कञ्चनपुर: जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । “हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ”, ठगीका श्रीमती पार्वतीले भन्नुभयो, “मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो ।” घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उहाँले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकँुडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताउनुभयो । कडारा परिवारजस्तै छिमेकमा बस्ने हरिलाल टमटा र राज टमटाको घर पनि हात्तीले भत्काइदिएको छ । आँगनमा रहेको पानी पिउनका लागि गाडिएको नल्कासँगै दुवै टमटा परिवारको घरभित्र रहेको अन्न हात्तीले खाइदिएको छ । घर भत्काएपछि बेघर बनेका तीनवटै परिवार निकै चिन्तित छन् । अन्न सबै हात्तीले खाइदिए पछि परिवारको साँझ बिहानको छाक टार्नका लागि अरुकहाँ हात थाप्नुपर्ने अवस्था सिर्जना भएको राज टमटाले बताउनुभयो । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पु¥याउने डर भएकाले खेतमै बाध्नुपरेको उहाँले गुनासो गर्नुभयो । “पहिला पनि हात्ती आउथे, खेतमा रहेको बालीनालीमा थोरै क्षति गरी जान्थे, घरनै भत्काएको थिएन”, हरिलालले भन्नुभयो, “हाल हात्तीले उखुबारीमा व्यापक नोक्सानी गर्दै घरनै भत्काए ।” उखुबाली जोगाउनका लागि फलामको तार तानेर विद्युतीय करेन्ट छाड्दा हात्तीले बारीभित्र पस्न नसकेको झोकमा घर भत्काएको उहाँको भनाइ रहेको छ । हात्ती नियन्त्रण गरी घरमै सुरक्षितरुपमा बस्ने वातावरण सिर्जना गरिदिनका लागि तीनवटै पीडित परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गाउँपालिकाको वडा नं ३ र ४ मा गरी हात्तीले स्थानीय किसानको झण्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पु¥याएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि निकुञ्ज कार्यालयले नियन्त्रणका लागि कुनै पनि प्रयास नगरेकोप्रति गाउँपालिकाका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानिय बासिन्दाले व्याकहोलोडेर र ट्रयाक्टरको सहायताले दिउँसै आउने हात्ती भगाउने कार्य गर्दै आएका छन । नजिकैको वन क्षेत्र ९खर्रानाला० मा दुईवटा हात्तीले छावा पाएकाले भदौ महिनादेखि हालसम्म हात्तीको बथान लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ । उखुबाली जोगाउन कुरुवा बसेका खल्लाजाँइका रामदल रानालाई गत महिना हात्तीको बथानले ज्यान लिई सकेको छ । हात्ती दैनिक कहिले साँझ, कहिले दिउसै उखबारीमा पस्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ । हात्तीले थप मानविय क्षति पु¥याउने डरले स्थानीय बासिन्दाले गाउँपालिका क्षेत्रमा रातिका बेला हिँडडुल गर्ने कार्यमा रोक लगाएका छन् । लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले वन संरक्षणको कार्य छाडेर एक महिनादेखि कार्यालयका रहेका सात जना कर्मचारीले स्थानीय बासिन्दासँगै खटिएर हात्ती धपाउने कार्यमा संलग्न हुनुपरेको बताउनुभयो । “रात दिन नभनी हात्ती धपाउने कार्यमा खटिएका छौँ”, उहाँले भन्नुभयो, “हात्तीले सबैभन्दा बढी वडा नं ४ का किसानको उखुबालीमा क्षति गरेको छ ।” हात्तीबाट सर्वसाधारणलाई जोगाउनका लागि जनचेतना जगाउने कार्यसँगै थप मानवीय क्षति हुन नदिनका लागि सडकमा बत्तीको व्यवस्था गर्ने, साइरन बजाउने, ट्रयाक्टरको हर्न बजाउने कार्यमा पनि लाग्दै आएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार छावासहितको हात्तीको सङ्ख्या २४ रहेको छ ।
काठमाडौं: पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौँ गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ । काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । “काठमाडौँ गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ”, उहाँले भन्नुभयो । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौँ गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ गोर्खाजले श्रीलङ्का र बङ्गलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उहाँको भनाइ छ । अक्सनको समयमा काठमाडौँ गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भन्नुभयो, “कतिपयले काठमाडौँ गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।” प्रशिक्षक शाही काठमाडौँ गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउनुहुन्छ । काठमाडौँ गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उहाँले बताउनुभयो । “उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेल अघि पूूर्णरुपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु”, प्रशिक्षक शाहीले भन्नुभयो । काठमाडौँ गोर्खाजले आफनो पहिलो खेल चितवन राइनोजसँग यही मङ्सिर १७ गते खेल्ने छ । प्रशिक्षक ठकुरी टी–ट्वान्टी क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउनुहुन्छ । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौँ गोर्खाजले जित निकाल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । काठमाडौं गोर्खाज काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौँ गोर्खाजको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी हुनुहुन्छ । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ । काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र शाहब आलम हुनुहुन्छ । यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ । त्यसैगरी काठमाडौँ गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुनुहुन्छ । इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गर्नुभएको छ । उहाँले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेशनल क्रिकेट लिग टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उहाँसँग छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की हुनुहुन्छ । काठमाडौँ गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा हुनुहुन्छ । प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसक्नुभएको छ । बाँकी विदेशी खेलाडी यही मङ्सिर दोस्रो सातासम्म नेपाल आइपुग्ने काठमाडौँ गोर्खाजले जनाएको छ । यसैगरी काठमाडौँ गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफनो टोलीले कब्जा गर्ने दाबी गर्नुभयो । उहाँले काठमाडौँ गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौँ गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
काडमाडौं: निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ । उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । “आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन”, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ । यही मङ्सिर १६ गते आइतबार विहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा,साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र बिक्रीदर १२ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ७४ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।
नवलपरासी: पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो । काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उहाँले बताउनुभयो । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताउनुभयो । काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताउनुभयो । सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताउनुभयो ।
ढोरपाटन: चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उहाँको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ । पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताउनुभयो । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उहाँको भनाइ छ । विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ । “ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३ः३० बजेनै छुट्टी गर्छौँ”, उहाँले भन्नुभयो । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् । ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ ।
काठमाडौं: निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । उपनिर्वाचन प्रचारप्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगबाट निर्देशनसमेत भइसकेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच, सवारीसाधनमा ‘लाउड स्पिकर’ को प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकाले आचारसंहिताविपरीत हुने कार्य नगर्न सम्बन्धित सबैमा आयोगले पुनः स्मरण गराएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएका बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान छ । “यसविपरीत कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको हुँदा निर्वाचन कानुनविपरीत सवारीसाधन प्रयोग नगर्नु हुन वा प्रयोग गर्न नदिनु हुन सम्बन्धित सवारी धनी, चालक तथा सरोकारवाला सबैमा जानकारी गराइएको छ”, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुक बीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताउनुभयो । उहाँले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गर्नुभयो । प्रेस काउन्सिील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय साउथ एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताउनुभयो । “यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधान सहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ”, उहाँले भन्नुभयो । कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा नटराज रेले साउथ एसियाभरिका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताउनुभयो । भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको सङ्गठनलाई अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको जानकारी दिनुहुँदै उहाँले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो । त्यसअवसरमा साउथ एसियाका विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो ।