सर्लाही: सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल ९क्रसर० सञ्चालन गर्नुभएको हो । खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उहाँ बताउनुहुन्छ । तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उहाँले भन्नुभयो । विषेशगरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन÷चैतसम्म उहाँ कोल चलाउने गर्नुहुन्छ । दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले ५ सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउने गर्नुहुन्छ । उहाँले उत्पादन गर्नु भएको सख्खर रु ६० देखि १ सय २० सम्ममा व्यापारीहरूले लैजाने गरेका छन् । उहाँले भन्नुभयो, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ । अलि फोहोर भयो भने, मूल्य कम आउँछ ।’’नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ । जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ । अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नु पर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ । उहाँ तिनै किसानहरूको उखु खरिद गरिदिनुहुन्छ र सख्खर बनाएर बिक्री गर्नुहुन्छ । स्थानीय किसानहरु पनि चिनी उद्योगहरुले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन् । यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताउनुभयो । उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउनुहुन्छ । मण्डल भन्नुहुन्छ, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात÷आठ दिनमै भुक्तानी गरिदिन्छु । यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन् ।’’ कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती, लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उहाँ बताउनुहुन्छ । मण्डलले क्रसरमा अन्य ५ जनालाई काम समेत दिनुभएको छ । उनीहरुको पनि ३ देखि ४ महिनाको रोजीरोटी यसैबाट टरेको छ ।मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन् । कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन् । यस पेसामा २ सय ५० जना बढी कामदारको रुपमा कार्यरत छन् । सर्लाहीबाट मात्र २ हजार ५ सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउनुहुन्छ । भारतीय सख्खरले स्थानीय किसान मारमा भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ । ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उहाँले भन्नुभयो, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु हाम्रोमा लागत धेरै छ ।’’ भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उहाँको दाबी छ । यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन । केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनु पर्ने हुन्छ ।’’ भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उहाँको भनाइ छ । चिनी उद्योगलाई उखु तान्ने हतारो सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरुले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन् । जिल्लामा रहेका तीन वटा चिनी उद्योगले सञ्चालनको तयारी गर्दैगर्दा क्रसिङ सुरु गरेका छन् । लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ । यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो । उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन् । यसवर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो । अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भन्नुभयो,।‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ ।’’ उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ ।विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए । त्यसपछि उद्योग सञ्चालन भएको थियो । क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो । अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन् । जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताउनुभयो । ‘‘मैले उखु रोप्नै छोडिसकेको छु ।’’ उहाँले भन्नुभयो, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु । बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ ।’’ उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन् ।यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताउनुभयो । जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाई गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो । यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिनुभयो । उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताउनुभयो । यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ । केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले जानकारी दिनुभयो । उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत १÷२ सातामा भुक्तानी गरिने समेत उहाँको भनाइ छ । गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार ३ सय क्विन्टल उखु क्रसिङ गरेको थियो । जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ । देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताउनुभयो । उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो । उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए । देशमै धेरै उखु खेती हुने सर्लाहीमा वर्षेनी ७० देखि ८० लाख क्विन्टल सम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ । समर्थन मूल्य अन्योलमै मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ । ‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भन्नुभयो ।यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन् । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ । तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन् । अघिल्लोपटक प्रतिक्विन्टल रु पाँच सय ६५ रुपैयाँ तोकिएको थियो ।
गुल्मी: गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु १० हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।गाउँ कार्यपालिकाले उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो । सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षको पशुपक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार सूचना सार्वजनिक गरी पालिकाभित्रका सबै वडाका किसानलाई अनुदानको बारेमा जानकारीसमेत गराएको छ । पालिकाले गत साउन १ गतेदेखि आगामी असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएपछि उक्त रकम उपलब्ध गराउने जनाएको छ । त्यसका लागि किसानले गत असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख छ । अनुदान प्राप्त गर्न पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरासहित तीन जना छिमेकीको हस्ताक्षरसहितको मुचुल्का, सम्बन्धित वडाको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, पशु चिकित्सकको स्थलगत अनुगमनको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने बताउनुभयो । किसानले अन्यत्रबाट किनेर ल्याएको गाईको हकमा भने उक्त नियम लागू नहुने भएकाले अनुदान प्राप्त गर्न किसानले अनिवार्य आफ्नै गोठमा हुर्काएको गाई हुनुपर्ने नियम बनाएको छ । पछिल्लो समयमा गाउँमा गाईपालन लोप हुन थालेसँगै सत्यवती गाउँपालिकाले गाईको संरक्षण गर्न उक्त अभियान सुरु गरेको हो ।
म्याग्दी: गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि रु १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि रु १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको १ योजनालाई रु ३० लाख बिनियोजन भएको हो । प्रमुख पोषानाथ शर्माले बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रीया अघि बढाएको बताउनुभयो । धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुदै धवलागिरी आइसफल जाने पदमार्ग योजनाका लागि रु २०/२० लाख बजेट प्राप्त भएको छ । रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा नं-३ को गायत्री मन्दिर संरक्षण, वडा नं–२ को माझखर्क–ओखरबोट हुदै साझपानी पदमार्ग, बेनी नगरपालिका ७ को शान्तिपार्क, वडा नं–२ को ध्यानकुटी पूर्वाधार, वडा नं-६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरी गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि रु १०/१० लाख बजेट प्राप्त भएको छ । म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई रु २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई रु एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई रु १ करोड ५६ लाख बनियोजन गरेको थियो । प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट बिनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८ पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन। अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् ।
गोरखा: गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट विनियोजन भएको रु एक लाखको लागतमा पुल मर्मत भएको उहाँले बताउनुभयो । पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।
कैलाली: कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् । त्यसमध्ये १ हुनुहुन्छ कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उहाँले तरकारी खेतीबाट वर्षमा रु ३ लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो । उहाँले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । “पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा रु १ लाख ५० हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ”, रानाले भन्नुभयो,“छ जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।” उहाँले मौषमअनुसार तरकारी लगाउने गर्नुभएको छ । सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । “पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ । पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ”,उहाँको भनाइ छ । सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाउनुभयो । उहाँले एउटा ‘सिजन’मा रु १ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । “मैले ५ कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ”, उहाँले रासससँग भन्नुभयो । उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ । “आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ”, यहाँका किसानले भन्ने गरेका छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको क्रममा रहेका विषयको बारेमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै औपचारिक स्रोतका आधारमा सही सूचना सम्प्रेषण गर्न अनुरोध गरेको हो । ‘सूचनाको हक सम्बन्धि ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना प्रवाह गरिने छैन भन्ने प्रावधान अन्र्तगत गोपनीयता कायम राख्नुपर्ने विषयहरुमासमेत केही सञ्चार माध्यममा अनुसन्धानको क्रममा रहेका विषयबस्तुहरुमा समाचार बनाउनका लागि यस जिल्ला प्रहरी कार्यालय कास्कीको कुनै पनि आधिकारिक र औपचारिक स्रोत विना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रुपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ, ‘अपराध अनुसन्धान तथा कारवाही जस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिनु हुन जिल्ला प्रहरी कार्यालयको अनुरोध छ ।' गत मंगलबार कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं लगिने विषयबारे केही सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए । त्यसपछि लामिछानेलाई कास्की प्रहरीले काठमाडौं पठाउनेबारे कुनै पनि तयारी नभएको पुष्टी गरेको थियो । लामिछानेविरुद्ध सहकारीको रकम हिनामिला, संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की जिल्ला अदालतले उनलाई गत ९ गते पाँचौ पटक १५ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेर थप अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई रातारात कास्की ल्याइएको थियो । यो पनि पढ्नुहोस कास्की प्रहरी भन्छ: रविलाई काठमाडौं लाने तयारी छैन
धरान: बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ । थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उहाँ सुनाउनुहुन्छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो । उहाँले १० जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उहाँले सुनाउनुभयो । एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उहाँले रु ४ हजारदेखि रु ५ लाखसम्मका थाङ्का बिक्री गर्दै आउनुभएको छ ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो । पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ । साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् । पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । “सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ तर सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो । सञ्चार नै चुनौती सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताउनुभयो । “कतिपय पर्यटक भ्रमणका क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेका छन्, फोन गर्दा फोन लाग्दैन, जसले उद्धारमा समेत समस्या हुन्छ”, शेर्पाले भन्नुभयो । पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो । खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उहाँको शव भेटिएको थियो । यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो । सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उहाँको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय बताउछन् । धार्मिक आस्थाको केन्द्रः ज्वालामाई मन्दिर सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य भिमनारायण श्रेष्ठले भन्नुभयो, “मन्दिरमा आउने भक्तजनले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।” यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उहाँले बताउनुभयो । स्थानीयको गुनासो सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दुःखद भएको बताउनुभयो । स्थानीय बाबुराम घिमिरेले भन्नुभयो, “सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो तर यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरीसँग नजिक भए पनि यो क्षेत्र अझै सञ्चार उपलब्धिबाट लाभान्वित हुनसकेको छैन ।” राज्यको प्रयास नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन । सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । “पिकेडाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकास गर्नुको विकल्प छैन”, कार्यालय प्रमुख रानाले भन्नुभयो । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्नुहुन्छ । “पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्रमा भरपर्दो सञ्चा सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ”, उहाँले भन्नुभयो,“पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य छ । जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सहयोग गर्न तयार छु ।” पर्यटन व्यवसायी दावा शेर्पा पनि यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गर्नुहुन्छ ।