काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

चितवन:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ ।       आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो ।       उहाँले भन्नुभयो, “हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।”       फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताउनुभयो ।  चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । 

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ ।       कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो ।       लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे ।      त्यस्तै, रवि बोपाराले १६ बलमा १२ रन बनाए । लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिए भने रामोन सिमोण्डसले दुई तथा साद विन जाफर र अभिषेस गौतमले समान एक–एक विकेट लिए ।      त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा छ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी, साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।      चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए । पहिलो अङ्क पाएको लुम्बिनी पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।      चितवनले भने पाँच खेलमा तीन जित र दुई हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुआती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो ।  काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शत्प्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ । 

काठमाडौं:    सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गर्नुभयो ।  त्यसैगरी तारा लामाले ३, माधव सापकोटा र सुहाङ नेम्वाङले समान २ र मनिष झाले १ गोल गर्नुभयो ।प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले ९ गोलको अन्तर कायम गरेको थियो ।  दोस्रो हाफमा थप ४ गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको थियो ।  प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत हुनुहुन्थ्यो ।  राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु हुनुहुन्थ्यो । यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी ९मर्यादापालक० को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

जुम्ला:    यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ ।  उक्त सामुदायिक वनक्षेत्र चार सय ९१ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरपरिवार हाल रेडपाण्डा संरक्षणमा जुटेको उक्त वन समितिका पूर्वउपाध्यक्ष वीरबहादुर रोकायाले जानकारी दिनुभयो । रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन स्थानीयवासी जुटेका हुन् । उक्त क्षेत्रमा डढेलो लाग्न नदिने, नियमित वृक्षरोपण गर्ने, वनफडानी रोक्ने र रेडपाण्डाको बासस्थान जोगाउने काम स्थानीयले गरेका छन् । रेडपाण्डाको बासस्थानका लागि निगालो, धुपी, घोडापाङ्गर, चुक, काठेओखर, खस्रु, सल्लो, झुलो, भोजपत्र र ठिङ्गोका बिरुवा रोपिएको छ । जङ्गलभित्र पोखरी निर्माण गरिएको छ ।  रोकायाले भन्नुभयो, “दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित भएका छौँ । यसको संरक्षण जरुरी छ । के गर्दा रेडपाण्डाको बासस्थान जोगाउन सकिन्छ भन्ने विषयमा खोजी गर्न थालेका छौँ ।” सर्वसाधारणलाई सचेत गराउने, जङ्गल फडानी गर्नेलाई समुदायस्तरमा स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको स्थानीय ६५ वर्षीय मुनबहादुर बुढाले बताउनुभयो । समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौँ र हातेमालो नेपाल जुम्ला शाखाले ती क्षेत्रमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यान्वयनमा ल्याएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिनुभयो ।  जिल्लाको सिञ्जा, तातोपानी, पातारासी गाउँपालिकाका ५ वटा सामुदायिक वनमा रातो हाब्रेको बासस्थान रहेको छ ।  पातारासीको महारुद्र आधारभूत विद्यालय र सिञ्जाको चुलेलगाउँ माविमा कक्षा–६ मा वातावरण संरक्षणसम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन–अध्यापन भइरहेको छ ।  पातारासीको महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा दुईवटा क्यामेरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीनपटक क्यामेरा हेर्ने गरिएको छ । ४ वटा सामुदायिक वनमा १७ हजार बढी वृक्षरोपण गरिएको छ । 

महोत्तरी:    लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।  “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का किसान ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ ।”  चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ ।  पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ किसान रहिमन मण्डल बताउनुहुन्छ । मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ ।  उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर–२ की शिला यादव बताउनुहुन्छ ।  मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दैछ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा–४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ ।  धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताउनुभयो ।यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ ।  अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ ।खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुदिप ठाकुर बताउनुहुन्छ ।  यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गर्नुभएको छ । तराईमा हुस्सु र सितलहरसँगै चिसो बढ्यो पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने अहिले बिहानैदेखि हुस्सु लागेको हो ।  पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ ।  महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई–मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।  चिसोले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसो बढेकाले ढिलो गरी खुलिरहेका सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।  उहाँले साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार चाँडैै सुनसान हुन थालेको उल्लेख गर्नुभयो  । यहाँ न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् ।  कठङ्याङ्गिदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सुन्दरहरैँचाका अशोक रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारी साधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।” चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा  बढेका छन् ।  बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने  हवाई उडान  खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको छ ।  

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू २ हजार १ सय बढेको छ । सोमबार प्रतितोला रू १ लाख ५० हजार १ सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू १ लाख ५२ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू १ हजार ९ सय २५ कायम भएको छ ।

रौतहट:    बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।  दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिनुभयो ।  मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो । दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

दाङ:    घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो ।  घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उहाँले बताउनुभयो ।“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भन्नुभयो ।  साढे ७ सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उहाँले बताउनुभयो । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ ।  घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र  स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उहाँ बताउनुहुन्छ । हालसम्म रु एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ ।  घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि रु १ हजार ८ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताउनुभयो ।    

पोखरा:    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ ।   पृथ्वीनारायण क्याम्पस पोखरामा २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज (आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो ।   कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिककार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।    उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ ।       यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ ।   लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने, रचना रिमाल (२६ गते) र टुकीको पनि प्रस्तुती रहनेछ ।   महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।