हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

सर्लाही:    उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो ।  विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् ।       विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू हैरान हुनु परिरहेको थियो । तर, यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताउनुभयो ।      पाण्डेले यस वर्ष चार बिघामा उखु लगाउनु भएको छ । पहिलोपल्ट उहाँले गत मङ्सिर २७ गते उद्योगमा उखु बेच्नु भएको थियो । इन्दुशङ्कर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुसीले गद्गद् हुनुभयो । “अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “किनकी यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ ।”      सुरुमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको हैन । तर, यस वर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि ऊखुखेतीप्रति आकर्षण बढेको पाण्डेले सुनाउनुभयो । उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उहाँ बताउनुहुन्छ ।      हरिवन नगरपालिका–३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ । विगतका वर्षमा झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उहाँ कामना गर्नुहुन्छ । हरिवनको इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उहाँले बताउनुभयो । राज्यलेसमेत अनुदानवापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उहाँको धारणा छ ।      विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानलाई दुःख पाउनु हँुदैन”, उहाँले भन्नुभयो, “समयमै भुक्तानी सुरु गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ । किसान पनि खेती गर्न उत्साहित हुन्छन् ।” यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन् ।       यस उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । किसानहरूसँग एक महिनाभित्र भुक्तानीको सहमत भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उहाँको भनाइ छ ।  महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट छ लाख १७ हजार दुई सय क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको रु २८ करोड भुक्तानी गरिसकेको छ ।       गत मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो । यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रुपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताउनुभयो ।  किसान खुसी पारेर उखु तान्न समेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।      जिल्लामा सञ्चालनमा रहेकामध्ये गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमासमयमै भुक्तानी नगरेको किसानहरूको भनाइ छ ।  रामनगर गाउँपालिका–४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै सङ्घर्ष गर्नुपरेको सुनाउनुभयो । यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेका छन् । गत मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ ।       विगतको वर्षमा उखु दिएको वर्षौंसम्म पैसा नपाएका किसानले यसवर्ष भने उखु बेचेको १५÷१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुसी व्यक्त गरेका छन् । धन्कौल–५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनको दिन पैसा पाएको भन्दै यस वर्ष उखु नगदमै बेचेको प्रतिक्रिया दिनुभयो ।  “हामीले सधैँ उधारोमा उखु उद्योगलाई दिँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “हामीसँग अरु विकल्प पनि थिएन । तर यस वर्ष पैसा पनि आइरहेको छ ।” अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस÷माघको ठन्डीमा काठमाडौँ जान नपरोस् भन्ने उहाँको पनि कामना छ ।      पन्ध्र लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ । राज्यले तय गरेको समर्थन मूल्य पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो ।       जिल्लामा सबैभन्दा सुरुमा सञ्चालनमा आएको यस उद्योगलाई किसानहरूले विश्वास नगर्दा उखु नपाएर उद्योग पटकपटक बन्द हुँदै सञ्चालन हुँदै गरिरहेको छ । उद्योगको ढोकै नजिकबाट रौतहट र महोत्तरीका उद्योगले उखु लगेपछि अन्नपूर्णले स्थानीय जनप्रतिनिधि समेत गुहार्नुपरेको थियो ।       स्थानीय जनप्रतिनिधिले अन्य उद्योगको उखु सङ्कलन केन्द्र (काटा) राख्न नदिएपछि यस उद्योगले केही राहतको श्वास फेरेको छ । स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानहरूलाई जबरजस्ती बाध्य पारेको किसानहरूको गुनासो छ ।  स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारीदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ । उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका मेयर रामाशङ्करप्रसाद कुशवाहाले बताउनुभयो ।      गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग पनि किसानलाई नियमित भुक्तानी दिएर किसान फकाउन लागिपरेको छ । विगतमा किसानसँग बिग्रिएको सम्बन्ध समेत सुधार गर्ने योजनासहित यस वर्ष उखुको भुक्तानी प्रत्यक १५ दिनमा किसानहरूको खातामा पठाइरहेको उद्योगले जनाएको छ । यस उद्योगमा उखु बेचेका गोडैता नगरपालिका–५ का उखु किसान रामविनय महतोले उखुको भुक्तानी पाएको बताउनुभयो ।       हालसम्म दुई सय क्विन्टल उखु बेच्नु भएका उहाँको खातामा आजसम्म एक सय ५० क्विन्टल उखुको पैसा जम्मा भइसकेको छ भने बाँकी रकम पनि एक÷दुई दिनमा जम्मामा उहाँ ढुक्क हुनुहुन्छ । “यसपटक विगत वर्षहरुमा जस्तो उखुको भुक्तानी माग्न पटकपटक उद्योगी र कर्मचारी खोज्दै उद्योग धाउन परेन”, उहाँले भन्नुभयो । “पहिला उखु दियो पैसा माग्न धाउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “यसपटक १५ दिन पहिला नै उखुको पैसा खातामा आइसकेको छ ।”      विष्णु गाउँपालिका–७, का सिकिन्दर मण्डलले अघिल्लो वर्ष उखु उधारोमा मिललाई दिएर साहुसँग ऋण गरेर परिवारको पालनपोषण गरेको तीतो यथार्थ पोख्नुभयो । “उखु बेचेर पनि समयमै भुक्तानी नपाउँदा ऋणमा डुब्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “त्यसैकारण मैले धेरै उखु हटाएर अन्य बाली पनि लगाएँ । तर, खोला र जङ्गल नजिकका खेतमा जङ्गली जनावर र वर्षाको भलले अन्य बाली पनि राम्रो भएन । अब उखु नै लगाउने निधो गरेँ ।”       मङ्सिर १२ गतेदेखि सञ्चालनमा आएको यस उद्योगले पनि यस वर्ष हालसम्म पाँच लाख दुई हजार क्विन्टल बढी उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत शिवशङ्कर महतोले बताउनुभयो । उहाँका अनुसार यस उद्योगले यसवर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।  उद्योगले क्रसिङ गरेकोमध्ये २५ दिनको उखुको भुक्तानी गरिसकेको र १५ दिनको बाँकी रहेको उद्योगका प्रशासकीय अधिकृत महतोको भनाइ छ । किसानले ल्याउने उखुमा चिनीको मात्र कम हुँदा उद्योग सङ्कटमा परेको उहाँको भनाइ छ । 

मकवानपुर:   जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।       गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।       साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पोखरा:  कास्कीको मादी गाउँपालिका–१ पर्यटकीय गाउँ सिक्लेसमा यही माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै सिक्लेस माघे संक्रान्ति मेलाको बारेमा जानकारी दिएको हो ।  सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले क्लबको ३० औं वार्षिकोत्सव एवम् माघे संक्रान्तिको अवसरमा मेला आयोजना गरिएको बताए ।  ‘कास्कीको उत्तरी भेगमा अवस्थित सिक्लेस पर्यटकीय गाउँ हो, गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा हामीले माघ १ देखि ४ गतेसम्म सिक्लेस माघे संक्रान्ति मेला आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘ग्रामिण पर्यटन प्रवद्र्धनका लागि खेलकुदको माध्यमबाट आपसी भाइचाराको भावना विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना  गरिएको हो ।’ अध्यक्ष गुरुङले ४ दिनसम्म सञ्चालन हुने मेलामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला पुरुष बास्केटबल, गुरुङ गीतमा सामुहिक नृत्य, ठेलो प्रतियोगिताहरु आयोजना गरिएको बताए ।  उनका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष बास्केटबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मेलाको अवसरमा नै आयोजना गरिएको गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेताले ४५ हजार र तेस्रो हुने समूहले ३० हजार, उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकले ५÷५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै मेलाको अवसरमा नै आयोजना गरिएको ठेलो प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।    मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले मेलाले सिक्लेस लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।  ‘माघे संक्रान्ति मेलाको अवसरमा हामीले सिक्लेस लगायत नेपालकै कम उचाई अवस्थित क्हफुचे हिमताल, कोरी लेक लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्य पनि हो, वडाध्यक्ष गुरुङले भने ।   ४ दिनसम्म सञ्चालन हुने मेलामा करिव १३ लाख आम्दानी हुने अपेक्षा आयोजकले राखेको छ । पोखराबाट ४० किलोमिटरको दुरीमा पर्ने अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेसमा करिव २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल र होमस्टेको व्यवस्था रहेको छ ।  सिक्लेसबाट गुरुङ जातिको पैतृक थलो क्होलासोथर एकैदिनमै पुग्न सकिन्छ । साथै घलेखर्क, ताराहिल सिक्लेस पदमार्ग, गुरुङ सम्पदा पदमार्ग सिक्लेसको पर्यटन क्षेत्रमा थप आकर्षकको गन्तव्यको रुपमा रहेको छ ।   

पर्वत:    चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ ।  चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो ।  दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।  पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ ।   चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ ।  चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्दछ । यसका लागि कम्पनीले प्रतिकिलो रु २० का दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी रु आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ ।  छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो । यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताउनुभयो । उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ ।       कम्पनीले पहिलोपटक एक हजार दुई सय सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो भएको हो ।  डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावरअन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउनुभयो ।  पर्वतमा चुत्रो समुद्री सतहबाट एक हजार मिटर उचाइदेखि तीन हजार मिटर उचाइसम्म पाइने गरेको उहाँको भनाइ छ । बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उहाँको भनाइ छ ।   नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद बिक्रीका लागि पुर्जी जारी गर्नसमेत नपर्ने उहाँले बताउनुभयो ।  चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन नसकेको उहाँको भनाइ छ ।  जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जङ्गल आसपासमा चुत्रको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन् । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।  सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भन्नुभयो ।  “मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो ।”  उहाँले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्त बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौं:   अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ ।  गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।    गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।       राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।  यस्तै, काठमाडौँ  उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।       राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।  विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

ताप्लेजुङ:    ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।  फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौंः    नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्या समाधान सहज ढङ्गले हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताउनुभयो ।  सो अवसरमा उहाँले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स ९बिआइएस० को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका  जलविद्युत् तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताउनुभयो ।   अध्यक्ष ढकालले मुन्द्रा (गुजरात), धामरा (उडीसा) र जवाहरलाल नेहरू बन्दरगाह ९मुम्बई० लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान गर्नुभएको थियो ।  नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गकै रूपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायत विषयमा छलफल गरेका थिए ।   संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा  आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।    बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गर्नुभएको थियो । भारतका वाणिज्य सचिव बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्यवनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दामा यो बैठक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो ।  सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको तथा त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताउनुभयो ।  यस्तै भारतीय पक्षबाट एन सुनिल कुमारले नेपाल–भारतबीच  सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताउनुभयो । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।