काठमाडौं: प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको आजको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पु¥याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले उपसमितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारलाई स्वीकार रहेकाले उक्त विधेयक पारित गर्न अनुरोध गर्नुभएको थियो ।
इलाम: इलामको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो । “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिनुभयो । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।” गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उहाँको भनाइ छ । तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् । रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताउनुभयो । गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँको भनाइ छ ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ । मङ्गलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिनुभयो । प्रतिवादीहरुको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनचेक बहस सुरु भएको थियो । बधुबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गर्नुभएको थियो । जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु हुने बताउनुभयो । “प्रतिवादी तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनचेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
काठमाडौं: काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
काठमाडौं: बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए ।
काठमाडौं: के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरिवासी कहाँ जाँदै ? नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सेवा अथवा सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ । साथै चन्द्रागिरिवासीलाई भेट गर्न जाँदै हुनुहुन्छ भने चिन्ता लिनुपर्दैन । यी कामका लागि नगरपालिकाले पहिलो पटक ‘गुगल प्लस कोड’ सहित सडक, चोक पहिचान, तथा ‘डिजिटल’ घर नम्बरको ‘प्लेट’ टाँस कार्यको शुभारम्भ गरेको छ । जिपिएस÷जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरण तयार भएको छ । यसबाट नगरवासीले ‘अनलाइन’ बाट नगरका सेवा उपयोग गर्न पाउने छन् भने नगरका चोक सडकको पनि पहिचान एवं घर नम्बर ‘डिजिटल’ भएका छन् । नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “जिपिएस/जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल कार्यान्वयनमा आएको छ । ‘गुगल प्लस कोड’ सहितको प्रोफाइलले सडक चोकको पहिचान तथा घर नम्बर प्लेट ‘डिजिटल’ तयार भएको छ । यसबाट चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ मा रुपान्तरण हुन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर नगरबाट प्राप्त हुने सबै सेवा पाउने सहज हुनेछन् । कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने सजिलो हुनेछ । विश्वको कुनै पनि स्थानबाट चन्द्रागिरिमा भएका विकास निर्माण, व्यक्तिको घर,सडकको बारेमा सजिलै जानकारी लिन सक्नेछन् ।” ‘डिजिटल’ घर नम्बर तथा सडक चोकको नामकरणको महत्व जिपिएस र जिआइएस प्रणालीमा नगरपालिका भित्रका सबै घरधुरीको तथ्याङ्क सङ्ग्रह गरिएको छ । यसका लागि नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको थियो । नगरका वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरिएको थियो । पहिलो चरणमा लगभग १९ हजार घरमा ‘गुगल प्लस कोड’सहितको सडक चोक पहिचान तथा ’घर नम्बर ‘डिजिटल टाँस गर्ने नगरपालिकाले तयारी थालेको छ । पछिल्लो जनगणनाअनुसार नगरमा लगभग ३५ हजार घर रहेका छन् । विभिन्न चरणमा तथ्याङ्कको भेरिफिकेशन गरिएको थियो । तथ्याङ्क संकलन पश्चात् बनेका घरधुरीलाई जिपिएस÷जिआइएस प्रणालीमा आवद्ध गर्न सकिने प्रवाधान समेत राखिएको जनाइएको छ । ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गरिएको थियो । ती ‘डिजिटाइज’ तस्बिरलाई अस्थायी नम्बर समेत दिइएको थियो । घरधनिको सोही नम्बर अथवा फोन नम्बरका आधारमा सडक, चोक तथा घरको पहिचान हुने जनाइएको छ । नगरका हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन भएका थिए । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गरेका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो, “ ‘गुगल प्लस कोड’सहितको सडक, चोक पहिचान तथा ‘डिजिटल’घर नम्बरले नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी आउने छ । सेवासंग प्रविधिको लिङ्क भएको छ ।” नगर ‘प्रोफाइल’ तयार गर्नेक्रममा व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली घरधनीले भरेका थिए । व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिएका थिए । यसमा विद्यालय, मठ मन्दिर, सार्वजनिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन भएका छन् । घर तथा बाटोघाटाका ‘लोकेसन’ पनि व्यक्तिगत विवरणमा उल्लेख छन् । नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गरेको जनाइको छ । सोही घर नम्बरका आधारमा जिपिएस रजिआइएस ट्रयाक गरिएको । अब टोल टोलमा ‘डिजिटल बोर्ड’ रहने छन् । जिपिएस/जिआइएस ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ । नगरपालिकाले अनलाइनमार्फत सेवा प्रवाह गर्नेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा चुस्त हुने अपेक्षा लिइएको छ । अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त ? भन्ने जिज्ञासामा नगरप्रमुख गिरीले भन्नुभयो, “नगरवासीका लगभग सबै विवरण ‘डिजिटाइज’ भएका छन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत सेवा प्रवाह हुन थालेका छन् ।” नगरपालिकाले अनलाइनबाट घर नक्शा पास व्यवस्था प्रणाली (इबिपिएस) कार्यान्वयनमा ल्याइसकेको छ । उहाँले भन्नुभयो, “जिपिएस÷जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार भएको छ । ‘गुगल प्लस कोड’ सहितको यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थापनमा कोसेढुङ्गाको काम गर्नेछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले बिना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्ट सिटी’ बनाउने काममा लागेका छौँ ।” नगरलाई ‘स्मार्ट सिटी’मा रुपान्तरण गर्ने उहाँको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिनुभयो । नगरपालिकका प्रशासकीय अधिकृत अर्यालका अनुसार जिपिएस/जिआइएस प्रणालीले स्थानको मात्र लोकेशन मात्र नभई नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवालाई सहज , सरल र एकीकृत एवम् त्रुटिरहित बनाउन उपयोग गर्न सहयोग पु¥याउनेछ । उहाँले भन्नुभयो, “नागरिकलाई प्रविधमैत्री बनाउँदै प्रविधिको उपयोगमा अभ्यस्त गराउन यसले सहयोग पु¥याउँछ । नगरपालिकाले आफ्ना सबै सेवा प्रवाहका क्रियाकलापलाई डिजिटाइज गर्दै अटोमेसन लैजाने तयारी गरेको छ । ” हालसम्म घरनक्शा पास प्रणाली , राजश्व प्रणाली न्यायिक समिति सञ्चालन प्रणाली, नगरपालिपालिका, वडा कार्यालय, सबै स्वास्थ्य सस्था, विद्यालय समेतको एकीकृत डिजिटल हाजिरी प्रणाली जस्ता प्रणाली सञ्चालनमा आएका छन् । काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँ विकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार नौ सय २८ छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक आज अपराह्न १ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्दै छ । पार्टी प्रचारविभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा यही पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकका ‘एजेण्डा’, समसामयिक राजनीति, कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।
काठमाडौं: ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् । साथै इशान पाण्डे, विपीन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जय ट्रफी मेन्स एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।

