हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

ललितपुर:    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्तरूपमा आयोजना आज मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा डा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । “ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ”, डा यादवले भन्नुभयो, “विसं २०४६ र विसं २०६२र६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।” डा यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ्य समाज निर्माणका लागि मानिस स्वस्थ्य हुनुपर्छ, योग साधना स्वस्थ्य जीवनका लागि महत्त्वपूर्ण छ, स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न सक्दैन, त्यसकारण सबै वडामा योग साधनको विस्तार होस् ।” वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जली योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।  उहाँले तीन वर्षको अवधिमा विकास निर्माणका साथसाथै सांस्कृतिक तथा सामाजिक क्षेत्रमा धेरै कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै विभिन्न सङ्घसंस्थासँग मिलेर समाज र समुदायको हितमा कार्यक्रम गरिरहेको बताउनुभयो ।

म्याग्दी:    जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ ।  यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।  प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।  “गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्”, उहाँले भन्नुभयो, “सङ्केत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।” अनलाइन प्रणालीबाट नागरिकता सिफारिससम्बन्धी सेवा प्रवाहका लागि विसं २०६० चैत ७ गतेभन्दा पछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट गरिएको छ । विसं २०६० चैत ७ गते बेनी भीडन्तका क्रममा प्रशासनका कागजपत्र जलेका कारण अभिलेख नराखिएको हो ।  राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, आन्तरिक राजस्व कार्यालयले जारी गरेको प्यान नम्बर, सवारी चालक अनुमतिपत्रलाई पनि सफ्टवेयरमा समावेश गरिएको छ । अनलाइनमार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो भएको प्रजिअ ढकालको भनाइ छ ।  म्याग्दीका छवटै स्थानीय तहका ४५ वटा वडाका अध्यक्ष, सचिव र पञ्जीकरण शाखाका कर्मचारीलाई अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्ने प्रक्रियाको विषयमा तालिम दिइएको थियो ।  जिल्ला प्रशासन कार्यालय, म्याग्दीले यसअघि सेवाका लागि निवेदन आवश्यक नपर्ने व्यवस्था मिलाएको थियो । सिफारिसकै आधारमा सेवा दिने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई सहज भएको छ । 

भोजपुर:   भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।  पिउने पानीको समस्या रहेका यहाँका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो ।  आर्थिका वर्ष २०८०/८१ मा वडाको बजेटबाट रू दश लाख विनियोजन गरेर दुई सय १६ घर र यसअघि निर्माण भएका धारासहित चार सय ६८ घरमा पानी सञ्चालन गरिएको उहाँको भनाइ छ । वडामा अभियान सञ्चालन गरेर पानी वितरण गरिएपछि स्थानीयको पानीको समस्या हटेको उहाँको भनाइ छ । “हामीले यहाँका स्थानीयको पानीको समस्या समाधानको लागि अभियान सञ्चालन गरेर पानी वितरण गरेका छौँ”, वडाध्यक्ष थापामगरले भन्नुभयो, “यहाँका सबै घरमा शुद्ध पिउने पानी पुर्‍याउन सफल भएका छौँ । यसले स्थानीयको वर्षौंदेखि पानीको समस्या समाधान भएको छ ।”  वडाले अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्‍याएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी कल्पना भट्टराईले बताउनुभयो । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । “घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उहाँले भन्नुभयो, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्नुपर्ने अवस्था थियो । वडाको पहलमा घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।”  घरमा धारा नहुँदा तीन धारा भन्ने स्थानबाट डोको बोकेर पानीको जोह गर्दै आएको स्थानीयवासी सरस्वती भट्टराईले बताउनुभयो । घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारीमा प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।  “विगतमा पानीको जोह गर्न डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीलाई सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।” धारा जडानसँगै स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी जन्य रोगबाट बच्नको लागि वडाले एक घर एक फिल्टरको अभियान सञ्चालन गरेर फिल्टर पनि वितरण गरिएको वडासदस्य टेकराज भट्टराईले बताउनुभयो । त्योसँगै स्थानीयलाई आवश्यकताको आधारमा वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । “यहाँका सबै स्थानीयको घरमा धारा पुगेको अवस्था छ”, उहाँले भन्नुभयो, “पानीजन्य रोगबाट बच्नको लागि स्थानीयलाई फिल्टर पनि वितरण गरिएको अवस्था छ ।”

काठमाडौं:    मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।      पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेश विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल  नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।       गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो । उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो । त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।      विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमासमेत नेपाल सहभागी हुने अवसर पाएको हो । विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ ।       नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।      यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ्न । समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।       प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान छ देशको दुई समूह हुनेछ । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलङ्का तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ । सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।       नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

काठमाडौं:    लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ ।  बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।  बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार  कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।  यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको रु ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।  यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ ।  बोर्डमा हालसम्म रु ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ । 

काठमाडौं:    नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।      दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको छ ।  दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।      सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन बिपरित छिटो धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा बैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ । 

महोत्तरी:    महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् ।  मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् ।  स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताउनुभयो ।      खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।      चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।  नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ ।  स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताउनुभयो । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उहाँले सुनाउनुभयो ।  यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताउनुभयो । उहाँले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोख्नुभयो ।      बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उहाँले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताउनुभयो । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताउनुभयो ।  वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताउनुभयो ।      मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताउनुभयो । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताउनुभयो ।  पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको कठ्याङ्गिँ्रदो जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताउनुभयो । उहाँले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गर्नुभयो ।       यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।  यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् । 

काठमाडौं:     घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।      गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।      विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिष्टे«शन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ प्राप्त भएको छ ।      काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले रु ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।      यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले रु दुई लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले रु २९ करोड ७६ लाख १३ हजार दुई सय ७१, मालपोत कार्यालय डिल्लीबजारले रु २१ करोड ९० लाख ९९ हजार छ सय ८५ राजश्व सङ्कलन गरेको छ ।      त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ९३ लाख ८० हजार तीन सय ६७, कलङ्की मालपोतले रु २१ करोड ९३ लाख ७१ हजार सात सय ९२, मालपोत कार्याल साङ्खुले रु १० करोड ३२ लाख ५९ हजार छ सय २२, मनमैजुले रु छ करोड ६८ लाख २९ हजार पाँच सय ६१, मालपोत कार्यालय टोखाले रु छ करोड ७७ लाख ३४ हजार छ सय ९७ बराबरको राजश्व सङ्कलन गरेको छ ।      यस्तै, मालपोत कार्यालय विराटनगरले रु १६ करोड ११ लाख तीन हजार चार सय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले रु १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ राजश्व सङ्कलन गरेको छ ।      गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन भएको थियो ।

काठमाडौं:    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ ।       नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गर्नुभएको हो ।  पर्यटनमन्त्री पाण्डेले नेपाल र ईयूबीच पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल र ईयूबीच साझेदारी रहेको उल्लेख गर्नुभयो ।     उहाँले नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि घनिष्ट सम्बन्ध रहेको र ईयू नेपालको प्रमुख विकास साझेदारको रुपमा रहेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो ।     राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रुपमा सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।