प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ । आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।” मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो । टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।” सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।
काठमाडौं: नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो । अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६४ रनको योगफल बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । अर्का खेलाडी दीपेन्द्रले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडेका थिए । अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।
झापा: मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ । असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २६ गते सम्पन्न हुनेछ ।
दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहेका छन् । घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा टिपर सडकदेखि करिब १०० मिटर तल खसेको थियाे ।
दैलेख: जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्नुहुन्छ– “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।” दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उहाँहरूको गुनासो छ । गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन् । गाउँको जनसङ्ख्या एक सय २० मा झरेको छ । गाउँका अगुवा धनबहादुर थापा भन्नुहुन्छ, “पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । “बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ”, यहाँका सबै टोलमा यस्तै समस्या छन् । यस्तै गुनासो गर्नुहुन्छ रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उहाँलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । “निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै ।” दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । “सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?”, उहाँ प्रश्न गर्नुहुन्छ । सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको बताउनुभयो । कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् । परम्परागत उत्पादनलाई जङ्गली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उहाँले बताउनुभयो । जङ्गली जनावरको आतङ्क ग्रामीण बस्ती खाली हुनुको एक कारण जङ्गली जनावरको आतङ्क पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् । लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जङ्गली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका हुन् । “केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जङ्गली जनावरका कारण बाँझो पर्न थालेका छन् । केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान पुग्दैन । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै सहर पस्न थाले”, महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भन्नुभयो ।
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । “मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने ९माउन्टेन फ्लाइट०, हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ ।” प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ । मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिन्छ । यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो । मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भएकाले प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको सूचना अधिकारी भुलको भनाइ छ । यसैबीच हेलिकप्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै दिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी भुलले मनसुन हटेसँगै ‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था गरिएको बताउनुभयो । यसअघि १३ जुलाई २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि हेलिकप्टर उडानका लागि लिनुपर्ने सबै उडानको अनुमति प्राधिकरण प्रधान कार्यालयबाटै दिने व्यवस्था गरिएको थियो । काठमाडौँ उपत्यका बाहिरको हकमा मात्रै केन्द्रीय कार्यालयले हेलिकप्टर उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ । अब पाइलटको चेक, नन कमर्सियल, सिलिङ र अन्य विमानस्थलबाट सुरु हुने उडानमात्रै अनुमतिका लागि प्राधिकरण प्रधान कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ । “अघिल्लो वर्ष मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि देशभरको सम्पूर्ण हेलिकप्टर उडानको अनुमति प्रधान कार्यालयबाट दिने व्यवस्था गरेका थियौँ, अहिले काठमाडौँ विमानस्थल र उपत्यकाबाट सञ्चालन हुने हेलिकप्टरको हकमा उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिनेगरी प्राधिकरणले विमानस्थललाई अधिकार फिर्ता गरेको छ । असोज २४ गतेदेखि अनुमति पहिला जसरी दिइन्थ्यो त्यसैगरी हुने व्यवस्था गरिएको छ”, प्राधिकरणका सूचना अधिकारी भुलले भन्नुभयो ।
काठमाडौं: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो । कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन, २०७४ को उपदफा १०४ बमोजिम सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको उहाँले सुनाउनुभयो । समस्याग्रस्त घोषित भई सहकारी ऐन, २०७४ को उपदफा १०५ बमोजिम सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि मन्त्रालयले समितिसमक्ष लेखी पठाएअनुसारको प्रक्रियामा काम भइरहेको पनि समितिले जनाएको छ । सरकारले करिब दुई दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।
तनहुँ: तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको कँडेलले बताउनुभयो । केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूध उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो । केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “बाख्राको दूधमा ल्याक्टोजिन नहुने र प्रतिरोगी हुने भएकाले यसको माग उच्च छ । बाख्राको दूधबाट बनेको चिजको माग पनि उच्च छ ।” यहाँ उत्पादित बाख्राको चिजको माग काठमाडौँ र पोखरामा अत्यधिक रहेको छ, गाईवस्तुको दूधबाट बनेको चिजभन्दा बाख्राको दूधबाट बनेको चिज मिठो हुने भएकाले यसको माग उच्च रहँदै आएको छ”, उहाँले भन्नुभयो । केन्द्रले गत वर्ष १५ जिल्लामा सानन जातका बाख्रा वितरण गरेको थियो । चार जिल्लामा बारबारी र ११ जिल्लामा खरी जातका बाख्रा वितरण गरिएको जनाइएको छ । केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारि क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । कँडेलका अनुसार बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोत केन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादी, घिरिङ, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोरक्रसका पाठापाठी उत्पादन भएको छ ।

