हेटौडा:   बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ।  आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विप...

पाल्पा:    अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको हो ।  लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।  निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब  सहज हुने बताउनुभयो ।  पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

रामेछाप:    रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।  सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो । गर्भवती महिलाको पोषण सुरक्षाका लागि यो कार्यक्रम सुरु गरिएको जनाइएको छ ।  स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्य आमा समूह सित्खा र बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेका भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।  हालसम्म यी समूहले २४ जनाभन्दा बढीलाई पोषण सामग्री हस्तान्तरण गरिसकेका छन् ।  ‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ सुत्केरी तथा गर्भवती महिलालाई उक्त कार्यक्रममार्फत नीजि खर्चमा पोषण समग्री हस्तान्तरण गर्दै आइएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिब एवंं महिला स्वास्थ्य स्वयम्सेविका तेजकुमारी सुनुवारले जानकारी दिनुभयो ।  यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उहाँले बताउनुभयो । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर खाठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  र बिक्रीदर १९ रुपैयाँ ९ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो  कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम  सफा रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

काठमाडौं:    बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।  विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।  भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उहाँले जानकारी दिनुभयो । बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।  दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो ।  पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।  मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।  मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

काठमाडौं:     ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ आज सम्पन्न भएको छ ।  चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत नेपालको प्रकृति र संस्कृति समेटेर अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले चलचित्रलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्नामा नेपाली चलचित्रको भूमिका महत्वपूर्ण छ । चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर समाज, जीवन र जगतलाई अभिव्यक्त गर्ने सशक्त माध्यम पनि हो ।” उहाँले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिँदा दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।  राष्ट्रपति पौडेलले भन्नुभयो, “आधुनिक युगमा चलचित्र कुनै पनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेश पु¥याउने माध्यम बनेको छ । यसबाट लाभ लिन जरुरी छ ।” कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको महत्वपूर्ण एक अङ्ग चलचित्र रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “चलचित्रको महत्व सरकारले राम्रोसँग बुझेको छ । यस क्षेत्रलाई सम्मानित बनाउन लागिरहेका छौँ । प्रविधिगत विकाससँगै समयानुकूल बनाउने हाम्रो लक्ष्य छ । यसका लागि देखिएका कठिनाइलाई विस्तारै सुधार गर्दै अगाडि बढिरहेका छौँ ।” सो क्रममा राष्ट्रपति पौडेलले ‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद रु तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गर्नुभएकी अभिनेत्री सिंहले आफूले पाएको सम्मानले नयाँ उत्साह थपेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मैले अभिनय सुरू गरेको त्यो समयको सङ्घर्षको फल अहिले पाएको आभाष भएको छ । जुन क्षेत्रमा जीवन समर्पण गरेको छु, त्यहाँ सम्मानित हुन् पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । यो मेरो जीवनको ठूलो उपलब्धि हो ।” सो कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । यस्तै अभिनेतातर्फ चलचित्र ‘प्रसाद २’ बाट बिपीन कार्की, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का, निर्देशकतर्फ चलचित्र ‘दिमाग खराब’ बाटै निश्चल बस्नेत, सम्पादकतर्फ चलचित्र ‘महाजात्रा’ बाट मित्रदेव गुरुङ, छायाँकारतर्फ चलचित्र ‘बुलाकी’ बाट शिव ढकाल, लेखन (कथा, पटकथा, संवाद) तर्फ चलचित्र ‘बुलाकी’ बाट राजबाहदुर साने पुरस्कृत हुनुभयो ।  यस्तै, आदिवासी, जनजाति, मातृभाषी चलचित्रतर्फ लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ र व्यावसायिक सफल चलचित्र ‘जारी’ उत्कृष्ट घोषित भयो । निर्णायक समितिको तर्फबाट चलचित्र ‘टुल्की’ की अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियोे ।  उहाँहरूलाई राष्ट्रपति पौडेल, सञ्चारमन्त्री गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा तेस्रो पटक उत्कृष्ट अभिनेता घोषित हुनुभएका अभिनेता विपिन कार्कीले यसको महत्व छुट्टै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुरस्कार राज्यले दिएको हो, त्यसैले यहाँ पुरस्कृत हुँदा थप दायित्व बढ्नुका साथै प्रोत्साहन मिल्छ । राज्यले सम्झिँदा हामीलाई छुट्टै ऊर्जा प्राप्त हुन्छ ।” कार्यक्रममा लक्ष्मण सुवेदीले निर्देशन गर्नुभएको ‘सतीदेवी’, लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरिएको थियोे । यस्तै, विसं २०६१ असोज १० गते चलचित्रको प्रिन्ट ९रिल० ढुवानीका क्रममा सडक दुर्घटनामा परी ज्यान गुमाउनुभएका प्राविधिक सूर्यमान तुलाधरलाई ‘विशेष योगदान सम्मान’ सहित नगद रु ५० हजार प्रदान गरिएको थियोे । उक्त सम्मान स्वर्गीय तुलाधरकी श्रीमती अनिता तुलाधरले ग्रहण गर्नुभयो ।       उक्त कार्यक्रममा कलाकार त्यैयव शाह, विद्या कार्की, बुद्धी तामाङ, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनसहित ११ जनालाई ‘विशेष योगदान सम्मान’ प्रदान गरिएको थियोे ।       कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “अहिले हामी विसं २०२६ को ऐनमा चलिरहेका छौँ । अहिलेको समयमा चलचित्र क्षेत्रलाई अगाडि बढाउन नयाँ ऐनको विकल्प छैन । त्यसैले यो हाम्रो आवश्यकतालाई यसैवर्ष पूरा गर्ने अठोट लिएको छु र यसमा सम्बन्धित निकायको पूर्ण सहयोग हुन्छ भन्नेमा विश्वस्त छु ।”      ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ को निर्णायक समितिको संयोजक निर्देशक बद्रीबहादुर अधिकारी र सदस्यमा बोर्ड सदस्य रविचन्द्र अधिकारी, कलाकार सुशील, छायाँकार गौरीशङ्कर धुजु, सवनम मुखिया, निर्देशक दीपा पाण्डे बस्नेत र सोमप्रसाद खतिवडा हुनुहुन्थ्यो । 

काठमाडौं:     नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।            प्रवक्ता डा महतले पार्टीकोतर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र पाठकलाई भारी मतकासाथ विजयी गराउन सम्पूर्ण पार्टीपङ्क्ति सक्रिय भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।  “निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पूर्ण रूपमा सक्रिय भएर कांग्रेसको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।            नेता डा महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, “सम्पूर्ण शक्ति पार्टीको उम्मेदवारप्रति होमिन जरूरी छ । त्यसो भयो भने आउने ८४ को निर्वाचनमा पनि पार्टीले एक्लै ठूलो पार्टीमात्रै हैन बहुमतको पार्टी पनि बन्न सक्छ । तर, त्यसका लागि हामीले सशक्त रूपमा एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । जनताबीच जाँदा मतदातामा पुग्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ ।” पार्टीभित्र विपक्षी खोज्ने प्रवृत्ति पार्टीको प्रमुख समस्या भएको उहाँको भनाई थियो ।       “हाम्रो सबैभन्दा ठूलो समस्या भनेको एकअर्काबीचमा कुरा काट्ने र वैमनस्य उत्पन्न गर्न समय खर्चने हो । आफ्नै भित्र विपक्षी खोज्छौँ र विपक्षीसँगको प्रतिस्पर्धालाई बिर्सन्छौँ । अब, एक भएर अघि बढ्नुपर्छ । कांग्रेसको विकल्प कांग्रेस नै हो”, नेता डा महतले भन्नुभयो ।            सङ्घका अध्यक्ष दीपक महतले उम्मेदवार पाठकको प्रचार अभियानमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै विगतमा वडामा भएको कामको प्रभावले जीत निश्चित हुने दाबी गर्नुभयो ।  “पर्यटन व्यवसायीकोतर्फबाट  देवेन्द्र पाठकलाई विजयी गराउन प्रतिवद्धताका साथ मत मागिरहेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमा सहयोग पु¥याउनु दायित्व पनि हो । उम्मेदवारलाई आट भरोसा दिन पनि यो कार्यक्रम गरिएको हो । त्यसैले निर्धक्क भएर उच्च मनोवलका साथ निर्वाचनमा लाग्न आग्रह गर्दछु ।”            उम्मेदवार देवेन्द्र पाठकले आफू नेतृत्वमा रहँदा पर्यटन क्षेत्रलाई सहजीकरण गर्न र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “वडामा कांग्रेसको वर्चस्व कायम रहेको छ, तर एकदमै प्रतिस्पर्धामा छौँ । हालसम्मको प्रयास उत्साहजनक छ, बाँकी दिनमा अझ मेहनत गर्न सकेको खण्डमा अत्याधिक मतसहित विजय हासिल गर्न सक्छौँ ।”

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिनुभएको हो ।      स्रोतको सुनिश्चितताबिना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उहाँले बजेटको समीक्षा गर्न सकिने तर काम गर्ने शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।      सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसङ्गतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीयखालका योजनामा यस वर्ष रू २० लाखमात्रै बजेट राख्ने खालका विकृति अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो ।      “हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झौैँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ । काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुप¥यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ”, प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, “तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरू के गर्ने हो रु हामीले चलाउन सक्दैनौँ भने चलाउनसक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने ?”      उहाँले अब अल्याङ्टल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।  प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरूवा मात्रै नगरेर कारबाही गर्नुपर्नेमा उहाँले धारणा राख्नुभयो ।      प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने भएकाले उत्पादन र परिवर्तनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ ।  मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको हो ।  पहिलो स्थान भए संगै प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अङ्क जोडेकोे हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिएका छन् ।  यस्तै छात्रा बास्केटबलमा कास्की मोर्डनाइज्डले तस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कास्की मोर्डनाइज्डले मदर ल्याण्डलाई ३४–६ ले पराजित गरेको हो ।  यस्तै प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि, ग्लोबल कलेजियट, सोसल पब्लिक मावि, मनकामना मावि र कास्की मोर्डनाइज्ड क्वार्टरफाइनलमा प्रवेश गरेको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले बताए ।  पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सम्पन्न खेलमा केएमएले गुरुकुललाई ३५–२४ ले, पोखरा युनाइटेडले मनकामनालाई ४९–०३ ले, सोसल पब्लिकले त्रिवेणीलाई ३५–२७ ले, ग्लोबलले बालकल्याणलाई ३६–३१ ले, प्रतिभाले पोखरा आदर्शलाई ६१–०९ ले, न्यू ग्यालेक्सीले शान्ती निकुञ्जलाई ६३–२ ले, मेरीगोल्डले नाभलाई ३७–२४ ले, माउन्ट अन्नपूर्णले टप्सलाई ४६–२८ ले पराजित गरेका छन् ।  त्यस्तै मंगलबारबाट विश्वविद्यालय छात्रा बास्केटबल सुरु भएको छ । जस अन्तर्गत दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा पोखरा इन्जिनियरिङ्ग कलेजले गेन्सलाई २२–२ ले पराजित गर्दा लेकसिटीले इन्फर्मेटिक्सलाई २५–०६ ले पराजित गरेको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।  छात्र/छात्रा भलिबल यस्तै हिसान स्पोर्टस मिट अन्तर्गत दोस्रा दिन छात्र भलिबल तर्फ ११ र छात्रातर्फ १० गरी कुल २१ खेल सम्पन्न भएको छात्र भलिबलका संयोजक नविन बराल र छात्रा भलिबलका संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।  दोस्रो दिनको जारी खेलमा छात्रतर्फ पोखरा आदर्श,  मावि, यूनिभर्स मावि, पश्चिमाञ्चल, लिटिल स्टेप, ग्लोबल, स्नोभ्यू, केफ, माउन्ट अन्नपूर्ण, सिर्जना मावि र गुरुकुल माविले आ–आफ्नो खेल जितेका छन् ।    यस्तै छात्रातर्फ न्यू ग्यालेक्सी, सगरमाथा, केफ, पोखरा आदर्श, प्रतिभा, केएमए, सिर्जना र गुरुकुलले आ–आफ्नो खेलमा जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।  यता टेबुल टेनिसतर्फ प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका केही क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको संयोजक नारायण आचार्यले जानकारी दिए । बुधबार विश्वद्यिालयतर्फका सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।  यस्तै व्याडमिन्टनतर्फ समेत प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका क्वार्टर फाइनलका खेल सम्पन्न भएको संयोजक पुरन कुंवरले जानकारी दिए । उनका अनुसार बुधबार सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुनेछन् भने भोली नै पुरस्कार वितरण समेत गरिने जानकारी दिए ।  १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिमको सहभागिता रहेको थियो । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल र व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन् । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।  प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।