काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुग्नुभएको थियो । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवसको अवसरमा आयोजित खुल्ला धनुषवाण प्रतियोगिताको उपाधि मगर सेवा समाज माझखर्कले जितेको छ । ४३ औं मगर दिवसको अवसरमा मगर सेवा समाज माझखर्कले आयोजना गरेको खुल्ला धनुषवाण प्रतियोगितामा ६ िटमलाई पछि पार्दै आयोजक समेत रहेको मगर सेवा समाज माझखर्कले उपाधि जितेको हो । यस्तै प्रतियोगितामा सयपत्री हाइड्रोपावर दोस्रो र होली पूर्णिमा युवा क्लब ताराखोला तेस्रो भए । प्रतियोगितामा प्रथम भएको मगर सेवा समाज माझखर्कले १५ हजार, उपविजेता भएको सयपत्री हाइड्रोपावरले १० हजार र तृतीय भएको होली पूर्णिमा युवा क्लबले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै खुल्ला धनुषवाण प्रतियोगिता एकलतर्फ सयपत्री हाइड्रोपावरका दुर्ग बहादुर घर्तीमगरले उपाधि जिते । उपाधि जितेका घर्तीमगरले १० हजार हात पारे । यस्तै मगर सेवा समाज माझखर्कका खर्कबहादुर घर्ती मगरले द्धितिय हुर्दै ६ हजार र होली पूर्णिमा युवा क्लबका प्रदीप घर्ती मगर तृतीय हुँदै ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४३ औं मगर सेवा समाज माझखर्कको आयोजनामा गरिएको विविध कार्यक्रम मध्य आजदेखि खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको भलिबल प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार र तृतीय हुने टिम १४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ । मगर सेवा समाज माझखर्कले आयोजना गरेको कार्यक्रम फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले सोमबार राति सूचना जारी गर्नुभएको थियो । सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।” सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो । दुई पटक बसेको छलफलले टुङ्गो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन । ‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ ।
काठमाडौं: सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद्मा परी बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक सरह राहत दिने निर्णय गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपत्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिने निर्णय गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भारतको जयपुरमा यही फागुन १९ देखि २१ गतेसम्म आयोजना हुने ‘हाई–लेभल १२औँ रिजनल थर्ड थ्री आर एन्ड सर्कुलर इकोनोमी फोरम इन द एसिया एन्ड द पेसेफिक’मा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै थाइल्यान्डको बैङ्ककमा यही फागुन १९ देखि २१ गतेसम्म आयोजना हुने ‘एसिया एन्ड द पेसेफिक रिजनल प्रिपरटोरी मिटिङ फर द सेकेन्ड युनाइटेड नेसन्स फुड सिस्टम्स समिट क्वामोक्टेकिङ मुमेन्ट (युएनएफएसएस प्स फोर)’मा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यसैगरी संयुक्त राज्य अमेरिकाको हार्भड युनिर्भसिटी इन क्यामब्रिज, मासाचुसेट्समा आगामी वर्ष वैशाख १४ देखि १७ गतेसम्म आयोजना हुने ‘हार्भड मिनिस्टेरियल लिडरसिप प्रोग्राम’ अन्तर्गतको ‘२०२५ हार्भड मिनिस्टिरियल लिडरसिप फोरम’मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने, विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ‘ब्रिजेज इम्प्रुभमेन्ट एन्ड मेन्टेनेन्स प्रोग्राम’ तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ताटोली गठन गर्ने र उक्त वार्ताटोलीलाई विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिने तथा नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा कञ्चनपुरका शरद् ओझालाई नियुक्त गर्ने बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । यस्तै यही फागुन १८ देखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्री प्रदिप यादवलाई स्वीकृति दिने, झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन्) आदेश, २०८१ स्वीकृत गर्ने, यही फागुन २७ र २८ गते संयुक्त राज्य अमेरिकाको वासिङगटन, डिसीमा आयोजना हुने ‘२२औँ एनुअल ट्रान्सफर्मिङ ट्रान्सपोटेसन कन्फ्रेन्स’मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाली सेनाको महासेनानी र सहायकरथी पदमा एक एकजनालाई बढुवा गर्ने साथै, एक महासेनानी, दुई सहायक रथी र एक उपरथीको पदावधि थप गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । यस्तै यही फागुन २१ देखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘वल्र्ड सस्टेनेबल डेभलपमेन्ट समिट (डब्लुएसडी एस)’ मा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने, मोरङको पथरी शनिश्चरे नगरपालिकालाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि सोही नगरपालिका–१० स्थित राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने, आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको ‘नेसनल इथिक अफेयरस कमिसन (एनइएसी)’बीच हस्ताक्षर हुने ‘स्टे«न्थेनिङ फ्रेन्डली कोपरेसन’ विषयक समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी विकास), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभएको हो । उहाँले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो । “खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । ‘एसइई’मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले ‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउनुभयो । यसअघि प्रधानमन्त्री हुँदा आफूले ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले यसबीचमा प्रभावकारी रुपमा काम हुन नसकेको बताउनुुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ । जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नयाँ भवन उपयोगी हुने ठानिएको छ । सो कलेजले हालसम्म एमबिबिएसमा दुुई हजार २६२, बिडिएसमा ३३५, एमडी÷एमएस र एमडिएसमा ३२४ जना, विशिष्टीकृत सेवाअन्तर्गत डिएम एमसिएचमा आठ, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ गरी हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ । कार्यक्रममा स्वास्थ तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी हुनुहुन्छ ।
काठमाडौं: नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै रु २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो । त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु १६ करोड २७ लाख राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट रु नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट रु एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताउनुभयो । उहाँका अनुसार स्रोत नखुलेको रकम रु ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा रु २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट रु आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट रु १५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकामा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । माछापुच्छ्रे गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए हो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले फागुन १४ देखि १७ गते सम्म हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको बताए । ‘माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नम्बर ७ को व्यस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको संयोजनामा गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यमा हुने प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष गुरुङले भने, ‘ तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप यसपटक माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा सञ्चालन गर्दै छौं ।’ उनका अनुसार फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने २ टिमलाई ५०÷५० हजार रुपैयाँसहित ट्रफी मेडल, र प्रमाणपत्र प्राप्तगर्ने छन् । यस्तै महिलातर्फको विजेताले १ लाख, उपविजेताले ५० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले २५÷२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाइनलमा पराजित हुने टिमले प्राप्त गर्ने पुरस्कार राशीमा तोकिए बमोजिम नियमानुसार करकट्टी गरी पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोखो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गाउँपालिकाले जनाएको छ । गाउँपालिका ७ धम्पुसमा सञ्चालन हुने प्रतियोगितामा दर्शकहरुका लागि अवलोकनका लागि प्याराफिट निर्माण गरिएको छ भने, खेल अवधिभर होटल तथा होमस्टेमा १ हजार रुपैयाँका दरले खाना, खाजा र आवासको प्याकेज उपलब्ध हुनेछ ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त बसमा चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो । जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो ।

