बागलुङ:  बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको ...

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन हुनुभएको छ ।        कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

काठमाडौं:    बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ ।  शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो ।  कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ ।  नेपालको तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिनुभएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताउनुभयो ।  “विकासोन्मुख राष्ट्रको माग वार्षिक १ दशमलव ३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ”, उहाँले भन्नुभयो, “हानिनोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।” कार्बन उत्सर्जन घटाउनुपर्ने एजेण्डामा भने धनी मुलुक सकारात्मक नदेखिएको उहाँको भनाइ छ । “यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १ दशमलव ५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन । यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आस्रित देशको भूमिका असहयोगी रह्यो ।” ढकालका अनुसार हाम्रो जस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ । यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देशहरु जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुनेगरी टुङ्गिएको छ ।  “कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ । बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ”, ढकालले भन्नुभयो, “समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ ।” एनसिक्यूजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकहरुले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यकपर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज बाकुमै रहनुभएका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाको भनाइ छ ।  “जलवायु वित्तमा प्रगति भए पनि कार्बन उत्सर्जन कटौतीमा उत्सर्जक मुलुक तयार भएनन्, यसले तापमान वृद्धि सीमित राख्ने लक्ष्य पूरा हँुदैन कि भन्ने आशङ्का छ, तर निरन्तर पैरवी जारी राख्ने छौँ”, उहाँले भन्नुभयो, “तापमान वृद्धिले विशेषगरी नेपालको पर्वतीय क्षेत्रमा बढी असर गर्छ, हिउँ पग्लिने, हिमताल बिस्फोट हुने र हिमपहिरो गएर त्यहाँका बासिन्दालाई सुरक्षामा चुनौती हुनसक्छ, तसर्थ नेपालले पनि उत्सर्जन कटौती गर्नुपर्ने मुद्दामा प्राथमिकता दिएकोे हो ।” ‘महत्वाकाङ्क्षी परिणामको अपेक्षा थियो’  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वाकाङ्क्षी परिणामको अपेक्षा गरिएको बताउनुभयो । उहाँले कोपको समापन गर्दै तापमान वृद्धिले जलवायुको सङ्कट निम्त्याइरहेको उल्लेख गर्नुभयो ।  “यस पटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो, ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो”, उहाँले भन्नुभयो, “महत्वाकाङ्क्षाअनुसार कोपको परिणाम देखिएन तर कोपमा भएको यो सहमति एउटा आधार हो, यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ ।” कोप–२९ ले उत्सर्जन कटौती र ऊर्जा रूपान्तरणलाई गति गत वर्ष भएका प्रगतिहरूलाई अगाडि बढाएको र  कार्बन बजारमा सहमति पनि ल्याएको गुटेरेशको टिप्पणी छ । महासचिव गुटेरेसले भन्नुभयो, “म यसलाई सहमतिको आधारमा हेर्न र यसलाई थप अगाडि बढाउन आह्वान गर्दछु ।” ‘यात्रा कठिन थियो, तर हामीले एउटा सम्झौता हासिल गर्‍यौँ’    संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै सङ्कटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “ कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु सङ्कटको सामना गर्न सहयोग गर्छ । तर कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वन गरिन्छ । वाचा पूरा गरिनुपर्छ, जसले अर्बौं मानिसको जीवन रक्षा गर्न सकुन् ।”

काठमाडौं:     नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।    पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा उहाँले झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो ।   त्यस अवसमा उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । भोजपुरको षडानन्द नगरपािलका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट  २०२३  पुस १५ गते जन्मनुभएका उहाँको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो ।   विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गर्नुभएका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत हुनुभएका उहाँ विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचिन हुनुभएको थियो ।  उहाँको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ ।  पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आमपार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गर्नुभएको छ । उहाँको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसस्कार गरिने पार्टीले जनाएको छ । उहाँका श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ ।

काठमाडौं:     नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु १ हजार ७ सयले वृद्धि भएको छ ।  शुक्रबार प्रतितोला रु १ लाख ६५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६७ हजार २ सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएकामा आजका लागि रु १ हजार ९ सय ६० निर्धारण भएको छ ।

झापा:   खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।  झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो ।  मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो । सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीयस्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।” मन्त्री यादवले झापाको मेचीनगरमा चारआलीस्थित साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले जिल्लामा निर्माण भइरहेका दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्दै परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताउनुभयो ।  मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।”  झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिनुभएको थियो । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।   

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।   उहाँका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ । कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।  पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ । 

काठमाडौं:     पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गर्नुभयोे । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिनुभएको थियो ।सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताउनुभएको थियो ।  “नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट सङ्घीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ”, सभामुखले भन्नुभयो । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले ‘गार्ड अफ अनर’ दिएको छ । सभामुखले प्रधानमन्त्री सम्देच हुनमानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगत दशकमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।” सभामुख घिमिरेले नेपाल र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्कलाई एकापसमा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री हुनमानेटसँग अनौपचारिक भेट गर्नुभएको छ । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मङ्सिर ११ गते मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।

तनहुँ:     तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ ।  मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालले आकार लिन थालिसकेको छ । तालको पूरै काम सकिएपछि यहाँ डुङ्गा शयर गर्न सकिनेछ । यस ठाउँमा ‘वाटर फन पार्क’ बनाउने लक्ष्य छ ।” आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौँ ।” यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँछाँै । तालबाट विद्युत् उत्पादनको लक्ष्य छ ।”  विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको छ । गाउँपालिकाले तनहुँ जलविद्युत् आयोजनाका पदाधिकारीसँग तालबाट निकाल्ने सकिने विद्युत्का विषयमा एक चरणको छलफल गरिसकेको छ ।  आँधीमूल धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको छ । आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।  आँधीमूलमा रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको थापाले बताउनुभयो । आँधीमूल मन्दिर परिसरमा रहेको पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको थापाले बताउनुभयो । प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।  परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्गने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् । पृथ्वीराजमार्गदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर सडक कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ ।   –––

पोखरा:    पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।  आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले १ वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो ।  ३ वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि २ पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी १ वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताउनुभयो । “तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको  छ”, उहाँले भन्नुभयो । ४ लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिनुभयो । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताउनुभयो ।  पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ ।  ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ ।  चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।  कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा ४ लेन र ५ किमीमा २ लेन सडक कालोपत्र भइसकेको बताउनुभयो ।  एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा रु ६ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा ६ लेन र अन्य स्थान ४ लेनको सडक हुनेछ ।  –––