गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...

रामेछाप:    रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ बालक रहेका छन् ।   काठमाडौंबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा  दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।  दुर्घटनामा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य ३ जनाको सनाखत हुन सकेको छैन ।     दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

महोत्तरी:    सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ । यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ ।   मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो ।  “पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष ९सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि० हुनपर्ने सैद्धान्तिक सहमति भए पनि यस पटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन”, कुशवाहाले भन्नुभयो, “किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।”  आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  “नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ”, कुशवाहाले भन्नुभयो ।  ४ दिन पहिले मात्र उखु उत्पादक किसानको छाता सङ्गठन उखु उत्पादक महासङ्घले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गतवर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरीदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उहाँको भनाइ छ ।  यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताउनुभयो । उहाँका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु ६ सय ६९ प्रतिक्विन्टल पर्दछ । जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजमा कहिले उखु क्रसिङ थालिने यकिन नहुँदा खुट्टीउखु (दोस्रो वर्षको उखुबाली)काटेर हिउँदेबाली लगाउन नपाइने चिन्तामा किसान छन् । “चिनी मिल कहिले सञ्चालन हुने थाहा छैन । खुट्टीउखु काटेर हिउँदे बाली लगाउन नपाउने चिन्ता लाग्न थालेको छ”, भङ्गाहा–४ का किसान अरुण गिरीले भन्नुभयो । क्रसिङ ढिलो हुँदा खुट्टीउखु काटेर अर्को बाली लगाउने समयसीमा नाघेँको उहाँको भनाइ छ ।  यस वर्ष जिल्लामा कूल नौ हजार बिघामा उखुखेती गरिएकोध्ये करिब चार हजार बिघामा खुट्टी रहेको सङघका अध्यक्ष कुशवाहाले बताउनुभयो । सरकारले मूल्यबारे पुनर्विचार गरी दिनुपर्ने र उद्योगले चाँडै क्रसिङ थाल्नुपर्ने किसान बताउँछन् ।  यसैबीच एभरेष्ट चिनी उद्योगले यस वर्षको उखुको क्रसिङ मङ्सिर अन्तिम सातादेखि सुरु गर्ने तयारी गरेको छ । उद्योगमा यही मङ्सिर २० गते डोङा पूजापछि उद्योग सञ्चालन गर्ने जनाउँदै पूजाको तयारी भइरहेको उद्योगका प्रशासकीय प्रबन्धक सुरेन्द्र शुक्लाले बताउनभयो ।  “डोङा पूजा क्रसिङ खोल्न प्रत्येक साल गरिने अनुष्ठान हो । यो पूजा सकेपछि क्रसिङ थालिने छ”, उहाँले भन्नुभयो ।

महोत्तरी:     यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ ।  युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आउनुभएकी १८ वर्षीया पूजाले रासससँगको सङ्क्षिप्त कुराकानीमा मुलुक फर्कदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताउनुभयो ।  पछिल्लो समय खेलप्रति आम रुपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उहाँको विश्वास छ । प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला–९ डुमरवानास्थित घरमै क्रिकेटमा उहाँको लगाव र भविष्यका बारेमा रासस जिल्ला सम्वाददाता गोपाल बरालले गर्नुभएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश  युएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ । यसमा कस्तो महसुस गर्नुभएको छ /युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ ।  यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरु, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था , खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ ।  तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला । क्रिकेटमा कसरी जोडिनु भयो/हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो ।  हामी ३ दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरुलाई पुर्‍याउन जान्थे । त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो ।  मैले ४ वर्षदेखि  खेलको अभ्यास थालेकी हुँ । केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ ।  भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् । भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरु उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् ।  मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौ पुगेँ । उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ ।  उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा  जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो ।    अब के योजनामा हुनुहुन्छ  ल, यो पनि भन्नु पर्छ र १ अब केही सातामै ९नोभेम्बर मध्यमा०मलेसियामा एसियाकप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो ।  अन्त्यमा केही भन्नुहुन्छ कि  हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्न प¥यो भन्ने मेरो आग्रह छ । खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्वलता हटाउँछ ।  यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।

लुम्बिनी:    लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् ।  विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित हुनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो ।  ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।   

लुम्बिनी:     प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउनु भएको छ ।  उहाँलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय  विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नुभयो  ।    कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै हुनुहुन्छ ।   दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन् ।

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो ।   जस अन्तर्गत महोत्सवको कार्य सम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि ब्यवस्थापन उप समिति संयोजकमा हिमालय बख्रेल, सचिवालय उपसमिति संयोजक सुक बहादुुर गुरुङ, अनुगमन उपसमिति संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिना, प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा शान्त बहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानियाँ, प्रचार प्रसार उपसमिति संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजकमा जयराम आचार्य, ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा सीमा गुरुङ, झाँकी र्याली तथा संघ संस्था उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापन उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा शिव थापालाई चयन गरिएको छ ।   खानेपानी व्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की (बिजय), मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, विद्युतिय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध कार्की, पृष्ठपोषण व्यवस्थापन उपसमिति संयोजकमा रिम बहादुर कार्की, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजकमा गणेश खड्का, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमिति संयोजकमा सुरेश थापा, विद्यालय समन्वय व्यवस्थापन उपसमिति संयोजकमा रमश बाहदुर कार्की, विमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उपसमिति संयोजकमा शुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण थापा मगर, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा चन्द्र थापा, विद्युतिय व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा कुशुम गुरुङ रहेका छन् ।   त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा सेती थापा, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जि.सी., पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, रोजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ (गल), डम्बरजंग गुरुङ, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, ओम सुवेदी, निलकण्ठ पोख्रेल, सन्जीव कोइराला, सु. इन्द्र बहादुर गुरुङलाई चयन गरिएको छ ।   त्यसैगरी वलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, राम नारायण श्रेष्ठ, चिन्तामणी बास्तोला, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, नुना गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, लालकाजी गुरुङ, डा. कृष्ण के.सी., डा. प्रदीप घिमिरे, महेश गुरुङ, गोपाल गुरुङ(बाँझापाटन), अमर केसी, माधव गौतम, ओम बस्नेत, माधव घिमिरे, मोहन गुरुङ, रुद्र श्रेष्ठ, राजेश गुरुङ, सोमनाथ पौडेल, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी र पोखरा महानगरपालिकाका ३३ वटै वडा अध्यक्षहरुलाई सल्लाहकारमा चयन गरिएको छ ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ ।   हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको ध्यान योग शिविरमा बोल्दै प्रदेश प्रमुख भट्टले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्धत गर्ने बताउनुभयो । ‘आज मानिसहरू अशान्ति, तनाव, अंहकार जस्ता रोगहरूबाट पीडित छन् । यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ । यो हो । योग भनेको जोड हो । ध्यानका लागि कुनै रकम खर्च गर्नुपनि पर्दैन । सम्पूर्ण मानव जातिलाई ध्यान सर्वसुलभ छ ।’ उहाँले भन्नुभयो ।   ध्यानले आफ्नै आत्मासँग हाम्रो सम्बन्ध गाँसिदिने र त्यसपछि हाम्रो आत्माले हामीलाई मार्गनिर्देशन गर्ने उल्लेख गर्दै उहाँले ध्यान जति गहन हुँदै जान्छ, त्यति नै हामीमा शरीरभाव कम हुँदै जाने र आत्मभाव वृद्धि हुन थाल्ने बताउनुभयो ।     शरीर, मनको स्वस्थतासँगै जीवनमा सफलताका लागि योग आवश्यक छ । ध्यान गर्दा हाम्रो विचार सन्तुलित हुन्छ । योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा हुँदैन। योगसँगै ध्यान पनि जोडिने गर्दछ ।   उहाँले भन्नुभयो – ‘ध्यानले हरेक कुराको मार्गदर्शनको ढोका खुल्न थाल्नेछ । यो हिमालय समर्पण ध्यानयोग संस्कार विश्व चेतनासँग जोडिने एक सरल र सशक्त माध्यमका रुपमा मैले बुझेको छु ।’   सन्तुलित विचारले सन्तुलित व्यक्तित्व निर्माण हुने र जीवनमै सफलता प्राप्त हुनेमा जोड दिँदै भट्टले आयुर्वेदका अनुसार जहाँ शरीर, मन, आत्मा र पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो जीवनको मुक्ति साधना हो । साधना विना कुनैपनि क्षेत्रको सफलता सम्भव छैन । सफलताको लागि कर्म गर्नुपर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ ।’ भट्टको भनाई छ ।   यस संस्थाको आयोजनामा भोलि बिहान पोखरा रंगशालामा जीवन रूपान्तरणको लागि हिमालयन ध्यानयोग अन्र्तमनको शान्तियात्रा २०८१, आत्मिक शुद्धिका लागि निःशुल्क अद्वितीय ध्यान शिविर हुँदै गरेकोमा यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।   हिमालयमा तपस्या गर्नुभएका ऋषिमुनीहरूका परमप्रिय शिष्य, नेपालमा बुद्धत्व प्राप्त गर्नुभएका बुद्ध पुरुष महर्षि श्री शिव कृपानन्द स्वामीजीलाई नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूतका रुपमा नेपाल सरकारले नियुक्त गरेको थियो ।   ४५ वर्ष अघि श्री पशुपतिनाथबाट अध्यात्मिक यात्रा सुरु गर्नुभएका स्वामीजीले रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपस्या गर्नुभएको थियो ।   उनै स्वामीजीको सान्निध्यमा जीवन रूपान्तरणको लागि अद्वितीय हिमालयन ध्यानयोग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभएको छ।त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।  मन्त्री डा राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री डा राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।       यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्दधन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  मन्त्री डा राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्दधन  गर्ने कार्यमा लाग्न निर्देशन दिनुभयो ।  त्यस अवसरमा मन्त्री डा राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।  महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायत पनि सहभागी हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पोखराः बेलायतको सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज आइएसएमटीले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत सङ्कलन भएको छ ।  काठमाण्डौको तीनकुने गैरीगाउँस्थित आईएसएमटी कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरे ।   कलेजका विजनेश डेभलपेन्ट अफिसर–हेड बासुदेव वस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रमले तत्काल देखिएको रगत अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   ISMT Group अन्तर्गत University of Sunderland UK को सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आईएसएमटी कलेजहरु संचालनमा छन् ।   कलेजले BBA, BHM, BSc. IT, BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम संचालन गरिरहेको छ ।