पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।      बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्छ ।      बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु(याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायत विषयमा छलफल हुने जनाइएको छ ।  गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

काभ्रेपलाञ्चोक:    गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।       बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् ।  त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।       धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् ।  बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए ।       बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीनजनाले ज्यान गुमाए ।  धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एकजनाले बाढीपहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।       काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् ।       सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।       सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन । 

काठमाडौं:     नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ ।       निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो ।  निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।      कोभिड–१९ का कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चितवन:    जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो ।      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको हो ।  उहाँले भन्नुभयो, “यो रोग ढुसी र ब्याक्टेरियाका कारण हुने गर्दछ । पुराना जातमा यो रोगको समस्या देखिएको हो ।” यो रोग लागेको धानमा बाला लागेपछि दाना नलाग्ने, पपटा हुने, दाना कालो हुने समस्या देखिएको उहाँले बताउनुभयो ।  उहाँका अनुसार धानमा देखिएको यो रोगका कारण यस वर्ष जिल्लामा चार हजार पाँच सय टन उत्पादन घट्ने अनुमान गरिएको छ ।      उहाँले भन्नुभयो, “धानको बीउसँगै यो रोगको सङ्क्रमण देखिने गरेको छ । सावित्री र सावा मनसुली धान लगाएका क्षेत्रमा ८० प्रतिशत घाटा हुने देखिन्छ ।” भारतबाट आयातीत मुकावुला धानको बीउमा समेत यो समस्या देखिएको उहाँले बताउनुभयो ।  यो रोगबाट बच्न बीउ राख्ने क्रममा बीउ छनोट, ढुसी नासक विषादीको प्रयोग र नुन पानीले उपचार गरेर राख्नुपर्ने सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो ।  धानमा यो रोग देखिएमा फुल खेल्ने समयमा कप्पर अक्सिक्लोराइड र कार्बनाडेजिङ नामक विषादी दुई ग्राम प्रतिलिटर पानीमा हालेर एक हेक्टर क्षेत्रफलमा तीन सय लिटर छर्नुपर्ने उहाँले बताउनुभयो ।  यो औषधि छरेको एक सातापछि पोपेकोनाजोल नामक विषादी प्रतिलिटर पानीमा एक मिलिलिटर मिसाएर प्रतिहेक्टर तीन सय लिटर पानीको प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।      जिल्लामा २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । जहाँ, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकागोला, महाराजा, काशिनाथलगायत धानहरु लगाइएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ ।  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ ।       अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ”, उहाँले भन्नुभयो, “आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।”      ‘आज विहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएकोछ ।      बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ ।  काठमाडौँबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताउनुभयो ।      हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएकोछ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणताय बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ  ।  गण्डकी प्रदेशको थोरै स्थान तथा कोशी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

म्याग्दी:    यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । “असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,” अध्यक्ष खड्काले भन्नुभयो । उहाँकाअनुसार बिरामीको चाप बढेपछि आजदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ ।  तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा अधिकतम् चार सय जनाले स्नान गर्न मिल्छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ ।  तातोपानीको मूलबाट बिरेनुनको गन्धसहित ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा स्नान गरेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा, मर्केको, चर्मरोगदेखि प्यारालाइसिसजस्ता रोग निको हुने विश्वास गरिन्छ । देशका विभिन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय यहाँ आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालीन आरतीले बिरामीलाई आर्कषित गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीनसय ५० को टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्तासम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ । तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब÷भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ ।  कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापन गरी प्रचार गरेपछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।

वीरगञ्ज:    वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले  मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।  चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा  वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो । चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् ।  गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए ।  आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल९मोपेडसहित०को पार्टपूर्जा आयात भएका थिए ।  चालु आर्थिक वर्षको सोही अवधिमा रु ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल ९मोपेडसहित०को पार्टपूर्जाहरु आयात भएको छ ।

काठमाडौं:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ ।  साथै उहाँले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको छ ।  साथै उहाँले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई बताउनुभयो ।  कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो ।  यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको  विरोधमा उत्रिएको छ । 

काठमाडौं:    स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा  परिवर्तन भएको छैन ।  चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।