काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको छन्दु सहरमा नै हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो ।
काठमाडौं: सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार मेडिकल व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइपछि स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश गरेको हो । अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतबाट यही मङ्सिर ९ गते हिरासतमा राख्ने अनुमति प्रदान गर्दा उहाँ क्यान्सर रोगको बिरामी रहेको भनी उल्लेख गरेकाले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न भनेको हो । आदेशमा भनिएको छ, “यस अदालतमा जीवनरक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरिपाउँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको गाम्भीर्यतासमेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।” व्यवसायी प्रसाईंका तर्फबाट छोरा नीरजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गर्नुभएको थियो । सोही रिट निवेदन माथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।
काठमाडौं: पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ । युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ । स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको बताएका छन् । पहाडी जिल्ला बुलम्बुलीमा बुधबार राति भारी वर्षा भएपछि भूस्खलन भएको हो । यहाँँ भूस्खलन सामान्य छ । यस जिल्ला राजधानी कम्पालाबाट करिब २८०किलोमिटर पूर्वमा पर्दछ । यस क्षेत्रका एका पत्रकारले एसोसिएटेड प्रेसलाई स्थानीय अधिकारीहरूले उद्धार प्रयासमा सहयोग गर्न उत्खनन ल्याउने बताएका छन् तर सडकहरू पहिरोले ढाकिएका छन् र अझै पनि वर्षा भइरहेको छ । प्रभावित क्षेत्र करिब ५० एकडको छ । त्यहाँ घरहरू र कृषियोग्य जमिनहरू डाँडामा फैलिएका छन् । पीडितहरूको खोजीमा माटो खन्ने मानिसहरूको फोटो र भिडियोहरू सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गरिएको थियो । केही घरहरू पहिरोले ढाकिएका थिए भने अरूमा जमिन माथि मात्र छाना देखाइएको थियो । डेली मोनिटर अखबारले अहिलेसम्म बरामद भएका अधिकांश शवहरू बालबालिकाहरूको भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले बुधबार विपद् चेतावनी जारी गर्दै देशभर भारी वर्षाले प्रमुख सडकहरू अवरुद्ध भएको बताएको छ । बुधबार नाइल नदीमा एक उद्धार अभियानका क्रममा दुई उद्धार नौकाहरू पल्टिए । त्यहाँ पाकवाच पुल डुबेको थियो ।
काठमाडौं: अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आउनुभएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताउनुभयो । “मलाई यहाँ आएर सहयोग गर्न मन थियो । त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ”, अधिकारीले बताउनुभयो, “मैले केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए । त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ । सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उहाँ अमेरिकाबाट एकसाताको मात्र बिदा लिएर नेपाल आउनुभएको हो । कक्षा १२ अध्ययनरत अधिकारीको इच्छा १८औँ जन्मदिनको अवसरमा वितरण गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक नेपाल आएर रू १४ लाख बराबरको कम्बल र शैक्षिक सामग्री वितरण गरेको उहाँले बताउनुभयो । नर्सरी कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई दुई वटा पेन्सिल, दुई वटा इरेजर, दुई वटा सार्पनर, दुईवटा एक सय पृष्ठका कपी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाएर वितरण गरेको पत्रकार एवं समाजसेवी चुडामणी भट्टराईले बताउनुभयो । त्यसैगरी कक्षा ४ देखि १० सम्मका लागि दुईवटा एक सय पृष्ठका कपी, ज्यामिति बक्स, दुईवटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीलाई ठूलो साइजका दुईवटा नोटबुक, दुईवटा डटपेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेको भट्टराईले जानकारी दिनुभयो । सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मनुभएको हो । डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुग्नुभएको थियो । सोनियाका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व हुनुहुन्छ । शरणार्थीलाई पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लाग्नु भएका अधिकारीको नेतृत्वमा रहेको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोले संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेको पत्रकार एवं समाजसेवी भट्टराईले बताउनुभयो । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुमार्फत संसारभरका नेपाली जातिलाई नेपालसँग जोड्ने अभियान चलाइरहनु भएका अधिकारीले शरणार्थी शिविरमा बस्ने बृद्धबृद्धा र असक्तहरुलाई मासिक रु पाँच हजार रकम वितरण गरिरहनुभएको छ । दमक नगरपालिका र पथरी नगरपालिकाका एम्बुलेन्स र शरणार्थी शिविरका विद्यालयमा पढाउने ३० जना शिक्षकको तलब पनि फाउण्डेसनले पनि बेहोर्दै आएको बताउनुभएको छ ।
पोखरा: १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो । जस अन्तर्गत महोत्सवको कार्य सम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि ब्यवस्थापन उप–समिति संयोजकमा हिमालय बख्रेल, सचिवालय उपसमिति संयोजक सुक बहादुुर गुरुङ, अनुगमन उपसमिति संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिनालाई चयन गरिएको छ । यस्तै प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा शान्त बहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानियाँ, प्रचार प्रसार उपसमिति संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजकमा जयराम आचार्य, ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा सीमा गुरुङ, झाँकी र्याली तथा संघ संस्था उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापन उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, स्वास्थ्य उपसमिति संयोजकमा नरहरि पनेरु, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा शिव थापालाई चयन गरिएको छ । खानेपानी व्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की (बिजय), मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, विद्युतिय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध कार्की, पृष्ठपोषण व्यवस्थापन उपसमिति संयोजकमा रिम बहादुर कार्की, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजकमा गणेश खड्कालाई चयन गरिएको छ । यस्तै सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमिति संयोजकमा सुरेश थापा, विद्यालय समन्वय व्यवस्थापन उपसमिति संयोजकमा रमेश बहादुर कार्की, विमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उपसमिति संयोजकमा शुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण थापा मगर, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा चन्द्र थापा, विद्युतिय व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा कुशुम गुरुङ रहेका छन । त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा सेती थापा, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जि.सी., पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, रोजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ (गल), डम्बरजंग गुरुङ, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, ओम सुवेदी, निलकण्ठ पोख्रेल, सन्जीव कोइराला, सु. इन्द्र बहादुर गुरुङलाई चयन गरिएको छ । त्यसैगरी वलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, राम नारायण श्रेष्ठ, चिन्तामणी बास्तोला, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, नुना गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, लालकाजी गुरुङ, डा. कृष्ण के.सी., डा. प्रदीप घिमिरे, महेश गुरुङ, गोपाल गुरुङ(बाँझापाटन), अमर केसी, माधव गौतम, ओम बस्नेत, माधव घिमिरे, मोहन गुरुङ, रुद्र श्रेष्ठ, राजेश गुरुङ, सोमनाथ पौडेल, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी र पोखरा महानगरपालिकाका ३३ वटै वडा अध्यक्षहरुलाई सल्लाहकारमा चयन गरिएको छ ।
पोखराः नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहेका सिग्देललाई प्रवतmामा मनोनित गरेका हुन् । नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको छ । सिग्देल कास्कीको १४औ जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका थिए । १३ औं अधिवेशनबाट सदस्यमा निर्वाचित सिग्देलले अघिल्लो कार्यकाल पनि तीन वर्ष भन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीको निवर्तमान अध्यक्ष हुन् । देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउन नदिने उनको भनाई छ । पद सानो, ठूलो जे होला तर पार्टीको हितमा काम गर्नका लागि ठूलो अवसर ठानेर काम गर्ने प्रतिवद्वता उनले व्यक्त गरेका छन् ।
पोखरा: अर्थ मन्त्रालयले सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने महासंघहरुले विश्वास गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन भएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुन आयातमा २० प्रतिशत भन्सार शुल्क वृद्धि गरेपछि व्यवसायीहरुल विरोध गर्दै आएका थिए । अर्थ मन्त्रालयले केही दिन अगाडि सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन गरेपछि निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदिमा महत्वपूर्ण योगदान पुर्याइरहेको अवस्थामा भन्सार शुल्कमा गरिएको समायोजनले सुनचाँदी क्षेत्र साथ–साथै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२को बजेट मार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पु¥याएकोले संपूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानूनको तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु राखी महासंघहरुद्वारा संयुक्त रुपमा शान्तिपूर्ण विरोधका कार्यक्रमहरु महासंघहरु सहित नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो ।’
रसुवा: विद्युत सट भई लागेका आगोबाट कालिका गाउँपालिका वडा नं १ ग्राङ इलाका क्षेत्रमा आज तीन घर जलेर नष्ट भएको छ । सो आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना नगद समेत जलेर नष्टहुँदा करिब रु २७ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भटृराईले जानकारी दिनुभयो । भौगोलिक हिसावले विकटवस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा पासाङ मेन्दो तामाङको घरमा आज बिहान विद्युत सट हुँदा आगलागी भएको ग्राङ प्रहरी चौकीले जनाएको छ । सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मौजुदा विद्युत् ऐन, नियममा एउटाको घरमा जोडिएको मिटरबाट तार तानी अर्को घरमा बत्ति बाल्न नपाइने कानूनी व्यवस्था भएपनि रसुवाका दुर्गम गाउँवस्तीमा यो नियम पालना भएको देखिदैन । यसरी गैरकानुनीरुपमा विद्युतबत्ती प्रयोग गर्ने सम्बन्धमा स्थानीय जनतालाई सुसूचित गरी त्यसपछि पनि यसकिसिमको अवैधानिक गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारवाही गर्नुपर्ने रसुवा जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुन्दर चौलागाईं बताउनुहुन्छ । घरमा विद्युत सट भई लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना र स्थानीय बासिन्दा समेतको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साविक राम्चे गाविस वडा नं ३ तथा हाल कालिका गाउँपालिका वडा नं १ निवासी नेमानुर्पु तामाङ, छिरिङ तेम्बा तामाङ र पासाङनुर्पु तामाङको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक एवं प्रवक्ता चौलागाईंले जानकारी दिनुभयो ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरुबीच भएको भेटवार्ताका क्रममा नेपाल र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतापत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले हस्ताक्षर गर्नुभएको हो । उक्त परियोजनामार्फत नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य राखिएको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, ‘डिजिटलाइजेसन’, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने जनाइएको छ । आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ । जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी)ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी)को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइनेछ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धी हुने बताउनुभयो । फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।