पोखरा: नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ । ४० वर्षतर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्षतर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पर्नेछ । भने, ६० वर्षतर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु मुख्य दायित्व रहेको बताउनुभयो । ‘रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्नका लागि सरकारको प्रतिबद्ध छ । अपाङ्गतामैत्री संरचना र सेवा जरूरी छ । सामाजिक सुरक्षाको प्रबन्ध गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो– ‘अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अपरिहार्य छ । उनीहरूको सहजताका लागि राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्न आवश्यक ठानेको छु।’ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्न आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । ‘नेपालमा एकातिर विभिन्न स्वास्थ्यसम्बन्धी कारणबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या बढ्दै गइरहेको देखिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘अर्कोतर्फ समाजमा उनीहरूप्रति गरिने व्यवहार, मुलुकमा दशकौँदेखि व्याप्त रुढी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गहरूले मानव भएर पनि न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ प्रदेश प्रमुख भट्टले नेपाल नेत्रहीन संघमा निर्वाचित अध्यक्ष शिशिर खनालसहितका संघीय पदाधिकारीहहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालमा दृष्टिविहीनहरूको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्यसम्पादन हुने अपेक्षा पनि राख्नुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले मृत्युपर्यन्त नेत्रदान गर्ने घोषणा पनि गर्नुभयो । ‘आँखासहित मेरा अंगहरु कसैको जीवनप्राप्तिमा काम लाग्छ भने यसको लागि म प्रतिवद्धता व्यक्त गर्दछु।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । कार्यक्रममा दृष्टिविहीनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेहरूलाई सम्मान पनि गरिएको थियो । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेपाल नत्रहीन संघका अध्यक्ष शिशिर खनाल, संस्कृत माविका अध्यक्ष विष्णुप्रसाद अधिकारी, पोखरा वडा नं. १ का अध्यक्ष सहारा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल सरकार उपसचिव मिरा अधिकारी, संस्थाकी उपाध्यक्ष सुनिता ज्ञवालीलगायतले दृष्टिविहीनका हकअधिकारका बारेमा बोलेका थिए ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् । कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् । उनले आज प्रदेश समन्वय विभागको सचिवमा डा रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा इञ्जिनियर समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा धु्रव खड्का, सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा वुद्धिजीवी विभागमा विजय तुम्वाहाम्फे, तराई–मधेस समन्वय विभागमा मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा इन्द्रमान तुलाधर, वित्तीय संस्था समन्वय विभागमा सिए दिलमानसिंह चन्दलाई मनोनित गरेका हुन् । त्यसैगरी थारू विभागमा हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा एडी लामा, कानुन विभागमा अधिवक्ता कलमबहादुर खत्री, खेलकुद विभाग राजन केसी, शुभेच्छुक संस्था समन्वय विभागमा निर्मला क्षेत्री, संसदीय मामिला विभागमा वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा पासाङ शेर्पा, भू.पू. सैनिक विभागमा सुनिता लामिछाने, स्वास्थ्य विभागमा ईश्वर कार्की मनोनित भएका हुन् । पिछडिएको क्षेत्र समन्वय विभागमा उत्तम सिम्खडा, आपूर्ति तथा उपभोक्ता विभागमा मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा इ. सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा वीरेन्द्र थापा, व्यावसायिक सीप विकास विभागमा सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा रिसवदेव घिमिरे, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा रञ्जिता यादव, मानव अधिकार विभागमा डा वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा खगेन्द्र आचार्य मनोनित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पोखरा: पोखरामा पार्किङ गरी राखेको स्कुटर चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ लखनचोक (पृथ्वीचोक)मा पुष ९ गते पार्किङ गरि राखेको २ वटा स्कुटर चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पार्किङ गरि राखेको ग २५ प ७१३ र ग १८ प २७३७ नम्बरको स्कुटर चोरी गर्ने पोखरा–११ बस्ने २६वर्षीय सन्तोष लामिछाने, मादी गाउँपालिका घर भई पोखरा १५ बस्ने २७ वर्षीय किरण परियारलाई पुष १८ गते पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरेको २ वटै स्कुटर नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ बस्ने ३० वर्षीय प्रहलाद कोहारलाई बिक्री गरेको अनुसन्धानपछि हिजो (बिहीबार) ग १८ प २७३७ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विभागको कार्यालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । सचिव अर्यालले मर्यादित र वास्तविक पत्रकारिता गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । पछिल्लो समय समाचार पहिचान गर्नै नसकिने अवस्था आएको बताउँदै सचिव अर्यालले दक्ष पत्रकारको अभाव खड्किँदै गएको बताउनुभयो । विभागका महानिर्देशक प्रदीप परियारका अनुसार छात्रवृत्ति स्वरुप जनही रु २५र२५ हजार प्रदान गरिएको छ । गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिएको महानिर्देशक परियारले जानकारी दिनुभयो । अनलाइन फाराममार्फत विद्यार्थीको समावेशीता, अवस्था र आवश्यकता ख्याल गरेर छात्रवृत्ति वितरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा १२ र स्नातक तहमा अध्ययनरत ३२ विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । मधेसी र मुस्लिम समुदायका विद्यार्थीको आवेदन नपरेको उहाँले बताउनुभयो । यो वर्ष छात्रवृत्ति पाउनेमा लक्ष्मी तामाङ, रुपेश थापा, शशाङ्क कोइराला, प्रकाश कपाली, मञ्जुली कोजु, आर्जु सत्याल, स्वस्तिका तिमल्सिना, तेन्जिङ डोल्सा तामाङ, सुमन मचामसी, अमिता परियार र नवराज सोती छन् । सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जाल र पत्रकारिता बीचको फरक छुट्याएर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले दक्ष र सक्षम पत्रकारको अभाव भएको बताउँदै सरकारले यसका लागि आमसञ्चार प्रतिष्ठान छिट्टै गठन गर्नुपर्ने बताउनुभयो ।
पोखरा: पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइवटा प्याकेज बनाएको थापाले बताए । भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए । विदेशीलाई भने थप ५ हजार बढि लाग्ने उनले बताए । स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् । यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् । नेपालको प्राकृतिक सुन्दरतालाई विश्वभरका साहसिक पर्यटकलाई पु¥याएर नेपालमा आकर्षित गर्नु रहेको बताए ।
काठमाडौं: सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ । सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गर्नुभएको हो । नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गर्नुभएको हो । आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिनुुभएको थियो । यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गर्नुभएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । यो पनि पढ्नुहोस १५ महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा
काठमाडौं: मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो । युवा तथा खेलकुदमन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै विद्यालयस्तरदेखि नै खेल क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । नेपाली युवा टोलीमा कप्तान महतोेसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन् । नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले नेपाली टोलीको प्रशिक्षण राम्रो भएको बताउँदै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउने योजना रहेको उल्लेख गर्नुभयो । नेपाली टोलीकी कप्तान महतोले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने योजना रहेको बताउनुभयो । नेपाली टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ ।
कालीकोट: जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो । सुत्केरी ब्यथा लागेपछि बिहीबार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएकामा त्यहाँ सुत्केरी हुन नसकेपछि थप उपचारका लागि आज दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दीकुमारी शाहीले बताउनुभयो । “सुत्केरी ब्यथा लागेपछि यहाँको आधारभूत अस्पतालमा आउनुभएको थियो । यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएका छौँ”, उहाँले भन्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रममार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट उद्धार गर्नु परेको हो”, उहाँले भन्नुभयो ।