मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

पर्सा | कात्तिक ६, २०८१

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

पर्सा:    मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।  


मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । 


उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो । 


“मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।” 


अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो । 


“अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।”

 
मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो । 


“वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।” 


मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो । 


“आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।”


मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् । 


आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ । 


त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ ।


आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो ।


 ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो । 


३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको  सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्