हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

काठमाडौं:    दलित महिला सङ्घ (फेडो)ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ ।  फेडोद्वारा यहाँ आज आयोजित कार्यक्रममा  फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजामतिले भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट निर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गर्नुभयो ।  फेडोले महासङ्घका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासङ्घ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जितसिंह विकलाई सम्मान गरेको छ ।   सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताका हिसाबले सरकारी र निजी क्षेत्रका आमसञ्चारमाध्यम समावेशी बन्नुपर्नेमा जोड दिनुभयो ।  “दलित समुदायबाट पत्रकार महासङ्घको पदाधिकारी र कार्यसमिति सदस्यमा निर्वाचित हुनुमात्र ठूलो कुरा होइन, दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारले महासङ्घमा रहँदा आफ्नो कार्यकाल अवधिभित्र दलित समुदायका पत्रकारका लागि के काम गर्यो भन्ने महत्त्वपूर्ण कुरा हो, त्यसैले जो अहिले निर्वाचन जितेर महासङ्घमा पुग्नुभएको छ, उहाँहरू दलितका पत्रकारको हकहितको पक्षमा बढी लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।  महासङ्घका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासङ्घमा रहुञ्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खासगरी सरकारी र  निजी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिाताको निम्ति काम गर्ने उहाँको भनाइ छ ।  महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अङ्ग सञ्चारमाध्यम सबै हिसाबले समावेशी बन्नुपर्ने धारणा राख्नुभयो । महिलावादी दलित सङ्गठन (फेडो) नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोशका साथ दलित महिलाको समूहद्वारा सन् १९९४ मा एक गैरलाभकारी, गैरराजनीतिक र धर्मनिरपेक्ष गैरसरकारी संस्थाको रूपमा स्थापना भएको थियो ।  यो दलित अधिकार र महिला अधिकारको एकैसाथ वकालत गर्ने अग्रणी संस्था हो । यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा एक प्रमुख स्रोत सङ्गठनको रूपमा खडा छ । ‘न्यायपूर्ण र समतामूलक समाज’को दर्शनका साथ फेडोले दलित महिलाहरूलाई आफ्नो पहलको केन्द्रविन्दुमा राख्दै आएको छ ।

काठमाडौं:    काठमाडु माभरिक्सले पोखरा लेकर्सलाई पराजित गर्दै  नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न उद्घाटन खेलमा काठमाडुले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गर्दै विजयी भएको हो । जितसँगै काठमाडुले पाँच अङ्क जोडेको छ । त्यस्तै पराजित पोखराले एक अङ्क प्राप्त गर्यो । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा छ सहरका छ टिम सहभागी छन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडु  माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स छन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । बेलुका ५ः३० बजे हुने पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ६ः३० बजे हुने दोस्रो खेलमा हिमालयन रेइडर्स (बुटवल) र जनकपुर नाइट्स आमनेसामने हुनेछन् ।

रुकुम पश्चिम:    रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।       घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिनुभयो । शाहीको घटनास्थलमै मृत्यु भएको हो ।       उहाँले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।  छ कुसारी र शाही विद्युतीय रुख काट्ने उपकरण (आरा मेसिन) प्रयोग गरेर घरमा प्रयोग हुने दार बनाउन जङ्गल जानुभएको थियो ।

मोरङ:    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभएको छ ।      विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।  पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिनुभयो ।      अध्यक्ष दाहालले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिनुका साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको बताउनुभयो ।       अध्यक्ष दाहाल यही माघ ५ गते विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुन आउनुभएको हो ।

काठमाडौं:    वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।  काठमाडौं प्रहरीले यही माघ २ गते काठमाडौं जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज  पक्राउ गरेको हो ।           निजलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौँका सूचना अधिकारी नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।            सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी:    कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई भगवान्का नाम दिएर त कहिले नदी किनारमा पैदलयात्रा गरेर, ‘कालीगण्डकी बचाऔँ अभियान’ले कालीगण्डकी नदी दोहनविरूद्धको आफ्नो सृजनात्मक प्रतिरोधलाई जारी राखेको छ ।  तीन वर्षअघि कालीगण्डकी संरक्षणका पक्षमा कविता शृङ्खला ‘नदी सप्तक’ सञ्चालन गरेको उक्त अभियानले गत जेठमा श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर कालीगण्डकी नदीका शिलामा भगवान्का नाम अङ्कित गरेको थियो ।  ‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानकर्मीहरूले कालीगण्डकी आसपासका प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवानका नाम शिलाङ्कित गरेका थिए ।  मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा मात्र पाइने विश्वकै दुर्लभ शालिग्राम शिला लोप हुने खतरा बढेपछि शिलाको नामाङ्कन गरिएको हो । शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवानका रूपमा पुज्ने गर्छन् । कालीगण्डकी नदीको पवित्रता एवं चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिन उक्त अभियान सुरू गरिएको हो ।   ती शिलामा अहिले हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायणलगायत शालिग्राम भगवानका ९० अवतारका नाम देख्न सकिन्छ । अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस् र जनस्तरमा सन्देश पुगोस् भनेर अभियान थालिएको अभियानका संयोजक आरके अदीप्त गिरीले बताउनुभयो ।  कविताका माध्यमबाट राज्यसंयन्त्र र नदी दोहनकारीमाथि खबरदारी गरेको अभियानले संरक्षण चेतना जागृत गर्ने ध्येयले ‘एक कालीगण्डकी...’ बोलको गीत पनि सार्वजनिक गरिसकेको छ । प्रसिद्ध कवि श्रवण मुकारूङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासको स्वर छ ।  यसपालि माघसङ्क्रान्ति पर्वका अवसरमा पनि अभियानको अगुवाईमा केही संरक्षणकर्मी र अभियानकर्मीहरू पर्वतको कालीगण्डकी किनारमा अवस्थित प्रसिद्ध मोदीवेणी धाममा पुगेर नदी संरक्षणको सन्देश दिए ।  पैदलयात्रासहित उनीहरूले ‘कालीगण्डकी बचाऔँ’ लेखिएको ब्यानर प्रदर्शन गरे । अव्यवस्थित विकास गतिविधि र प्रकृति दोहनका कारण सङ्कटमा परेको कालीगण्डकी नदी संरक्षणको सन्देश दिन उक्त कार्यक्रम गरिएको संयोजक गिरीको भनाइ छ । नदी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यस क्षेत्रको पर्यावरण नै खतरामा परेको उहाँले बताउनुभयो ।  “नदीको प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षतविक्षत् बन्दै गएको छ,” संयोजक गिरीले भन्नुभयो, “अप्राकृतिक दोहनका कारण नदीको दिगोपनलाई दुई तिहाइले घटाइदिएको छ ।”  कालीगण्डकी जस्तो जन्मदेखि मृत्युसंस्कारसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको दोहनको अभियानले विरोध गर्दै आएको छ । यो नदीलाई हिन्दू र बौद्धधर्मावलम्बीले पवित्र नदीका रूपमा लिने गर्छन् ।  कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरि, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन् ।   प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विशिष्टता बोकेको कालीगण्डकी नदी बचाउनु मानव सभ्यता बचाउनु सरह रहेको संयोजक गिरीले बताउनुभयो । हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ ।  “नदी दोहनकाविरूद्ध हामीले रचनात्मक र सिर्जनात्मक ढङ्गले प्रतिरोध गर्दै आएका छौँ, हाम्रो आवाजलाई सम्बन्धित पक्षहरूले सुनून्”, संयोजक गिरीले भन्नुभयो, “कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभइ समग्र मानव–प्रकृति चक्रलाई नै खराब स्थितिमा पु¥याउँछ ।” नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पु¥याइरहेको उहाँले बताउनुभयो ।  कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने संयोजक गिरीको भनाइ छ । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरूपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ ।  जभाभावी दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख अवस्थामा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख अवस्थामा छन् । उक्त अभियानले मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्तासमेत व्यक्त गर्दै आएको छ ।  यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने उसको ठहर छ । नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा पर्दै गएकामा पर्यावरणकर्मी चिन्तित छन् ।  पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी ढङ्गले कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरूप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ । रातारात कालीगण्डकीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ । कालीगण्डकीले झेलिरहेको समस्याप्रति जनप्रतिनिधि र स्थानीय प्रशासनले अनदेखा गरिरहँदा दोहनकर्ताले संरक्षण पाइरहेका छन् । नदीजन्य सामग्री उपयोगका नाममा जथाभावी उत्खनन गर्दा नदी गहिरिने, धार परिवर्तन हुने र त्यसले तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढाएको छ ।  बालुवा, गिट्टी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । नदी ऐन÷नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहन गर्दा मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत÷पानीका मूल–मुहान, जलथल आदि सङ्कटमा परेका जानकारहरू बताउँछन् । कालीगण्डकीको अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताउनुभयो ।  उहाँले नदीजन्य पदार्थ उत्खननका लागि प्राविधिक अध्ययन गरी जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राख्नुभयो । “नदी क्षेत्रबाट गिट्टी, बालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ तर उत्खननलाई व्यवस्थित बनाउनुपर्यो, राज्यले कानुनी प्रबन्धहरू त्यहीअनुसार गर्नुपर्यो”, अधिवक्ता शर्माले भन्नुभयो । संयोजक गिरीले ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण बर्सेनि कालीगण्डकी नदी बिरूप र अनियन्त्रित बन्दै गएको बताउनुभयो । नदीको धार परिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिने र त्यसले नदी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा पर्ने उहाँको भनाइ छ ।  हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ ।  यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।

पोखरा:   उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो  प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने छन् । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । कास्कीबाट १२ र प्रदेशका अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । कास्की छनौटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रयितोगितामा एउटा विद्यालयबाट २ टिमले सहभागीता जनाउन पाउने उनले बताए । उनले कास्की छनौट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजको दावी छ । प्रदेशस्तरी प्रतियोगिता माघ अन्तिम साताबाट शुरु हुनेछ । 

पोखरा:    पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ ।    गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड बढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीड बढ्दै गएको हो ।    महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा विशेष गरी घरायसी सामाग्री, कृषि र जाडो यामका लत्ता कपडा किन्नेको भीड लागेको छ ।   महोत्सवमा शुक्रबार चर्चित दोहोरी गायक श्याम राना मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । श्याम राना संगै शुक्रबार महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगरको लोक दोहोरी प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए ।   त्यसैगरी हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाईभ कन्सर्ट तर्फ रक हेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।   महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको छ । बेसलाइन, अमरसिंह माबि, ज्ञानगंगा र पोखरा युनाईटेड एकेडेमी बिचको प्रतिस्पर्धामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको हो ।   महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ शान्तारानी परियार, प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सनाका अनुसार सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुती रहने छ ।

काठमाडौं:   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected]​ मा सम्पर्क गर्न सकिनेछ ।