ढोरपाटन: बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पु¥याउने मान्छे नपाइने अवस्था आउको उहाँको भनाइ छ । बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उहाँले सुनाउनुभयो । पुनले भन्नुभयो, “यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरु सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरु विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने ? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो ।” गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आउनु बताउनुहुन्छ । दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने नपाइने उहाँको भनाइ छ । “पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनुपथ्र्यो, खानेपानी ल्याउनका लागि घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ”, उहाँले भन्नुभयो, “गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो ।” गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँसराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो । गाउँबाट धेरैजसो शिक्षा र स्वास्थ्यका लागि बसाइँसराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ रहेको र स्वास्थ्य क्षेत्र सुधार गरी रहेको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ २६ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताउनुभयो । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । रोशनले भन्नुभयो, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।” तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।” च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ । साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उहाँको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ । “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भन्नुभयो । उहाँले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो ।
म्याग्दी: घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो । “दुुई/तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।” चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् । चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिनुभएको हो । “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसादले भन्नुभयो, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन् । अहिले खुसी लागेको छ ।” पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको रु दुई सयदेखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्विर खिचाएको रु एक सय ५० र सँगै तस्बिर खिचाउँदा रु ५० शुल्क तिर्नुपर्छ । मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्तीभित्र तस्बिर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताउनुभयो । “सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।” मार्फाका गल्लीहरुको नामकारण मुस्ताङ भ्रमणमा आउने सबैजसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए । पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्नेदेखि बाहिरिने ठाउँसम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राख्न लागेको उहाँले बताउनुभयो । अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ । “विद्युत्को तार भूमिगत गरिएको मार्फाको बस्तीभित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई सहजताका लागि गल्लीको नामासँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ ।” संस्कृति र प्रकृतिमा धनी मुख्य पदमार्गमा यसअघि नै ढुङ्गाको छपनी विछ्याइएको छ । स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन् । शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा विछ्याउने काम भइरहेको छ । रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ । मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ । “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनिहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।” सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीआँै अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ । वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा आएका रामशरण अधिकारीले बताउनुभयो । लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ । मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ । जहाँबाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् । मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँमाथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पुजाआजा गर्ने चलन छ । जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ । एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिनुहुन्छ । हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषिसम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन् । देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन् । शितोष्ण बागबानी विकास केन्द्रको नजिकै मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा वौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो । स्याउको राजधानीले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो । मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन् । पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दाबढी होटेल सञ्चालनमा छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरबाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन् ।
गलकोट: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । “दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भन्नुभयो । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो । यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई भनेका थिए । त्यसलगत्तै मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात् समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताउनुभयो । “हामीले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ ।” मन्त्रालयले केही दिनअघि औषधिको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन नपाउने बताएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न ठहरिएका जो सुकैलाई कानुनअनुरुप करबाही गरिने बताए । मुलुकमा अस्थिरता निम्त्याउन छुट नभएको बताउँदै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङले अस्थिरताको अन्त्य र सुशासन अभिवृद्धिका लागि सरकार क्रियाशील रहेको बताए । टिकटकलगायत सामाजिक सञ्जाल युवा वर्गका लागि स्वरोजगारको माध्यम बनेको बताउँदै उनले प्रविधिको माध्यमबाट आगामी दुई वर्षमा तीनदेखि रु पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए । पुँजीगत खर्च बढाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने, वन ऐन, र विद्युत् ऐन तथा नियम विकासका बाधक भएको बताए । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीप्रति युवाको आकर्षण बढेको बताउँदै नवप्रवेशीलाई योग्यता क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । प्रदेश कमिटी उपसचिव दामबहादुर विश्वकर्मा, सचिवालय सदस्य टीकाराम पङ्गेनी, पार्टी नेता कृष्ण थापा, सुधीर थापालगायतले पार्टीको विचार सिद्धान्तका बारेमा प्रकाश पारेका थिए ।
काठमाडौं: नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशील ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशङ्कालाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गर्नुभयो । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताउनुभयो । उहाँले नेपाली क्रिकेटको इतिहास मै यो पहिलो पटक हुने भन्दै एनपिएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालिएको बताउनुभयो । यसैगरी एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।