पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

काठमाडौं:    नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी– २० सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टी–२० खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टी–२० आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी–२० आई सिरिज क्लिन स्विप गरेको थियो । १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले । टी–२० करियरको छैठौं अर्धशतक बनाए लगत्तैको बलमा आसिफ जायस ड्रेल्सद्वारा आउट भए । कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए । यस सिरिजमा पहिलो पटक मौका पाएका कुशलले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरे । भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । ओपनर अनिलकुमार शाह पहिलो विकेटका रुपमा १३ रन बनाउँदै जसदिप सिंहको बलमा एलबिडब्लु आउट भए । अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए । त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो । साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर सोमपाल कामीको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदै ललित राजवंशीको बलमा रिजन ढकालबाट समातिए । अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबिडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे । नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए । नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टी–२० आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो । यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

गोरखा:    युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ ।  गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन ।  ५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् ।  ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुगेका हुन् । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन ।  उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उनले भने, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’ आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ ।  यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ ।  आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाए ।  कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उनले बताए ।  ‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भने, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’  मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताए ।  ‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने ।  माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताए ।  आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उनले आग्रह गरे ।   

दाङ:   कुवामा डुबेर एकजनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।       आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।  चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो ।  प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।  

काठमाडौं:    सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।  आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो ।       सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपचारको व्यवस्था गरिने जनाएको हो ।      स्वास्थ्य मन्त्रालयको आकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् ।  हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ ।  वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ । 

गण्डकी:     कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उहाँ घुमफिरमै व्यस्त हुनुहुन्छ ।       यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाउनुभएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गर्नुभएको छ ।  चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उहाँको योजना छ । पाँच हजार मिटर उचाइमाथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उहाँले सुनाउनुभयो ।  पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरु बाटो लागेको शर्माले राससलाई बताउनुभयो । उहाँ बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडकमार्गबाट पुग्नुभएको थियो । बीचबाटोमा होटल÷चियापसल नभएका कारण बस्ने टेन्टसहित खानेकुराको बन्दोबस्त मिलाएर पदयात्रामा निस्केको शर्माले बताउनुभयो ।       सोलुखुम्बुको आइल्याण्ड पिक चढीसक्नुभएका उहाँलाई धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ । तर बदलिरहने हिमाली मौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उहाँ सतर्क हुनुहुन्छ ।  “अबको एक साताभन्दा बढी समय हामी सम्पर्कबिच्छेदको अवस्थामा हुन्छौँ, हिमाली भेगको यात्रा आफैमा जोखिमपूर्ण तर रोमाञ्चक हुन्छ”, उहाँले सुनाउनुभयो । मार्फापट्टिबाट छोटो दुरी पर्ने भएकाले आफूहरुले पदयात्रा लागि सोही मार्ग रोजेको शर्माले बताउनुभयो ।  धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धनहेतु तस्बिर र भिडियो सामग्री सङ्कलनका उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ । पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उहाँ पुग्नुभएको छ ।   घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुभएको थियो । ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो ।  उक्त समूहले उपाधिसँगै रु पाँच लाख प्राप्त गरेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो । जसको पुरस्कार राशि रु एक लाख थियो ।  “दुवै प्रोजेक्टमा म आबद्ध थिएँ, फोटो÷भिडियोग्राफीदेखि व्यवस्थापनसम्मको काम हामीले गरेका थियौँ”, शर्माले भन्नुभयो, “उजागर हुन नसकेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि उक्त प्रतियोगिताले धेरै सघायो ।”  ‘डुलुवा’ समूहले बनाएको ‘दि नर्देन वाल’ अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेको उत्तर आधारशिविरतर्फको प्रवद्र्धनात्मक भिडियो हो ।  ‘मेरो गाउँ तक्सेरा’ भने पूर्वीरुकुमको जनजाति बाहुल्य गाउँ हो । शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडियो सामग्री तयार पार्दै आउनुभएको छ ।  “विशेष गरी ट्राभल वृत्तचित्र निर्माणका लागि म घुम्ने गर्छु, कतिपय काम सरकारी निकाय, स्थानीय तह, ट्राभल एजेन्सीहरुसँग पनि मिलेर गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “फेसबुक, टिकटिक, इन्टाग्रामलगायत सामाजिक सञ्जालकामार्फत पनि देशका पर्यटकीयस्थल चिनाउने र बुझाउने गर्दै आएको छ ।” ‘डुलुवा’ समूहसँगको सहकार्यका क्रममा प्राप्त सिकाइ र सफलताले आफूलाई यस क्षेत्रमा थप सिर्जनशील बन्न प्रेरित गरेको शर्माले बताउनुभयो ।  ‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो ।  उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ । ‘डुलुवा’का संयोजक योगेश भट्टराईले गत महिना नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका १४ राज्यमा पुगेर फर्किएको बताउनुभयो ।  “यसपालि विशेष गरी भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्राउने लक्ष्यसहित त्यहाँ चार धाममध्ये तीन धामको यात्रा हामीले पूरा ग¥यौँ”, उहाँले भन्नुभयो, “नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले बर्सेनि हामीले प्रवर्द्धनात्मक कार्यक्रम गदै आएको छौँ ।”   उहाँले आफ्नो समूहले नेपालका ७० जिल्ला घुमिसकेको जानकारी दिनुभयो । डुलुवा समूहमा ११ जनाको कार्यसमिति र २७ जना सदस्य छन् । घुमफिरका लागि ‘पहिले देश अनि विदेश’ भन्ने आदर्श वाक्य बोकेको उक्त समूहले पर्यटन प्रवर्द्धनमा युवाहरुको सक्रियता र सिर्जनाशिलतालाई आत्मसाथ गर्दै आएको छ ।  ‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ । पर्यटनप्रेमी कञ्चन राईको सोचबाट उब्जेको ‘घुमन्ते’ पर्यटकीयस्थलको खोजी, पहिचान र प्रसारमा सक्रिय छ । युट्युबमार्फत विभिन्न ठाउँका आकर्षक भिडियो पस्कँदै आएको ‘घुमन्ते’ आफैमा यात्रीहरुको सानो समूह भएपनि यसको डिजिटल फैलावट भने धेरै परसम्म पुगेको छ ।   उक्त समूहका व्यवस्थापक तथा जनसम्पर्क प्रमुख मनिष रुचालले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो ‘डिजिटल’ विषवस्तुमा काम गरिरहेको बताउनुभयो । ‘घुमन्ते’को युट्यब च्यानललाई झण्डै तीन लाख जनाले सब्सक्राइब गरेका छन् भने एउटै भिडियोलाई लाखौँपटक हेरिएको÷सुनिएको छ ।  सन् २०१३ मा ‘घुमन्ते’ नाम फेसबुक पेज र वेबसाइटबाट पर्यटकीय क्षेत्रको तस्बिर र भिडियो प्रसार गर्दै आएको यो समूहले पछिल्लोपटक युट्युबलाई आफ्ना सामग्री सम्प्रेषणको मुख्य माध्यम बनाएको छ । सन् २०१६ मा पहिलोपटक युट्युबमा घुमफिरको भिडियो राखिएको व्यवस्थापक रुचालले जानकारी दिनुभयो । ‘घुमन्ते’का निर्देशक र लेखक कञ्चन राई हुनुहुन्छ भने अन्य सदस्यहरु फोटोग्राफी, भिडियोग्राफी, सम्पादन आदिको जिम्मेवारीमा छन् ।  “अहिले पाँचरछ जना मात्र भएर यो समुहलाई अगाडि बढाइरहेका छौँ, हाम्रो पछिल्लो यात्रा पोखरा, लमजुङ हुँदै मनाङसम्मको थियो”, व्यवस्थापक रुचालले भन्नुभयो, “सगरमाथादेखि अछामको रामाराशेनसम्मका ट्राभल डकुमेन्ट्री, भ्लगलगायत सामग्री हामीले निर्माण गरेका छौँ ।”  नेपालको पर्यटनलाई देशदेशावर चिनाउनु नै ‘घुमन्ते’को मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धनका काममा उक्त समूहले ट्राभल्स, एयरलाइन्स कम्पनीलगायतसँग पनि सहकार्य गर्दै आएको छ । अहिलेसम्म बढीमा ४५ दिनसम्मको यात्रा तय गरिएको व्यवस्थापक रुचालले बताउनुभयो । “कुनैताका विदेशी पर्यटकले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियोले नेपालको पर्यटनबारे बाहिरीजगतले थाहा पाउने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर अहिले पर्यटन प्रवर्द्धनका लागि अनेक माध्यम र तौरतरिका छन्, हामीले त्यसैलाई अपनाउँदै आएका छौँ ।”

गलकोट:     बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो ।      संरक्षण अभियानले तीव्रता पाएपछि शालग्रामको सङ्ख्या बढाएर सवा लाख पुर्‍याइयो । अहिले उक्त सङ्ग्रहालयमा शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने लक्ष्यसहित शालग्राम खोजीलाई पनि तीव्रता दिइएको छ ।       भूमिगत सङ्ग्रहालयमा सजायर राखिएका शाखग्राम शिला दर्शन गर्न आउने नेपाली तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि शालग्रामको सङ्ख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालग्राम सङ्ग्रहालयले लिएको छ ।       श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, सङ्ग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या थपेर पाँच लाख पु¥याउने उद्देश्यअनुसार शालग्राम जुटाउन थालिएको बताउनुभयो ।       “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिला हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण र पुज्य छ । कालीगण्डकीको दोहन र शालग्रामको चोरी बढेकाले पछिल्लो पुस्तालाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिँदैन”, अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो, “शालग्रामको संरक्षणसँगै धार्मिक पर्यटक भित्र्याउने हाम्रो लक्ष्य थियो, २४ हजार शालग्राम सङ्कलन गरी थालिएको अभियानलाई सवा लाखमा पुर्‍याएको थियो ।”      अहिले सङ्ग्रहालयको पूर्वतर्फ शालग्राम राख्न पूर्वाधार तयार गरी दोस्रो चरणअन्तर्गत करिब तीन लाख शालग्राम पुर्‍याउने उद्देश्यले सङ्कलनमा जुटेको प्रपन्नचार्यले जानकारी दिनुभयो । “केही वर्षभित्र शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने योजना छ, एकै पटक पाँच लाख शालग्राम सङ्ग्रह गरिएको स्थान विश्वमा चर्चित बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।      प्रपन्नचार्यका अनुसार शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको सङ्ग्रह गरी बनाइएको सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्न थालेपछि शालग्राम संरक्षण अभियानले तीव्रता पाएको उहाँले उल्लेख गर्नुभयो ।  धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालग्रामको संरक्षण गर्न अभियान थालिएको भन्दै वर्षौँदेखिको योजनाले क्रमशः सफलता पाउँदै गएको उहाँले बताउनुभयो ।       विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ–४ कुडुलेस्थित शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । दसैँ र तिहार जस्ता चाडपर्वको समयमा धेरै धार्मिक पर्यटक आउने गरेका बताउँदै अध्यक्ष प्रपन्नचार्यले चार वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत सङ्ग्रहालयले शालग्रामको संरक्षण गर्न थालेपछि भारतीय पर्यटकसमेत आकर्षित हुन थालेका जानकारी दिनुभयो ।      मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षण गर्न बागलुङ–४ कुडुलेस्थित तिरुपति बालाजीधाममा श्रीधराचार्य शालग्राम सङ्ग्रहालय निर्माण भएपछि शालग्राम दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।  शालग्राम संरक्षणसँगै यसको सङ्ख्या बढाउन सङ्कलन अभियान थालिएको अध्यक्ष प्रपन्नचार्यले उल्लेख गर्नुभयो ।      हिन्दूधर्मावलम्बीका लागि कालो रङ्गको बाटुलो शिला ९ढुङ्गा० शालग्राम अति पूजनीय मानिन्छ । वैष्णवहरु र सनातनीहरुले पनि शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिने गरेकाले यसको महत्व धेरै रहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।       सङ्ग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धार्मिक पर्यटक उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक शालग्राम दर्शनका लागि  आउने गरेका अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।       शालग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालग्राम महोत्सव, शालग्रामसम्बन्धी प्रवचन गरिरहेको बताउँदै शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद शर्माले उल्लेख गर्नुभयो । शालग्राम थप गरेर पाँच लाख पुर्‍याउने अभियानले स्थानीयमा उत्साह छाएको उहाँको भनाइ छ ।      भगवान् शिवको प्रिय अस्त्रका रुपमा मानिने शालग्राम सङ्ग्रहालय त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित गरिएको छ ।  यहाँ सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न धार्मिक महत्वका मठमन्दिर, वृतचित्र, प्रदर्शनी कक्षलगायत संरचना निर्माण गरिएका छन् । सङ्ग्रहालयमा स–साना तथा तीन सय किलोसम्मका शालग्राम संरक्षण गरी राखिएका छन् ।

मनाङ:    मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।  ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।  राति सकुशल सेतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभो ।       “लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भन्नुभयो, “सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।” उहाँले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभयो ।  

पोखरा:  रवि लामिछानेको समर्थनमा निशेषधित क्षेत्रमा प्रदर्शन गरेकाहरुलाई कास्की प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ ।   सोही क्रममा रविको समर्थनमा आन्दोलनरत प्रदर्शनकारीलाई सहिदचोकदेखि हटाउन फानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको हो ।   अहिले रविलाई कास्की प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको छ ।   पानीको फोहरा प्रहार हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ता घाइते भएका छन् । उनीहरु सहिद चोक निशेषधित क्षेत्र नभएको भन्दै उक्त स्थान छाड्न अटेर गरेका थिए ।   यद्यपी कास्की प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको हो ।   अहिले प्रदर्शनकारीहरु वाइचोक क्षेत्रमा आएर सरकारविरुद्ध र रविको पक्षमा नाराबााजी गरिरहेका छन् ।   रास्वपा सभापति तथा  पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।   गोर्खा मिडियोको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचनल गरेको लामिछानेमाथि आरोप छ ।