पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

बागलुङ:     बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर आफ्नै बुबाले हत्या गरेका छन् ।  मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।  उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले बताए ।  हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

म्याग्दी:   बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।  सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो ।  जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न  ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिनुभयो ।  माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न रु ३३ करोडमा सम्झौता भएको उहाँले बताउनुभयो ।  दुई लेनको सडकमा एक किलोमिटरभन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ ।  यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ । 

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।  मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।  निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

सुनसरी:    सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो ।  उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।       उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”      इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।       “विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भन्नुभयो ।       सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उहाँले भन्नुभयो ।  लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गर्नुभएको छ । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।      व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिनुभयो । उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाउनुभएको छ । छोराले पनि उहाँलाई साथ दिँदै आउनुभएको छ ।  “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उहाँले भन्नुभयो ।        सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उहाँले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआउनुभएको छ ।  एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआउनुभएको छ । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो । 

डडेल्धुरा:     डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।  महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।  दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो ।  दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।   प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई  उपचारका लागि धनगढी पठाइएको छ ।  अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तनहुँ:    देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।   सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ ।  आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ ।  सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दुखेसो उहाँले गर्नुभयो ।  तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ ।   गत वर्ष लुङग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

काठमाडौं:   हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।  साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।   आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौं:    नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।  शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।  आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउनुहुन्छ । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।  लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।      युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।      जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।      त्यसैग्री थाई भाट एकको खरिददर ४ रुपैयाँ २ पैसा र बिक्रीदर चार रुपैयाँ ४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३ १ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैया ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।      राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।