हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

काठमाडौं:    नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ ।      नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ ।       कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ ।

काठमाडौं:   अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो ।      गत शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।      अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।  माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवम् वडाध्यक्ष हरि बहादुर क्षेत्रीले प्रतियोगिताले समग्र माछापुच्छ्रेँ गाउँपालिकाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे ।  माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद  रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।  उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक ब।तामाङले बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क  रु ६ हजार रहेको छ ।  भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।   

बाँके:    राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ ।  मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।   “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्”, निकुञ्ज प्रमुख कँडेलका अुनसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् ।   चरा गणनाका लागि राप्तीमा पुग्नुभएका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गइरहेको बताउनुभयो । नदी, सिमसार क्षेत्र तथा जलासयमा मानवबाट हुने गतिविधिले गर्दा चराको बासस्थान लोप हुन पुगेको उहाँको भनाइ छ । “खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको बासस्थान लोप हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो ।  विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलासयमा आगन्तुक चराको समेत बासस्थान रहेको पाइएको छ ।   चराको बासस्थानमा भइरहेका निर्माणकार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतका कारण चराको बासस्थान लोप भएर सङ्ख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताउनुभयो ।  “मानवीय गतिविधिका कारण चरको बासस्थानमा धेरै नै अवरोध हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “हामी संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्ने रैथाने पनि सजग हुन आवश्यक देखिन्छ ।” चराविज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मीलगायत टोली शनिबारदेखि राप्ती नदीमा चरा गणनाका लागि परिचालित भएको छ । उक्त टोलीले बाँकेमा रहँदा बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलासयमा पुगेर चरा गणना गरिने बाँके निकुञ्जले जनाएको छ ।  गणनाका क्रममा उक्त टोली बाँकेको नेपालगञ्जस्थित कान्ति ताल, बैजनाथमा रहेको सुतैया ताल, बर्दियाका सीमाक्षेत्र मानखोलालगायत स्थानमा पुग्ने चराविद् शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित कान्ति तालमा संरक्षित पन्छी सारसको समेत बासस्थान रहेको छ । बाँकेमा योसहित तेस्रोपटक चरा गणना गरिएको छ ।

स्याङ्जा:  चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने दोस्रो पटक चयन भएका छन् ।   चौथौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानै सर्वसम्मत चुनिदै अध्यक्ष्मा दोहोरिएका हुन् ।   न्यौपाने नेतृत्वको सो समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ, महिला उपाध्यक्षमा पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँड र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ चुनिए ।    यस्तै सदस्यहरुमा उमराज गुरुङ (राज), भिमनारायण कोइराला, श्याम बिक, भानबहादुर कुमाल, सूर्य गोतामे, गोपबहादुर बिक, अर्जुन रेग्मी, चुरामणी अर्याल र श्याम गुरुङ चयन भए ।    यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले सबै क्षेत्रका व्यवसायीहरु उपभोक्तामुखी हुनुपर्ने धारणा राखे ।    उनले व्यवसाय नाफामुखीमात्र नभएर उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिएका थिए ।   कार्यक्रममा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडाध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), उपाध्यक्ष पुष्पा अर्याल  लगायतले बोलेका थिए ।  

सिन्धुपाल्चोक:  नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ ।   प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।   यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल गोजु–रियो कराँते–दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए ।   पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडौं तेस्रो भएको छ ।   मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।

गण्डकी:     अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे ।  पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो ।  सपुतको फेसबुक पोस्ट आएको केहीछिनमा थापाले पनि सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ लाई आफ्नो फेसबुकमा साझा गरे । सपुतको प्रशंसा गर्दै थापाले फेसबुकमा लेखेका थिए, “हामी सबै कलाकार एउटै परिवारको दाजुभाइ हौँ, मिलेर अगाडि बढ्ने हाम्रो संस्कार हो, भाइलाई सफलताको अग्रिम शुभकामना ।” थापाले यसो लेखिरहँदा सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा थियो ।  सपुत र थापाले जसरी एकार्काप्रतिको शुभेच्छा र सम्मानभाव दर्शाए आखिर भयो पनि त्यस्तै । सपुतको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो । थापाको गीतले केही दिन युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक÷स्रोता मन जित्न सफल रह्यो ।  अहिले दोस्रो स्थानमा रहेको उक्त गीतले ६१ लाखभन्दा बढी ‘भ्यूज’ बटुलिसकेको छ । अहिले युट्युब ट्रेन्टिङको पहिलो स्थानमा रहेको सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ ले हालसम्म २८ लाख बढी ‘भ्यूज’ पाएको छ ।  चलचित्र निर्देशकसमेत रहेका सपतुद्वारा निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश उक्त गीतमा सपुत र गायिका शान्तिश्री परियारको स्वर छ ।  चलचित्र ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । रोधीको संस्कृतिमा आधारित उक्त गीतले गाउँले परिवेशको झल्को दिन्छ । गीतको शब्द र सङ्गीत रचना पनि सपुत आफैँले गरेका हुन् । चलचित्र ‘वसन्त’मा उनी आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन् ।  थापाको गीत ‘दुश्मन हेरेको हेरै...’मा उनीसहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ ।  थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उनकोको गीत दुई साताअघि र सपुतको गीत एक साताअघि युट्युबमा सार्वजनिक भएको थियो । दुवैले आफ्नै नामको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।   बागलुङको धम्जामा जन्मिएका सपुत र गलकोटमा जन्मिएका थापा साङ्गीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएका छन् ।  बहुप्रतिभाशाली कलाकार सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सृजनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्।  विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्युजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।  सयौँ गीतमा अभियन र स्वर दिएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’ लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै...’ मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो ।  छिट्टै प्रदर्शनका आउन लागेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहान्छन् । 

पर्वत:   सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन्  । आर्थिक मन्दी, सरकारको असहयोग र  विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको  छ ।  गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए ।   क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो ।  नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो । समितिले दुई क्याम्पस ‘मर्च’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए । अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुुपरेको संयोजक पहाडीले बताउनुभयो । दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको उहाँले बताउनुभयो । क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ ।  बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उहाँले बताउनुभयो । दुवै क्याम्पस समुदायद्वारा सञ्चालन भएका थिए ।   जिल्लाभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सबैजसो क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।

तनहुँ:   तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन ।   देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ ।  लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन् । देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ ।  देवघाट–३ बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला बजार पु¥याउन सकस भएको देवघाट–३ बाटकका हर्कबहादुर थापाले बताउनुभयो । “यस वर्ष वडा नं ३ मा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बाटकवासीले केही वर्षयता सुन्तला बेचेरै घरखर्च चलाउन थालेका छन्”, उहाँले भन्नुभयो ।  लुङग्रिङमा एउटै परिवारले रु २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको स्थानीय भीमबहादुर रानाले जानकारी दिनुभयो ।  लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा सुन्तला ल्याएर त्यहाँबाट झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै सुन्तला काठमाडौँ बिक्री गर्न लैजाने गरेका छन् । नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने स्थानीयको भनाइ छ । पुल नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको छ । दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताउनुभयो ।  पुल नहुँदा यहाँ उत्पादित वस्तु बिक्रीका लागि बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने गरेको छ ।