पोखरा: पोखरामा आज बेलुका ट्रकले ठक्कर दिँदा धनकुमारी बुढाको मृत्यु भएको छ । रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी बुढालाई ट्रकले आज बेलुका याम्दीमा ठक्कर दिएको थियो । घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी ५५ वर्षीय बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारमो क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की: खानेपानीमन्त्री प्रदीप यादवले पचासौँ वर्षको प्रतीक्षापछि पोखरेली जनताले सहजरूपमा शुद्ध खानेपानी प्राप्त गर्न सफल भएको दाबी गर्नुभएको छ । पोखरा महानगरपालिकाको खानेपानी सुधार आयोजना आज पोखरा–१९ पुरनचौरमा उद्घाटन गर्दै मन्त्री यादवले सहज तवरले खानेपानी प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपरेको बताउनुभयो । नेपाल–जापान सहयोगअन्तर्गत मित्रराष्ट्र जापान सरकारको रू चार अर्ब अनुदान सहयोगमा सो आयोजनाको संरचना निर्माण सम्पन्न भएको हो । “मेलम्चीपछिको उक्त ठूलो खानेपानी आयोजना सम्पन्नसँगै अब पोखराली उपभोक्ताको धाराबाट धमिलो पानी आउने छैन”, मन्त्री यादवले भन्नुभयो, “गुणस्तरीय मापदण्डअनुसार पोखरेली जनताले खानेपानी प्राप्त गर्ने छन् ।” आफू खानेपानीमन्त्री भएसँगै अधुरा योजनालाई छिटो सम्पन्न गर्ने कार्यलाई तीब्रता दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा खानेपानी संस्थानमा देखिएका समस्या र कर्मचारी व्यवस्थापनामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो । ‘माछापुच्छ्रे गाउँपालिकामा मुहान रहेको मर्दी खोलाको पानीलाई पोखरा–१९को पुरन्चौर र हेम्जाका पोखरीमा फिल्ट्रेसन गरी पोखरा–२ विन्ध्यवासिनीस्थित ट्याङ्कीमा जम्मा गरी पोखरामा पानी वितरण हुनेछ । बीस इञ्चको पाइपबाट दैनिक चार करोड १० लाख लिटर पानी ट्याङ्कीमा जम्मा गरी पोखराका १९ वटा वडाका ५० हजार धारमा पानी वितरण गरिने छ । उक्त खानेपानी आयोजनाबाट पोखराका साढे तीन लाख जनता लाभान्वित हुनेछन् । सङ्घीय सांसद दामोदर पौडेलले संरचना निर्माणसँगै संरक्षण र व्यवस्थापनामा सरकार र खानेपानी संस्थानले ध्यान दिन जरूरी भएको बताउनुभयो । साथै उहाँले आयोजना निर्माण भए पनि पोखरामा खानेपानीको अभाव अझै रहने बताउनुभयो । पानीको मुहान भएको क्षेत्र माछापुच्छ्रे गाउँपालिका र पुरन्चौर क्षेत्रमा बसोबास गर्ने जनताका लागि विकास निर्माणका काम अगाडि बढाउन उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरूङले खानेपानीको मुहान नजिकै बस्ती र मृत्यु भएका मानिस जलाउने ठाउँ भएकाले त्यसलाई व्यवस्थित गर्दै खोलाको संरक्षण गर्न जरूरी भएको बताउनुभयो । पोखरालाई पानी दिएर सहयोग गर्ने माछापुच्छ्रे गाउँपालिकावासीको हितमा विकास निर्माणका कार्य अगाडि बढाउन खानेपानी मन्त्रालय र पोखरा महानगरपालिकाको ध्यान जान आवश्यक भएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका विभिन्न वडामा नयाँ पाइपलाइन विस्तारसँगै अब केही दिनमा शुद्ध पानी वितरण गरिने बताउँदै पोखराको पस्र्याङ, फूलबारी र टुँडिखेल र रामबजारको कोलपाटनमा पानीका ट्याङ्कीबाट शुद्ध पानी वितरण हुने जानकारी दिनुभयो । धाराबाट सीधै पिउनयोग्य पानी पोखराका अधिकांश भागमा पुग्ने विश्वास उहाँको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिला शाक्यले जापान सरकारको अनुदान सहयोगमा खानेपानी आयोजना सम्पन्न भएसँगै अब पानीको मुहान क्षेत्रमा रहेको बस्तीमा मानिसको आवश्यकता पूरा गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं: भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गर्नुभएको हो । विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपिएल खेल्न पाउँदा उत्साहित भएकोे बताए । ३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।
पोखरा: गएको मंसिर ५ गते पोखरा चिप्लेढुङ्गास्थित टे«डमल अगाडि पार्किङमा राखेको ग २३ प ९२०८ नम्बरको डुक (मोटरसाइकल) एकाएक हरायो । पार्किङमा राखेको मोटरसाइकल हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामले मोटरसाइकल खोजतलाज गर्दै जाँदा बिजय थापा नाम गरेको फेसबुक आईडीमा उक्त मोटसाइकलको पार्टपुर्जा निकालेर बिक्रीका लागि राखेको भेट्यो । मोटरसाइकलको पार्टपुर्जा बिक्रीका फेसबुकमा राखेका बिजय थापालाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लियो । अनुसन्धानको क्रममा थापाले ग २३ प ९२०८ नम्बरको डुक मोटसाइकलको पार्टपुर्जा आफ्नो ग १६ प १४ ६२ नम्बरको मोटरसाइकलमा राखेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थापाले केही पार्टपुर्जा आफ्नो मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाएर पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित कोठा भाडामा लिएर लुकाएर राखेको अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । शुक्रबार नवलपुरको कावासोती स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले समाजमा सहकार्यको भावना जागृत गर्दै संगठित भएर पुँजीको सही परिचालन गर्दै आएका सहकारीले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याएको बताएकी हुन् । ‘उद्धेश्य अनुरुप सञ्चालन नहुँदा, पारदर्शिता नहुँदा, समाजप्रति र बचतकर्ताप्रति उत्तरदायी नहुँदा केही सहकारीहरुमा समस्या आएको छ । तर पारदर्शि ढङ्गबाट अघि बढीरहेका सहकारीहरुको कार्यप्रगति राम्रो छ । स्थापनाको उद्धेश्य अनुरुप, बचतकर्ताहरुको भावना अनुरुप सञ्चालन भइरहेका सहकारीहरुले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’ उनले भनिन् । सहकारीलाई उद्यमसँग जोड्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो । अन्नबालीका लागि नवलपुर उर्वर भूमी भएकाले सामूहिक खेती लगायतका कृषि उद्यमसँग जोडिन बचतकर्ताहरुलाई उनले आह्वान गरिन् । ‘सहकारीलाई उद्यमसँग जोडिरहँदा केही चुनौतीहरु देखा पर्न सक्छन् । हामीले चुनौतीलाई अवसरका रुपमा लिँदै अघि बढ्नु पर्दछ’, उनले भनिन्,‘आर्थिक उन्नयनका लागि उद्यमशिलताको विकल्प छैन । तसर्थ सबै बचतकर्ता, श्यर सदस्य लगायत सहकारीमा आवद्ध सम्पूर्णलाई उद्यममा अघि बढ्न आह्वान गर्दछु ।’
स्याङ्जा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उहाँले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उहाँको दाबी थियो । “यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।” अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उहाँले बताउनुभयो । मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उहाँले यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गर्नुभयो । “लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन हुँदैन”, उहाँले भन्नुभयो, “यस्ता भिजन नभएका र लोकरिज्याईं गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुन्छ, धेरै तर्सनुपर्दैन ।” देशमा विभिन्न समयमा आएका सङ्कट मोचनका लागि यिनै दुई ठूला पार्टीहरू एकठाउँमा उभिने गरेको स्मरण गर्दै अहिले पनि देशलाई समृद्धिको दिशामा लैजान एकै ठाउँमा उभिएको उहाँले बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो । चीन भ्रमणका क्रममा बिआरआइका सन्दर्भमा सरकारले ऋण नलिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी खेलमैदानमा शुक्रबारदेखि सुरू भएको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुने भएको हो । पुरूष महिला फुटबल, भलिबल, क्रिकेट (एकल÷डबल), टेवल टेनिस (एकल÷डबल) दौड, बुद्धिचालसहितका सात खेलका २२ विधामा सात सयभन्दा बढी खेलाडी सहभागी हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले खेल क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न र खेल पर्यटनको विकास गर्नका लागि प्रत्येक वर्ष खेल महोत्सव गर्दै आइरहेको छ । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र स्थापित खेलाडीलाई व्यावसायिकतातर्फ उन्मुख गर्नका लागि खेल महोत्सव कोसेढुङ्गा सावित हुने अध्यक्ष थापाको भनाइ थियो । पालिकाका सात वडाबाट ९८ जना खेलाडीका दरले प्रतियोगी सहभागी हुने भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर २२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेता हुनेलाई नगद रू पाँच लाख १० हजार पुरस्कारस्वरूप उपलब्ध गराउने अध्यक्ष थापाले बताउनुभयो ।
पोखरा: अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन हुनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारल बताए । “सङ्ग्रहालय अवलोकन गर्न आउने र आउने योजना बनाउनुभएका महानुभावले पनि यही अवधिमा अवलोकन गर्दा पर्यतीय सभ्यता, कला, संस्कृति, समस्या र समाधानबारे जानकारी पाउने अवसर मिल्छ,” उनले भने महोत्सवमा करिव ३२ लाख खर्च अनमान गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले जनाएको छ । पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक आफैं र केही संस्थासँग सहकार्यबाट हुने बताए । “पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ, पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं,” उनले भने । यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजककोे अपेक्षा छ । महोत्सवको पहिलो दिन डिसेम्बर ८ मा पर्वतीय जीवन, अनुकूलन र भविष्यबार अन्तक्र्रिया हुनेछ । दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरुले आफ्नो अभिमत राख्ने र तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तक्रिर्या हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ भने अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे बिमर्श गरिनेछ । महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्र्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेले बताईन् । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल थाल्नुभएको छ । उहाँले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गर्नुभएको हो । “स्रोतसाधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुनसक्दैन,” मन्त्री खड्काले भन्नुभयो । उहाँले जलविद्युत् आयोजनाको शेयर निस्कासन गर्दा गरिब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो । स्थानीय सरकारले दिएको तथ्याङ्क अनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको शेयरको ग्यारेन्टी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो । “उक्त शेयरका लागि सरकारले वाणिज्य बैँकमार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो ।सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ । माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत यसमा रहेका छन् । उक्त कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने तथा समग्रमा राष्ट्रिय मानव विकास सुचकाङ्कमा समेत यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम: राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुलुकका विभिन्न जातजातिको भाषा, संस्कृति तथा सभ्यताको संरक्षण तथा प्रवर्धनका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनुभएको छ । रासस मधेस–प्रदेश कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा कार्यकारी अध्यक्ष झाले भाषासँग प्रत्यक्ष रुपमा जोडिने भएकाले भाषा, संस्कृतिको संरक्षण र जगेर्नामा आमसञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो । साधनस्रोतको अभावमा धर्म, संस्कृतिका पक्षमा वकालत गर्ने कैयौँ सञ्चारमाध्यम बन्द भएका र केही बन्द हुने अवस्थामा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले राष्ट्रको पहिचानका रुपमा रहेको हाम्रो भाषा, धर्म, संस्कृति र सभ्यताका पक्षमा अमूल्य योगदान पु¥याउने सञ्चारमाध्यमलाई सहयोग गर्न तीनै तहको सरकारसँग अनुरोध गर्नुभयो । वर्तमान भौतिकवादी समयमा भाषा, संस्कृति र सभ्यताको उचित संरक्षण हुननसक्दा ती लोप हुने अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष झाले भाषा, संस्कृति, सम्पदाको जगेर्ना र संरक्षणमा समग्र राष्ट्र एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थानीय भाषा तथा संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएकाले राज्य संयन्त्रका रुपमा क्रियाशील राससले पहिलो चरणमा मैथिली, अवधि र नेपाल भाषामा बुलेटिन प्रकाशन गरी निःशुल्क रुपमा उपलब्ध गराएर स्थानीय भाषा संरक्षणमा सक्दो योगदान गरेको स्पष्ट पार्नुभयो । कार्यकारी अध्यक्ष झाले स्थानीय भाषाहरुको संरक्षण गर्ने उदेश्यले निःशुल्क रुपमा प्रदान गरिएको समाचार सेवा प्रयोग गरी लाभान्वित हुन सम्बद्ध आमसञ्चारमाध्यमसँग अनुरोध गर्दै स्रोतसाधन, आवश्यकता र औचित्यका आधारमा क्रमशः अन्य भाषामा पनि समाचार सेवा दिने पक्षमा रासस रहेको बताउनुभयो । मधेस प्रदेश आमसञ्चार प्राधिकरणका प्रमुख श्यामसुन्दर यादवले मैथिली भाषामा प्रकाशित पत्रपत्रिको अवस्थाबारे जानकारी गराउँदै नेपालीपछि धेरै मानिसले प्रयोग गर्ने मैथिली भाषाको संरक्षण, सम्वद्र्धन र सुदृढीकरणका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले मैथिली भाषाको संरक्षणका साथै मैथिली भाषा शैलीबारे सरोकार भएका पक्षबीच व्यापक रुपमा छलफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु मिश्र ९गायत्री०ले मैथिली भाषासँग सम्बन्धित आमसञ्चारमाध्यमले राससबाट प्राप्त समाचार बढीभन्दा बढी उपयोग गर्नुपर्ने तथा विशेषगरी मैथिली भाषामा कलम चलाउने सञ्चारकर्मीको सम्बद्ध भाषाको समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले राससले विभिन्न चुनौतीका बाबजुद बहुभाषाको सुरुआत गरेकामा धन्यवाद दिँदै भाषा तथा संस्कृतिको जर्गेनाका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार तथा प्राध्यापक श्यामसुन्दर शशिले पछिल्लो समय मैथिली भाषा सङ्कटमा परेकाले यसको संरक्षणका लागि राससले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै मैथिली भाषाको शैलीपुस्तक आवश्यक रहेको बताउनुभयो ।