पोखरा महानगरपालिका १५ स्थित फलेपाटनमा सातौं खुला व्यायामशाला सञ्चालनमा आएको छ । आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको व्यायामशाला पोखरा महानगरपालिकाको सहयोगमा निर्माण भएको हो । उक्त व्यायामशालाको उद्घाटन वडाध्यक्ष तोरण बानियाँले गरे । सो अवसरमा बोल्दै उनले वडाबासी स्वस्थ्य र निरोगी बन्नुपर्ने सन्देश दिने उद्देश्यसहित वडाका विभिन्न स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याइएको बताए । ‘यसअघि हामीले वडाकै २० लाख लागतमा ६ वटा स्थानमा खुला व्यायामशाला निर्माण गरिसकेका छौं, अहिले महानगरको सहयोगमा यो बनाएका हौं, उनले भने, ‘मुख्यगरी नागरिक निरोगी र तन्दुरुस्त हुनुपर्छ भन्ने सन्देश दिन निर्माण गरिएको हो ।’ उनले नागरिक स्वस्थ्य भए समाज रुपान्तरण हुने बताउदै वडाले नागरिकमैत्री कार्यक्रमहरु अघि सारेको बताए । वडाले विभिन्न समयमा युवा, महिला तथा बालबालिका लक्षित अभिमुखीकरण कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । वडाको विभिन्न स्थानमा यसअघि २० लाखको लागतमा ६ वटा खुला व्यायामशाला सञ्चालनमा आइसकेको छ । व्यायामशाला उद्घाटन समारोहकाबीच फलेपाटन टोल विकास संस्था र आदर्श आमा समूहको सँयुक्त आयोजनामा बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ । सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ । रोशीस्थित बिपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ । उक्त विपद्मा परेर अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भइसकेको छ । अझै १८ जना जना बेपत्ता छन् ।
उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताउनुभयो । “बर्खा रोकिएपछि मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्”, उहाँले भन्नुभयो “याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन् ।” बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु एक सय ५० शूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा रु ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ । उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ । कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।
डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो । तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ । डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६:०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । ] काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो । कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।
काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

