काठमाडौं: कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ गत प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । जनकपुरको यो जितमा जिमी निशमले १७ बल खेल्दै दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । हर्ष ठाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाएका हुन् । बलिङतर्फ कर्णाली याक्सका विपिनप्रसाद शर्माले तीन विकेट लिए भने सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा सर्वाधिक २५ रन बनाएका हुन् । त्यस्तै ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्दुई चौकाको सहयोगमा १२ रन जोड्दा १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाएका थिए । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट र हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट लिएका थिए ।
पोखरा: ‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’ भन्ने नाराका साथ पोखरा महानरपालिका १ मोहरिया टोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको ४० औँ वार्षिकोत्सवको अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको हो । एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए । दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना स्थान हाँसिल गरिन् । त्यसैगरी मावि तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरिले सान्त्वना स्थान हाँसिल गरिन् । एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ रहेकी थिइन् । यसैगरी वार्षिक रुपमा हुँदै आएको खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो । विद्यालयका संस्थापक शम्भुलाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य निलकण्ठ पौडेलले गरेका थिए । भने, कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ६ जना घाइते भएका थिए । घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । ‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइते ४ जना मध्य ३ जना गम्भिर र २ जना सामान्य रहेका छन्, घाइतेहरुको उपचार भइरहेको छ ।’ स्कारपियो दुर्घटना हुँदा गम्भिर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्कारपियो सवार ६ जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, घाइते ४ जनाको सिम्रिक एयरबाट उद्धार हुँदै
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा परेको हो । स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । ‘पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो बतासे डाँडामा दुर्घटना भएको हो, दुर्घटनामा ६ जना घाइते भएका छन्, १ जनालाई एम्बुलेन्स र ४ जनालाई सिम्रिक एयरबाट उद्धार गर्दै छौं’ सूचना अधिकारी पाठकले भने । उनका अनुसार चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै छ । गाडी करिव ६ सय मिटर तल खसेको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले चालकको लापरवाहीले दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेर एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्की ट्राफिक कार्यालयले जनाएको छ । घाइतेको पहिचान खुलेको छैन । थप विवरण आउँदै
काठमाडौं: मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका हुन् । यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । सुपर–४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।
चितवन: गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहो¥याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनुभयो । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उहाँले हुने बताउनुभयो । सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जलामा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनुभयो । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गर्नुभएको छ । सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गर्नुभयो । “कस्ले दुष्प्रचार गरेको हो जानकारी छैन”, उहाँले भन्नुभयो । उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । उहाँका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताउनुभयो । उहाँले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताउनुभयो । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिनुभयो । नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गर्नुभयो । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभयो । कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिनुभयो ।
सर्लाही: सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो । समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित हुनुभएका उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । झाका श्रीमती, एक छोरा र चार छोरी छन् । झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा–४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिनुभयो । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवीे गुमाएको उहाँले बताउनुभयो । यसैबीच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।