बलेवा: प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालन भएको श्रीमद्भागवत् ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट रु ६४ लाख दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले जानकारी दिनुभयो । महायज्ञको व्यवस्थापनलगायत काममा रु २० लाखभन्दा धेरै खर्च भएको अनुमान छ । महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहनुभएको थियो । जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो । महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो । गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ । चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरेजस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःखपीडामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । दुर्घटनापछि अध्यक्ष दाहाल कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गर्नुभएको थियो । उहाँको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायत शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गर्नुभएको छ । सहयोग घोषणा कार्यक्रममा अध्यक्ष दाहालले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा पीडामा भएका र सेवा आवश्यक भएकालाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।” पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरीलाई पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो । सो क्रममा सहयोगी नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।
काठमाडौं: ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिवल’ सुरु भएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदुतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ । जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ । फेस्टिवलका आर्थिक सङ्कलन अभियान, स्टल बुकिङ, स्वयम्सेवक टिम र विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिनुभयो । धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस वर्षको ‘नेपाल फेस्टिवल’ गरिन लागेको एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताउनुभयो । महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन् । महोत्सवमा नेपाली मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थललगायत समेटिएको विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी गरिने एनआरएनए प्रवक्ता खगराज गौतमले जानकारी दिनुभयो । एनआरएन जापानले सन् २०१२ देखि जापानमा यस किसिमको महोत्सव गर्दै आएको छ ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को उपाधि प्रतिभा माविले जितेको छ । १७ औं हिसान स्पोर्टस मिटमा समावेश चार खेलमा नै प्रतिभाले आफ्नो दह्रो उपस्थिति जनाउँदै सम्पन्न प्रतियोगिताको छात्र–छात्रा बास्केटबलमा प्रथम हुँदै ७–७ अङ्क, छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरी ७ अङ्क, ब्यामिन्टन र टेबुल टेनिसमा समग्रमा दोस्रो स्थानमा रहि ५–५ अङ्क प्राप्त गर्दै कुल ३१ अङ्कका साथ प्रतिभा च्याम्यिन बनेको हो । हिसान कास्की स्पोर्टस मिटको इतिहासमा हाल सम्मकै सर्वाधिक अङ्क प्रतिभाले प्राप्त गरेको छ । १५ औं र १६ औं हिसान स्पोर्टस मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रो पटक च्याम्पियन हुँदै हिसान स्पोर्टस मिटको ट्रफिमा समेत कब्जा जमाएको छ । यस अघि ग्लोबल कलेजियट, न्यू ग्यालेक्सीले ट्रफीमा कब्जा जमाएका थिए । पोखरा रंगशालामा शुक्रबार सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ५६–५० ले पराजित गरी पहिलो भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ४० मिनेट सम्म बराबरी खेलेका दुबै टिमले थपिएको चार मिनेटमा प्रतिभाले बाजी मार्न सफल रह्यो । यस्तै मनकामना माविले तेस्रो स्थान प्राप्त गरेको छ । मनकामनाले कास्की मोर्डनाइज्डलाई पराजित गरेको हो । छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका हाइएष्ट स्कोरर रविन गर्वुजा पुन बने भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाका ओमकार रकालले हात पारे । छात्रा बास्केटबलमा हाइएष्ट स्कोरर ग्लोबल कलेजियटकी आकृती बिक बनिन भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाकी कुसुम बानियाँ बनेकी छन् । यता विश्वद्यिालय विङ छात्र बास्केटबलतर्फ लेक सिटी कलेज पहिलो र पोखरा कलेज अफ म्यानेमेन्ट दोस्रो भएका छन् भने तेस्रो स्थानमा लिंकन इन्टरनेशनल कलेज भएको छ । विश्वद्यिालय विङ छात्रा बास्केटबलमा लिकंनकी निवृती शर्मा हाइएष्ट स्कोरर तथा मष्ट भेलुएबल प्लेयर लेकसिटीकी प्रियङ्का थापा बन्न सफल भए । शुक्रबार नै सम्पन्न प्लस टु छात्र भलिबलमा प्रतिभा मावि पहिलो भएको छ । फाइनल खेलमा गुरुकल माविलाई २–१ सेटले पराजित गरेको छ । फाइनलमा २५–२१ ले पहिलो सेट गुमाएको प्रतिभाले दोस्रो र तेस्रो सेट २५–१७ र २५–१४ ले जित दर्ता गर्न सफल भयो । त्यसै गरी न्यू ग्यालेक्सीले सिर्जना माविलाई २५–१६ र २५–१९ ले पराजित गरी तेस्रो स्थान हात पारेको छ । यसै गरी प्लस टु छात्रातर्फ करुणानिधि फाउन्डेशनले गुरुकुल माविलाई २५–१४ र २५–१७ को सोझो सेटमा पाखा लगाउँदै पहिलो र दोस्रो स्थान हात पार्दा सिर्जनाले सगरमाथालाई २५–१७ र २५–१६ ले पराजित गरी तेस्रो भएको छ । प्रतियोगितामा छात्रतर्फ गुरुकुलका विबेक हमाल वेष्ट स्पाइकर, छात्रातर्फ गुरुकुलकी झरना छन्त्याल र उत्कृष्ट खेलाडीमा छात्रातर्फ केफकी धन कुमारी विक र प्रतिभाका लोबसन सुनार घोषित हुँदै ट्रफी हात पारे । यस्तै टेबुल टेनिस प्लस टु तर्फ सिर्जना मावि समग्रमा पहिलो स्थान हात पार्दा प्रतिभा दोस्रो र सगरमाथा तेस्रो भएको छ । त्यस्तै विश्वविद्यालय विङतर्फ पोखरा इन्जिनियरिङ कलेज पहिलो, इन्फर्मेटिक्स दोस्रो र लिंकन कलेज तेस्रो भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न भएको प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्याण्डले बाजी मारेको छ । समग्रमा मदरल्याण्डले माविले ७ अङ्क प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जानकारी दिए । त्यस्तै विश्ववद्यिालय विङतर्फ पोखरा लिंकन इन्टरनेशनल कलेज ७ अङ्का साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अङ्का साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरे । यस्तै छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदर ल्याण्डका दिप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदर ल्याण्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् । छात्र सिंगल्समा मदर ल्याण्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदिक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदर ल्याण्डका दिप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे । यस्तै छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्याण्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरेका छन् । त्यस्तै छात्र डबल्समा सगरमाथाका समिर र सुमन अधिकारीको जोडी रेन्वोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ती खड्काको जोडीले तेस्रो स्थान हात पारे । बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, प्रतियोगिताका संयोजक याम बहादुर रोक्का, हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा सहभागिता जनाएका थिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६६ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।
काठमाडौं: मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ । रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु(याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,” उहाँले भन्नुभयो । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । तर कुल परम्परा अनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।
म्याग्दी: म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रुपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो । ट्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ । गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छे« हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो । यस सडक स्तरोन्नतिको लागि रु १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो । यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो । उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि रु एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ । “निर्माण व्यवसायी कार्य क्षेत्रमा परिचालन भइसकेको छ, धमाधम सडक स्तरोन्नति गरे अहिले आएको बजेटले निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्ने अवस्था छ, हामीले थप बजेटका लागि लेखेर पठाइसकेका छौँ”, उहाँले भन्नुभयो । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ । करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएका छन् । अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो । अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुरसँगै आवश्यक मात्रामा निर्माण सामग्री र मेसिन उपकरण परिचालन गरेको र निर्माण कार्यलाई द्रुत गतिमा निर्धारित समयअगावै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नति हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीयस्तरमा सहजीकरण गर्न स्थानीयवासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन् । सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले सडक विस्तारको क्रममा देखिएको जग्गासम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायीले गर्ने काममा निगरानी बढाइएको बताउनुभयो । “जिल्ला सदरमुकामसँग जोडिएको सडक ओझेलमा परेको थियो, अहिले स्तरोन्नतिको लागि बजेट आएको छ, हामीले यो योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ । गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि पर्याप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताउनुभयो । त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो । विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन । आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हाल्नुभएको थियो । त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ । जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताउनुभयो । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताउनुभयो । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ । त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।
पोखरा: पोखरामा आज बेलुका ट्रकले ठक्कर दिँदा धनकुमारी बुढाको मृत्यु भएको छ । रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी बुढालाई ट्रकले आज बेलुका याम्दीमा ठक्कर दिएको थियो । घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी ५५ वर्षीय बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारमो क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।