काठमाडौँ — प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।   रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वा...

काठमाडौं:    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म रु एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ । गत असोज २३ गतेसम्म रु एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट टे«डिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट रु १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट रु पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट रु नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट रु तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो । त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट रु तीन लाख, सिमोनबाट रु एक लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट रु १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ ।

काठमाडौं:     राजधानीमा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।            त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो ।  खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।            त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन् । भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४–० को अवस्थामा पु¥याइन् ।             खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन् । भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।  खेलको पहिलो हाफसम्म ४–१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने सङ्केत देखाएकी थिइन् ।  तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो । भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५–२ को अग्रता दिलाइन् ।       जीतसँगै भारतले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् ।  शुक्रबार दिउँसो १ः३० बजे पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५ः३० बजे नेपाल र भुटानबीच हुनेछ ।  

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एउटै डिजिटल ‘पे–वाल’ मार्फत अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतले भेटेर नेपालको डिजिटल मिडिया क्षेत्रमा गरिएको पहिलो प्रयासबारे जानकारी गराउनुभएको हो । उक्त सहकार्यको बुधबारदेखि औपचारिक थालनी भएको थियो । सो अवसरमा जलवायुु परिर्वतन, शैक्षिक सुधार र आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफलसमेत भएको थियो ।  प्रधानमन्त्री ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका मञ्चमा आफूूले गरेका सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायुु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने र नेपालका हिमालको सुरक्षामा ध्यान दिन नसकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराउनुभयो ।  “हामी  पृथ्वी र मानिसको सुरक्षाका लागि आवाज मात्रै उठाइरहेका छैनौँ । व्यवहारतः काम पनि गरिरहेका छौँ । यो काम नेपालका लागि मात्रै होइन विश्वकै वातावरणीय सुरक्षामा योगदानका लागि हो’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले हाइड्रोपावर र हाइड्रो इनर्जीका लागि पनि काम गरेका छौँ । सञ्चार जगत्ले यस प्रयासबारे जनतालाई सूसुचित गर्न मद्दत गर्न सक्छ ।’’ प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको तथा राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभागिता सुनिश्चितता गरेको उल्लेख गर्दै लोकप्रिय सञ्चारमाध्यमले सही सूचना लिएर त्यसलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । हाइड्रो कार्बनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फोसिल फ्युुलका निर्देशक हरजीत सिंहले जलवायु न्यायबारे प्रधानमन्त्री ओलीको सुस्पष्ट बुुझाइ रहेको र यस मामिलामा प्रधानमन्त्री ओली दक्षिण एसियाकै नेता भएको अनुभूति व्यक्त गर्नुभयो ।  भेटका अवसरमा नेपाल रिपब्लिक मिडियाका सञ्चालक शोभा ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली र न्युयोर्क टाइम्सका हेलेना फ्वुवा पनि सहभागी हुनुहुन्थ्यो ।

काभ्रे:     खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयाकमा निर्माण गरिने बताउनुभएको छ । गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहानलगायतका  संरचनाको  आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । खानेपानीमन्त्री यादवले भन्नुभयो, “पनौतीसहित आसपासका क्षेत्रमा खानेपानी मन्त्रालयअन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । बिग्रेभत्केका ती संरचनाको काम द्रुत प्रक्रियामार्फत सुरु गरी बाढी प्रभावित जनतालाई यथासक्य छिटो खानेपानीको व्यवस्था गछौँ ।” उहाँले भन्नुभयो, “मन्त्रालय, विभाग, खानेपानी संस्थानसहितको टिमले बाढीपहिरोका कारण भएाकोे क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरी काम अघि बढाइने छ, ढुक्क हुनुहोस् यथासक्य छिटो खानेपानी समस्या हल गर्न सरकार तयार छ ।” मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्तीसमेत स्थानान्तरण गरी प्रभावित जनताको जीउधनको सुरक्षाका लागि अनुरोध गर्नभयो । अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धकलगायतका प्रतिनिधि तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो । 

पोखरा:    फेवातालमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  काठको डुङ्गामा भाडामा लिएर फेवातालमा सवार गरेका दुई जना अचानक आएको हावाहुरीका कारण तालको बीचमा अलपत्र परेका दुई जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं२४ कालिका गणका गणपति अरुण कुमार शर्माले जानकारी दिए ।  सशस्त्र प्रहरीले फेवातालमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका घर भई काठमाडौं बस्ने २२ वर्षीय मनिष विश्वकर्मा र रुपन्देशी देवीनगर नगरपालिका–११ बुटवल बस्ने २२ वर्षीय प्रिति सुनारलाई सकुशल उद्धार गरेको हो ।   

काठमाडौं:      निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।      आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो ।      ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ ।      आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कातिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।        जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ ।          प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।        “एक÷दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ”, बैठकपछि उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने सबैको चाहना छ तर कस्तो व्यक्ति पठाउने दुई आयोगमा भन्ने कुरा सिफारिस समितिले गर्नेछ ।”        सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्न अघिल्लो सरकारले सिफारिस समिति बनाएको थियो । गत भदौ १३ गते राष्ट्रपतिबाट दुवै आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।         बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्थ्यो ।

गण्डकी:     यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुनुहुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उहाँ भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो ।  मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ ।  बिहीबार मनाङको याकखर्कबाट रासससँग टेलिफोनमा कुराकानी गर्दै पथप्रदर्शक गुरुङले १३ दिनको पदयात्रा दसैँको चार दिनअघिबाट सुरु गरिएको जानकारी दिनुभयो ।  “यसपालिको दसैँ पदयात्रामै बित्यो, घरपरिवारसँग बसेर मनाउन पाइएन”, उहाँले भन्नुभयो, “पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर पदयात्रामा जानुपर्ने हुन्छ, यो पेसा नै यस्तै हो ।” गुरुङले आउँदो तिहारमा अमेरिकी पर्यटकसँग घोडेपानी–पुनहिलको पदयात्रा तय भइसकेको बताउनुभयो ।  गत वर्ष तिहारमा पनि उहाँ इटालीका रिकार्डो र भेरोनिकालाई लिएर मनाश्लु क्षेत्रको पदयात्रामा जानुभएको थियो । उत्तरी गोरखाको चुम उपत्यका र गणेश हिमालको आधारशिविरको घुमघामका लागि उहाँ पर्यटकसहित त्यहाँ पुग्नुभएको थियो ।  गत वर्षको तिहार कात्तिक २९ गते परेको थियो । ३७ सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा गुरुङ, इटालीका रिकार्डो र भेरोनिकाले तिहार मनाउनुभएको थियो ।  गुरुङले भुइँमा गलैँचा ओछ्याएर तीनै जनाले एकापसमा भाइटीका लगाएको सम्झना अहिले पनि ताजै रहेको सुनाउनुभयो । त्योबेला भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाका टोपी र सयपत्री माला पहिराइदिनुभएको थियो ।  गुरुङपछि भेरोनिकाले उसैगरि रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिनुभएको थियो । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाई र फलफूल दिएर हार्दिकता साटासाट गर्नुभएको थियो ।   “गत वर्षको तिहारमा हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यहीँ तिहार मनाउने भनेर टीका र सामग्री म आफैले बोकेर गएको थिएँ”, उहाँले भन्नुभयो, “रिकार्डो र भेरोनिका स्कूले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरुसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति गरेका थिए ।”  मनाङको उपल्लो  हिमाली भेगमा तिब्बतीयन संस्कृति रहेको र दसैँ मान्ने चलन नरहेका कारण यसपालि गत वर्षको जस्तो संयोग भने नजुरेको गुरुङले बताउनुभयो । उहाँले यात्राका क्रममा विदेशी पर्यटकलाई आफ्नो संस्कृतिबारे सुनाउन र बुझाउन पाउँदा गर्वको अनुभूति हुने गरेको सुनाउनुभयो ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु कुनै नौलो कुरा भने होइन । गुरुङले गत वर्षको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाउनुभएको थियो ।  दुई वर्षअघिको दसैँ–तिहारमा त उहाँ झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । “शरद ऋतु पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छु”, गुरुङले भन्नुभयो, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु, चाडबाड आउनुपूर्व नै पदयात्राको योजना तय भइसकेको हुन्छ ।” पथप्रदर्शक मात्र नभएर पर्यटन क्षेत्रका अन्य कर्मचारी र मजदुरका लागि पनि चाडपर्व खल्लो हुने गरेको उहाँको भनाइ छ ।  पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पु¥याएर पथप्रदर्शकका काम सुरु गर्नुभएको गुरुङले कहिले कम्पनीहरुमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउने गर्नुभएको छ ।  ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चाडबाडकै बेला मुख्य पर्यटकीय याम पर्ने भएकाले आफूलाई चाडबाडको उल्लासले खासै नछुने बताउनुभयो ।  “पथप्रदर्शक, भरिया मात्र नभएर हामी व्यवसायीलाई पनि पर्यटकको सेवा, सत्कारमा भ्याइनभ्याइ हुन्छ, यो याममा काम नगरे व्यवसाय धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो ।  पर्यटन क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुरलाई चाडबाडका बेला झन् बढी काममा खटिनुपर्ने बाध्यता रहेको आचार्यले बताउनुभयो । “यो बेला काम नगरे जीविका चल्दैन, पर्यटन क्षेत्रमा चार महिना कस्सिएर काम गर्ने र अरु बेला पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।  नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिन्छ । पदयात्रा लागि पनि यी दुवै याम उत्तम मानिन्छन् । आचार्यले पथप्रदर्शक र भरियाले बाटैमा पर्यटक र साथीभाइसँग मिलेर चाडबाड मनाउने गरेको बताउनुभयो ।  “मनाङ, मुस्ताङतिर दसैँ–तिहारको खासै महसुस हुँदैन, तर तल्लो भेगमा जाँदा भने स्थानीयवासीसँग घुलमिल भएर रमाउँदै चाडबाड मनाउन पाइन्छ”, उहाँले भन्नुभयो ।  पछिल्लो सातायता पर्यटकीय राजधानी पोखरालगायत आसपासका गन्तव्यस्थलमा पर्यटकको चहलपहल बढेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । “पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढेको छ, पर्यटकीयस्थल भरिभराउ छन्”, उहाँले भन्नुभयो ।  पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनाश्लु संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल प्रख्यात छन् । नेपालीहरुमा विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने प्रवृत्ति बढीरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का प्रमुख डा रविन कडरियाले बताउनुभयो ।  उहाँका अनुसार कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । ‘एक्याप’भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कुनैताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।       सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको संख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । 

काठमाडौं:    निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।      स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।      सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।