काठमाडौँ — प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।   रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वा...

तनहुँ:    तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो ।  त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको कँडेलले बताउनुभयो ।  केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूध उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो ।  केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “बाख्राको दूधमा ल्याक्टोजिन नहुने र प्रतिरोगी हुने भएकाले यसको माग उच्च छ । बाख्राको दूधबाट बनेको चिजको माग पनि उच्च छ ।” यहाँ उत्पादित बाख्राको चिजको माग काठमाडौँ र पोखरामा अत्यधिक रहेको छ, गाईवस्तुको दूधबाट बनेको चिजभन्दा बाख्राको दूधबाट बनेको चिज मिठो हुने भएकाले यसको माग उच्च रहँदै आएको छ”, उहाँले भन्नुभयो । केन्द्रले गत वर्ष १५ जिल्लामा सानन जातका बाख्रा वितरण गरेको थियो । चार जिल्लामा बारबारी र ११ जिल्लामा खरी जातका बाख्रा वितरण गरिएको जनाइएको छ । केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारि क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।  कँडेलका अनुसार बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोत केन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादी, घिरिङ, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।  त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोरक्रसका पाठापाठी उत्पादन भएको छ । 

सुनसरी:    दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हँुदा १४ जनाको मृत्यु भएको जनाएको छ । घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उहाँले बताउनुभयो ।  प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।  झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ । बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९र८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् ।  घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।  घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिनुभयो ।  “आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।” घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताउनुभयो । सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।  समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।  हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुन् । पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृश्यावलोकन गर्न पुग्छन् ।  घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ पुल, उल्लेरी भएर एकैदिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगिन्छ ।

काठमाडौं:   नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।  युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ एक पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँ:    काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो ।  अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ ।   अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो ।  तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो ।  निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले रु १५ हजार जरिवाना गरेको थियो ।

काठमाडौं:    हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ ।  काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।  विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम  सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा  बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

चितवन:    चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो ।  हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उहाँले बताउनुभयो । गोविन्देले गत असोज १७ गते हात्तीसारका एक कर्मचारीलाई आक्रमण गरी मारेको थियो । “पछिल्लो समय गोविन्देले दुःख दिन थालेपछि त्यसमा रेडियो कलर जडान तथा दाह्रा काट्ने काम गरिएको हो”, सूचना अधिकारी तिवारीले भन्नुभयो ।     यहाँ जङ्गली हात्ती ध्रुर्वे, गोविन्दे, मकुनालगायतले बर्सेनि निकुञ्ज र त्यस आसपासका क्षेत्रमा दुःख दिँदै आएका छन् । समूहबाट एक्लिएका यी भाले हात्तीहरु उनीहरुलाई अधिक यौन चाहना भएको समयमा बढी आक्रामक बन्ने गरेका निकुञ्जले जनाएको छ ।

काठमाडौं:    विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ ।  क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ ।  प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो ।  त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई रकम उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा सिफारिस गर्ने समेत निर्णय गरिएको उहाँले बताउनुभयो । दीर्घकालसम्मका लागि पुनःनिर्माण र पुनःस्थापना गर्न उल्लेखित विपद्का कारण भएको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनःनिर्माण र पुनःस्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने तथा सो कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सहसचिव अधिकारीले बताउनुभयो । त्यसैगरी गत वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्प पश्चातको क्षति आँकलन तत्काल अघि बढाएर स्थायी निजी आवास पुनःनिर्माण प्रक्रियाको विस्तृत कार्ययोजना तयार गर्न प्राधिकरणलाई निर्देश गर्ने निर्णय गरिएको छ । त्यसैगरी मनसुन अवधिभर (२०८१ जेठ २८ गतेदखि असोज २६ गतेसम्म) भएका विभिन्न विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने र निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।  विपद्को घटना पश्चात खोज तथा उद्धार कार्यमा संलग्न विभिन्न निजी क्षेत्रका संघसंस्था एवं गैरसरकारी संस्थाको सहयोग एवं संलग्नताको कदर गर्दै धन्यवाद दिने तथा आवश्यकता अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको छ । बैठकमा स्वाथ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको समेत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ ।   आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।  उक्त शृङ्खलाका लागि पूर्वप्रशिक्षक दासानायकेलाई मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।       पूर्वप्रशिक्षक दासानायकेले उक्त प्रतियोगिता अवधिभर नेपाली टोलीको मेन्टरको भूमिका निर्वाह गर्नुहुनेछ । उक्त शङ्खलामा नेपालले पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ ।  त्यस्तै नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग खेल्नेछ भने तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम खेलमा नेपालले कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।       नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली जनकपुर बोल्ट्सले दासानायकेलाई केही दिनअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिग–२ को उक्त शृङ्खला सकिएपछि दासानायके नेपाल प्रिमियर लिगका लागि नेपाल आउनुहुने बताइएको छ ।