पोखरा:   नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ...

कास्की:     पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ ।  सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उहाँले बताउनुभयो । वडाध्यक्ष  बास्तोलाले भन्नुभयो ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बीमा गर्ने छौँ । ”  पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन  विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् ।  पारिवारिक बीमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताउनुभयो ।  चालु वर्षमा विमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक रु तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले रु एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । बीमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।  बीमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताउनुभयो । यसैगरी वडाले चालू वर्षदेखी सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो ।  वडाध्यक्ष बास्तोलाले  अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।”

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।  जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।  एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।      एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।      राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

मोरङ:     बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको  हो ।  विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ ।  छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आउनुभएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आउनुभएको छ । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उहाँले बताउनुभयो ।  रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आउनुभएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गर्नुभएको छ ।  उहाँको अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग  गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पु¥याउन नसकिरहेको श्रेष्ठ बताउनुहुन्छ ।  प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ ।  वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आउनुभएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आउनुभएको छ ।  साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उहाँ बताउनुहुन्छ । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो ।  विशेष गरी खाडी मुलुकमा रहेका उहाँ बताउनुहुन्छ । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।  पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउनुहुन्छ । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उहाँले बताउनुभयो ।

लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् ।  प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो ।   मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो ।   यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो ।  लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई रु दुई लाखको व्यवस्था गरेको छ ।

गण्डकी:    मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।  यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोनजा, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ ।  कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ ।  यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डकी नदीमा बाँध बाँधेर छ सय ४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना, जलविहारलगायत बहुउद्देश्यीय अयोजना सञ्चालनका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम भइरहेको छ ।  ‘कालीगण्डकी बचाऔँ अभियान’ले यी दुवै परियोजनाले नदी र पर्यावरण संरक्षणका दृष्टिले उपयुक्त नरहेको विज्ञप्तिमार्फत जनाएको छ । कालीगण्डकी डाइभर्सन अयोजनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले हालै खारेज गरिदिएको विषयमा पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।  “यस्ता परियोजनाले आसपासका क्षेत्रका बासिन्दाको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर असर पुर्याउन सक्छ । कालीगण्डकी नदीको संरक्षण र यसको पारिस्थितिकीमा अझ बढी खतरा उत्पन्न हुन्छ”, अभियानका संयोजक आरके अदीप्त गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाले कालीगण्डकी नदीको आफ्नै जीवन्त प्राकृतिक प्रवाह खल्बलिने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वलाई नष्ट गर्ने जोखिम उत्पन्न गरेको संयोजक गिरीको भनाइ छ ।  नदीको मनलाग्दी दोहन र नदीमा आधारित ठूला विकास परियोजनाका कारण भविष्यमा जलसङ्कट, जैविक विविधताको ह्रास र भौगर्भिक सङ्कटन निम्तन सक्ने उहाँले बताउनुभयो । अभियानले मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा नगर्न र मौनता नसाँध्न सबै पक्षलाई आग्रह गरेको छ । पर्यावरण संरक्षणसँगै मौलिक ढङ्गले विकास परियोजना सञ्चालन गर्नुपर्ने उसको माग छ ।  हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ । चार वर्षअघि जन्मेको उक्त अभियानले यसअघि ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाएको थियो ।  कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताउनुभयो । नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पुर्याइरहेको उहाँको भनाइ छ ।  नदीको धार परिवर्तन र जलासय निर्माणले धार्मिकस्थल, ऐतिहासिक संरचना र प्राकृतिक विविधताको नष्ट हुने जोखिम रहेको उहाँको भनाइ छ । कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने गिरीको भनाइ छ ।  धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ ।  विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख स्थितिमा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ ।  राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख अवस्थामा छन् ।

पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन गाह्रो भएपछि परिवारले सहयोगको याचना गरेको छ ।   पारिवारिक स्रोतका अनुसार अहिलेसम्म गंगाको उपचारमा करिब ८ लाख खर्च भइसकेको छ भने, अप्रेशनका लागि थप ५ लाख लाग्ने भरतपुर अस्पतालले बताएको छ ।    आमाको उपचारका लागि सहयोगको याचना गर्न बाध्य भएको छोरी अनिता दर्जीले सुनाइन् ।   उनका अनुसार यसअघि उनको बुवाको उपचारमा पनि खर्च भइसकेको छ ।    उनले विभिन्न दाताहरुको सहयोगमा उपचार भइरहेको र बाँकी रकम जुटाउन थप याचना गर्नुपरेको बताइन् ।   ‘भाई कामको खोजीमा भारतमा छ । मैले एउटा स्कुलमा पढाउने मात्रै हो । सक्ने जति जुटाएर उपचार गर्याै । अब अप्रेशनको तयारी गर्ने डाक्टरको सल्लाह छ त्यसैले सहयोगको याचना गर्नुबाहेक विकल्प भएन’, उनी पीडा पोख्छिन् ।   उनले सहयोग गर्न चाहनेहरुले अनिता दर्जीको एनएमबी बैंकको खाता नम्बर १२१०२००९४१७००१२, र राष्ट्रिय वाणिज्य बैंको खाता नम्बर ३५००१००००००४१२०३ मा जम्मा गर्न अनुरोध गरेकी छिन् ।    

झापा:     नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।  “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भन्नुभयो । इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।  संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उहाँले दिनुभयो । बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।   

पोखरा महानगरपालिका २९ भण्डारढिकस्थित नयाँबस्तीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको सँयुक्त टोलीले २६ वर्षीय कपिल घिमिरेलाई लागुऔषधसहित पक्राउ गरेको हो ।   प्रहरीले घिमिरेको साथबाट २ सय २८ एम्पुल डाइजापाम, २ सय १२ एम्पुल फेनेरागन र २ सय २२ चक्की ब्रुफिन गरि कुल ६ सय ६२ एम्पुल लागऔषध बरामद गरेको छ ।   पक्राउ परेका घिमिरेविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धि मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:  मन्त्रिपरिषद् बैठकले दुई जना डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।   बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय  गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनी त्यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालयमा थिए । ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् ।