काठमाडौं: विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए । दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । नौ विकेटको क्षतिमा एक सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो । थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले एकसय दुई रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल छ रनमा नटआउट रहे । पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आर्मीका बसिर र साहब आलमले समान पाँच÷पाँच विकेट लिए । पहिलो इनिङमा पुलिसले नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले एक सय ७० रन बनाएको थियो । आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा छ चौका र तीन छक्का प्रहार गरेका थिए । बसिरले ४०, सोमपालले ३२ तथा कप्तान विनोदले १४ रन बनाए । पुलिसका लागि सागरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । कुशल भुर्तेलले तीन तथा ललित र गुलशन झाले समान एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् । आर्मीका साहब आलमले सात, सोमपाल र बसिर अहमदले समान एक विकेट लिएका थिए ।
काठमाडौं: वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउनसक्ने जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमाथिको प्रतिबन्ध कायमै रहेको भन्दै यही माघ ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नुपर्ने अवस्था आउने बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न सङ्घ प्रतिबद्ध रहेको सङ्घले जनाएको छ । हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चालन कम्पनीहरुलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै सङ्घले यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ । हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउनेलगायतका पर्यटकहरुले आफ्नो गन्तव्य परिवर्तन गरी अन्य मुलुकतर्फ जाने भएकाले सङ्घले निर्वाद उडान सञ्चालनको माग गरेको छ । त्यसो नभए कोभिड महामारीपछि विस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय नै धाराशायी हुनुका साथै विदेशी मुद्रा आर्जन तथा राजस्वमा असर पर्ने सङ्घको भनाइ छ । राष्ट्रिय निकुञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरण र यस सङ्घको अनुरोध समेतलाई हवाई सेवा सञ्चालनका सम्बन्धमा कानुनले प्रत्यायोजन नगरेको अवस्थामा गाउँपालिकाले प्रचलित कानुनको उल्लङ्घन गरी हेलिकप्टर सेवा सञ्चालन माथि गत पुस २५ गते जारी गरेको विज्ञप्तिप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा सङ्घसंस्थाहरुले निकुञ्जको बफर जोनमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भनेपछि सङ्घले गत पुस १७ गतेदेखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषण गरेको थियो । नेपालमा हवाई सेवा नियमन गर्ने निकायले हवाई सेवा रोक्न नपर्ने लिखित निर्देशन दिँदा सो सम्बन्धमा उक्त निकायसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि कुनै निक्र्यौलमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा अवरोध सृजना गरिएको सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्य र नेपाली सेना विरदल गण गौरको संयोजनमा आँखाको परीक्षण तथा शल्यक्रिया गरिएको विरदल गणका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए । शिविरमा तीन हजार पाँच सय १० को आँखा परीक्षण, सहुलियतमा चस्मा प्रदानलगायत सेवा उपलब्ध गराइएको उनले बताए । अधिकारीले शिविरमा चन्द्रपुर, गुजार, राजपुर, गरुडा र गढीमाइ नगरपालिकाका स्थानीयले सेवा लिएका उल्लेख गरे । यसैबीच नेपाली सेनाले चन्द्रपुर–७ मा रहेको जनता आधारभुत विद्यालयमा निमार्ण गरिएको शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ । नयाँबस्तीमा रहेको उक्त विद्यालयमा नेपाली सेनाको सहयोगमा निमार्ण भएको चार कोठे शौचालय हस्तान्तरण गरिएको प्रमुख सेनानी अधिकारीले जानकारी दिए ।
बेनी नगरपालिका– १ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् । स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुई सयदेखि ३५० सम्म लिने गरेको बताए । ‘मसँग १५ जोर मगर ड्रेस छन्,’ उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लैजानुहुन्छ ।’ रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्बिर खिचेबापत रु. २० लिने गरेको थापाले बताए । रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन् । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भिड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए । यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृंखला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुङे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।
प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन् ।
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ । सेवा सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूख बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् । दशक अगाडिसम्म रमाइला गाउँ बस्ती अचेल रित्तिएर उराठ लाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठे खोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका-५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ । पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे । “गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्य बाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उनले भने, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्यो ।” काठे खोला गाउँपालिका-५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ । गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । उनले भने, “हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।”
म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्याफ्टिङ सञ्चालन गरिएको हो । नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए । पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन गर्दै आएका छन् । 'महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्याफ्टिङ सेवा प्रवाह गरेका छौँ', उनले भने । बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति आठ सय र बगरफाँटबाट दोभानसम्म छ सय शुल्कमा र्याफ्टिङ गर्न सकिने जनाइएको छ । नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा र्याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताए । उनले जलयात्रामा रमाउन चाहनेहरूको समूह बनेमा लामो दूरीमा समेत र्याफ्टिङ सञ्चालन गर्न सकिने जानकारी दिए । तत्कालका लागि दुईवटा आठ–आठजना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन् । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङ्गाबाट नयाँपुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बेनी आसपासको क्षेत्रमा जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा र्याफ्टिङले सहयोग पुग्ने अपेक्षा गरिएको बताए । बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँपुल भएर मिर्मी पुग्न सकिनेगरी र्याफ्टिङ सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए
रामपुर: पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ । जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले विशेष गरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दूरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको छ । पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले दुई स्पान रहेको पुल मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १६ करोड ४९ लाख ५७ हजार चार सयको लागतमा निर्माण गरिएको बताए । गण्डकी प्रदेश तनहुँको भिमाददेखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडकअन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना छ । सो योजनाअन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतिको काम भएको छ भने पाल्पा खण्डमा बाँकी छ । भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो । यस सडक स्तरोन्नतिको काम सम्पन्न भई चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएक हुन् । हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् । तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्केका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।

