दाङ:  दाङको तुलसीपुरमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ११ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ...

काठमाडौं:     यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।       मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु पाँच सय मूल्य तय गरिएको छ ।       एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ रु पाँच सय र भिआइपीतर्फ रु सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रु पाँच सय र भिआइपीतर्फ रु एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।       सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ रु चार हजार चार सय ८० र भिआइपीतर्फ रु आठ हजार दुई सय ४० मूल्य निर्धारण गरिएको छ ।

धनुषा:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ । आज यहाँको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य स्व अरविन्द ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्दै उहाँले स्व ठाकुरको योगदान स्मरण गर्नुभयो ।  लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका प्रजातान्त्रिक योद्धा स्व ठाकुर जस्ता नेताकै कारण मुलुकमा सङ्घीय लोकतन्त्र प्राप्त भएको उहाँले बताउनुभयो ।       सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो । त्यसका लागि सङ्घीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरुले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।        नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व ठाकुरको सपना साकार पार्न सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।       नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पु¥याएको उल्लेख गर्नुभयो ।       नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले  मन्तव्य राख्नुभएको थियो ।       रु २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली कांग्रेसका सभापति देउवाले स्व ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।

पोखरा:    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन पोखरा रंगशालास्थित बास्कैटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टु तर्फ १४ खेल सम्पन्न भएको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिएका हुन् । पोखरा रंगशाला बास्केटबल कोर्टमा सम्पन्न खेलमा पोखरा आदर्शले रेन्वो एकेडेमीलाई ४४–६ ले, बालकल्याणले सिर्जना माविलाई ४१–१३ ले, ग्लोबल कलेजियटले सगरमाथा माविलाई ३१–२५ ले, सोसल पब्लिकले बालोदय माविलाई २९–१० ले, पोखरा युनाइटेडले बेथानीलाई २२–१४ ले पश्चिमाञ्चल माविले गुरूकुल माविलाई ३५–१२ ले र करुणानिधी एजुकेशन फाउन्डेशनले डायमण्ड माविलाई २१–८ को स्कोरले पराजित गरेका छन् । त्यस्तै पुन समाजको कोर्ट रामघाटमा सम्पन्न छात्रतर्फको खेलमा हिल पोइन्टले जुनिएर सिटिजन एकेडेमीलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३२–३१ को स्कोरले पराजित गरेको छ ।  त्यस्तै त्रिवेणी माविले साइनिङ्ग स्टारलाई ३७–२१ ले, मनकामनाले वेलननलाई ३३–१६ ले, स्टेप वाई स्टेपले मदरल्याण्डलाई २७–२३ ले, माउन्ट अन्नपूर्ण माविले ज्योती कुञ्जलाई ३४–२२ ले, मेरीगोल्डले लिटल फ्ल्वारलाई २०–१४ ले र शान्ती निकुञ्जले अक्सफोर्डलाई १४–७ ले पराजित गरेका छन् । १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर ११ गते देखि १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने विद्यालयका व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन् । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक याम रोक्काले बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् ।  प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ । यसै विच हिसान कास्कीले पोखरा रंगशालामा आयोजना हुने १७ औं सस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गर्ने भएको छ । प्रतियोगिताको उद्घाटन भोली (मंगलबार) गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नेछन् । उद्घाटन कार्यक्रम पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा हुने हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले जानकारी दिएका छन् । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।

काठमाडौं:   नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा आजदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ ।  गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको थियो ।  नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो ।  विसं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।  विसं २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो ।  थाइल्याण्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन निर्माण गरिएको छ ।

काठमाडौं:      काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८  स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ ।  दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथिबाट झरेको पहिरोले सो बस्ती बगायो ।  पहिरोले जितबहादुर र रामबहादुर माझीको दुई घरको नाम निशाना रहेन । रामबहादुरको ५१ वर्षीया आमा बाटुली माझीले घटनास्थलमै ज्यान गुमाइन् । गम्भीर घाइते अवस्थामा चारजनालाई स्थानीय र सेनाले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए । बाटुलीको परिवार अति विपन्न तथा सिमान्तकृत समुदायको परिवार हो । उक्त परिवारले मजदुरी गरेर जिविका चलाउँदै आएका थिए ।   उनीहरू माछा मार्ने पुख्र्यौली पेशाबाट समेत विस्थापित भइसकेका छन् । स्थानीय सरकारले खोलाबाट ढुङ्गा, गिटी, बालुवा झिक्ने ठेक्का लगाउन थालेपछि माछा मार्ने स्थल अभाव हुँदा परम्परागत पेशा छाडेर मजदुरी गर्दै आएको सोही वडाका वडा अध्यक्ष मोतीलाल तामाङले बताउनुभयो । “उनीहरूसँग भएको जग्गा जमिनले चार महिना पनि खान पुग्दैन”, अध्यक्ष तामाङले भन्नुभयो, “परम्परागत पेशा लोप भएपछि जहाँ जे काम पायो, त्यही गर्दै आएका उनीहरूलाई मध्यपहाडी लोकमार्गकै कारण सुरू भएको पहिरोले विस्थापित बनायो र एकजनाको ज्यान पनि लग्यो ।” काभ्रेपलाञ्चोककै रोशी गाउँपालिकाले गत असोजको बाढी पहिरोमा सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको छ । जम्मा १४ जनाको ज्यान गएकामा वडा नं ४ मै एकै परिवारको पाँच जनाले ज्यान गुमाए । बस्तीमाथीबाट आएको ढिस्कोले घरै बगाएपछि चन्द्रबहादुर तामाङ र उहाँकी श्रीमति कान्छीमाया, छोरा डिल्लीबहादुर, नाति सफल र नातिनी बुद्धिमायाको एकै चिहान भयो । भिरालो जमिनमा बसोबास गरेका उनीहरूको खेती गर्ने जग्गा जमिन थोरै थियो । सोही वडाका अध्यक्ष तेजबहादुर मगरका अनुसार उनीहरू पुस्तौँदेखि मजदुरी गरेर साँझ बिहानको छाक टार्ने परिवार हुन् ।  विसं २०२८ सालमा पनि पहिरोजाँदा जोगिएका चन्द्रबहादुरको परिवार यसपालीको पहिरोबाट भने जोगिन सकेनन् । उक्त परिवारका तीन सदस्य मात्र अब जिवित छन् । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलाको बाढीले थामे गाउँका १५ घर पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । थामे गाउँदेखि केही माथी रहेको हिम पोखरी विष्फोट हुँदा उक्त बाढी आएको थियो । बाढीबाट क्षति भएका सबै घरपरिवार शेर्पा समुदायका थिए ।  स्थानीय, प्रदेश र सङ्घीय सरकारले तत्काल केही राहत रकम उपलब्ध गराए पनि अझै विस्थापित परिवारहरू पुनःस्थापित हुन सकेका छैनन् । दिउँसै बाढी आएको कारण मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको भौतिक क्षति हुनाका साथै गाउँको भौगोलिक स्वरूप नै परिवर्तन भएको छ ।       प्रस्तुत तीन उदाहरणले पनि प्रष्ट हुन्छ कि यसवर्षको प्राकृतिक प्रकोपमा कसरी आदिवासी जनजाति समुदायले भौतिक तथा मानवीय क्षति व्यहोरे । प्राकृतिक प्रकोपमा यी समुदाय सधैँ उच्च जोखिममा छन् । यसवर्षको मनसुनबाट ज्यान गुमाउनेको तथ्याङ्क विश्लेषण गर्ने हो भने पनि उक्त तथ्य पुष्टि हुन्छ । विपद्मा ज्यान गुमाउने ४१.५४ प्रतिशत आदिवासी जनजाति यसवर्षको मनसुन (वैशाखदेखि असोज सम्म) मा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपबाट मृत्यु भएका चार सय ४३ मध्ये आदिवासी जनजातिको सङ्ख्या एक सय ८४ जना छन् । उक्त तथ्याङ्कअनुसार कुल मृतकको ४१ दशमलव ५४ प्रतिशत आदिवासी जनजातिले ज्यान गुमाएका हुन् ।   मृतकमध्ये चार जनाको पहिचान हुन बाँकी छ । बेपत्ताको सङ्ख्या ६६ जना रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तर बेपत्ताको नामथरसहितको विवरण केन्द्रसँग उपलब्ध छैन । बेपत्ताको समेत विवरण यकिन हुने हो भने ज्यान गुमाउने आदिवासीको सङ्ख्या अझै धेरै हुनसक्ने अनुमान गर्न सकिन्छ ।  कुल मृतक तथा बेपत्ताको सङ्ख्या जोड्ने हो भने जम्मा पाँच सय नौ जनाले यसवर्षको मनसुनमा ज्यान गुमाएका छन् । मनसुनी विपद्मा परी दुई सय २८ महिला तथा बालबालिकाको मृत्यु भएको छ । कुल मृतक सङ्ख्यालाई आधार मान्ने हो भने ५१ दशमलव ४७ प्रतिशत महिला तथा बालबालिकाको मृत्यु भएको छ ।   जसमध्ये ६० जना बालबालिका छन् । कुल मृतकमध्ये १३ दशमलव ५५ प्रतिशत बालबालिकाले ज्यान गुमाएका छन् । ज्यान गुमाएका बालबालिकामध्ये ३५ बालक र २५ बालिका छन् ।     प्रदेशगत विवरणअनुसार यसवर्षको मनसुनमा सबैभन्दा बढी बागमती प्रदेशमा दुई सय ६७ जनाले ज्यान गुमाए । कोशीमा ४३,  गण्डकी ५५, लुम्बिनी २९, कर्णाली १६, सुदुरपश्चिम १६ र मधेश प्रदेशमा १३ जनाले ज्यान गुमाएका छन् ।  जलवायु विज्ञहरूका अनुसार गत असोज ११ गतेदेखि १७ गतेभित्रको मनसुनी विपद जलवायु परिवर्तनको असर प्रमुख कारण मानिएको छ । असोजमा मात्रै तीन सय तीन जनाको ज्यान गयो । यसवर्षको मनसुनमा ज्यान गुमाउने कुल सङ्ख्यालाई आधार मान्ने हो भने असोजको बेमौसमी बर्सातका कारण गएको बाढीपहिरोबाट ६८ दशमलव ३९ प्रतिशतले ज्यान गुमाए । उक्त अवधिमा काभे्रपलाञ्चोक जिल्लाले सबैभन्दा ठूलो क्षति व्यहोर्नुपर्‍यो । बाढीपहिरोबाट काभ्रेमा मात्रै ७९ को मृत्यु, ७८ घाइते र छ जना बेपत्ता भए । जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकले उपलब्ध गराएको उक्त तथ्याङ्क अझ विस्तृत रूपमा तयार हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । सो अवधिमा काभ्रेमा मृत्यु भएका ७९ मध्ये ३८ जना आदिवासी जनजाति समुदायका छन् । उक्त सङ्ख्या काभ्रेमा मृत्यु भएका कुल सङ्ख्याको ४८ दशमलव ११ प्रतिशत हो । जसमा तीनजना माझी, दुई मगर, एक श्रेष्ठ र बाँकी ३२ जना तामाङ समुदायका छन् । विसं २०७८ को जनगणनाअनुसार हिमाली, पहाडी र मधेसका जनजातिको सङ्ख्या एक करोड दुई लाख १८ हजार पाँच सय ७० रहेको छ । उक्त जनसङ्ख्या कूल जनसङ्ख्याको ३५ दशमलव ०४ प्रतिशत हुन आउँछ ।  यही तथ्यलाई आधार मान्ने हो भने पनि यस वर्षको मनसुनजन्य प्राकृतिक प्रकोपमा आदिवासी जनजातिले धेरै ज्यान गुमाउनुको साथै भौतिक क्षति व्यहोरेका छन् । जनसङ्ख्याको अनुपातमा आदिवासी समुदायले अधिकांश प्राकृतिक प्रकोपमा बढी क्षति भोग्दै आएको देखिन्छ ।  उपेक्षामा आदिवासी समुदाय जुनसुकै प्राकृतिक प्रकोपमा आदिवासी जनजाति समुदायले बढी ज्यान गुमाउनु परेको र राज्यले सधैँ यस समुदायलाई उपेक्षा गर्ने गरेको आदिवासी अधिकारकर्मीहरू ठम्याइ छ । नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईले समग्र विपद्लाई आधार मान्ने हो भने जहिल्यै ८० प्रतिशत क्षति आदिवासी जनजाति समुदायमा हुने गरेको दाबी गर्नुभयो ।  “आदिवासी जनजाति समुदाय किन धेरै पीडित हुन्छन् भने यो समुदायको निकटता बढी प्रकृतिसँग हुन्छ । त्यही भएर उनीहरू हिमाल मुनी, खोला किनारमा, ताल तलैया वनक्षेत्र नजिक बस्छन्”, उहाँले भन्नुभयो, “यो समुदाय प्राकृतिक स्रोत साधनसँग जोडिएर काम गर्न सकिने ठाउँमा हुन्छन् । त्यसैले बढी क्षति उनीहरूले व्यहोर्नुपर्छ ।” आदिवासी समुदायको परम्परागत ज्ञान, प्रथाहरू प्रकृतिसँग सम्बन्ध राख्ने हुँदा प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनको मूल असर आदिवासी समुदायलाई पर्ने गरेको उहाँले बताउनुभयो । आदिवासी समुदाय अहिले पनि विज्ञान प्रविधिभन्दा बढी रैथाने ज्ञान परम्परामा रूचाउन चाहने उहाँको भनाइ छ ।  राज्यले पक्ष राष्ट्रका रूपमा हस्ताक्षर गरेका अधिकांश अन्तर्राष्ट्रिय महासन्धीहरूमा आदिवासी जनजातिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेपनि व्यवहारमा उपेक्षा गर्ने गरेको आदिवासी अधिकारकर्मी बताउँछन् ।  हालै अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीका पक्ष राष्ट्रहरूको सम्मेलन, कोप–२९ मा पनि विश्वभरका आदिवासी समुदायले सम्मेलन अवधिभर नारा जुलुस गरेको नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष गेल्जे शेर्पाले बताउनुभयो ।  “आदिवासी जनजाति समुदायलाई राज्यले उपेक्षा गर्ने चलन संसारभर नै देखिन्छ । सबैभन्दा बढी क्षति आदिवासीले भोग्ने तर त्यसबापत्को क्षतिपूर्ति वितरणमा सो समुदायको अधिकार नहुने ठूलो विभेद छ”, अध्यक्ष शेर्पाले भन्नुभयो, “त्यसैका विरूद्ध हामी निरन्तर अधिकारको लडाईँमा छौँ ।”  कार्बन सञ्चितीकरण अर्थात् वन विनाश तथा क्षयीकरण घटाए बापत् हाल राज्यले प्राप्त गर्दै आएको कुनै पनि बजेट आदिवासी समुदायलाई केन्द्रित गरेर विनियोजन नगरिएको उहाँले बताउनुभयो । जलवायु नीति २०७६ कार्यान्वयनमा पनि अझै चुनौति देखिएको अधिकारकर्मी बताउँछन् । 

काठमाडौं:    धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशका अन्य भेगका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न आज ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडोको समयमा न्यानो कपडा र  दाउराको अभावमा देशभरका नागरिकलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसमक्ष गरेको हो ।      ध्यानाकर्षणपत्रमा गत असोज ११ र १२ गते गएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुलीलगायत जिल्लामा धेरै बस्ती डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरुलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरु लाग्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।      प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा सम्बोधनका लागि तत्काल पठाइने उल्लेख गर्दै विपद्को पूर्वतयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी:    सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन ।  पुल नबन्दा यस क्षेत्रका बासिन्दलाई आवतजावतमा सास्ती भइरहेको छ । पुल नहुँदा कुरनमा, बरदाही, बनैनियाँ, मोहनपुर, रम्पुरा, फकिरा, कन्कटालगायतका स्थानीयलाई समस्या भइरहेको स्थानीयवासी रमानन्द शर्माले  बताउनुभयो ।  वर्षायाममा नदी छेउमै रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई आवतजावतमा निकै समस्या भइरहेको उहाँले बताउनुभयो ।  “वर्षायाममा समस्या भएकाले यहाँका बालबालिका अर्को विद्यालय रोज्न बाध्य छन् । चार किलोमिटर टाढा रहेको विद्यालय जाने नदीमा पुल नहुँदा वर्षायाममा समस्या हुन्छ । हरेक वर्ष यस्तै समस्या हुने भएपछि विद्यालय जानबाट वञ्चित हुनुका साथै कतिपयले विद्यालय छोडिरहेका छन् ।”  राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पनि यहाँ पुल नबन्दा स्थानीयलाई पालिका आउन पनि लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।       विसं २०६९ मा काठमाडौस्थित नीलगिरी निर्माण सेवाले रु एक करोड सात लाखमा पुल निर्माणका ठेक्का पाएर निर्माण काम सुरु गरेको थियो । दुई वर्षमा काम सम्पन्न गर्ने भनिए पनि छ वर्ष बितिसक्दा पनि पुल निर्माण हुनसकेको छैन । दुई वटा पिलर (वेल) मात्र बनाएर काम रोकिएको छ ।  सडक डिभिजन कार्यालय लहानले कम्पनीसँगको ठेक्का तोडिसकेको छ । कार्यालय प्रमुख आशुतोष कर्णले निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरी अलपत्र पारेपछि ठेक्का तोडिएको बताउनुभयो ।

पोखरा:    पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ ।  एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो र तेश्रो वार्षिकोत्सवको अवसरमा पहिलो र दोश्रो किस्ता गरेर २ लाख २ रुपैयाँ प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको तेश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत कात्तिक १० गते आयोजना गरेको आमस्मिक रक्तदान कार्यक्रम गर्दा २५१ युनिट रगत संकलन भएको थियो ।   कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं ।’–उनले भनिन् । कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले २०८२ साल सम्ममा सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा आफूहरु रहेको भन्दै सो कार्यका लागि सहयोग गरेकोमा एभरेस्ट एफएमलाई धन्यवाद दिए । पोखराको छोरेपाटनमा आमा र हेमजामा बुबाहरुको लागि आश्रम बनाएको भन्दै उनले भने,‘असक्तहरुलाई पालनपोषण गर्ने, परिवार भएकालाई पुर्नमिलन गर्ने कामपनि गरिरहेका छौं ।’ कार्यक्रममा सञ्चालक समितिका सदस्य सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, वोर्ड सदस्य दीपक कार्कीलगायतले बोल्दै एफएमले छोटो समयमै सफलता हासिल गरेकाले यसलाई कायम राख्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।   यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो । यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट सहायक लेखापाल जमुना तिमिल्सिना पराजुली पुरस्कृत भएकी छन् । । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पराजुली पुरस्कृत भएकी हुन् । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पराजुलीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु मीनाकुमारी गुरुङ, सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, धनकुमारी रायमाझीलगायतले सम्मान गरेका थिए । यसअघि दोश्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ र तेश्रो वार्षिकोत्सवको अवसरमा शशी पौडेल बेष्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए ।