किसानले बिक्री गरे ६० लाखको सुन्तला
स्याङ्जा | फागुन ११, २०८१
स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।
व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुनुहुन्छ । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गर्नुभएको हो । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गर्नुभएका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आउनुभएको छ ।
यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।”
गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु ६० लाख हुन पुगेको उहाँ बताउनुहुन्छ ।
करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सार्नुभएको थियो । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गर्नुभएको छ ।
“मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो”, उहाँले भन्नुभयो, “आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु ।” सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्रै रु चार करोड ५७ लाखको सुन्तला खरिद बिक्री गर्नुभएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

