हेटौडा:   बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ।  आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विप...

पोखराः     गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् ।  पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै उनले उक्त प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गरे । “पोखरा १३ मा आयोजित इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ।”, उनले भने ।  मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन उक्त प्रतियोगिता निरन्तर भइराख्नुपर्ने धारणा उनको छ । पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगिता मार्फत टेवा पुग्ने उनले बताए ।  पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी समय पनि सहकार्य समर्थन गर्न तयार रहेको भनाई उनको छ । खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उनको अनुरोध छ । उनले पोखरा १३ मा आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र साना व्यवसायलाई टेवा पुग्ने बताए । ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र आर्थिक गतिविधि बढाउन यस्ता प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उनको छ । पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा १३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पु¥याउने उनले बताए । “हाम्रो वडा १३ जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यस क्षेत्रलाई साहसिक खेलकुदको केन्द्र बनाउने लक्ष्यमा यो कार्यक्रमले ठूलो सहयोग पु¥याएको छ।”, उनले भने । आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता उनको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गते सम्म चल्नेछ ।

धनुषा:    मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी कडरियाले भन्नुभयो, “विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार चार सय प्रहरी परिचालन गरिनेछ ।      चोरी, डकैती, पाकेटमारलगायत अपराध रोक्न तालिम प्राप्त सदा पोसाकका प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।       सिमानाबाट मेलासम्म शान्तिसुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा सात सय पाँच सशस्त्र प्रहरी परिचालन गर्नाका साथै अत्यधिक भीड हुने ठाउँमा ड्रोनको सहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।       मेलामा आउने सवारीसाधन तथा भीडलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारीसाधन तथा हल्का सवारीसाधनको पार्किङस्थलको व्यवस्थापन गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताउनुभयो । भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो ।       जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा गरेको सरसफाइ, बाह्र बिघा रङ्गभूमि मैदानमा एक सय अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँठाउँमा चापाकल व्यवस्थापनको काम सुरु गरेको नगरप्रमुख मनोज साहले जानकारी दिनुभयो ।       प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले प्रादेशिक अस्पतालले २४सैँ घण्टा चिकित्सकलाई तयारी अवस्थामा राखेको बताउनुभयो । मेलालाई लक्षित गरेर अस्पतालमा ७५ शय्या छुट्याउने, आवश्यक औषधिको व्यवस्थापनलगायत काम भइरहेको उहाँको भनाइ छ ।      खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान तथा विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरी व्यवस्थापन गरेको छ । साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्ने उद्देश्यले टावरसहितको थप ओवी भ्यानको व्यवस्थापन गरेको छ ।      सडक डिभिजन कार्यालयले सडकमा भएको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको डिभिजनल इञ्जिनियर दीपककुमार झाले बताउनुभयो । नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा एक सय एक निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको रेडक्रसका सभापति नरेशप्रसाद सिंहले बताउनुभयो ।       जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले भन्नुभयो, “वाणिज्य सङ्घले मेलाको सुरक्षाका लागि आउने तीन सय ५० सुरक्षाकर्मीको बाँसको व्यवस्थापनका साथै बाहिरबाट आउने तीर्थयात्रीलाई आवास तथा भोजनको व्यवस्था गरेको छ । मङ्सिर १६ गतेदेखि नगर दर्शन सुरु भएर २२ गते रामकलेवासम्म सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महामहोत्सव हुन लागेको छ ।”      यसपटक भारतबाट पाँच सयको सङ्ख्यामा जन्ती आउन लागेका छन् भने पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।  श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजको नेतृत्वमा अयोध्याबाट आजमगढ़, बक्सर पटना, मुजफ्फरपुर, दरभङ्गा, अहिल्या स्थान, सीतामढ़ी, विशौल, महोत्तरीको मटिहानी हुँदै जनकपुरधाम आउने उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।   चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहनुभएका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो ।      भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  भेटवार्तामा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नुहुनेछ । परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ ।

काठमाडौं:     मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको एनपिएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको सुरुआतमै जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्सको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख हुनुहुन्छ । तेइस वर्षीय आसिफले सन् २०१७ देखि नेपालको सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । त्यसयता उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ ।      आसिफले आफनो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताउनुभयो । पुबुदु दसानायके जस्तो प्रशिक्षक पाएका कारण आफनो टोली भाग्यशाली रहेको उल्लेख गर्दै उहाँले जनकपुर बोल्ट्सलाई जसरी पनि उपाधि जिताउने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने विश्वास दिलाउनुभयो । मार्की खेलाडी शेखले आफनो टोलीमा सबै उत्कृष्ट खेलाडी  भएकाले प्रतियोगिताको उपाधि जित्ने दाबी गर्नुभयो ।       यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोमबार सुन्धारास्थित धरहरा परिसरमा एनपिएलको ट्रफी सार्वजनिक गर्दै जनकपुर बोल्ट्सका मार्की खेलाडी शेखको प्रशंसा गदै ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभएको थियो ।  “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ”, उहाँले शेखको प्रशंसा गर्दै भन्नुभएको थियो ।  जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।  उहाँले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उल्लेख गर्नुभयो । खतिवडाले आफ्नो टोलीमा दुई विदेशी खेलाडी नेपाल आइसकेको र आजै बाँकी दुई विदेशी खेलाडी आउने जानकारी दिनुभयो । जनकपुर बोल्ट्समा मार्की खेलाडी आसिफसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सदस्यद्वय अनिलकुमार साह र ललितनारायण राजवंशी समेत रहेका छन् ।  त्यसैगरी टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।  एनपिएलमा सहभागी प्रत्येक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । तर खेलाडीको आवश्यकता हेरेर ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।  जनकपुर बोल्ट्सले नेपाली खेलाडीसँगै ६ विदेशी खेलाडीलाई भित्र््याएको छ । जनकपुर बोल्ट्सले न्युजिल्यान्ड, पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ ।  जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था तथा पाकिस्तानका शोएब मक्सुद र मोहमद मोहसिन खान छन् । न्युजिल्यान्डका नीशम विश्व क्रिकेटमा चिरपरिचित खेलाडी हुनुहुन्छ । नीशमले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेल खेलिसक्नुभएको छ । बाँयाहाते ब्याटर नीशमसँग आइपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ ।      त्यसैगरी अमेरिकाका दाँयाहाते ब्याटर ट्रोम्पले अमेरिकाको घरेलु क्रिकेट लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका प्रतियोगिता खेलिसक्नुभएको छ ।  श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आउनुभएका विकेटकिपर एवं ब्याटर मिलान्था अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले अमेरिकाको विभिन्न घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आउनुभएको छ । मिलान्थाले यसअघि नेपालमै आएर क्रिकेट खेलिसक्नुभएको छ । यस्तै पाकिस्तानी मक्सुद पनि अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले पाकिस्तानका लागि एकदिवसीय, टी–२० लगायतका खेल खेलिसक्नुभएको छ । पाकिस्तानका मोहसिन खान अलराउण्डर हुनुहुन्छ । उहाँले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग र पाकिस्तान सुपर लिग खेलिसक्नुभएको छ ।  जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।  सन् २०११ देखि राष्ट्रिय पुरुष टोली समाल्नुभएका उहाँकै प्रशिक्षणमा नेपालले विश्वकपसम्मको यात्रा तय गरेको थियो । नेपाली क्रिकेटको इतिहासमा प्रशिक्षक दासानयके बिर्सिन नहुने नाम हो ।  सुरुआतमा उहाँले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षण सम्हाल्नुभएको थियो । त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो ।  नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोल्ट्स विश्वस्त रहेको छ । पाकिस्तानी खेलाडी मक्सुदले नखेल्ने        जनकपुर बोल्ट्सका लागि अनुबन्धित पाकिस्तानी खेलाडी शोएब मक्सदु फिटनेशमा समस्या भएपछि प्रतियोगिता खेल्न नआउने निश्चित भएको छ ।  जनकपुर बोल्ट्सका हेड अफ अपरेशन खतिवडाका अनुसार मक्सुदको स्थानमा इङल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरिएको छ । उहाँले पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नभएको छ ।       प्रतियोगितामा जनकपुर बोल्ट्सगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको सहभागिता रहेको छ । 

काठमाडौं:     यस वर्षको ‘सिविन–नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ ।  बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान अर्पण गरेको हो ।       नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ  । साथै नगरपालिकाले आफ्ना १५ वडामध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको जनाइएको छ ।         चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्द्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।  चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ ।  सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ ।   

चितवन:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ ।  आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उहाँले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राख्नुभयो ।      अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै उहाँले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताउनुभयो ।       मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।      सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको रहेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।”       मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकाररी दिनुभयो । जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।       विसं २००८ मङ्सिर १२ गते हालको इच्छाकामना गाउँपालिका–२ विप्राङमा जन्मिनुभएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । २५ वर्ष जनप्रतिनिधि भएर काम गर्नुभएका श्रेष्ठले विसं २०३५ मा  बनेको शक्तिखोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा योगदान दिनुभएका श्रेष्ठले स्थानीय स्वास्थ्य चौकीलाई १० कट्ठा जमिन दान गर्नुभएको थियो ।        कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार कार्की, नेपाली कांग्रेसका पूर्ववडा सभापति लीलाबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायत व्यक्ताले बलबहादुरले राजनीतिक तथा सामाजिक रूपमा खेल्नुभएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।        नेपाली कांग्रेस कालिका नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सभापति कुमलाल श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्र, प्रदेश र स्थानीय नेता, स्थानीय जनसमुदायको उपस्थिति थियो । 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी उहाँलाई फोटो पत्रकाररुको हकहितका लागि नौ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ  ।  संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि पहल गराइदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।      त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन, समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन समेत ध्यानाकर्षण गराइएको छ ।      सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पत्रकारितामा फोटोको महत्व धेरै हुने भएकाले फोटो पत्रकारहरूका लागि राज्यका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो । 

ताप्लेजुङ:    ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ ।  पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्रै १ दर्जन बढी विदेशी नागरिक पाथीभरा आएका छन् । नेदरल्याण्डसहित अन्य ठाउँबाट आएका पर्यटकहरूले पाथीभरामा पूजाआजासँगै यहाँबाट देखिने हिमालको अवलोकन गरेर रमाएका उहाँको भनाइ छ । मङ्गलबार नेदरल्याण्डका नागरिक लिएर पाथीभरा आउनुभएका जेआरएन ट्रेक एण्ड एक्सपिडिसनका गाइड रवि लामाले आफूले तेस्रो पटक पाथीभरामा विदेशी नागरिक लिएर आएको बताउनुभयो ।  उहाँसँग आएका पर्यटकले नेपालको धर्म र प्रकृतिलाई मन पराउने प्रतिक्रिया दिनुभएको थियो ।गत साउनदेखि कात्तिक मसान्तसम्ममा ४ सय ७८ जना विदेशी नागरिक पाथीभरामा आएका छन् ।  यसमा सबैभन्दा बढी भारतबाट आएका काफ्लेपाटीस्थित पर्यटक सहायता प्रहरी कक्षका प्रहरी सहायक निरीक्षक शिशिर कोइरालाले बताउनुभयो ।  धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार  प्रवर्द्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ ।  पर्यटकीय पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धन गर्दै गएमा दिनानुदिन बाह्य पर्यटकको सङ्ख्या बढ्दै जाने समितिले विश्वास लिएको छ । हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन् ।  पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिनाअघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ ।  समितिद्वारा पाथीभरामा आउने भक्तजनको सहजताका लागि पाथीभरा पदमार्ग, यहाँका शौचालय, खानेपानी लगायतका भौतिक पूर्वाधारको स्तरोन्नति तथा निर्माण गर्ने कार्य जनाइएको छ ।  मन्दिर क्षेत्रमा सहज सञ्चार सुविधाका लागि इन्टरनेट सहितको टेलिफोन टावर निर्माण गर्ने र पदमार्गमा सोलार बत्ती जडानका लागिसमेत पहल भइरहेको छ ।

गोरखा:     गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ ।  जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’ पालिका भित्रका सवै वडामा दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम विच मंगलबार उनीहरुलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयोे । ‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देस्य हो, उहाँले भन्नुभयो, ‘‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौ ।’ दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताउनुभयो ।  ‘‘दीर्घकालिन रुपमा उहाँहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ, उहाँले भन्नुभयो,‘‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने  विश्वास लिइएको छ ।’