बागलुङ:  बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको ...

पोखरा:    पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।    गत कात्तिक २५ गते १३ दिनका लागि थप गरिएको म्याद सकिएसँगै आज बिहानै अदालत पुर्याइएको हो ।   रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्‍याइएको बताइएको छ ।   रविविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान भइरहेको छ ।   गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई रातारात पोखरा ल्याइएको थियो ।   त्यसयता उनी कास्की प्रहरीकै हिरासतमा छन् । बिहानै अदालत पुर्याइएका लामिछानेविरुद्ध अनुसन्धान बाँकी रहेकोले म्याद थप गर्न अनुमति माग्ने बताइएको छ । त्यसपछि भने, उनलाई काठमाडौँ लैजाने तयारी छ ।  

आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।    यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएको थियो ।   अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो ।   विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजदेखि धरहरा सञ्चालन गर्न लागिएको हो ।    सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।    त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।    त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ।

जुम्ला:    यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् ।  कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।  स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो ।  किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उहाँको गुनासो छ । उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए ।  प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न  कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो ।वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ ।  मुख्यमन्त्री कँडेलसमक्ष  किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा ४ हजार ४ सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आवमा रु ६१ करोड ४१ लाख  स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

म्याग्दी:    विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उहाँले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उहाँले बताउनुभयो । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उहाँले रु २ लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिनुभयो । “हालसम्म रु २ लाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उहाँले भन्नुभयो । उहाँको परिवारका ४ सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ ।  बेर्नासँगै उहाँले सागसब्जी पनि लगाउनु भएको छ । जैविक उत्पादन भएकाले ती खरिद गर्न उहाँको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् ।  सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर,भकुण्डे,गौश्वारा,बगरफाँट,पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् ।  उहाँले १ याममा बेर्ना बेचेर रु २ लाखभन्दा बढी आर्जन गर्दै आएको बताउनुभयो । २ रोपनी जग्गामा उहाँको नर्सरी फैलिएको छ । “बीउ र मलमा रु ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा रु २ लाखदेखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भन्नुभयो ।

सिन्धुपाल्चोक:    साँगाचोकगढी  नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।  ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ  । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ ।    विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको २ पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु ५सय भन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी  नगरपालिकाले  ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु ४ लाखसहयोग गरेको छ ।  एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट  प्रशस्त आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।   सहकारी ठगी अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका उनलाई गत कात्तिक २५ गते चौथों पटक १३ दिनका लागि म्याद थपिएको थियो ।   उक्त म्याथ गएराति सकिएकाले लामिछानेलाई आज फेरि कास्की जिल्ला अदालत उपस्थित गराउन लागिएको हो ।   लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।    लामिछाने गोर्खा मिडियाको तत्कालिन प्रवन्धक निर्देशक हुँदा पोखराको सूर्यदर्शन सहकारीको रकम उक्त गोर्खा मिडिया प्रालिमा लगेर अपचलन गरेको आरोप उनी माथि छ ।   अहिले लामिछानेमाथि संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण लगायतका विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले  जनाएको छ ।  

पोखरा:   कास्की प्रहरीले यौन शोषण गरेको आरोपमा ३ युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमो गोरखाको पालुङ्टार ४ स्थायी घर भई लेकसाइड बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका  वडा ८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र  पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका १० स्थायी घर भई हाल लेकसाइड बस्ने करिब १९ वर्षीया जस्मिन ठकुरी रहेकी छिन् ।   पक्राउ परेकी उनीहरुले बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा गत बिहीबार राति पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।    उनका अनुसार पोखराको एक होटलको कोठाबाट ४ जना बालिकालाई उद्धार गरिएको छ ।   प्रहरीका अनुसार ति बालिकाहरुलाई होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराएका थिए ।    पक्राउ परेका उनीहरुविरुद्द मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

दमौली:    बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ ।  स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो ।  सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उहाँले बताउनुभयो ।  गुम्बाका माध्यमबाट  बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।  समाजसेवी गुरुङप्रति उहाँले कृतज्ञता ज्ञापन गर्दै समाजमा उहाँजस्ता धेरैको खाँचो रहेको बताउनुभयो । 

काठमाडौं:     निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् ।  पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् ।  चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवासुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ ।       एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताउनुभयो ।  उहाँले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजमा काम गराएबापत केही सुविधा भने दिने बताउनुभयो । “विद्यार्थी पढाइसँगै केही सिक्न पनि आएका हुन् । त्यसैले सरकारी तलब सरह हामीले दिन सक्दैनौँ”, उहाँले भन्नुभयो ।       आयोगले कलेजहरूलाई भर्न पठाएको स्वमूल्याङ्कन फारममा विद्यार्थीलाई मासिक रूपमा आठौँ तह, मेडिकल अधिकृतको तलब सरह भत्ता उपलब्ध गराउने प्रतिबद्धता मागेको छ । त्यो भनेको रु ४८ हजार सात सय हो । निजी कलेजले भने मासिक रु २० देखि २५ हजारसम्म दिँदै आएको बताएका छन् ।       यस्तै, एसोसिएसनका उपाध्यक्ष डा बुद्धिमान श्रेष्ठले आफूहरूले आयोगले तोकेअनुसार मेडिकल अधिकृत सरहको तलब दिन नसक्ने बताउनुभयो ।