काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु २ लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु १ लाख थप गरी रु २ लाख उपलब्ध गराउने निर्णय गर्नुभएको हो । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पु¥याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसक्नुभएको छ । देशभर हरेक वर्ष मृर्गौला प्राप्तिका लागि १ हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ । विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अङ्गदान गर्न पाउँदैनन् । मृत्युपश्चात् भने अङ्ग दान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । हाल भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि २ सय मृर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कूल अङ्ग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् ।मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले स्वास्थ्यमन्त्री पौडेलको यो निर्णय सकरात्मक रहेको बताउनुभयो । “एक वर्षमा हजारौँ मानवको मष्तिष्क मृत्यु हुन्छ । एक जनाबाट आठ वटा अङ्ग प्राप्त हुन्छ । जनचेतनाको अभाव, अस्पतालसम्मको पहुँच नहुनुलगायत विभिन्न कारणले दान दिने परिवार कम छन् । अङ्ग दानले कसैको ज्यान बच्नुका साथै आर्थिक सहायता पनि हुन्छ”, उहाँले रासससँग भन्नुभयो । केन्द्रका अनुसार हालसम्म पाँचजना मष्तिष्क मृत्यु भएकाबाट १० वटा मिर्गौला र तीन वटा कलेजो प्रत्यारोपण गरिएको छ । यथाशीघ्र मुटु र फोक्सो प्रत्यारोपणको पनि तयारी भइरहेको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल एक हजार बढी मृर्गौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन् । सरकारले मानव अङ्ग प्रत्यारोपण नियमावली, २०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेनडेथ)भएका व्यक्तिको अङ्ग झिकी जीवित व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने व्यवस्था गरेको छ ।
लमजुङ: सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् । गत वर्षदेखि च्याउखेतीको सुरुआत गरेका विद्यार्थीले यसवर्ष व्यावसायिक रूपमा ६ सय ५० पोका च्याउ नगरपालिकाबाट अनुदानमा पाएपछि उत्पादनमा ज्टेका हुन् ।विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शर्माका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ उनीहरुले बजारमा बेच्ने गरेका छन् । च्याउ बिक्रीबाट प्राप्त भएको आम्दानीबाट खेती गर्दाको खर्च कटाएर उनीहरुको शैक्षिक क्रियाकलाप, छात्रवृत्ति, राहत र अतिरिक्त क्रियाकलापमा खर्च गरिने उहाँले जानकारी दिनुभयो । गतवर्ष सानो सङ्ख्यामा परीक्षणको रूपमा च्याउखेती थालेका विद्यार्थी उत्पादन भएपछि यसतर्फ थप आकर्षित भएका छन् । “विद्यार्थीहरुले उत्पादन गरेको च्याउ भनेपछि बजारमा सबैले किनिदिनुहुन्छ । यसले उनीहरुलाई उत्साह पनि बढेको छभने विद्यार्थीले सीपसमेत सिकिरहेका छन्”, प्रधानाध्यापक शर्माले भन्नुभयो । विद्यालयले यो शैक्षिक सत्रदेखि साताको एक दिन किताबबिना विद्यालय बोलाउने गर्दछ । उक्त ‘बुक फ्रि डे’को दिन विद्यार्थीलाई विभिन्न परियोजनात्मक काममा लगाउने गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त दिन विद्यार्थीले विभिन्न व्यवहारिक सीप सिक्ने र सोही सीपलाई आफ्नो समाज र परिवारमा उपयोग गर्ने गरेका छन् ।” अतिरिक्त क्रियाकलाप, कृषि कार्यक्रम, विभिन्न स्थानको अवलोकन, बजार सरसफाइलगायत व्यवहारिक काममा विद्यार्थीलाई सक्रिय बनाउने गरिएको प्रअ शर्माले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरु किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, अवलोकन, अध्ययन र सीपमूलक काममा लगाउने गरिएको हो ।यही परियोजनाअन्तर्गत विद्यार्थीले बिहीबार र शुक्रबार च्याउखेती गर्न थालेका प्रअ शर्माले जानकारी दिनुभयो । “च्याउ उत्पादनका लागि पराल तथा पानी उमाल्न दाउरा विद्यालयले खरिद गरी उपलब्ध गरिदिएको छ । २ सय ५० पोका च्याउ अनुदानमा सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाले उपलब्ध गराइदिएको हो”, उहाँले भन्नुभयो । “च्याउका पोकालाई राख्नका लागि विद्यालयले कोठा उपलब्ध गराएको छ । च्याउ उत्पादन भएपछि विद्यार्थीले विभिन्न तौलका पोका बनाएर बजारमा बिक्री गर्दछन्”, प्रअ शर्माले भन्नुभयो, “विद्यार्थीलाई स्थानीय नागरिक तथा विद्यालयका शिक्षकहरुले सहयोग गरिरहेका छौँ ।” गतवर्ष परीक्षणको रूपमा ४० पोका च्याउखेती गरिएको भन्दै त्यसबाट रु ३८ हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।विद्यार्थीहरुकै रेखदेखमा उत्पादन हुने च्याउका लागि प्राविधिक सहयोगसमेत कृषि विकास शाखाले उपलब्ध गराएको छ । गत वर्ष उत्पादन भएको च्याउबाट विद्यार्थीले परिवारमासमेत आफ्नो मेहनतको स्वाद चखाउन पाएका थिए भने शैक्षिक क्रियाकलापका लागि केही रकम जम्मा पनि गरेका विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीद्वारा उत्पादित च्याउमा कुनै विषादी प्रयोग गरिँदैन । बजारमा बाहिरबाट आउने च्याउभन्दा स्वस्थकर हुने भएकाले उपभोक्ताले पनि रुचाएका विद्यार्थी र शिक्षकको अनुभव छ ।विशेषगरी विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक अभ्यास गराउने उद्देश्यसले यो कार्यको थालनी गरिएको विद्यालयले जनाएको छ । “किताब पढ्ने मात्रै होइन यसलाई व्यवहारमा उतार्न पनि च्याउखेती गरेका हौँ”, कक्षा ८ की छात्रा अनुशा अधिकारीले भन्नुभयो, “भविष्यमा कृषि गर्न चाहनेलाई यसले सीप र अनुभव दिन्छ भने अन्य व्यक्तिलाई सिकाउन पनि सकिन्छ ।” कक्षा ७ की संस्कृति श्रेष्ठले पढाइसँगै सीप र आम्दानीबाट शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भनेर च्याउखेती गर्दै आएका बताउनुभयो । “बुक फ्रि डेबाहेक अन्य दिनमा सैद्धान्तिक अध्ययनबाट बचेको समयमा च्याउखेतीको हेरचाह गर्ने पालो मिलाएका छौँ”, उहाँले भन्नुभयो ।
पोखरा: अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्राङ्गणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने र त्यसको कार्यान्वयनका लागि ८५ वटै पालिकालाई पत्रचार गरिनुपर्ने पहिलो माग गरिएको छ । अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयलाई पहुँचयुक्त बनाउनुपर्ने, पहुँचयुक्त सार्वजनिक सवारी सञ्चालन गर्न, फुटपाथसहित सडक संरचनालाई अपाङ्गतामैत्री बनाउन, सरकारी संरचनाहरुको पहुँचयुक्तता परीक्षण गरी सुझावअनुसार पहुँचयुक्त बनाउन र नयाँ बन्ने सबै पूर्वाधार अपाङ्गमैत्री हुनुपर्ने मागसमेत केन्द्रले गरेको छ । पत्र बुझेपछि मन्त्री केसीले कानुनमा भएका तर कार्यान्वयन नभएका विषयलाई कार्यान्वयन गर्न सक्दो प्रयास गर्ने बताए । उनले अपाङ्गमैत्री पूर्वाधार, अपाङ्गमैत्री कानुन बनाउने विषयमा सरकारलाई निरन्तर झक्झाउन आग्रह गरे ।
जनकपुरधाम: बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहनगरपालिको निर्देशन विपरीत आज नऔँ दिन पनि संस्थागत विद्यालय बन्द भएका छन् । शनिबार दुवै पक्षबीच भएको वार्तापछि संस्थागत विद्यालय आजदेखि सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले निर्देशन दिएको थियो । सो निर्देशनको पालना नगरेमा कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनीसमेत दिएको थियो । तर उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ(हिसान)ले विद्यालय खोल्न दिएको निर्देशनविरूद्ध पठनपाठन ठप्प पारेको छ । संस्थागत विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने अधिकार हनन् नगर्न जनकपुरधाम उपमहानगरले संस्थागतक विद्यालय सञ्चालकलाई आग्रह गरेको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले बताउनुभयो । आन्दोलन गर्न पाउनु अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नहुने उहाँको भनाइ छ । रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिई विद्यार्थी पढाउन नसकिने बताउँदै हिसानले थप अन्य शीर्षकमा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएको छ । विद्यालय सञ्चालन गराउन शिक्षण संस्था सम्बद्ध सङ्गठनसँग पटकपटक वार्ता गरिए पनि वार्ता निष्कर्ष निस्केपछि बन्दलाई निरन्तरता दिएको संस्थाका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिनुुभएको हो । निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मङ्सिर ११ गतेभित्र स्वमूल्याङ्कन फाराम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो । प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फाराम आग्रह गर्दै समझदारीका साथ निचोडमा पुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गर्नुभयो । बैठकमा एशोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले पिजीका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलबसरह निर्वाह भत्ता उपलब्ध गराउन भनेर आयोगले एकपक्षीय निर्णय गर्न नसक्ने भन्दै निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । आयोगको जारी बैठकमा गत आर्थिक वर्षको प्रगति विवरण, चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा नीतिगत संशोधन, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको आशयपत्र र सम्बन्धन, स्वामित्व हस्तान्तरण, छात्रवृत्तिलगायत कार्यसूची रहेका छन् ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पाँचौं पटक म्याद थप गरिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । न्यायाधीश भिमलाल बेल्बासेको इजलासले रविमाथी थप १५ दिन थुनामा राख्न अनुमति दिएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई सोही दिननै पोखरा ल्याइएको थियो । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीविरुद्धसहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
मनाङ: जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् । मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङले बताउनुभयो । उहाँका अनुसार चार हजार ९१९ मिटरमा उचाईमा अवस्थित तिलिचो, भ्राकामा पर्ने चार हजार ६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका हिमताल यतिबेला जमेका छन् । चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । उहाँका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ । मनाङमा मङ्सिर–पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्याधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका स्थानीय बताउँछन् । चिसोका बावजुत पनि मनाङका ताल हेर्न पर्यटक आउने क्रम जारी छ । हिमताल भएको स्थान भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि अझ ती तालतलैया हिँउले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता नै हुन् । पर्यटकहरु चिसोले नदी, खोला, तालतलैयाका जमेका चट्टानमा खेल्न रुचाउने गरेका पाइएको छ ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ । मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजीक्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको औँल्याउनुभयो । मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो । “निजी क्षेत्र र सरकारबीच सहकार्य भए समृद्धि टाढा छैन”, मन्त्री भण्डारीले भन्नुभयो, “सरकार निजी क्षेत्रले भनेअनुसार बाधक रहेका सबै कानुन संशोधन गर्न तयार छ, निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउनका लागि बनाउनुपर्ने कानुनका विषयमा आवश्यक छलफलसहित सुझाव दिन म आग्रह गर्दछु ।” उद्योग मन्त्रालयसँग सम्बन्धित ऐन, नियम र कानुन लामो समयदेखि संसद् र संसदिय समितिमा अड्किएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले एउटा मन्त्रालयको कानुनले अर्को मन्त्रालय नचिन्ने वातावरण हटाउन सरकार नीतिगत रूपमै लागेको जानकारी गराउनुभयो । शिक्षा र रोजगारीका लागि विदेशिएका युवालाई यथेष्ट सहुलियत दिएर स्वदेश फर्काउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले निजीक्षेत्रको उत्तिकै सहयोगको खाँचो औँल्याउनुभयो । रूग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आयोग बनाएर आवश्यक रणनीति बनाउन सरकारले छलफल थालेको उहाँको भनाइ छ । सो समारोहमा उद्योग सचिव कृष्णबहादुर राउत, वाणिज्य सचिव गोविन्दबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, महासङ्घका उपाध्यक्ष शुरकृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल उद्योग व्यापार महासङ्घका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठ, महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवाली लगायतले बजार चलायमान बनाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँहरूले नेपाली उत्पादनको उपभोग बढाउन नसकेकामा चिन्ता प्रकट गर्दै नेपालमा उत्पादित वस्तु मेला, महोत्सव तथा प्रदर्शनीमा मात्र सिमीत बनेको गुनासो गर्नुभयो । सरकारी स्तरबाटै नेपाली उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै उहाँहरूले नेपाली उत्पादनको उपभोग नबढेसम्म बजार चलायमान हुन नसक्ने बताउनुभयो । साथै वक्ताहरूले आयात प्रतिस्थापनमा जोड दिँदै बाहिर मुलुकबाट आउने वस्तुको भन्सार दरभन्दा नेपाली उद्योगले आयात गर्ने कच्चापदार्थको भन्सार महशुल बढी हुँदा नेपाली उद्योगी मर्कामा परेको गुनासो गर्नुभएको थियो ।
काठमाडौं: मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो । जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा तथा नेपालबाट नेता थापाका साथै सांसद डा सुनिल शर्मा, व्यवसायी जीवन खड्का एवं जापानस्थित नेपाली राजदूतावासका प्रतिनिधि उपस्थिति रहेको सो दूतावासले जनाएको छ । भगिनी सम्बन्ध कायम गरिएको सो टाउन तानेसीगामा नगरमा पर्दछ । एरोस्पेस टाउनका रुपमा परिचित सो नगर जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो । सो कार्यक्रममा नेपाली कांग्रेसका सांसद डा शर्माले दुई पालिकाबीचको सम्बन्ध उदाहरणीय र ऐतिहासिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाना र आधारभूत शिक्षाका लागि सङ्घर्ष गरिरहेको नेपालको एक गाउँ र अन्तरिक्षमा रकेट पठाई मानवबस्ती बसाल्ने परिकल्पना गरिरहेको अर्को सहरबीचको यो सम्बन्ध अत्यन्तै उदाहरणीय र सुमधुर बन्नेछ ।” नेपाल र जापानबीचको सम्बन्ध सरकारका बीचको मात्र नभएर जनता जनताबीचमा पनि उत्तिकै पुरानो र सुमधुर रहेको डा शर्माले बताउनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी मिनामितानेका टाउनका प्रमुख हिरोयासु कोजोनोले नेपालबाट जापानसम्म आई दुई पालिकाबीच सम्बन्ध जोड्ने अवसर प्रदान गरेकामा धेरै खुसी लागेको बताउनुभयो ।