गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...

रुपन्देही:    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उहाँको भनाइ थियो ।  भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताउनुभएको हो ।  “राम्दीबाट सुरङ खनेर कालीगण्डकीको पानी दोभानमा तिनाउ नदीमा खसाल्ने र रुपन्देही, नवलपरासी र कपिलवस्तुमा डेढ लाख हेक्टरभन्दा बढी जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने योजना हो”, उहाँले भन्नुभयो, “यससँगै करिब डेढ सय मेगावाट बिजुली उत्पादन गर्ने, पानी प्रशोधन गरि पिउनेयोग्य बनाउने र पर्यटन प्रवद्र्धनमा समेत सदुपयोग हुनेछ ।” अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका विषयमा नकारात्मक कुरा नफैलाउन पनि आग्रह गर्नुभएको छ । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका लागि मात्र नभइ नेपालकै लागि महत्वपूर्ण रहेको बताउँदै यसको सञ्चालन कुनै पनि हालतमा नरोकिने जिकिर गर्नुभयो ।  “कसैलाई यो विमानस्थलको बारेमा बोल्न सङ्कोच लाग्छ भने यसको विरोध पनि नगरे हुन्छ”, उहाँले भन्नुभयो “हुन्न, बन्दैन, चल्दैन किन भन्ने रु सक्नुहुन्छ अलिकति योगदान गर्नुहोस, यसबारे सकारात्मक विषय लेखिदिनुहोस् ।” नेपाल नेत्रज्योति सङ्घद्वारा विसं २०४० मङ्सिर १३ गते स्थापना गरिएको नेपाल नेत्रज्योति सङ्घ, श्री लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले विगत ४२ वर्षदेखि अनवरत रुपमा आँखा रोगका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।  हाल यस अस्पतालले दैनिक औसतमा एक हजार दुई सय बहिरङ् सेवा तथा एक सय ५० आँखा रोगसँग सम्बन्धित विभिन्न शल्यक्रिया गर्दै आइरहेको नेपाल नेत्रज्योति सङ्घ रुपन्देहीका अध्यक्ष कमलराज जोशीले बताउनुभयो ।  आँखाको सुन्दरता बनाउने शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दा, न्यून दृष्टि आँखाको व्यायाम, बालशङ्खा उपचार सेवालगायतका विशिष्टकृत सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ । अस्पतालको शल्यक्रिया भवनको श्री नव सिर्जनशील कन्स्ट्रक्सन कम्पनी प्रालीसँग पहिलो चरणको कार्य दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु २२ करोड २९ लाख, १० हजार ९७ मा कार्य सम्झौता गरिएको छ ।  भवनमा बिरामीको सुविधाका लागि करिब ९० शय्या क्षमताको जनरल वार्ड, डिलक्स कोठासमेत ३० कोठासहितको अन्तरङ्ग विभाग हुनेछ । भवनमा उच्चस्तरीय सुविधायुक्त करिब १२ कोठा रहेको शल्यक्रिया कक्ष हुनेछ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।  निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन)द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै उहाँले युवा जनशक्तिमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर सोचको विकास गराउन सक्नुपर्नेमा जोड दिनुभयो । “संविधानले परिकल्पना गरेको समाजवादोन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक छ”, अध्यक्ष दाहालले भन्नुभयो । नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको उहाँको भनाइ थियो ।   “नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्सेनि अर्बौं रूपैयाँ विदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।”     निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो ।  “साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ”, उहाँले भन्नुभयो, “यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।”   शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो ।   “नेपालको शिक्षा विकासमा विविध चुनौती छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौती नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीति बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ”, अध्यक्ष दाहालले भन्नुभयो, “बढ्दो शहरीकरण र बसाइसराइँ, घट्दो जनसङ्ख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ ।”   सङ्घीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो ।  आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उहाँको भनाइ थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा आmूहरुको लडाइँ जारी रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्ने बताउनुभयो ।   प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले दुई दिनसम्म चल्ने सम्मेलनमा सामुदायिक विद्यालयका प्राचार्य, शिक्षा क्षेत्रको विकासमा योगदान दिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख प्रतिनिधि, शिक्षाविद्लगायत पाँच सय बढीको सहभागिता रहने जानकारी दिनुभयो ।

म्याग्दी:    म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्नुहुन्थ्यो । अहिले २ रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उहाँ चिन्तित हुनुहुन्छ ।  “पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउथे,” उहाँले भन्नुभयो “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउदै लगेको छु ।”  रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो । कुनै समय प्रशस्न मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिदै गएको छ ।   टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो । बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरुले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताउनुभयो ।  “घरमा उपभोग गर्ने, आफन्तलाई कोशेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,” उहाँले भन्नुभयो “चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्व छ ।” साउन महिनामा रोपीने मुला कात्तिक मङसिरमा उखेल्ने गरिन्छ । एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरुले बताउँछन् । स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ ।  ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक)र धजरा बनाएर तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरुले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन् ।  आकार अनुसार प्रतिगोटा मुला रु। २५ देखि ५० का दरले बिक्री हुने गरेको किसानको भनाइ छ । टोड्केको भ्रमणमा पुग्नुभएकी पर्वतको जलजला गाउँपालिका –२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रुपमा किनेर ल्याएको बताउनुभयो ।  हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो ।  टोड्केमा हुदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सिप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो। 

काठमाडौं:   नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो ।      हिजो सुन प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो ।  आज प्रतितोला रू एक हजार छ सयले बढेर रू एक लाख ५० हजार नौ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै, हिजो चाँदी प्रतितोला रू एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला रू ४५ ले बढेर रू एक हजार आठ सय ४५ कायम भएको छ ।

स्याङ्जा:    यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ ।  वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।      उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताउनुभयो । उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएको छ ।       विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएको हो । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गर्नुभएको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएको छ ।  “बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उहाँले भन्नुभयो ।      यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनुभयो ।       कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।  कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले  व्यवसाय सञ्चालनमा सहज भएको उहाँ बताउनुहुन्छ । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उहाँ राष्ट्रपतिबाट पुरस्कृत पनि हुनुभएको थियो ।

पोखरा:     गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् ।  यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व हो ।’ उनले भने– ‘दक्ष युवा शक्तिलाई स्वदेशमै व्यवस्थापन गरेर विदेश पलायन रोक्न नीतिगत सुधारको आवश्यकता छ । आत्मसम्मानसहितको व्यवस्थापन युवाहरुको माग हो भन्ने कुरा राज्यले बुझ्नुपर्दछ ।’ युवा विद्यार्थीहरुले पनि राष्ट्रिय भावनालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै थपे – ‘विदेश पलायन हुने हैन । स्वदेशमै अवसरको सिर्जना गर्नुपर्दछ भन्ने सोचाईका साथ अगाडि बढ्नुपर्दछ । शिक्षा र सीप सिकेर फर्किएर आफ्नै माटोमा सेवा गर्नुपर्दछ ।’ गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवधिक योजनाका साथ अगाडि बढेको स्मरण गर्दै पाठकले नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा गतिलै सुधार गर्ने उद्देश्यका साथ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेको पनि दोहो¥याए । चरक हस्पिटलका प्रबन्ध निर्देशक तथा इस्टिच्यूटका अध्यक्ष कपिल पोखरेलले भौतिक पूर्वाधार सम्पन्न शिक्षामैत्री वातावरणमा विगत लामो समयदेखि प्राविधिक शिक्षा नर्सिङ, एचए र फार्मेसी विषय अध्यापन गराइरहेको यस इन्स्टिच्यूट यस क्षेत्रमै अब्बल शैक्षिक संस्था रहेको उल्लेख गरे । नर्सिङ प्रवेश परीक्षाका टपरले नै यस इन्स्टिच्यूट छनौट गरेको जनाउँदै उनले सरकारले भने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै पनि राम्रो नरहेको गुनासो गरे । कलेज प्रिन्सिपल केशवराज अधिकारीले गुणस्तरीय शिक्षाका लागि यस इन्स्टिच्युट अग्रणी स्थानमा रहेको दाबी गर्दै यहाँबाट उत्पादित विद्यार्थीले लोकसेवा लगायतका परीक्षामा उत्कृष्ट स्थान प्राप्त गरेको बताए । सो अवसरमा २१ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १८ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई बिदाई गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए ।

मकवानपुर:     हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं।को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।      उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताउनुभयो ।      अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो । 

गण्डकी:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता’का निम्ती भावी रणनीति तय गर्न आयोजित छलफल एवं अन्तरक्रियामा वक्ताहरूले विभिन्न कुनै पनि बहानामा अन्तर्राष्ट्रिय उडान गराउने कुरालाई प्रभावित पार्न नहुने बताउनुभयो ।      पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सङ्घको भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताका लागि सङ्घले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने बताउनुभयो ।           सङ्घको विसं २०४२ मङ्सिर २ गते भएको कार्यसमितिको बैठकबाट पोखरा विश्वविद्यालय एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति दबाब दिने, पैरवी गर्ने निर्णयसँगै त्यसपछि विभिन्न चरणको लामो सङ्घर्षका जगमा विमानस्थल बनेको उहाँले स्मरण गर्नुभयो ।           पछिल्लो समय विमानस्थलका प्राविधिक पक्षलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीको उत्तर खोज्न र अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् भन्ने हेतुले नै कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।      नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चिर्नुपर्ने बताउनुुभयो । उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले पनि गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विमानस्थल चल्दैन भन्ने सोचलाई तत्काल खारेज गर्नुपर्छ ।”      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान हुनुपर्ने धारणा राख्दै उडान सञ्चालनका लागि सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल चाल्नुुपर्ने बताउनुभयो ।      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जसुधा सुवेदीले विमानस्थल अत्याधुनिक रहेको बताउँदै हालसम्म भएका नौवटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि गरेको बताउनुभयो ।            नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकास साँघुरो भएको तथा वरपरका डाँडाहरुले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानका लागि कुनै अवरोध नभएको बताउनुभयो । विमानस्थल बने पनि त्यसलाई सघाउने  खालका पूर्वाधार अझै बन्न नसकेको औँल्याउँदै उहाँले विमान कम्पनीहरुलाई आकर्षित गर्न यात्रुको सुनिश्चिता पनि हुनुपर्ने बताउनुभयो ।            प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पका बेला एक सय ७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरण गराउँदै प्राविधिक रुपले समस्या रहेकाजस्ता कुरा हल्लामात्र भएको जिकिर गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नका लागि यात्रु हुनुपर्ने तर्क गर्नुभयो ।           कार्यक्रममा सङ्घका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पर्यटन परिषद्का महासचिव जीवन सापकोटा लगायतले अन्तराष्ट्रिय उडान नहुनुका पछि भू–राजनीति, नागरिक उड्डयन प्राधिकरणकै लापर्वाहीलगायत धारणा आइरहँदा प्राधिकरणले नै ती प्रश्नको जवाफ दिनुुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ताप्लेजुङ:    कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ ।  कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।  चालु आर्थिक वर्षको ४ महिनामा १ हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन्  । २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् ।  आव २०५६/५७ मा ७ सय ९९,आव २०५७/५८ मा ८ सय ७३ जना विदेशी पर्यटक आएका थिए । विशेषगरी  फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् ।  चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका  स्थानीय होटल व्यवसायीले बताएका छन् । यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको  होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउनुहुन्छ ।  कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उहाँ बताउनुहुन्छ । यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम जारी छ ।