पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

गण्डकी:    विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय सञ्चालनका लागि सहयोग अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत हालसम्म चार अक्षयकोषसहित रु पाँच लाख सङ्कलन भएको छ ।      बाल पुस्तकालयको स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले अक्षयकोष खडा गरेको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार पुस्तकालयका सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गर्नुभएको हो ।       गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका लक्ष्मी थापा, अष्ट्रेलियमा रहनुभएका पुनम थापा, पूजा थापा र काठमाडौँमा रहनुभएका कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु ५१ हजार आठ सय १७ को ‘महावीर–पवित्रा स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको सचिव शर्माले जानकारी दिनुभयो ।       यस्तै पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा रु ५० हजार राशिको र बागलुङ–२ निवासी सुन्दरी श्रेष्ठले आफ्नी आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।       पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी र उहाँको परिवारको  तर्फबाट बाल पुस्तकालयका लागि रु २५ हजार, शिवशक्ति अटोमोबाइल्सका तर्फबाट सञ्चालक शिवशङ्कर शाहले रु २५ हजार, एनप्याब्सन बागलुङ नगर समितिकोतर्फबाट रु १५ हजार प्राप्त भएको पुस्तकालयले जनाएको छ ।       यसअघि गत माघमा आयोजित पुस्तकालयको स्थापना दिवसमा पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले रु एक लाख सहयोग गरेसँगै बाल पुस्तकालयका लागि सहयोग जुट्न सुरु गरेका थियो ।  यसबीचमा गलकोट नगरपालिका–७ मल्म घर घई हाल जापानमा रहनुभएका तलवीर थापाले रु २० हजार, कूलवीर थापाले रु १० हजार, बागलुङ बजार निवासी मछिन्द्र शाक्यले रु पाँच हजार, सिगाना निवासी बुद्धिविनायक कार्कीले रु पाँच हजार सहयोग प्रदान गर्नुभएको पुस्तकालयले जनाएको छ ।       यस्तै गलकोट, मल्म घर भई काठमाडौँमा व्यवसाय गर्नुहुने राजु थापाले रु पाँच हजार, बागलुङ बजारका व्यवसायी अशोककुमार श्रेष्ठले रु पाँच हजार, पुस्तकालयका पूर्वअध्यक्ष पद्ममचन्द्र राजभण्डारीले रु पाँच हजार र गुठी निवासी गगन पुनले रु तीन हजार प्रदान गर्नुभएको छ ।      होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालबाट रु पाँच हजार, कोरियामा रहनुभएका सज्जनकुमार सिंहबाट रु पाँच हजार पाँच सय ५५, काठखोला गाउँपापलिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेबाट रु तीन हजार सहयोग प्राप्त भएको सचिव शर्माले जानकारी दिनुभयो ।       “बाल पुस्तकालयका लागि बागलुङ नगरपालिका, विभिन्न वडा कार्यालयबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको छ”, उहाँले भन्नुभयो, “कसैले बालबालिकाका पुस्तकलगायत भौतिक सामग्री प्रदान गरिरहनुभएको छ ।”       बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री सहयोगदाताहरुले उपलब्ध गराउन सक्ने पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँले बाल पुस्तकालयलाई लागि रु १२ लाख लागत लाग्ने अनुमान गरिएको उल्लेख गर्नुभयो ।      पुस्तकालयक भवनको छुट्टै कक्षमा बाल पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको उपाध्यक्ष शर्माले बताउनुभयो । पुस्तकालयले सेवाको विविधीकरणसँगै आन्तरिक व्यवस्थापन र सुधारका काममा आफूलाई केन्द्रित गरेको उहाँको भनाइ छ । बाल पुस्तकालय सञ्चालनका लागि जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्नेक्रम जारी रहेको उहाँले बताउनुभयो ।       बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन सीपको विकास गर्ने ध्येयले बाल पुस्तकालय सञ्चालन गर्न लागिएको हो । पुस्तकालयले पठन संस्कृतिको प्रवर्द्धन, भाषा, साहित्य र कलाको जगेर्ना एवं उत्थान, सामाजिक जागरण, सचेतना, सीप तथा नेतृत्व विकास, प्रतिभा पहिचानलगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।       जहाँनिया राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।      स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।       प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । 

पाल्पा:    झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् ।  रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।   यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामकरण गरिएको छ । यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलका रुपमा यो क्षेत्र प्रख्यात बनेको छ ।  रामपुर–६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ ।  पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिँड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्धमूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ ।  पार्कमा आन्तरिक पर्यटक आउनेजाने क्रम बढ्दै जाँदा व्यायाम गर्न व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला निर्माणपछि बिहानसाँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिति छ ।   आर्थिक वर्ष २०७७÷७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट््याएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आर्थिक वर्ष २०७८÷७९ मा रु दुई लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका काम थालनी गरिएको हो । बुद्धमूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुईवटा प्रतिक्षालय निर्माण गरिएको छ ।  यस पार्कको सुन्दरतालाई बढाउन गत आवमा रामपुर नगरले कालीआँप–विजयपुर–बुद्धपार्क हुँदै तालपोखरा–तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ ।  गत आव लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु १० लाख बजेटमा घेराबार, प्रवेशद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत वर्ष रु तीन लाख बजेटबाट खुला व्यायमशाला निर्माण गरिएको हो ।   चारैतिर पक्की सडकभित्र पर्ने करिब १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउनुहुन्छ ।  पार्क क्षेत्रमा अमलाका बिरुवा लगाइएको छभने आउँदो वर्ष आँपका बिरुवा लगाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । यसलाई बालउद्यानका रूपमा विकास गर्ने योजना उहाँको छ । खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउनुहुन्छ, रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।  खुला सफा चौरमा बिहान साँझ आराम गर्न, साथीभाइ भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।   धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिकस्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगरप्रमुख थापाले बताउनुभयो । “रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रूपमा विकास गर्दै गएका छौँ”, उहाँले भन्नुभयो, “भुगोलले मिलेको यो क्षेत्रमा ठाउँअनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट काम भइरहेका छन् ।”

पर्सा:    मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।   मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो ।  उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो ।  “मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।”  अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो ।  “अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।”   मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।  “वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।”  मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो ।  “आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।” मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् ।  आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ ।  त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ । आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो ।  ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको  सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।

पर्वत:   स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन ।      जिल्लाको कूल जनसङ्ख्याको ३५ दशमलव पाँच प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् ।       स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार पाँच सय ७० परिवारका ४६ हजार तीन सय ९६ जना नागरिकले स्वास्थ्य बिमा गरेर उपचार सेवा लिँदै आएका छन् ।       कार्यालयकी संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार पाँच सय ६६ जनाले स्वास्थ्य बिमा गराएका छन् ।  सबैभन्दा कम महाशिला गाउँपालिकाका एक हजार आठ सय तीन जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा रहेका उहाँले जानकारी दिनुभयो ।       फलेबास नगरपालिकाका छ हजार आठ सय ५९, मोदी गाउँपालिकामा छ हजार आठ सय एक, जलजला गाउँपलिकामा आठ हजार चार सय ४४ जनाले स्वास्थ्य बिमा गरेका छन् ।       दर्ता अधिकारी गुरुङका अनुसार विहादी गाउँपालिकामा दुई हजार दुई सय २२ र पैयुँ गाउँपालिकामा तीन हजार सात सय एक जनाले बिमा गरेका हुन् । विसं २०८० असोज १ गतेदेखि गत भदौ मसान्तसम्म १० हजार तीन सय ७९ जना बिमामा आबद्ध भएका छन् ।       विसं २०८० भदौ मसान्तसम्म ३६ हजार १७ जना नागरिक आबद्ध भएका थिए । स्वास्थ्य बिमाका लागि जिल्लाका ६१ वटा वडामा प्रतिनिधि खटाइएको भन्दै दर्ता अधिकारी गुरुङ सबै नागरिकलाई बिमातर्फ आकर्षित गर्न नसकिएको बताउनुभयो ।  उहाँका अनुसार जिल्लाको कूल जनसङ्ख्या मध्ये ८४ हजार चार सय ९१ जना बिमाको पहुँचभन्दा बाहिर छन् ।       नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचीत गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाका क्षेत्रमा काम गर्ने कर्मचारीहरु बताउँछन् ।  वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितहरुले (उपचार सेवा र औषधि) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगी नियमित बिमकसँग नपुग्नुले समस्या भइरहेको कर्मचारीको भनाइ छ ।       अधिकांश नागरिक बसाइँसराइ गरेर अन्यत्र गइरहेको, गाउँमा शिक्षित नागरिक र युवापुस्ता नभएकाले पनि बिमा जिल्लाको जनसङ्ख्याअनुसार बिमा गराउने नागरिकको सङ्ख्या बढ्न नसकेको दर्ता सहयोगी आशङ्का श्रेष्ठले बताउनुभयो ।       जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको छ । सामान्य बिरामी हुँदा पनि अस्पताल आएर उपचार गराउन थालेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो ।  उपचार गर्न र सिफारिस बनाउनका लागि दैनिक सयौँ बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।  

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कास्की:    चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ ।  नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ ।      रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो ।      केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।       “दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेङ्गुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ”, ज्ञवालीले भन्नुभयो ।       आकस्मिक कार्यक्रम गर्न गरिएको आह्वानपछि विभिन्न सङ्घसंस्थाले कार्यक्रम राखेका उहाँले जानकारी दिनुभयो । “हामीले अभाव महसुुस गरेपछि आह्वान गर्छौं र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ”, ज्ञवालीले भन्नुभयो ।  डेङ्गु सङ्क्रमण  बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।       लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।  प्रदेशका अन्य अस्पतालहरुबाट पनि यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग रगतको बढी हुने गर्दछ । 

जुम्ला:    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ ।       नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित  जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुग्नुभएका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो ।       प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईहरुले सबै देखिरहनुभएको छ ।”  उहाँले आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबरजस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिहरको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको उहाँको आरोप थियो ।      उहाँले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।”      अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताउनुभयो ।       उहाँले आफूले सरकारको नेतृत्व गरेको बेला दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्नुभयो । “संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, कोप–२८ सम्ममा लिएको हस्तक्षेप पूर्ण पहलकदमीले विश्वको ध्यान आकर्षित भएको थियो । महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौँ । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो र नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।”      अध्यक्ष दाहालले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताउनुभयो । उहाँले आफू पछिल्लोपटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसद्बाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताउनुभयो । 

काठमाडौं:   नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो ।      त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे ।      जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।       समान चार अङ्क नै बटुलेको भुटान अङ्क तालिकाको दोस्रो स्थानमा छ । अब भुटानले माल्दिभ्स र नेपालले श्रीलङ्कासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । यसै खेलले समूहका विजेताको टुङ्गो लाग्नेछ । उक्त खेल यही कात्तिक ८ गते हुनेछ ।       आज खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । त्यसपछि खेलको २९ औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् ।  खेलको ३२ औँ मिनेटमा रेखाले नेपाललाई ३–० गोलको अग्रता बनाइन । खेलको ४२ औँ मिनेटमा रेखाले अर्को गोल थपिन् ।       यसैगरी खेलको दोस्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै रेखाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ६३ औँ मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौँ गोल थपिन् ।  नेपालले त्यसपछि तीन खेलाडीलाई परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो ‘टच’ मै नेपालको लागि आठौँ गोल गरिन् ।      खेलको ७८ औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौँ गोल गरिन् । यसैगरी खेलको ८६ औँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०–० को अग्रता दिलाइन् । त्यसको एक मिनेट पनि बित्न नपाउँदै अमिषा कार्कीले अर्को गोल गरिन् ।       साफ च्याम्पियनसिपअन्तर्गत यही कात्तिक ७ गते भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

काठमाडौं:    पर्यटन प्रवद्र्धनार्थ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  हिमालयन टुरिजम फोरमले यही कात्तिक २४ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।      ‘रन फर कमन प्रोस्पेरिटी’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरूले सहभागीता जनाउनेछन् । प्रतियोगिताले पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पु¥याउने र नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ ।     दौड तालिकाअनुसार कात्तिक २२ गते खेलाडीको आगमन, कात्तिक २३ गते खेलाडीका दर्ता र आवश्यक सामग्रीहरू वितरण तथा कात्तिक २४ गते प्रतियोगिताको उद्घाटन गरिनेछ ।       हिमालयन टुरिजम फोरमका मिडिया संयोजक ई प्रतिक राज पहारीले चिनियाँ खेलाडीहरूका लागि सात नोभेम्बरमा चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिनेछ ।  उहाँका अनुसार प्रतियोगितामा टिम समूह ३० मिश्रित टिममा ९० खेलाडीहरू हुनेछन् । जसमा १० चिनियाँ टाली र २० नेपाली टोली हुनेछन् । खेलाडीहरूले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्नेछ ।  दौडका क्रममा खेलाडीले कुल दुई हजार २५८ मिटर उचाई पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम रु २२ हजार नौ सय २० तोकिएको छ ।      च्यालेन्ज इन्डिभिजुअल समूह प्रतियोगितामा करिब दुई सय खेलाडी (जसमा ८० चिनियाँ खेलाडीहरू र एक सय २० नेपाली खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा दुई हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् ।  विदेशी नागरिकका लागि दर्ता शुल्क प्रतिव्यक्ति रु नौ हजार पाँच सय ५० तोकिएको छ । यस्तै विद्यार्थी दौडमा पाँच किलोमिटरको दौडमा पाँचसय खेलाडीहरूले सहभागिता जनाउनेछन् ।       ह्याप्पी रन समूह प्रतियोगितामा दुई किलोमिटर दौडमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । टिम समूहमा शीर्ष पाँच टोलीले नागद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रथम हुनेलाई रु चार लाख ५८ हजार चार सय, दोस्रो हुनेलाई तीन लाख ४३ हजार आठ सय, तेस्रो हुनेलाई दुई लाख २९ हजार दुई सय, चौथोलाई एक लाख ५२ हजार आठ सय र पाँचौँ लाई ९५ हजार पाँचसय नगद पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।       अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र हिमालयन टुरिजम फोरम आयोजक रहनेछन् ।