हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

काठमाडौं:   सांसदहरुले पाथिभारा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ ।      प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।      बैठकमा सांसद सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भएको टिप्पणी गर्नुभयो ।      “सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको”, सांसद लिङ्देनले भन्नुभयो, “सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो ।”      अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उहाँले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको  र प्रतिकारमा उत्रिएको जानकारी गराउनुभयो ।      सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने उल्लेख गर्नृुभयो ।      सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सो आयोजनाको निर्माण तत्काल  स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।      सांसद माधव सापकोटाले सुशासन कायम गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’मा पुगेको बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको कार्यकक्षमा दुव्र्यवहार गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै घाइतेको उपचार गर्न र दोषीमाथी कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।  

काठमाडौं: राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा सङ्लग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदापनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  “संसद्मा सांसदहरुले उठाएका मुद्दाको कार्यान्वयन किन हुँदैन, संसद्मा सांसदहरुले उठाएको विषयको कार्यान्वयन हुँदैन भने हामी संसद्मा बोल्नु के अर्थ छ, जनतालाई हामीले के जवाफ दिने हो”, उहाँले भन्नुभयो । सांसद पासवानले सदाको बलात्कार घटनाको सम्बन्धमा पटक–पटक संसद्मा कुरा उठाउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै असन्तुष्टि जनाउनुभयो ।  “बलात्कार भएको घटना भएको आज १५ दिन भएको छ, तर अहिलेसम्म सरकारले संसद्मा आएर जवाफ दिएको छैन, प्रहरीले घटनामा सङ्लग्न व्यक्तिलाई अहिलेसम्म समाउन सकेको छैन, जतिसक्दो चाँडो दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउछु ।” गत माघ ३० गते नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार भएको थियो । माघ २७ गते राति शौच गर्न घर बाहिर निस्केकी रिङ्कुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कार भएको थियो । उनी भोलिपल्ट बिहानमात्रै घर पुगेकी थिइन् । वडासदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । सोही साँझ ९माघ ३० गते० पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।  बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भित्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारले शङ्कास्पद भनेको छ । सदाको बलात्कार र शङ्कास्पद मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ । 

काठमाडौं:  प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएड०मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गर्नुभएको छ ।  अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी ९फ्रड० भनेको उल्लेख गर्नुहुँदै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । “युएसएडमार्फत् नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भन्नुभएको छ । अनौपचारिक रुपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत् खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भन्नुभयो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भन्नुभएको हो बुझ्नुपर्ने बताउनुभयो ।  उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उठाउनुभयो । अर्थ समितिमा छलफलको क्रममा रहेका विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गोमा पु¥याउनुपर्ने पनि उहाँको भनाइ छ । सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभइ संसद्मा छलफल गरिनुपर्ने बताउनुभयो ।  “ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन । यो समिति भन्दा पनि संसद्को विषय हो”, उहाँले भन्नुभयो, “युएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ । यसबारे लिखित पत्राचार गरौँं र मन्त्रालयसँग विवरण मागौँं ।”  त्यस्तै, अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको, कार्यसूची भन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको तथा समितिका कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उहाँले उठाउनुभयो ।  

काठमाडौं: नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।      सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ ।      सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।      उनीहरुबाट रु २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ । उनीहरु कूल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्तिहरु हुन् । प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।      यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई  सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट नौ सय तीन र केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिबादी पक्राउ गरेको छ ।       उनीहरुलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं:  युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु भएको हो ।       दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो ।      शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ ।       यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूतावासले जनाएको छ ।        कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज बनाउने उद्देश्यले हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको पोर्चुगलका लागि कार्यवाहक राजदूत रामबाबु नेपालले जानकारी दिनुभयो । लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उहाँले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलवासी नेपालीलाई आग्रह गर्नुभयो ।      “हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ”, नेपालले भन्नुभयो, “दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।”       पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्रसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ ।      दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगायत कर्मचारी खटिनुभएको छ । दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।      लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज भएको बताएका छन् ।       दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ ।  यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल पोर्चुगल आउन नपाएपछि फिर्ता बोलाइएको थियो ।       नेपाललाई फिर्ता बोलाएसँगै दूतावास स्थापनाको विषय केही समय अन्योल बनेको थियो । हाल उहाँ स्पेनका लागि राजदूत नियुक्त भई जिम्मेवारीसमेत सम्हाली सक्नुुभएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको थियो ।      पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली सङ्घ पोर्चुगललगायत यहाँ रहेका नेपाली सङ्घसंस्था, सामाजिक अभियन्तालगायत पोर्चुगलवासी नेपालीले लामो समयदेखि सङ्र्घष गर्नुका साथै विभिन्न दबाबमूलक कार्यक्रमसमेत हुँदै आएको थियो ।

स्याङ्जा:  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।      व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुनुहुन्छ । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गर्नुभएको हो । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गर्नुभएका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आउनुभएको छ ।      यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।”      गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु ६० लाख हुन पुगेको उहाँ बताउनुहुन्छ ।           करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सार्नुभएको थियो । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गर्नुभएको छ ।      “मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो”, उहाँले भन्नुभयो, “आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु ।” सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्रै रु चार करोड ५७ लाखको सुन्तला खरिद बिक्री गर्नुभएको छ ।

चितवन:  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।       लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।       रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।  निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन् ।       यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । रोहित भारतीय सेनामा कार्यरत रहेका थिए । 

काठमाडौं:  संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ ।  सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।   प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आएसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो ।  हाल दक्षिण सुडानमा नेपाली सेनाबाट ‘सेक्टर कमाण्डर,’ सैनिक पर्यवेक्षक, ‘स्टाफ’ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी एक हजार सात सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।

काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।       आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।