पोखरा: पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । उहाँका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ । “पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उहाँले भन्नुभयो । पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनुभयो । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन र पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवं सहजै पुग्न सकिने गन्तव्यका रूपमा रहेको जानकारी गराउन तथा किसानलाई प्रोत्साहन गर्ने र आफ्नो पेसाप्रति अभिप्रेरित गराउने महोत्सवको उद्देश्य रहेको छ ।
गलकोट: निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ भने, सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ । काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ । काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ । भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताउनुभयो । उहाँले केही समयमा सडक कालोपत्र गर्ने दाबी गर्नुभयो । सडकको सुरुमा एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।
सिरहा: माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो । आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । आज विशेष दिन भएकाले बिस्तारै मधेश केन्द्रित दल तथा कार्यकर्ताहरूको चहलपहल र उपस्थिति बढ्दै गएको हो । एकातिर सहिदको प्रतिमामा माल्यार्पण गर्न नेता र कार्यकर्ताको भीड लाग्दा अर्कातिर लक्ष्मी सहनी र उहाँकी श्रीमती डोमनी सहनीको मनमा छट्पटी बढ्दै जान्छ । विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर ताजा बनाइदिन्छ, जसले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो । यसैगरी, छट्पटी र तनाव बढ्छ महम्मद मस्तकीलाई पनि । आजभन्दा १८ वर्ष पहिला लहानमा चर्कीएको मधेश आन्दोलनले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो । विसं २०६३ माघ ५ गते तत्कालीन मझौरा गाविस–५ का रमेशकुमार महतो, माघ ७ गते इटहर्वा गाविस–३ का मोहम्मद अनिश, सोही दिन महदेव गाविस–२ का प्रमोद सदाय र माघ ८ गते लहान नगरिपालिका–४ का विजय सहनीको सोही आन्दोलनमा प्रहरीको गोली लागेर शहादत प्राप्त भएको थियो । तिनै सहिद विजय सहनीको बुबाआमा हुनुहुन्छ लक्ष्मी र डोमनी सहनी । दुई सन्तानमध्ये घरको जेठो १८ वर्षीय विजय सहनीलाई आन्दोलनमा गुमाएको पल सम्झिँदा बुबा लक्ष्मी सहनीलाई अझै भक्कानो छुटेर आउँछ । “प्रत्येक माघ ५ गतेले मलाई पीडा र आँसु दिएर जान्छ । विगतको स्मृति र विस्मृतिलाई ताजा बनाउने काम गर्छ”, आफ्नै छोराको सालिक अगाडि उभिएर सहनीले भावुक हुँदै भन्नुभयो, “आन्दोलनले के कति प्राप्त भयो थाहा छैन तर हाम्रो परिवार उजाड बनाइदियो । खुसीहरू सधैँलाई छुटिगए ।” परिवारको आर्थिक जोहो टार्न अर्को छोरो राजेश सहनी तीन वर्षदेखि भारतको केरलामा मजदुरी गरिरहेको पीडा बुबा लक्ष्मीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनमा मेरा छोरा जस्तै सहिदहरूको बलिदानले नेताहरूलाई सरकारमा त पु¥यायो, तर मेरो परिवार उस्तै गरिबी, अभाव र पीडामा छ । सम्झिँदा मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ ।” सहनीले अगाडि भन्नुभयो, “आफूलाई जसोतसो सम्हाल्छु तर श्रीमतीलाई सम्झाउन गाह्रो छ”, छेवैमा आँसु टिल्पिलाउँदै गर्नुभएकी श्रीमतीतर्फ हेर्दै उहाँले भन्नुभयो, “यस्तो बेला छोराको याद आइहाल्छ । यस्ता कार्यक्रमहरूले पीडा थप बल्झाउँने र असाध्यै सताउने गर्छन् ।” मोहम्मद मस्तकी सहिद मोहम्मद अनिशका बुबा हुनुहुन्छ । यस्तै पीडा छ, अनिशका बुबा मोहम्मद मस्तकीको । सरकारले सहिद परिवारको रोजगारी र जीविकोपार्जनमा कुनै सहयोग नगरेको तथा आन्दोनले ल्याएको परिवर्तनले जनताको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन नसकेको उहाँले दुखेसो पोख्नुभयो । “सहिदको समना पूरा भएन । सोचेअनुसारको परिणाम आएन । व्यवस्था त बदलियो तर जनताको अवस्था फेरिएन,” उहाँले भन्नुभयो । त्यही आन्दोलनका नेतृत्वकर्ता तत्कालीन मधेशी जनाधिकार फोरम तथा हालका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लहान आएर यिनै सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै आजको दिन शोषण र उत्पीडनविरुद्ध बलिदानपूर्ण विद्रोह भएको दिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुलामीको जीवनभन्दा बलिदानी दिएर मधेशलाई अधिकारसम्पन्न बनाउने सहिदको सपना खेर जाँदैन ।” छेवैमा भाषण सुनिरहेका सहिद परिवार भने मौन थिए । सायद नेताहरूको भाषण सुन्न बानी परिसकेका थिए, विश्वास लाग्नु नलाग्नु छुट्टै विषय हो ।
पोखरा: मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् । सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् । कार्यक्रममा अभिनेत्री रीमा कुमारी ब्युटीकै मेकअपमा सजिएर आएकी थिइन् । संचारकर्मीसँग कुराकानीका क्रममा उनले सुरुमै ठट्यौली शैलीमा सोधेकी थिइन्, ‘म कस्ती देखिएकी छु ?’ सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने उनको भनाई थियो । ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ । जहिल्यै पनि नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन । मेरो स्कीनलाई यो उपयुक्त रहेछ । ’ मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको तर्क थियो । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरेपनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन,’ उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसुस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुनचाँही सक्छौं । त्यसका लागि आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ । कुमारी ब्युटीको प्रडक्ट उत्पादन गर्दा शोभाजीले आफ्नो बुद्धिमता र मन दुवै लगाउनुभएको रहेछ । आफूले के प्रयोग गरिरहेको छु भन्ने कुराको ज्ञान राख्न रुचाउने मान्छेहरुलाई कुमारी ब्युटीको प्रडक्ट मनपर्न सक्छ । ’क्यानाडामा उत्पादन हुने कुमारी ब्युटीका प्रडक्टहरुले पोखराका बाराही चोकमा स्टोर खोलेर देशभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सव स्थल संगै दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थल सम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो । शनिवार दिउसो मात्र नभई सांझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शनिबार दर्शकको बाक्लो उपस्थिती संगै महोत्स्व स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री, जाडो मौसमका सामाग्री, कृषिका सामाग्री संगै तरकारी लगायतका सामाग्रीको ब्यापार वढेको आचार्यले बताए । महोत्सवको दशौं दिन लोक दोहारी कलाकार शान्तारानी परियार, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको एघारौं दिन रचना रिमाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, कृष्णा गुरुङ, सरस्वती लामिछाने, तुलसा क्षेत्री, सुरेश भुर्तेल, सुनिमा गुरुङ, केश बहादुर गुरुङ लगायतको पस्तुती रहने छ भने सांझको लाइभ कन्सर्टमा पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । शनिवार सम्पन्न विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा विभुति शिक्षा सदन उत्कृष्ट प्रस्तुती र सरस्वती विद्या सदन लामाचौर वाइल्ड कार्ड इन्ट्री मार्फत फाइनलमा प्रवेश गरेको हो । महोत्सवको अन्तिम दिन सोमबार सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
पोखरा: पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनिक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल थापाले जितेका छन् । जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर २६१८५ का सुमन श्रेष्ठलाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर १६२९२ का प्रविन गुरुङलाई परेको छ । सान्तोना पुरस्कार १३ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । २ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४६ हजार कुपनबाट १६ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानेको बताए । १६ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।
पोखरा: मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले बुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए । प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पुर्णिमा थिंङ्ग तामाङले लिम्वु जातिको प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए । यसैगरि अर्का प्रतियोगी सुनिता तामाङले आफुले उनीको धागोबाट तयार पारेका बिभिन्न हस्तकलाका सामाग्री प्रर्दशनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाउका थिए । शिशा लामाले आफै गिटा बजाउदै गीत गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए । यसैगरि अर्का प्रतियोगी पुर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीहरुलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारे जानकारी गराउँदै ब्यक्तित्व विकासका लागि यो कार्यक्रमलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताए । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो रहन पर्नेमा जोड दिए । बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सन्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कन्चन थापा, एसके डान्स स्कुलका सन्चालक एवम सुपरमम् २०७१ एपविजेता माया लामा रहेका थिए । सोनाम ल्होसारको अवसरमा माघ १२ गते पोखरा सभागृहमा हुन लागेको प्रतियोगिहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको छ । तालिममा पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, बैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए । यसैगरि अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रितिरिवाजका बारे नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले नृत्य कला सिकाएका थिए । यसगरि विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ व्युटी एकेडेमीका सौन्दर्यविद चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक एवम फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी र नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले लिडरसिपका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । माघ १२ शनिबार हुने ग्राण्ड फिनालेमा विशाल काल्तान लगायतका कलाकारको प्रस्तुती रहनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।
पोखरा: पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । शनिबार देखि शुरु भएको सो कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता देखिएको आयोजकको भनाइ छ । पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा संचालन भइरहेको सो बृहत अटोमोबाइल प्रदर्शनीमा शनिबार ५० भन्दा धेरैले टेष्ट ड्राइभ गरेको बराल ग्रुपका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । कार्निभल माघ ७ गतेसम्म संचालन हुनेछ । बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी छन् । तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् । यसका साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर समेत प्राप्त गर्नेछन् । एलिट मोटर्स र एसएसएल मोटर्स बराल ग्रुप अन्तर्गतका कम्पनी हुन् । नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजना हुनेछ । शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई–सी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शनीमा छन् ।
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो । नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताउनुभयो । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो । निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृद्धि गरी सातामा चारपटकसम्म उडान गर्दै आएको थियो । समय समयमा निगमका जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुईपटक र एकपटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो । निगमसँग थोरै मात्र ट्विनअअटर जहाज रहेका बताउँदै जहाजहरूको इन्जिन साइकल सकिएपछि सेवा अवरुद्ध बनेका विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएका र ग्राउन्डेड भएका जहाजको मर्मत गर्ने काम भइरहेकाले जिल्लामा सेवा नियमित हुन अझ केही समय लाग्ने उहाँले बताउनुभयो । पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट निगमले साताका एकपटक बिहीबार मात्र उडान गर्दै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो । निगमले काठमाडौंबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौंका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ । यहाँबाट काठमाडौंका लागि २१ महिनाको अवधिमा एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन् । हालसम्म दुवैतर्फबाट गरी दुई हजार दुई सय ५३ यात्रुले हवाई सेवा लिएका स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । पछिल्लो समयमा हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्यधिक चाप हुँदाहुँदै पनि निगममा जहाज अभाव हुँदा नियमित सेवा सञ्चालन गर्न नसकिएको थापाले बताउनुभयो ।

