पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

डडेल्धुरा:    डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।       बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको  शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उ​हाँका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।       दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो ।  दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।  बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन ।  दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।

काठमाडौं:    साहित्यकार घनबहादुर थापाले लेख्नुभएको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ ।       प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौँका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन सफल भएको हो । प्रहरी नारा लेखक प्रतियोगितामा प्रथम हुनुभएका उहाँले नगद रु २० हजार पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।  साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका र अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको भूमिका गरी दुई विषयसँग सम्बन्धित रहेर दुईवटा अलगअलग नाराका लागि प्रतियोगिता आयोजना गरिएको थियो ।       उक्त प्रतिस्पर्धामा नेपाल प्रहरीमा प्राप्त भएका नाराहरुमध्येबाट थापाले लेख्नुभएको दुईवटै नाराले प्रथम स्थान हासिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।       सर्वोत्कृष्ट बन्न सफल प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौँ निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने सङ्कल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ रहेका छन् ।      लेखक थापाले नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्नेगरी प्रहरी नारा रचना गरिएको भन्दै दुवै नारा छनोट भएकामा खुसी व्यक्त गर्नुभयो ।       उहाँले आफूले लेखेको नारा प्रहरीका हरेक कार्यक्रम तथा गतिविधिमा समावेश हुने भएकाले शान्तिसुरक्षा तथा अमनचयनमा आफूले पनि एक नागरिकका तर्फबाट योगदान दिएको अनुभूत भएको प्रतिक्रिया दिनुभयो ।       साहित्यकार घनबहादुर थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मङ्गलबाट नगद २० हजार पुरस्कारसहित कदरपत्रबाट सम्मान प्रदान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।      नेपाल प्रहरीले आफ्नो ६९औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित रहेर खुला प्रहरी नारा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।      साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भइसक्नुभएको छ । उहाँका एकल तथा संयुक्त गरी छवटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन् । उहाँको ‘तिमीलाई नै’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ । 

गण्डकी:     गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताउनुभएको छ ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९औँ प्रहरी दिवसका अवसरमा आज  आयोजित कार्यक्रममा उहाँले प्रहरी समायोजन नहुँदाको यसको असर प्रदेश सरकारको काम कारबाहीमा पनि परेको छ भन्नुभयो ।       “गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार र चौकीहरुको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।”      सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुुभयो ।  गत वर्ष कार्यक्रम ढिला गरी स्वीकृत हुँदा कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस वर्ष केन्द्रको अर्थ र गृह मन्त्रालयबाट स्वीकृत भई प्रदेशको अर्थ मन्त्रालयले पनि स्वीकृत प्रदान गरिसकेका कारण कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढिसकेको छ भन्नुभयो ।      भौतिक पूर्वाधारलगायत योजनामा गत वर्ष प्रहरीका लागि प्रदेश सरकारले १६ करोड विनियोजन गरेको बताउँदै उहाँले सीमित साधन स्रोत र प्रदेश सरकारको बजेट नै गत वर्षभन्दा घटेकाले यस वर्ष केही कम भए पनि प्राथमिकताका आधारमा प्रहरीको माग अनुसारकै बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।  खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, अभ्यास, सचेतनामूलक कार्यक्रम, लागुऔषध दुव्र्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताउँदै उहाँले यसबाट केही हदसम्म प्रहरीहरूको मनोबल उच्च राख्न र सङ्गठनलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।      प्रहरीलाई राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी रहेका कारण सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको भन्दै मुख्यमन्त्रीले भन्नुुभयो, “प्रहरी कार्यालयमा आफ्ना पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने, पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्ति दिने, नागरिकहरूसँग शिष्ट व्यवहार गर्ने, आपत्कालीन सहयोग गर्नेजस्ता मानवीय कार्यलाई प्राथमिकता दिँदै अघि बढ्न सकेमा प्रहरीबाट नागरिकमा अझै प्रभावकारी सेवा पुग्ने देखिन्छ ।”      देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपत्का समयमा पनि नेपालमा सुरक्षा संयन्त्रहरूले निर्वाह गर्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुुभयो ।  हरेक विपद्का समयमा राज्यको पहिलो उपस्थितीको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएको भन्दै उहाँले प्रहरी दिवस आम नागरिकको दिवस बन्नसक्ने कामना गर्नुभयो ।       गण्डकी प्रदेश प्रहरी प्रमुख प्रनामनि दुर्गा सिंहले कर्तव्य परायणता र जिम्मेवारितालाई आत्मसात् गर्दै प्रहरी सङ्गठन देश र जनताको सुरक्षार्थ निरन्तर खटिरहेको बताउनुुभयो ।  जनमुखी, पारदर्शी र नागरिकमैत्री प्रहरी छवि कायम गराउनेमा निरन्तर लागिरहेको प्रहरी सङ्गठन सीमित साधन र स्रोतका बाबजुद पनि क्रियाशील बनिरहेको उहाँले बताउनुभयो ।      गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख मुकुन्द मरासिनीले राज्यको कानुन कार्यान्वयन गराउनेमा प्रहरी सङ्गठन निरन्तर लागिरहेको धारणा  राख्नुभयो।      कार्यक्रममा समाचार सम्प्रेषणमार्फत सहयोग पु¥याएवापत सञ्चारकर्मी रघुराज वाग्ले लगायत विभिन्न विधामा उत्कृष्ट प्रहरी कर्मचारी, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।  कार्यक्रमका प्रहरी ब्यान्ड प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी दिवसका अवसरमा दिनुभएको सन्देश प्रनामनि दुर्गा सिंहले पढेर सुनाउनुुभएको थियो । 

चितवन:    भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ ।  उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो ।  उहाँले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्नुभएको थियो । उहाँले भन्नुभयो, “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।”       वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आउनुभएको छ । त्यहाँ सङ्कलित रकमले पनि उहाँले विपन्नका लागि सहयोग गर्नुहुन्छ ।       गत तीजमा उहाँले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गर्नुभएको थियो । उहाँले भन्नुभयो, “तीजमा रु तीन लाख खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन्  । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु  । ”       तिहारमा उहाँको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।”       गत भदौ १५ गते उहाँले आफ्नो जन्मदिनमा रु १८ लाख ६० हजार बराबरको दान गर्नुभएको थियो । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उहाँले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गर्नुभयो । उहाँले भन्नुभयो, “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।”       जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उहाँको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि रु एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उहाँले जानकारी दिनुभयो ।  उहाँले स्थानीय हिमालय स्कुलमा रु २२ लाख, रोटरी करुणालय देवघाटमा रु १५ लाख, गणेशधाम संरक्षणमा रु १५ लाख सहयोग गर्नुभएको छ । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आउनुभएको छ ।       उहाँले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्नुहुन्छ । वर्षमा रु पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उहाँको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिनुभयो ।       बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आउनुभएको छ । उहाँले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।” 

काठमाडौंमा एक पुरुषको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छिन् ।    गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक पुरूषमाथि उनीहरुले कुटपिट हत्या गरेको आरोप छ ।   मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगर छन् ।   मगरलाई नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पु¥याएको थियो। उपचारको क्रममा उनलाई चिकित्सकले साढे ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।  उक्त घटनामा संलग्न तीन जनालाई पनि प्रहरीले मंगलबार राति नै पक्राउ गरेको एसपी अधिकारीले बताए ।

सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।   प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ ।   निजका साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडाैंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।   यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पु¥याई फरार भएका प्रहरीले जनाएको छ ।   निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ ।   सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो ।   एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् ।   घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।   आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।   प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।   हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।   आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए ।   सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।   यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

पोखरा:   नेपाल प्रहरीको ‘६९ औं प्रहरी दिवस’ को अवसरमा पोखरामा प्रहरी नायब निरीक्षक सुमन निउरे पुरस्कृत भएका छन् ।   प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरामा आयोजना गरेको समारोहकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख निउरे नगद तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् ।   उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको हो ।    यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा भने प्रहरी सहायक हबल्दार मनोज पौडेल पुरस्कृत भएका छन् ।

काठमाडौं:    अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ ।  अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धसेतुका रूपमा काम गरेको बताउनुभयो । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका बनेको बताउनुभयो ।  दुवै देशका नागरिक बर्सेनि पर्यटकका रूपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायत माध्यमबाट नेपाल–थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ बनेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।  आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । साझा सरोकार र आपसी हितका विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका उहाँले बताउनुभयो । अध्यक्ष सुरसज्जाले बहुसङ्ख्यक थाई जनताले बौद्ध धर्म मान्ने भएकाले बुद्ध जन्मभूमि नेपाललाई उनीहरूले आफ्नो जीवनकालमा एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा राखेका भएको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रमा थाइल्याण्डबाट भएको लगानीले रोजगारीका अवसर सृजनामा योगदान पुगको विश्वास उहाँले व्यक्त गर्नुभयो । थाई पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण पर्यटकीयस्थल भएकाले  लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन भएमा उनीहरुलाई अझ सहज अध्यक्ष सुरसज्जाले बताउनुभयो । भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।