गर्नुहुन्छ । “खेती पनि लगाउने गरेका छौँ”, सुनिताले भन्नुभयो, “घरपरिवार केटाकेटी, खेतीबारीसँगै नजिकै रहेको उद्योगमा काम गर्दा निकै सहज हुन्छ । हामीले घरपरिबारसँग समय बिताउन पाएका छौँ भने रोजगारी पनि पाएका छौँ ।” अञ्जली र सुनिता जस्तै उक्त फर्निचर उद्योगमा ३५ जनाभन्दा बढीले काम गरिरहेका छन् । टीकापुर–७ सत्तीमा पाँच वर्ष अगाडि स्थानीय भरतलाल विकले तिलगङ्गा बेत बाँस फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएको हो । “उद्योग सञ्चालनको सुरुआतमा भारतको कलकत्ताबाट कामदार ल्याएको थिए”, उहाँले भन्नुभयो, “विस्तारै स्थानीयलाई काम सिकाए, अहिले ३५ जनाभन्दा बढी स्थानीयलाई रोजगार दिइरहेको छु ।” भारतीय कामदारले भन्दा स्थानीयले रोजगारी पाउन भन्ने उद्देश्यले स्थानीयलाई नै प्राथमिकतामा राखेको भरतलालको भनाइ छ । उहाँका अनुसार कामदारलाई प्रतिगोटाका आधारमा पारिश्रमिक दिने गरिन्छ । १ जनाले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्ने गर्दछन् । वर्षायाममा भने बेत बाँसका काम हुँदैन । “८ वर्ष मलेसियामा बसे त्यसपछि भारतको कलकत्तामा गएर काम सिके । त्यहाँ सिकेको सीप आफ्नै ठाउँमा सदुपयोग गर्दै स्थानीयले पनि रोजगारी पाउन भन्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेको हुँ”, भरतलालले भन्नुभयो । “रु १० लाखबाट सुरु गरेको उद्योगबाट थुप्रै कमाएँ भन्न त सक्दिन तर सन्तुष्ट छु”, उहाँले भन्नुभयो । उद्योगमा उत्पादित सामग्रीले राम्रो बजार पनि पाइरहेका छन् । टीकापुर नगरपालिका कार्यालयमा पनि उद्योगबाट उत्पादित सामग्री प्रयोग भइरहेको र काठमाडौँ, पोखरालगायतका विभिन्न जिल्लामा सामग्री पठाउने गरेको उहाँले सुनाउनुभयो । कच्चापदार्थका (बेत बाँस)का लागि नजिकै रहेको सत्ती कर्णाली सामुदायिक वन छ । उक्त सामुदायिक वनबाट आवश्यकता अनुसार बेत बाँस ल्याउने गरेको उहाँ बताउनुहुन्छ । सामुदायिक वनले बोलपत्र आह्वान गरी बेत बाँस बिक्री गर्ने गर्दछ ।
काठमाडौं: मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बङ्गलादेशबीचको खेल ११ः४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । यस खेलमा बङ्गलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउन सक्ने छ । वर्षाका कारण १ १ अङ्क बाँडे बङ्गलादेश रनरेटका आधारमा शीर्ष २ मा पुग्नेछ । यसअघि नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो । बङ्गलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।