पोखरा:   नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ...

चितवन:     नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ ।       चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभयो ।      अध्यक्ष दाहालले भन्नुभयो, “अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो ।       अध्यक्ष दाहालले भन्नुभयो, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।” अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उहाँको भनाइ थियो ।       कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो । 

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।      कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो । 

काठमाडौं:    नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरणसभा आयोजना गरेको बताउनुभएको छ ।       नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटा जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अनावश्यक षडयन्त्रलाई चिर्न जागरणसभा आयोजना गरेको स्पष्ट पार्नुभयो ।  उहाँले देशका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेका बेला विभिन्न षडयन्त्र भइरहेकोतर्फ सचेत हुन आग्रह गर्नुभयो ।       राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदै आएको छ, अहिले एमालेलाई समाप्त पार्न अनेक षडयन्त्र भइरहेका छन् । एमालेविरुद्ध फैलाइएका सबैखाले भ्रम चिर्न पार्टी पंक्ति एक हुनुपर्ने समय आएको छ ।”      महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आर्थिक प्रगति गर्ने मुलुकहरुको सूचीमा नेपाल परेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नुपर्दछ, तब मात्र देश बन्दछ ।”        महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको महसुस गरी ठूला राजनीतिक दल एक भइ सरकारमा गएको बताउनुभयो । पछिल्ला दिनमा एमालेसँग जोडेर गलत प्रचार हुन थालेको उल्लेख गर्दै आफ्नो पार्टीमाथी जोडिएका सबै विषयमा छानबिन गर्न चुनौती दिनुभयो ।       महासचिव पोखरेलले अराजकताका विरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने प्रयास भइरहेको बताउँदै भन्नुभयो, “नेकपा एमाले जनताको हृदयमा छ, राष्ट्रको हृदयमा छ, नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेका छन्, त्यसतर्फ हामी सबै सचेत रहनुपर्छ ।”      उहाँले कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदासमेत कुप्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो । नेकपा एमाले सहकारी छानबिनमा व्यक्ति नभई घटना केन्द्रित छानबिन गरौँ भन्ने पक्षमा रहेको स्मरण गराउँदै महासचिव पोखरेलले व्यक्ति केन्द्रित भइ अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सभापति अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष अहिले एमालेमाथि लगाउने काम भइरहेकाले उहाँले आपत्ति प्रकट गर्नुभयो ।       एमाले देश बनाउने यात्रामा रहेको बताउँदै महासचिव पोखरेलले  देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालेले ग्रहण गर्ने बताउनुभयो ।

काठमाडौं:    मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् ।  यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको राजस्वको गतिलो माध्यम पनि बनेका छन् । साथै, मोटरबोटप्रतिको आकर्षणले ती क्षेत्रमा पर्यटनको नयाँ सम्भावना पनि बढेको छ ।            अधिकांश स्थानमा मनोरञ्जनका लागि सञ्चालनमा ल्याइएका यी मोटरबोट केही स्थानमा भने यात्रु ओसारपसार र सामान ढुवानीमा पनि प्रयोग भइरहेका छन् ।  सरोकारवालाका अनुसार मोटरबोट सञ्चालनबाट विभिन्न स्थानीय तहले वार्षिक औसतमा न्यूनतम रु १० लाखदेखि झण्डै रु एक करोडसम्म राजस्व सङ्कलन गरिरहेका छन् । त्यतिमात्रै होइन, यसबाट हजारौँको सङ्ख्यामा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पनि सिर्जना भइरहेको जानकारहरु बताउँछन् ।            पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ । स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन र व्यवस्थापनमा चुनौती थपिएको छ ।  नेपालमा मोटरबोट उत्पादन र सञ्चालनमा क्रियाशील बोटेबोरा कम्पनीका अध्यक्ष विष्णु ढकाल स्पष्ट कानुन नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताउनुहुन्छ । कानुनको अभावमा यसको सञ्चालन, नियमन, व्यवस्थापनदेखि अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।            ढकालको बोटेबोरा कम्पनीले मुलुकका विभिन्न स्थानमा मोटरबोट सञ्चालन गर्दै आएको छ भने उहाँकै कम्पनी नेपाल सीप एण्ड बोट बिल्डिङले मोटरबोट उत्पादन गर्दै आएको छ ।  “हाल विभिन्न स्थानमा मोटरबोट सञ्चालन त भइरहेका छन्, तर स्पष्ट कानुन भने छैन, जसका कारण व्यवसाय सञ्चालन, राजस्व सङ्कलन र व्यवस्थापनलगायतमा एकरुपता कायम हुन सकेको छैन”, उहाँले भन्नुभयो ।            ढकालका शब्दमा कानुन नबन्दा प्रमुख पर्यटकीय गन्तव्यहरु पोखराको फेवा र मुगुको रारालगायतका तालमा क्रुजसमेत सञ्चालन गरी पर्यटकीय आकर्षण बढाउन सकिएको छैन । कानुन भयो भने विभिन्न जलाशय तथा नदीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।  कानुनको पर्खाई      प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना भएको थियो । यसको उद्देश्य नेपालका साथै समुन्द्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्नु थियो तर ऐन निर्माणमा भएको ढिलाइले पनि कार्यालयले अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन । नयाँ ऐन बन्न नसक्दा सञ्चालन भइरहेका जल यातायातको दर्ता तथा नियमनमा समस्या भइरहेको सो कार्यालयका सूचना अधिकारी राजन प्रधानको भनाई छ ।       हाल नेपालमा पानीजहाजसम्बन्धी ५४ वर्षअघिको ऐन कार्यान्वयनमा छ । तत्कालीन समयमा पानीजहाज दर्ता ऐन, २०२७, नेपाल पानीजहाज (प्रमाणपत्र, रोजनामचा), २०२७, नेपालको व्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन, २०२७ र नेपाली पानीजहाज दर्ता नियमावली, २०२८ बनेका थिए । तर ती कानुन अहिले समयसापेक्ष नभएकाले पर्याप्त छैनन् ।            बोटेबोरा कम्पनीका सञ्चालक ढकाल आफू यो क्षेत्रको विकास, नियमन र व्यवस्थापनका लागि जतिसक्दो छिटो ऐन निर्माण हुनुपर्ने बताउनुहुन्छ । “यो पर्यटकीय र आर्थिक दृष्टिले निकै सम्भावना भएको क्षेत्र हो, सरकारले यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि जतिसक्दो छिटो कानुन बनाउँछ, त्यति नै छिटो यसको विकास र विस्तार गर्न सकिन्छ, यसबाट लाभ लिन सकिन्छ ।”       पानीजहाज कार्यालयका सूचना अधिकारी प्रधानका अनुसार हाल भौतिक पूर्वाधार तथा यातायात र कानुन तथा संसदीय मामिला तथा अर्र्थ मन्त्रालयलगायतबाट स्वीकृत भई संसदमा पस हुने तयारीमा छ ।  “तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्बाट समेत पारित गरिसकेको छ, संसदको आगामी अधिवेशनमा सम्भवतः पेस हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ऐन निर्माणपछि विदेशी लगानीका विषयदेखि हाल सञ्चालनमा भइरहेका मोटरबोट नियमन गर्न सहज हुनेछ ।       चितवनको नारायणी नदीमा मोटरबोट व्यवसाय सञ्चालन गरिरहनुभएका रङमहल रिभर ल्याण्ड प्रालिका अध्यक्ष आशीष मल्ल पनि ऐन नबन्दा सञ्चालन र नियमनमा समस्या भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार मोटरबोटको बिमालगायतको पनि समस्या छ ।  “कानुन नहुँदा एक प्रकारकाले असुरक्षित रुपमा व्यवसाय सञ्चालन भइरहेको जस्तो छ, कानुन बन्यो भने धेरै समस्या सम्बोधन हुन्छ, साथै यस व्यवसायबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै सरकारको राजस्वमा पनि थप योगदान हुने देखिन्छ”, उहाँले भन्नुभयो ।            अहिले पनि सम्भावना भएको भनिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि बढाउन पाइएको छैन । उक्त क्षेत्रमा २०५४ सालमा मध्यवर्ती क्षेत्रमा मोटरबोट सञ्चालनका प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइई) गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।  त्यसका लागि तत्कालीन जलस्रोत मन्त्रालय, गृह मन्त्रालय, वन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि सहमति आइसकेको थियो ।            आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जलाई निकुञ्जको मध्यवर्ती क्षेत्रमा डुङ्गा चलाउने विषयमा जानकारी माग गरेको थियो । निकुञ्जले अमलटारीलाई पत्राचार गर्दै डुङ्गा चलाउँदा केही समस्या हुन्छ वा हुँदैन भन्ने विषयमा राय लिएको थियो ।  अमलटारीले केही समस्या छैन भनेर राय पनि दिएको थियो । त्यति हुँदा पनि विभागले भने नियमावली नभएको बाहनामा सञ्चालनको अनुमति नै दिएको छैन ।            हाल सञ्चालनमा भइरहेका मोटरबोटहरुले कम्पनी रजिस्टार कार्यालयमा दर्ता तथा पर्यटन विभागबाट साहसिक खेलको अनुमति लिएका छन् । कानुन नहुँदा दुर्घटना बिमा भएको व्यवस्था भए पनि मोटरबोट र इञ्जिनको बिमा हुन सकेको छैन । त्यति मात्रै होइन, यसका लागि आवश्यक जनशक्तिका लागि तालिम दिन संस्था स्थापनाका लागि कानुन जरुरी छ ।       कानुन अभावमा प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइई) पनि समस्या छ । जस्तै कुनै स्थानमा एउटा कम्पनीले आइई गरेर सेवा सञ्चालन गरिरहेको छ भने अर्को कम्पनी आउँदा फेरि आइई गर्नुपर्ने अवस्था छ । उदाहरणका लागि, नारायणगढस्थित नारायणी नदीमा १३ वटा कम्पनीले छुट्टाछुट्टै आइई गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् ।  सहमति कार्यान्वयनका लागि ऐन जरुरी      तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएपछि नेपालबाट समुन्द्रससम्म पानीजहाज सञ्चालनको बोटो खुलेको थियो । यसबाट नेपाललाई भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्ग प्रयोग गर्न सक्ने गरी सुविधा उपलब्ध भएको थियो ।            आवश्यक कानुनहरूको अभावले जल यातायातको सञ्चालन हुन सकेको छैन । उक्त सहमति कार्यान्वयन भए नेपालको दासढुङगासम्म साना आकारका पानीजहाज ल्याउन सकिने देखिन्छ । त्यति मात्रै होइन, कानुन बनेपछि निकुञ्ज मध्यवर्ती क्षेत्रमा पनि मोटरबोट चलाउने बाटो खुल्ने जानकार बताउँछन् ।  नाविक किताब (सिमेन बुक) को आवश्यकता      हाल ठूलो सङ्ख्यामा नेपालीहरु समुन्द्रमा चल्ने जहाजमा काम गरिरहेका छन् । ती जहाजमा काम गर्नका लागि नाविक किताब (सिमेन बुक) आवश्यक पर्छ । तर कानुन नबन्दा नेपालबाट हालसम्म सिमेन बुक जारी भएको छैन । पानीजहाज ऐनको मस्यौदामा नाविक किताबको व्यवस्था गरिएको छ । साथै अन्तर्राष्ट्रिय नाविक किताब प्राप्तहरुलाई पनि नेपालमा मान्यता दिन सकिने व्यवस्था मस्यौदाले गरेको छ ।       नेपालको परराष्ट्र मन्त्रालयले यसअघि नौ सय वटा नाविक किताबका लागि बोलपत्र आह्वान नै गरे पनि कानुन नहुँदा त्यो कार्यान्वयनमा आएन । जसरी राहदानीले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्छ, नाविक किताबले पनि सोही प्रकारको मान्यता पाउँछ ।  हाल नेपालीहरु भारत, पानामा, थाइल्याण्डलगायतका मुलुकमा पुगेर तालिम लिने र यसप्रकारको लाइसेन्स लिँदै आएका छन् । विकसित देशमा अध्यागमनमा राहदानी र नाविक किताब लिनका लागि प्रवेश छुट्टै हुन्छ । सिमेन बुक धारकले सोही आधारमा प्रवेशाज्ञा पाउँछन् ।       विमान सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरमा इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेसन (आइकाओ) भए जस्तै जल यातायातका लागि इन्टरनेशनल मरिटाइम अर्गनाइजेसन (आइएमओ) छ । नेपालले जलयातायात सञ्चालनका लागि यसको सदस्य लिन जरुरी हुन्छ । कानुन निर्माणपछि यसको सदस्यता लिन, समुन्द्रमा पानीजहाज चलाउन र यसको नियमन र अनुगमनका लागि बाटो खुल्छ ।  जनशक्ति उत्पादन           मोटरबोट सञ्चालनमा आकर्षण बढ्दै गएपछि पछिल्लो समय विभिन्न स्थानीय तहले पनि आफनो क्षेत्राधिकारमा पर्ने नदी र जलाशयमा मोटरबोट सञ्चालनका लागि चासो देखाएका छन् । तर कानुन नहुँदा जनशक्ति उत्पादन गर्न सकिएको छैन । पछिल्लो बनेको पानीजहाज ऐनको मस्यौदाले यो विषयलाई भने समेटेको छ ।            यो ऐन पारित भएमा त्यस्ता तालिम केन्द्रमा हस्पिटालिटीदेखि, गोताखोर, फायर, फुड एण्ड हाइजिन, रेस्क्युलगायतमा तालिम दिन सकिन्छ । हाल यसप्रकारका जनशक्ति उत्पादनका लागि तालिम लिन विदेशमा जानुपर्ने अवस्था छ । त्यति मात्रै होइन, यहाँ तालिम लिने व्यक्तिले समुन्द्री जहाजमा काम गर्नका लागि पनि लाइसेन्स प्राप्त गर्ने भएकाले वैदेशिक रोजगारीका लागि नयाँ विकल्प खुल्नेछ ।  क्षेत्राधिकारमा समस्या       मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहका आफनै क्षेत्राधिकार छन् । त्यसबाहेक, वन तथा निकुञ्जका पनि आफनै समस्या छन् । ती सबै समस्या समाधानका लागि एकद्वार प्रणाली आवश्यक हुन्छ । यसलाई पनि कानुनले सम्बोधन गर्नुपर्ने अवस्था छ ।  यसरी सडक निर्माण भएपछि गाडी सहजै गुडाउन सकिन्छ त्यसरी नै जलमार्गमा कसैको क्षेत्राधिकार नभई सञ्चालन गर्न पाउनुपर्छ । यहाँ त पानीमा पनि वडा तहसम्मको अधिकारले सञ्चालनमा समस्या भइरहेको छ ।            उदाहरणका लागि, नेपालमा विद्युत् उत्पादनका लागि बाँध बनाएर जम्मा गरिने पानीमाथिको अधिकार कस्को हो भन्ने प्रश्न छ । नेपालले गरेको अन्तर्राष्ट्रिय सन्धिमा बाँधमा भएको पानीमा स्थानीयको अधिकार हुन्छ ।  तर विद्युत् उत्पादक कम्पनीले आफ्नो क्षेत्राधिकारमा पर्छ भन्छ । यस्तो अवस्थामा पानीको उपयोग गर्नबाट स्थानीय बञ्चित भएको अवस्था छ । यदि कानुनले नै त्यो पानीमा स्थानीयको अधिकार हुन्छ भन्ने हो भने त्यहाँ मोटरबोट सञ्चालन गरी आर्थिक लाभ लिन सकिन्छ ।    उत्पादनभन्दा आयात सस्तो           हाल नेपालमा बोट उत्पादन गर्ने दुई कम्पनी सञ्चालनमा छन् । त्यसमध्येको नेपाल ‘सीप एण्ड बोट बिल्डिङ’ले हालसम्म एक सय आठ वटा बोट उत्पादन गरिसकेको छ । सो कम्पनीका सञ्चालक विष्णु ढकाल नेपालमै बोट उत्पादनका लागि उद्योगमैत्री कानुन नभएको बताउँछन् ।  उहाँका अनुसार हाल विदेशबाट बोट आयात गर्नुभन्दा स्वदेश उत्पादन गर्नु महँगो पर्ने गरेको छ । “मोटरबोट निर्माणका लागि सामानहरु विदेशबाट आयात गर्नुपर्छ, जुन अत्यधिक महँगो छ, तयारी अवस्थाका मोटरबोट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार लाग्छ भने मोटरबोट निर्माणका लागि सामान आयात गर्दा १५ देखि ३० प्रतिशतसम्म भन्सार कर बुझाउनुपर्छ”, उहाँले भन्नुभयो ।            यदि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने हो भने करका दरमा पुनरावलोकन आवश्यक भएको ढकालको सुझाव छ । उहाँका अनुसार हाल रु २० लाखमा उत्पादन भइरहेका बोट करको दरमा पुनरावलोकन गर्ने हो भने रु १६ देखि १७ लाखमै उत्पादन गर्न सकिन्छ । सरकारले करका दर सस्तो बनाएर यसबाट हुने अन्य आम्दानीमा जोड दिनुपर्ने उनको भनाइ छ ।  “मोटरबोटका सामान आयात गर्दा महँगो शुल्क लगाउनुको साटो स्वदेशमै हुने उत्पादनलाई जोड दिएर यसबाट हुने रोजगारी सिर्जना, आर्थिक गतिविधि चलायमान बनाउनेतर्फ ध्यान दिनु जरुरी छ, सरकारले यस विषयमा सोच्नु आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । कहाँकहाँ भए सम्भाव्यता अध्ययन ?      पानीजहाज कार्यालयले यसअघि नेपालका नदीहरुमा जलयान सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । जसमा कर्णाली नदीमा खक्रौला–खिमडीमा एक सय १५ किलोमिटर, कालीगण्डकी नदीको राम्दी–देवघाटमा ९५ किलोमिटर, कोशीको अरुण नदीअन्तर्गतको चतरा–तुम्लिङटारमा ७५ किलोमिटरमा जलयान सञ्चालन गर्न सकिने भनिएको छ ।   साथै उक्त अध्ययनले नारायणी नदीमा देवघाट–गण्डक क्षेत्रको ८५ किलोमिटर, राप्ती नदीको सिक्टा–भालुवाङको एक सय दुई किलोमिटर दूरीमा जलयान सञ्चालन गर्र्न सकिने भनेको छ ।       उक्त अध्ययनले कर्णाली, नारायणी, कालीगण्डकी र कोसी नदीमा एक सय टनसम्म क्षमताका जलयान सञ्चालन गर्न सकिने देखाएको छ ।  सम्भाव्यता अध्ययनका क्रममा नदीको हरेक एक सय मिटरको दूरीमा ‘लग्जिटयुडनल’ र ‘क्रस सेक्सन’ सर्भे गरी गहिराइ मापन गरिएको कार्यालयको भनाइ छ ।  कार्यालयले ती क्षेत्रमा जल यातायात सञ्चालनअघि नदीमा डिग्रेडिङ, च्यानलिङ र स्पर निर्माणलगायतका काम गरी जलमार्गलाई सञ्चालनयोग्य र सुरक्षित बनाउन पनि सुझाव दिएको छ ।

कैलाली:    अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झर्नुभयो । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झर्नुभएका उहाँ टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्नुभयो । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उहाँ टीकापुर झर्नुभएको थियो ।  टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्कनु भएन । “अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी”, उहाँले भन्नुभयो, “१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।”  अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुग्नुभएका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसक्नुभयो । उहाँ भन्नुहुन्छ, “अब त मलाई त्यो जग्गाको आशा पनि छैन । २० वर्ष जग्गाको आशामा बित्यो ।”  २० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीको नाममा रहेको सयौंँ बिघा जग्गा सुकुम्बासी मुक्तकमैयाको अतिक्रमणमा छ ।  उक्त जग्गा खाली गराउन क्याम्पसले पटक–पटक पहल गर्दा पनि राजनीतिक संरक्षणमा बसेका मुक्तकमैया सुकुम्बासीलाई सहजै स्थानान्तरण गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा नौ वटा शिविर छन् । शिविरमा पाँच हजार घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ करिब २० हजार जनसङ्ख्या रहेको अनुमान छ । यहाँ मुक्तकमैया सुकुम्वासी मात्रै नभइ तत्कालीन टीकापुर विकास समितिका कर्मचारी पनि उचित व्यवस्थापनको आशामा यहीँ बसोबास गर्दै आएका छन् ।  “मैले विकास समितिमार्फत आठ वर्ष कमैया काम गरेँ । त्यो बेला उचित बसोबाससहित कम्तीमा एक बिघा जग्गा दिनेसम्म कुरा थियो”, भूपु कमैया शिविरमा बस्दै आउनुभएका घनश्याम चौधरीले भन्नुभयो, “आज न विकास समितिको जागिर छ, न खान बस्नलाई बास  गाँस ।” भूपु कमैया शिविरमा बस्दै आउनुभएका कुलुराम चौधरी ६८ वर्षको पुग्नुभयो । जीवनको उर्जावान समय टीकापुर विकास समितिमा बिताउनु भएका कुलुराम अहिले शिविरमै बस्नुहुन्छ ।  उहाँ हाल अरुको सहारामा हुनुहुन्छ ।  टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै मुद्दा दायर गरेको छ । यहाँका नागरिक राजनीतिक रुपमा प्रयोग हुने गरेका छन् । विभिन्न राजनीतिक दलको सभा समारोहमा भीड चाहियो भने शिविरकै नागरिक लैजाने गरिन्छ ।  “जहाँबाट आश्वासन आउँछ, त्यहाँ आशा पनि हुन्छ । हिजो शिविर बस्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका राजनीतिक दलले आज जग्गा दिने कुरा गर्छन् कि भनेर सबैका सभामा पुग्ने गरेका छौँ”, विशालनगर शिविरमा बस्दै आउनुभएकी सुनिता चौधरी भन्नुहुन्छ, “आश्वासन आज पनि त्यही छ । जग्गा पाउनुपर्छ र पाइन्छ भन्ने । कहिले पाइने हो भन्ने टुङ्गो छैन ।”

गण्डकी:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ ।  जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको छ भन्नुभयो ।       “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।” जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उहाँको भनाइ छ ।       मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताउनुभयो ।  “सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दोष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन ।” प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताउनुभयो ।       गण्डकी प्रदेशका सहकारी रजिस्टार भेषराज रिजालले निष्क्रय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताउनुभयो । सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उहाँको भनाइ छ ।  डेरी उद्योगसमेत सञ्चालन गर्दै आएको उक्त सहकारी सङ्घले झण्डै रु दुई करोडको लागतमा भवन निर्माण गरेको सङ्घका अध्यक्ष सावित्रा कोइरालालले जानकारी दिनुभयो । 

मकवानपुर:     मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१  नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा  बसमा सवार रहेका १८  मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी  जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ ।  उनको टाउकोमा चोट लागेको छ ।घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

म्याग्दी:    मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।  हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई/तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहाकलाई चामल पु¥याउन ठिक्क हुन्छ,” उहाँले भन्नुभयो “उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेतीनै घट्दै गएको छ ।” पकाउदाँ घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढेपनि खेती घट्दै गएको छ । सहर बजारका तारे होटलदेखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला –५ छिसवाङका दुर्गाबहादुुर खत्रीले बताउनुभयो ।  “गौरिया धान पाक्दा खेतनै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,” ६८ वर्षीय खत्रीले भन्नुभयो “गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन् । गौरियानै खोज्छन् ।” गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो । स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन् ।  म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेल बताउनुुहुुन्छ । “यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र रु छ लाख सम्मको चामल बिक्री गर्ने कृषक छन्,” उहाँले भन्नुभयो “यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन् ।” आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताउनुभयो । “पहिले सबैले गौरिया गर्दथे,” उहाँले भन्नुभयो “नयाँ जातको धानखेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो ।”  गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपीने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौ रया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ । पकाउदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकाहरुलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ । बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसानहरु बताउँछन् ।  नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरीया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।  “जेठोबुढोसँग मिल्दोजुल्दो गुण भएपनि गौरीया फरक जातको धान हो,” उहाँले भन्नुभयो “कृषकहरुले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रुपमा ब्राण्डीङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ ।”  गौरिया धानखेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्याङ्क र अभिलेख छैन् । म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छन् ।  यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ बिधिबाट अध्ययन र तथ्याङ्क संकलनको काम भैरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताउनुभयो ।  रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक समेत रहेका कुरसिम्लाका बासिन्दा जगत बानियाले बताउनुभयो ।  “अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यवसायिक सम्भावना बोकेको गौरीया धानको खेती र महत्व स्थानीय स्तरमै सीमित भएको छ,” उहाँले भन्नुभयो “गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रर्वद्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ ।”

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।  एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गर्नु भएको छ ।       जागरणसभाको संयोजकको जिम्मेवारी पाउनु भएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हाल्नुभएको हो ।         र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू हुनुहुन्छ । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।