एजेन्सी: इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर आक्रमण गरेको छ । बिहीबार भएको आक्रमणमा प्यालेस्टिनी इस्लामिक समूह हमासको नेतृत्वमा रहेको गाजा क्षेत्रको खान युनिसका प्रहरी बलका प्रमुख, उनका सहायक र अन्य नौ जनाको मृत्यु भएको बताइएको छ । गाजाको नागरिक सुरक्षा निकायले बिहीबार इजरायलले गरेको अन्य दुई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको खान युनिस क्षेत्रमा रातभर आक्रमण गरेको पुष्टि गरेको छ र आक्रमणमा इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएका प्रहरी उपप्रमुख हुसाम शाहवानलाई लक्षित गरिएको थियो । नागरिक सुरक्षा निकाय (प्रहरी) का अनुसार आक्रमणमा शाहवानसहित ११ जनाको मृत्यु भएको थियो । गाजाका उद्धारकर्ता र अधिकारीहरूका अनुसार प्रहरी बलका कमान्डर महमुद सलाहको पनि मृत्यु भएको थियो । 'दक्षिणी गाजा क्षेत्रको खान युनिस शहरको पश्चिममा रहेको अल–मावासी क्षेत्रमा विस्थापितहरूको बासस्थान रहेको टेन्टमा इजरायली बम बारी गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्,' प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्बबराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसिसी र नेपाल सरकारबिचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारणलाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ । प्रसारणलाइन निर्माणपछि नेपाल–भारतबिच तीन हजार मेगावाट बिजुली आदान–प्रदान सम्भव हुनेछ ।
बेनी: एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । 'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले भने, 'हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।' खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए । प्रति १२ कोसा (दर्जन) एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले बताए । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ । खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले जानकारी दिए ।
काठमाडौं: दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एपीले जनाएको छ । मृत्यु भएका व्यक्तिहरूको पहिचान, र तिनीहरू विमानमा थिए वा जमिनमा, अहिलेसम्म थाहा छैन, फुलर्टन प्रहरी प्रवक्ता क्रिस्टी वेल्सलाई उद्धृत गर्दै एपीले जनाएको हाे । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको थियो।
काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।
भोजपुर : रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो । आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताउनुभयो । सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उहाँले जानकारी दिनुभयो । गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीमा मेला लाग्ने गरेको छ । भोजपुर र खोटाङसँगै देशका विभिन्न स्थानबाट भक्तजन पूजार्चनाका निम्ति यहाँ आउने गरेका छन् ।
काठमाडौं: मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।
काठमाडौं: वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो”, पक्राउ परेका निज गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
काठमाडौं: विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक/एक लाख जरिवाना तिराइएको हो । जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक/एक लाख सहयोग गरिएको हो । बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडाँैका लागि उक्त विमान उडेको थियो । यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए । उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाडौँबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो । अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा क्रमशः रु एक लाख क्षतिपूर्ति तिराइएको थियो । आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ । हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन पनि सक्छन् । कम्पनीले अनाकहमा आकस्मिक ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम रु एक लाख तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।

