हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उहाँले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताउनुभएको हो । “महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो ।  उहाँले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताउनुभयो । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उहाँले जानकारी दिनुभयो ।   स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गर्नुभयो ।  “हाल स्वास्थ्य विमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो । छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उहाँको भनाइ थियो । उहाँले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गर्नुभयो ।  टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गर्नुभयो ।  टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभएको थियो । विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्यशिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो ।  अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

काठमाडौं:    नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।       भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।       महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

तनहुँ:     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताउनुभएको छ ।  आज यहाँ आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उहाँले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभयो ।  महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।  “माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले र गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ । पार्टीलाई बलियो बनाउन लागौँ”, उहाँले भन्नुभयो ।  कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले सम्बोधन गर्नुभएको थियो ।  बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिनुभयो । 

काठमाडौं:    आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।  मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।  बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।   बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।   टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीनरतीन रन बनाउँदा  रिया शर्मा पाँच रनमा नटआउट रहिन् । बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए ।  नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।  प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।  आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।      हालैको मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताललाई सो कार्यन्वयन गर्न आग्रह गरेको हो ।      मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले खरिद मार्गदर्शन, २०८१ लागू गर्ने सम्बन्धमा गरिएको परिपत्रमा मालसामानको आपूर्ति समयमै गराई सेवा प्रवाहमा बाधा नपर्ने गरी खरिद कार्य सम्पन्न गर्नुपर्ने र बजेट नभई वा वजेटको सुनिश्चितता नभई खरिदको कार्य गर्न नपाइने बताएको हो ।      मन्त्रालय र यसका मातहत निकायबाट हुने औषधि, औजार, उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन, २०८१ मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ ।      मार्गनिर्देशनमा उल्लेख भएअनुसार सम्बन्धित निकायहरुले आवश्यक औषधि, स्वास्थ्य औजार उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा मालसामानको वार्षिक आवश्यक परिमाण र लागतसमेत खुल्ने गरी पाँचवर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराई राख्नुपर्नेछ ।      साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्नुपर्नेछ ।  आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनःनयाँ खरिद गर्न उद्दत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन मार्गनिर्देशनमा  जोड दिइएको छ । त्यसैगरी, अस्पतालमा रहेका एक्स–रे, अल्ट्रासाउण्ड मेसिन, सिटीस्क्यान मेसिन, एमआरआई, प्रयोगशाला र शल्यक्रियामा प्रयोगमा हुने विशिष्टकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको १० प्रतिशत उपकरण मर्मतसम्भारमा छुट्याउनुपर्ने छ ।

सिरहा:    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पार्नुभएको छ ।       बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताउनुभयो ।      अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताउनुभयो ।  मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । 

काठमाडौं:   आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ ।  मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिइन ।       विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने लक्ष्यमा छ ।  नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् । 

काठमाडौं:     काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ ।  महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।  कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइ राइजर’ जडान भइसकेको छ भने अन्य वडाहरूमा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।  उहाँका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो ।    जोशीले भन्नुभयो, “यसले अग्नि नियन्त्रणमा ठूलो सहयोग गर्ने विश्वास छ”, उहाँका अनुसार ड्राइ राइजर पाइप खनेर भित्री गल्लीहरूमा पु¥याइएको छ भने ठाउँठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि ‘आउटलेट’ राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेटहरू राखिएका छन् ।   दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइप लाइन ड्राइ राइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई ‘वेट राइजर’ भनिन्छ ।  ड्रइ राइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा ‘इनलेट भल्व’ राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएका हुन्छन् । दमकलको पानी ‘इनलेट’मा राखेपछि आवश्यकताका आधारमा ‘पाइपलाइन’ का बीचमा जुनसुकै ‘आउटलेट’ खोले पनि पानी प्राप्त हुन्छ । यसले आगो नियन्त्रण गर्न गरिन्छ ।  दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्छ ।     ड्राइ राइजर कसरी काम गर्छ  ?   भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने पारेको संरचनालाई ‘ड्राइ राइजर’ भनिन्छ । सामान्य भाषामा ‘पाइपलाइन’ भनेर बुझ्दा हुन्छ । तर दकमलको पानी निकै फोर्सले आउने भएकाले यो पाइप अन्य पाइपभन्दा बाक्लो हुन्छ आउटलेटहरू पनि बलिया हुन्छन् ।   यसरी तयारी अवस्थामा राखिएको पाइपमा दमकलको पाइपको मुख (होज) जोडिन्छ  । त्यसपछि मात्रै ‘फायर फाइटिङ’ गरिन्छ । यस प्रकारको पाइपलाइन जडान गर्दा धेरै खर्चिलो नहुने भएकाले सहरी क्षेत्रमा प्रभावकारी हुन्छ । 

काठमाडौं:   पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ ।  वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताउनुभयो ।  उहाँले भन्नुभयो,“म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु । मैले निर्माण भइरहेका भन्दा केही फरक कथा र विषयलाई दर्शकसम्म ल्याउने कोसिश गरेको हुँ ।” निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताउनुभयो ।  सोही कारण उहाँले चलचित्रका अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई समेट्नु भएको छ । उहाँले दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो ।  “चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भन्नुभयो । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्र माघ ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।