ढोरपाटन: काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् । महिला समूह स्थापना गरी सोही सहकारीमार्फत महिलाले वार्षिक करिब रु चार करोड गाउँ भित्राउँदै आएका छन् । पछिल्लो समय युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ रित्तिन थालेको थियो । यहाँका महिला एकताबद्ध भएर बाख्रापालनमा व्यवसायमा लागेका हुन् । महिलाले उत्पादन गर्ने खसीबोका सहकारीले बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमीका प्रबन्धक मनु पुनले बताउनुभयो । सप्तरङ्गी सहकारीले वार्षिक रु दुई करोड र वसन्त सहकारीले रु एक करोड ९० लाख बढीको खसीबोका बिक्री गर्दै आएका छन् । महिलालाई उद्यमसँग जोड्नका लागि स्थापना भएको सप्तरङ्गी सहकारीमा तीन सय ८० र वसन्त सहकारीमा पाँच सय ६४ जना महिला आबद्ध छन् । सप्तरङ्गी सहकारीले यस वर्षको दसैँमा पाँच सय खसीबोका बिक्री गर्न तयार गरेकामा करिब एक सय बिक्री भएको संस्थाका प्रबन्धक पुनले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यसवर्ष खसीबोकाको माग कम भएकाले बिक्री गर्न नसकिएको उहाँले बताउनुभयो । “गत वर्षको दसैँका बेला पाँच सय बढी खसीबोका बिक्री भएको थियो, यसवर्ष धेरै बिक्री गर्न सकिएन, सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेका ६० का दरले वार्षिक एक हजारभन्दा बढी खुसीबोका बिक्री हुन्छ”, पुनले भन्नुभयो, “गाउँका अधिकांश दिदीबहिनीले मेहनत गरेर आत्मनिर्भर बन्दै जानुभएको छ । सहकारीले पनि उहाँहरुलाई सहयोग गर्दै आएको छ । अघिल्लो वर्ष वार्षिक करिब रु दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरेका थियौँ ।” पुनले यस मङ्सिर महिनामा गाउँमा पूजा हुने परम्परा रहेकाले मङ्सिरमा धेरै बोकापाठा बिक्री हुने बताउनुभयो । दसैँमा अन्य ठाउँबाट पनि भेडा, च्याङ्ग्रा र खसीबोका बिक्री गर्न बागलुङ ल्याउँदा आफूहरुको उत्पादनले बजार नपाएको उहाँले उल्लेख गर्नुभयो । वसन्त सहकारीकी प्रबन्धक हेमा विश्वकर्माले पछिल्लो समय खसीबोकाले बजार नपाउँदा आम्दानी कम हुँदै गएको बताउनुभयो । अघिल्लो वर्षमा सहकारीमार्फत हरेक महिना एक सयदेखि एक सय ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको भन्दै अहिले ५० को हाराहारीमा मात्रै बिक्री भएको उहाँले जानकारी दिनुभयो । पहिले वार्षिक एक हजार पाँच सय खसीबोका बिक्री गर्दा रु दुई करोड १० लाख गाउँ भित्र्याउने गरेको भन्दै विश्वकर्माले यसवर्ष करिब रु दुई करोड मात्रै आम्दानी भएको उल्लेख गर्नुभयो । यस वर्षको दसैँका लागि आठ सय खसीबोका तयार भए पनि तीन सय मात्र बिक्री भएको उहाँले जानकारी दिनुभयो । “अहिले बजारको माग कम भएको छ । यसअघिका वर्षहरुमा खसीबोकाको माग निकै आउने गरेकामा अहिले मूल्य बढे पनि माग कम छ”, विश्वकर्माले भन्नुभयो, “खसीबोका पालनबाट महिला आत्मनिर्भर बन्दै जानुभएको छ, यो सकारात्मक पक्ष हो ।” स्थानीय निकायसँगको समन्वयमा सीप विकासका लागि तालिमको व्यवस्था गर्न सके महिलाहरु यसप्रति अझै आकर्षित हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिद चोक र गैह्रापाटन क्षेत्रको चार किल्ला भित्रको क्षेत्रमा लागू हुन गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
गण्डकी: गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका हुन् । असोजयता पर्यटकको आउजाउ बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले बताउनुभयो । उहाँका अनुसार गत भदौमा ‘सार्क’ क्षेत्रका सात हजार तीन सय ६९ र अन्य देशका पाँच हजार नौ सय एकजना गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए । असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीययाम रहेकाले यस अवधिमा पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा कडरियाको भनाइ छ । पदयात्राका लागि पनि यो याम उत्तम मानिने हुँदा अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएको उहाँले बताउनुभयो । ‘एक्याप’ले सडकमार्ग र पदयात्रामार्फत अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्दै आएको छ । ‘एक्याप’ भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । दसैँ, तिहार जस्ता ठूला पर्वका बिदा छोपेर नेपालीहरु पनि यही याममा बढी घुमफिरमा निस्कने गरेका छन् । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले दसैँलगत्तै पर्यटकीयस्थलहरुमा चहलपहल ह्वात्तै बढेको बताउनुभयो । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि विश्वमै परिचित रहेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले देशविदेशका पर्यटकमाझ उक्त क्षेत्र लोकप्रिय छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत ठाउँबाट यस क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठ) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको चर्चित पर्यटकीय गाउँ घान्दु्रकका होटलमा हिजोआज ७५ प्रतिशत पाहुना रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । “केही दिनयता पर्यटकको चहलपहल बढेको छ, व्यवसायीहरु पनि उत्साहित छन्”, उहाँले भन्नुभयो । पर्यटन क्षेत्र कोभिड–१९ अघिकै अवस्थामा भने अझै नफर्केको उहाँको भनाइ छ । गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना पर्यटक थिए ।
पोखरा: आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुभएका आरोही तेजन गुरुङलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले पोखरामा सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङलगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसको प्रवद्र्धन र विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो । कार्यक्रम संयोजक एवं जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले तेजनले गर्नुुभएको १४ वटा हिमालको आरोहण गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रको गौैरव भएको बताउनुभयो । गण्डकी पदयात्रा र पर्वतीय पर्यटनमा धेरै सम्भावनायुक्त प्रदेश भएको बताउँदै उहाँले अन्नपूर्ण चक्रीय पदमार्ग २१ दिनबाट छोटिएर पाँच÷छ दिनमा सीमित भएको वास्तविकतामा जिटिन गण्डकी प्रदेशले हालै कास्कीको ताङतिङदेखि मनाङको तिमाङसम्मको गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन गरेको जानकारी गराउनुभयो । चार दिनदेखि १४ दिन समयावधिको गुरुङ सम्पदा पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गसँग जोड्न सकिने उहाँले बताउनुभयो । जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिटिन गण्डकीका महासचिव तुल गुरुङ, सम्मानित व्यक्तित्व तेजन गुुरुङ, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुुर गुरुङ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्यलगायतले नेपालको पर्वतीय पर्यटनका सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमअघि आरोही गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोक, हल्लनचोक हुँदै कार्यक्रमस्थलसम्म बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो । गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लु, धौलागिरि, चोयु, शिसापन्ज्म हिमालहरू आरोहण गर्नुभएको थियो । कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो ।
काठमाडौं: अमेरिकामा जारी टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि जितेको छ । आइतवार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २(० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो । डालसस्थित ग्राण्ड प्रेरीमा १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा सोमपालले ६ रन मात्र खर्चेका थिए । अन्तिम बलमा २ रन आवश्यक पर्दा अमेरिकाले दोस्रो रन लिने क्रममा रनआउटमा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए । नेपालको तर्फबाट बलिङको जिम्मेवारी सोमपाल पाएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले त्यसपछि लगातार २ विकेट गुमायो । तेस्रो बलमा जाहान्गिर बोल्ड भए र चौथो बलमा आरोन जोन्स क्याच आउट भए । सुपर ओभरमा ३ रनको सामान्य लक्ष्य साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङ गरेका थिए । पहिलो बलमा रोहितले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन जोडेका थिए । तेस्रो रोहितले रन जोडेनन् । चौथो बलमा रोहितले १ रन लिएपछि नेपालले खेल मात्र नभई सिरिज नै जितेको थियो । त्यसअघि लक्ष्य पछ्याउने क्रममा अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा ६२ रनको अर्धशतकीय इनिङ खेले । खेल जिताउन ३ रन मात्र आवश्यक रहेको अवस्थामा लामो सट खेल्दै खेल समाप्त गर्ने चक्करमा उनी सोमपालको बलमा बाउन्ड्रि नजिकै कुशलबाट समातिएका थिए। दोस्रो विकेटका लागि गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी भएको थियो । यो शतकीय साझेदारी नेपाली बलर दीपेन्द्र सिंह ऐरीले तोडेका थिए । दीपेन्द्रले ४१ बलमा ४७ रन बनाएका मुककामल्लालाई आउटसँगै साझेदारी तोडिएको थियो । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो । मुककामल्ला ४१ बलमा ४७ रन बनाउदै बाउन्ड्रिमा कुशलबाट क्याच भएका थिए। मिलान्ड कुमार ११ बलमा १५ रन बनाउँदै करण केसीको बलमा आउट भए । जाहान्गिर १४ रन बनाउँदै सागर ढकालको बलमा आउट भए । नेपालका लागि करणले ३, सोमपालले २ तथा सागर र दीपेन्द्रले समान १ विकेट लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाएका थिए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए । कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले सन् २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टि ट्वान्टी आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए । ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउँदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भएका थिए । अनिलले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउँदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिएका थिए। कप्तान रोहित १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिएका थिए । करण १ बलमा ६ रन बनाउँदै नट आउट रहेका थिए । अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सोमवार बिहान हुनेछ ।
काठमाडौं: पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो । “कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ”, गौचनले भन्नुभयो, “परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।” परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताउनुभयो । आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ । विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताउनुभयो । काठमाडाँैमा व्यवसाय गर्दै आएका गौचनले पुख्र्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाउनुभएको छ । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्नुहुन्छ । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् । छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु २० लाख लगानी भएको रनदेवीले बताउनुभयो । “अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्”, उहाँले भन्नुभयो, “पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।” फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ । म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताउनुभयो । चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले बताउनुभयो ।

