जनकपुरधाम: साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफनो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिनुभयो । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ । चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन रु एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताउनुभयो । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ । गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताउनुभयो । सहुलियतदरको पसलबाट प्रतिप्याकेट रु २४ तथा सोभैm डिलरमार्फत रु २६ मा बिक्रीवितरण भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा कार्यालयले रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो । कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिनुभयो । विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान अभियान सुरु गरिएको उहाँले बताउनुभयो । विद्यालयका लागि सरकारबाट वार्षिक रूपमा प्राप्त हुने रु १० लाख अनुदानबाहेक अन्य कुनै आम्दानी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । “विद्यार्थीलाई अध्यापन गराउने विषयगत शिक्षकका साथै विद्यार्थीहरूको पठनपाठन र भोजनलगायतमा गुरुकुलतर्फ मासिक न्यूनतम रु दुई लाख खर्च हुने गरेको छ”, उहाँले भन्नुुभयो, “गुरुकुलसँगै यहाँस्थित राधाकृष्ण मन्दिरको नियमित पूजाआजा एवम् सरसफाइका लागि मासिक रु एक लाख खर्च हुने गरेको हुँदा खर्च व्यवस्थापन गर्न असहज भइरहेको छ । यसैकारण मुठीदान अभियान सञ्चालन गरिएको हो ।” विद्यालयमा शौचालय, भोजनालयजस्ता अत्यावश्यकीय पूर्वाधारको समेत अभाव रहेको अध्यक्ष रेग्मीको भनाइ छ । मुठीदान अभियान सञ्चालनका लागि राधाकृष्ण मन्दिर शान्ति आश्रम र विद्यालयको संयुक्त पहलमा अन्नपात्रहरू तयार गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आश्रमका सचिव घनश्याम खनालले जानकारी दिनुभयो । अन्नपात्रलाई मुठीदान (भण्डारी) नाम दिइएको उहाँले जानकारी दिनुभयो । करिब एक पाथी क्षमताका अन्नपात्र विद्यालयमा सहयोग गर्न इच्छुक महानुभावलाई हस्तान्तरण गरिन्छ । सहयोगदाताले आफ्नो नियमित खाना व्यवस्थापनमा हुने खर्चमध्ये केही छुट्याएर राख्ने र भरिएपछि मन्दिरमा उपलब्ध गराउने गर्दछन् । असोज १ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म ४७ जनाले अन्नपात्र लिएर जानुभएको र केही व्यक्तिले भरिएपछि मन्दिरमा ल्याएर बुझाएर पुनः पात्रहरू लिएर जानुभएको सचिव खनालले जानकारी दिनुभयो । “यस अभियानले गुरुकुलको सञ्चालनमा केही न केही सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ । गुरुकुलको दीर्घकालीन सञ्चालनका लागि सहयोगी मनहरूलाई हामीले नियमित सहयोगका लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् । मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । यहाँ कक्षा ६ देखि १० सम्मको अध्ययन–अध्यापन हुँदै आएको छ । संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको सचिव खनालले जानकारी दिनुभयो । यसै क्षेत्रमा गर्ग र च्यवन ऋषिले तपस्या गर्नुभएका पौराणिक तथ्यहरूसमेत पाइएका कारण यहाँको समग्र विकासका लागि बृहत् अध्ययन–अनुसन्धान हुनु आवश्यक रहेको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं गर्ग तथा च्यवन ऋषि आश्रम खोज तथा अनुसन्धान समितिका अध्यक्ष कविराज खनाल बताउनुहुन्छ । “यसै स्थानमा गर्ग र च्यवन ऋषिले तपस्या गरेका विभिन्न शास्त्रीय प्रमाण उपलब्ध छन्”, उहाँले भन्नुभयो, “मुक्ति क्षेत्र एवम् हिमालयको राजधानीको मुख्य प्रवेशद्वारका रूपमा विभिन्न अध्ययनग्रन्थले यहाँको चित्रण गरेको पाइएको छ ।” ऐतिहासिक भूमिको खोज–अनुसन्धानसँगै यहाँका राधाकृष्ण शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलगायत धार्मिक एवम् शैक्षिक क्षेत्रका विविधतालाई समेटेर यस क्षेत्रको विकास गर्नु अपरिहार्य देखिएको अध्यक्ष खनालले बताउनुभयो ।
काठमाडौं: विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्वविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ । नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रुपमा मुख्य चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृिद्धलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । साथै, विद्यार्थीमा परिवतर्नका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । गण्डकी, बागमती र लुम्बिनीमा प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल, बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुम्बिनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ । सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावररणप्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताउनुभयो । प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने उहाँको भनाइ छ । यसैबीच संयुक्त राष्ट्र सङ्घले विश्वका देशलाई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य बनाउन आह्वान गरेअनुसार नेपालमा पनि नमूनाको रुपमा केही विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नागोया साङग्यो विद्यालयमा विद्यावारीधि गरिरहनुभएका सन्जोक पौडेलले बताउनुभयो । अनुसन्धानको क्रममा आफूले जापानका तीनवटा प्रान्तमा वायुमण्डलमा भएको काबर्नडाईअक्साइडको मात्राको अध्ययन गरी मौसम अनुसारको हुने परिवर्तन, हावाको गतिको असर तथा जैविक वातावरणमा काबर्नडाईअक्साइडको एकाग्रताको मापन गरी मौसम विज्ञान घटनाको प्रभावमा गरिरहेको अनुसन्धान नेपालका लागि उपयोगी हुने बताउनुभयो । उहाँकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ । शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक चण्ड पाण्डेले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै जिरो कार्बन अवधारणाका बारेमा जानकारी गराउनु निकै उपयोगी रहेको बताउनुभयो ।
चितवन: कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठजनालाई रसुवा, पाँचजनालाई काठमाडौँ, दुईजनालाई डिल्लीबजार र एकजनालाई तनहुँ स्थानान्तरण गरिएको हो । उनीहरुमध्ये ६ जनालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ स्थानान्तरण गरिएको होभने अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालहरुमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले यस कारागारमा अन्य जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो । दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् । यस कारागारमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी ल्याइने हुँदा यहाँ क्षमताभन्दा बढी कैदीबन्दी हुने गरेका छन् ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय भलिबल खेलबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमा आज एक श्रव्यदृश्य सन्देश सार्वजनिक गर्दै कप्तान श्रेष्ठले धेरै सोच विचार गरेर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको बताउनुभयो । नेपाल भलिबल सङ्घले उहाँलाई गत वर्ष साउनमा राष्ट्रिय भलिबल टोलीको कप्तान पदमा नियुक्त गरेको थियो । श्रेष्ठले सन् २०१५ मा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनी निरन्तर टोलीमा थिए । श्रेष्ठले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएका कारण आफूले सन्न्यास लिएको बताए । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २७ वर्षीय श्रेष्ठले यसअघि राष्ट्रिय बिच भलिबल टोलीको कप्तानीको भूमिका पनि निर्वाह गरेका थिए । नेपालले गत वर्ष उनकै कप्तानीमा १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको थियो । श्रेष्ठ राष्ट्रिय पुरुष भलिबल टोलीको ११औँ कप्तान हुन् ।
कैलाली: गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प¥यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ । कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन् । यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन् । यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताउनुभयो । जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ । समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ । कठायतले भन्नुभयो, “यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन् । यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो । उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन । तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताउनुभयो । विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन । सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उहाले भन्नुभयो, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो । त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन् । अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताउनुभयो । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उहाँले बताउनुभयो । उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ । भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ । स्वीकृत भएपछि अगाडि बढ्ने छौँ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उहाँले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिनुभयो ।
गलकोट: पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भन्नुभयो । दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताउनुभयो । कृषकले उत्पादन गर्ने, सहकारीले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत सङ्घले बजारीकरण गर्दै आएको छ ।
बाजुरा: बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।

